Posted by: huippa September 25, 2018
ट्रम्पसँग ओलीका दुई मिनेट
Login in to Rate this Post:     0       ?        

संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री केपी ओली संरा अमेरिकाका लागि शनिबार उडेका छन् । संरा अमेरिका बसाइको क्रममा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको दुई मिनेट भेट्ने कार्यक्रम बनेको छ । ट्रम्पसँग दुई मिनेट भेटेर हाम्रा प्रधानमन्त्रीले के भन्लान्, के सन्देश दिन भ्याउलान् ? संरा अमेरिका गएकाले ट्रम्पसामु देख्नैपर्ने र हात मिलाउनै पर्ने प्रधानमन्त्रीलाई के बाध्यता आइलाग्यो ? नेपाली जनताका यी जिज्ञासा विभिन्न माध्यमबाट अभिव्यक्त भएका छन् ।


कुनै पनि देश धनी र ठूलो हुँदैमा त्यसको सार्वभौमिकता ठूलो हुने र सानो तथा गरीब देशको सार्वभौमिकता सानो हुने कदापि होइन । संसारका सबै देशको स्वाभिमान समान रुपमा उँचो हुने गर्दछ । आपसको सार्वभौमिकता र स्वाभिमानप्रति सम्मान गर्ने संस्कृतिले नै संसारको सभ्यता अभिव्यक्त हुन सक्दछ । तर ओलीले दुई मिनेटका लागि ट्रम्प भेटेर नेपालको सार्वभौमिकता र स्वाभिमानलाई होचो बनाएका छन् ।


कूटनीतिक व्यवहारमा एउटा देशको नेताले अर्को देशको नेतासँग कुनै असामान्य अवस्थामा बाहेक भेटघाट गर्नु सामान्य प्रचलन हो । तर त्यो प्रचलन दुवै देशको समान उचाइमा आधारित हुनुपर्दछ । कुनै देशमाथि हेय र न्यूनाड्ढनमा आधारित भएर यस्तो अभ्यास गर्नु उपनिवेशवादी चिन्तनकै शिलशिला हो । ट्रम्पको व्यस्त तालिका भए उनीसँग हाम्रा प्रधानमन्त्रीले नभेट्दा आकाश खस्ने थिएन । अथवा भेट्नैपर्ने हो भने किन विशेष समयका साथ भेट्न सक्दैनन् ? के ट्रम्पको समय देशको आकारअनुसार प्राप्त हुने हो ?


मूलतः यो नेपालको कूटनीतिक क्षेत्रमा कार्यरत सरकारी अधिकारीहरूको असफलता पनि हो । देशको सरकार प्रमुखलाई कुन ठाउँमा कसरी सहभागी बनाउँदा देशको हित र प्रतिष्ठा हुन्छ भन्ने विषयको हिसाब परराष्ट्र मन्त्रालय र दूतावासबाट हुनुपर्दछ । विडम्बना हाम्रो कर्मचारीतन्त्र आफैं पश्चिमा र ठूला देश भनेपछि मरिच चाउरिएजस्तै चाउरिन्छन् र पो त समस्या छ !


सार्वभौमसत्ता सम्पन्न देशको कूटनीतिमा आत्मसम्मान र आत्मस्वाभिमानको ठूलो महत्व हुने गर्दछ । देशको नेतृत्वले देशकै प्रतिष्ठामा खेलाँची गर्नुले कालान्तरसम्म देशको भविष्यमा प्रभाव पार्ने गर्दछ । ट्रम्पसँग फोटो खिच्ने लालसाकै कारण ओलीले दुई मिनेट नै भए पनि भेट्न इच्छा गरेका भए त्यो देशको कूटनीतिक क्षेत्रमा अझै जरा गाडेर बसेको मानसिक दरिद्रताको परिणाम हो ।


निकारागुआका राष्ट्रपति डानिएल अर्टेगाले न्युयोर्क बसाइको क्रममा आफूले ट्रम्पसँग प्रत्यक्ष भेटेर आफ्नो देशमा राजनीतिक उपद्रव गर्नुको कारणबारे कुराकानी गर्ने घोषणा गरे । हाम्रा प्रधानमन्त्रीको ट्रम्पसँग के विषयमा भेट्न खोजेका हुन् ? उनले कुन विषयमा ट्रम्पको चित्त बुझाउन ‘दुई मिनेट’ भेट्न खोजेका हुन् ? भेट्नका लागि मात्र भेट्न खोजेका हुन् र त्यो पनि मुस्किलले दुई मिनेट भेट्ने हुन् भने त्यसले कुनै निचोड ननिकाल्ने मात्र होइन, बरु पश्चिमा भक्तिको मानसिकता बोकेका केही नेपाली शासक र सुकिलामुकिलालाई खुसी बनाउने बहानामात्र हो । यो संरा अमेरिकालाई संसारको केन्द्र र महाशक्ति मान्ने लघुताभाषी चिन्तनको परिणाम हो ।


Read Full Discussion Thread for this article