Posted by: huippa August 8, 2018
ओभरटाइम भत्ता
Login in to Rate this Post:     0       ?        
(क्याम्पसको क्यान्टेनमा २–४ वटा टेबुल र हरेक टेबुलमा चारैतिर ४–४ वटा मेचहरू छन् । कलेजका समाजशास्त्रका विभागीय प्रमुख कुमार, प्राध्यापकहरू हरिप्रसाद र कृष्णराम, एकाउन्टेन्ट शम्भु र पुस्तकालयाध्यक्ष सरिता चियाको पखाईमा छन् ।–)
(कलेजको परीक्षापछि वातावरण शान्त छ, क्यान्टिनको घडीले साँझ ४ बजे देखाइरहेको हुन्छ । चिया ल्याउने केटोले चिया र बिस्कुटको रिकापी पालैपालो टक्र्याउँदै जान्छ ।)
विभागीय प्रमुख कुमार – (बिस्कुटलाई चियाको कपमा डुबाउँदै खान्छ, बडो अल्छी लाग्ने गरी) मलाई त कहिलेकाहीं क्याम्पसै छोड्न मन लाग्छ, रु. ६० हजार तलब पाउने अरू कुनै काम पाए अध्यापन छोडेर सुंगुरको खोरमा जागिर खान जान्थेँ ।
प्राध्यापक हरिप्रसाद ः अहो ! कुमार सर ! के भन्नुभएको ? तपाईंजस्तो क्याम्पसको विभागीय प्रमखुले यस्तो कुरा भन्न मिल्छ ? प्राध्यापन त एक प्रतिष्ठाको पेशा हो, नयाँ समाज निर्माणमा शिक्षालय, शिक्षक एवं प्राध्यापकहरूको ठूलो योगदान हुन्छ, यो इज्जतको विषय पनि हो ।
कुमार ः (चिया कप टेबुलमा राख्दै) इज्जत ! प्रतिष्ठा ! जाबो महिनाको ५० हजार रूपैयाँ थापेर ! अहिले नाङ्लो पसलेले दिनको २–४ हजार कमाउँछन् । रिक्सावालाले दिनको २–४ हजार कमाउँछन् । घर बनाउने ज्यामीले महिनामा ६० हजारभन्दा बढी कमाउँछन् । घर–जग्गा दलालले महिनामा सालाखाला २–४ लाख कमाउँछन् । हामीले पढाएका कति विद्यार्थीहरू घर–जग्गा दलाल, गिटी–बालुवाका व्यापारी, खानेपानी र खाना पकाउने ग्यास व्यापारी भइसकेका छन्, तिनीहरूले महिनामा २–४ लाख कमाउँछन् ।
हरिप्रसाद ः कस्तो कुरा गर्नुहुन्छ कुमार सर ! इज्जत र प्रतिष्ठालाई के पैसाले नाप्नु उपयुक्त हुन्छ ? कति शिक्षक, प्राध्यापकलाई विद्यार्थी र अभिभावकहरूले भित्रैदेखि श्रद्धा गरेर दुई हात जोडी अभिवावदन गर्छन्, आत्मीयता देखाउँछन् । हामीहरूलाई शिक्षण पेशा रोजिएकोमा गर्व लाग्छ ।
कुमार ः हेर्नुस् सरहरू, मैले बुझेको त यो पत्रु समाजमा जोसँग धेरै पैसा हुन्छ, ऊसँग सबै झुक्छन् र इज्जत गर्छन् । पैसा छैन र गरिब छ भने कसैले कसैलाई इज्जत गर्दैन, आफ्नै नातागोताले समेत नदेख्याजस्तो गर्छन् । बाटोमा ठक्कर खाएर लड्यो भने कसैले उठाउने कोशिशसमेत गर्दैनन् । धनी मानिसलाई केही भयो भने बाहिर होस् वा अस्पतालमा सबैले ज्यू–हजुरी गर्दै चासो व्यक्त गर्छन् र सेवा गर्छन् ।
हरिप्रसाद ः (अधैर्य भएर) अहो ! कुमार सर, मेरो अनुभवमा तपार्इं ठीक उल्टो कुरा गर्दै हुनुहुन्छ । म सरलाई सानो अनुभव बताउँछु – एक रात म मेरो नाताको मोटरसाइकलमा पछाडि बसेर घर फर्किरहेको थिएँ, मेरो नाता पर्नेले मापसे गरेका रहेछन् । हामी दुवैलाई प्रहरीमा लगियो । त्यसैबेला पजेरोमा चढेका करोडपतिहरूसमेत मापसेमा परेका रहेछन्, कोही सिंहदरवारकै सेक्सन अफिसर थिए । मलाई प्रहरीले ‘सर यता कोठामा बस्नुस्, साथीले गर्दा तपाईंले दुःख पाउनुभयो भनी इज्जतपूर्वक मेचमा बसाले । तर मेरा नाता, करोडपति र सेक्सन अफिसरहरूलाई त ‘ए फलाना भन्दै हवल्दारलाई असईले भन्दै थियो –‘ती त्वाँकेहरूलाई भित्र ल्याऊ ।’ त्यहाँ पैसा हुने नहुनेभन्दा त्वाँके र नत्वाँकेको भेद थियो ।
(चिया पिउँदै) कुमार सर, करोड करोड कमाएका कालाबजारी, घर–जग्गाका दलाल, गिटी–बालुवाका व्यापारी र वन तस्करहरूलाई देशद्रोही, जनता ठग्ने, अरुको घरबार लुट्ने भनी मानिसहरू अति हेला गर्छन् । त्यसको तुलनामा हामी शिक्षक र प्राध्यापकहरूको राम्रै इज्जत गर्छन् ।
कुमार ः मलाई त्यसो लाग्दैन, पैसा भयो भने प्रहरी र प्राध्यापक त के मन्त्री, कार्यकर्ता, नेता र शासक दल नै किन्न पाइन्छ । खाली निर्वाचनमा सहयोग गर्ने वचन दिनुपर्छ र नोटहरूले तिनीहरूलाई हिर्काउनुपर्छ । ज्यानमारा, जघन्य अपराध गर्ने गुण्डा र लुटाहासमेत हट्छन् । त्यतिमात्र होइन, पैसाको बलले तिनीहरू मन्त्री छन् अहिले !
(यसअघि ध्यान दिएर कुराकानी सुनिरहेका प्राध्यापक कृष्णरामले हरिप्रसादलाई हातले इसारा गर्दै)
कृष्णराम ः कुमार सर, हामी नेपालीहरू पैसाकै निम्ति अति बद्नाम छौं । राणाकालदेखि नै अङ्ग्रेज र अहिले भारत र संरा अमेरिकाको निम्ति भाडाका सिपाहीं भई नेपालीले मलेसिया, सिङ्गापुर, इण्डोनेसिया, साइप्रस, फोकल्याण्ड टापु, अफगानिस्तान, इराक आदि देश र ठाउँमा रगत बगाउँदै आएका छन्््् । आज फेरि म्यानपावर कम्पनीको नामबाट अरब देशहरू मलेशिया, दक्षिण कोरिया, जापान, अफ्रिका आदि देश र ठाउँमा हामी छोराछोरी बेच्दै छौं । भारतको बम्बई, कलकता, कानपुर आदि सहरहरूमा नेपाली चेलीहरू बेश्यालयमा बेचिन्थे । अहिले अरब देशहरूमा पहिले अफ्रिकी हब्सीहरूलाई युरोप र अमेरिकामा भेडा–बाख्रा बेचिएजस्तै बेचिन्छन् ।
नेपालीहरूले आफ्नै आमा र स्वास्नीसमेत बेचेको समाचार पढ्न पाइन्छ, आफ्नै साखै दिदी–बहिनी, छरछिमेकी र गाउँ र जिल्लाका चेलीहरू बेचेका छन् । सम्पत्ति र पैसाको निम्ति आफ्नै बुबा–आमा, स्वास्नी र दाजु–भाइलाई समेत बेचेका छन् ।
यी कुकृतिहरू सबै पैसाको निम्ति गर्छन् । यसकारण पैसाको निम्ति नैतिकतालाई बेच्ने मानिस पशुसरह हुन्छ । बिरालोले आफ्नै बच्चा पनि खान्छ, मानिस विवेक भएको प्राणी भएर पनि पशुझैं व्यवहार गर्नेलाई ‘द्रव्यपिसाच’ भन्ने गर्छन् ।
कुमार ः मेरो क्याम्पससँग ठूलो गुनासो भनेको ‘ओभरटाइम’ को पैसाको बन्दोबस्त नगर्नु हो ।
एकाउन्टेन्ट ः त्यसो हो भने कुमार सर, हामी बिहानैदेखि जोतेको जोतेकै हुने गर्छौँ, तर ओभरटाइमको भत्ता कहिले पनि हामीले पाएका छैनौं ।
कर्मचारी – हामी कर्मचारी त घाम–पानी र दिन–रात नभनी क्याम्पसको निम्ति काम गर्छौं, हाम्रा सरहरू भने हरेक घण्टा र पिरियडको पैसा खोज्नुहुन्छ । सरहरू सालाखाला मासिक रू. ५० हजार तलब पाउनुहुन्छ । हामी कर्मचारीहरू २०–२५ हजार अर्थात् विश्वविद्यालयको समान प्रमाणपत्रको समान तलब छैन । ओभरटाइमको त कुरै छैन ।
कुमार ः यसबारे मलाई भन्ने होइन, ऊ एकाउन्टेन्टजीलाई भन्नुपर्छ ।
एकाउन्टेन्ट ः मैले त बैड्ढबाट पैसा ल्याएर गनेरमात्र दिने हो ! कलेजले बनाएको नियमअनुसार (अघिदेखिको कुराकानी ध्यानसित सुनिरहेका पुस्तकालयाध्यक्ष सरिताले हात उठाएर) ।
सरिता ः सर र कर्मचारीहरूसमक्ष मैले थाहा पाएको सानो कुरा बिसाउन चाहन्छु । पहिलो, हाम्रो क्याम्पस सरकारी होइन, दोस्रो, नाफा कमाउन खोलेको निजी क्याम्पस पनि होइन । तेस्रो यो कलेज नखुलेको भए राजधानी गएर गरिबका छोराछोरीको निम्ति पढ्नु असम्भव हो । चौथो, यो कलेज जनताबाट सञ्चालित हो । यो कलेज नभएको भए कुमार सर, हरि सर र कृष्णराम सरले पनि एम.ए. गरेर विभागीय प्रमुख र लेक्चरर हुन सक्नुहुन्थेन । हामी सबै गरिब किसानका छोराछोरी हौं । यो कलेज र अन्य संस्थाहरू, ३०–४० वर्ष अगाडि नै हाम्रा हजुरबुबा र बाजेहरूलाई र दिदी र दाइहरूलाई रात्री कक्षा सञ्चालन गरेर किसान स्वयंसेवकहरूले शिक्षाको ज्योति प्रदान गर्नुभएको थियो ।
(एकछिन श्वास फेरेर) कुमार सरको परिवार र हाम्रो परिवारको स्तर एउटै हो – तीन रोपनी खेत हो अर्थात् गरिब किसान । अरूको ज्यामी काम नगरी वर्षभरि खान नपुग्ने परिवारका हामी युवाहरूले आँगनकै कलेजमा घरको रूखा–सुखा खाएर एमए र पीएचडी गरेका छौं, कतिले डाक्टर र इञ्जिनियर भएर देशको सेवा गर्दैछन् । हाम्रा कति दाजु–दिदी र काकाहरूले स्वयंसेवक भई हाम्रो र समाजको निम्ति रात–दिन पसिना बगाउँदै हुनुहुन्छ, यस हिसाबले ओभरटाइम र अन्य भत्ताको कुरा गर्दा के हामी सा¥है स्वार्थी ठहरिन्नौं ?
(चारैतिर हेरेर) कुमार सर र अन्य सरहरू र कर्मचारी साथीहरूलाई भन्न चाहन्छु – हामीले हामीभन्दा धनीको होइन गरिबहरूले कस्तो जीवन बाँचिरहेका छन् भनी हेर्नु आवश्यक छ । भूकम्प हुँदा जसरी हामी पीडित थियौं त्यस्तै यो समाजको असमानतालाई हटाउने विचार, चिन्तन र दीर्घकालीन योजनाको निम्ति बरोबर छलफल र एकले अर्कोबाट सिक्ने बानी बसाल्नु आवश्यक छ ।
(पर्दा खस्छ ।)
Read Full Discussion Thread for this article