Posted by: huippa September 5, 2018
ओलीको बोली र जुङ्गाको ताउ
Login in to Rate this Post:     0       ?        
प्रधानमन्त्री केपी ओलीले पटक–पटक आफ्नो सफलताको रुपमा प्रस्तुत गर्ने गरेको ‘देशभरबाट तुइन विस्थापन’ को काम अझै पूरा हुन सकेको छैन । दार्चुला जिल्लामा अझै पनि स्थानीय जनता तुइनमा झुण्डिएर महाकाली नदी वारपार गर्न बाध्य छन् । ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदै देशभरबाट तुइन हटाउने घोषणा गरेका थिए । यसबीच महाकाली नदीमा धेरै पानी बगिसकेको छ । तर अझै पनि तुइनको कष्टकर जीवनबाट नेपाली जनता मुक्त हुन सकेका छैनन् । ओलीले आफ्नो भारत भ्रमणको क्रममा भारतीय समकक्षी र उत्तर प्रदेशका मुख्यमन्त्रीसँग सो विषयमा कुरा गरिसकेको, अब चाँडै दार्चुलाको तुइन पनि विस्थापन हुने बोल्दै आएको धेरै भइसकेको छ । तर उनको कुराले चिउरा भिजेन । काममा कुनै प्रगति भएन ।
प्रम ओलीले तत्काल सुधार गर्न निर्देशन दिएका राजधानीका बाटाको अवस्थामा पनि कुनै सुधार हुन नसकेको समाचार मङ्गलबार पत्रपत्रिकामा प्रकाशित भए । ओलीले विशेषतः चावहिल र कलड्ढीको बाटोमा सुधार गर्न प्रत्यक्ष निर्देशन दिएका थिए । तर दिनको लाखौं मानिस हिंड्ने यी बाटामा कुनै सुधार भएको छैन । बाटोघाटो अस्तव्यस्तताकै कारण चौथो बिम्स्टेक सम्मेलन निर्धारित स्थानमा हुन सकेन । गोकर्ण रिसोर्टमा हुने भनिएको सम्मेलन सोल्टी होटलमा गर्नुप¥यो ।
कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना एक महिनाभन्दा बढी समय बितिसकेको छ । तर सरकारले अझसम्म दोषी पत्ता लगाउन सकेको छैन । राजधानीमै एक जना पूर्वराजदुतको हत्या भयो, एक जना सांसदलाई ज्यान मार्ने धम्की आयो । तर त्यसको लागि सरकारले न दोषी देखाउन सक्यो न कसैलाई कारबाही नै गर्नसक्यो । सुन तस्करीको मुद्दा पनि गुफाभित्रै कैद बन्न पुगेको छ ।
ओली प्रधानमन्त्री बने यता देशका विभिन्न स्थानमा भएको जनसङ्घर्षमा प्रहरी प्रशासन निर्मम भएर प्रस्तुत भएको छ । उपत्यकामा सडक विस्तारको नाममा आदिवासी जनतामाथिको दमनविरुद्ध उत्रेका जनतादेखि कञ्चनपुरमा निर्मलाको हत्यारा पत्ता लगाउन सडकमा उत्रेका जनतालाई प्रहरीले निर्मम भएर दमन गरे । जनताको भावना र गुनासोलाई सही तरिकाबाट समाधान गर्नुको सट्टा सरकार आफैं जनतामाथि दमनमा उत्रिंदा सरकारप्रति जनअसन्तोष बढिरहेको छ ।
ओली सरकार बनेपछि नेपाली जनतामाथि करको क्षेत्र विस्तार भएको छ । नेपालको पानी खाडी देशमा बेच्नेदेखि नेपाली सुन्तला र स्याउ विदेशमा निर्यात गर्नेसम्मका सपना बाँडे पटक–पटक ओलीले तर नेपाललाई विकास र समृद्धिको बाटोमा अघि बढाउने सरकारको कुनै सड्ढेत प्राप्त भएन । बरु नेपाल वायुसेवा निगमले खरिद गरेका वाइड बडी विमान खरीदमा भ्रष्टाचार भएको समाचार व्यापक बन्यो । हुट्टियाउँको चाल खुट्टैले थाहा हुन्छ भनेजस्तै यो सरकारले वास्तवमा आफूले भनेजस्तो प्रगतिको बाटोमा जान नसकेको कुरा उसले गरेको कामबाट विश्लेषण गर्न कुनै कठिन छैन ।
ओली सरकार उभिएको धरातल नै खोटो भएको कारण ओलीको मनोवाच्छा आकाशको फल आँखा तरी मर भनेजस्तै हुने अवस्था छ । समाजका कालाबजारी, भ्रष्ट ठेकेदार, नाफाखोर अनैतिक पुँजीपति र हिजो पञ्चायतमा बसेर जनतामाथि शासन गर्न पल्केका पञ्चहरूको जगमा उभिएको ओली सरकारले जुङ्गामा जतिसुकै ताउ लगाए पनि ऊ क्रमशः नाङ्गिदै गएको नेपाली जनताले चाल पाएको कुरा हो ।
Read Full Discussion Thread for this article