गाउँलेले बनाए मोटरबाटो बिगु - दोलखा, चैत १५ - घरघरबाट रकम उठाउँदै सडक खनेर उत्तरी दुर्गम बिगुमा मोटर आएपछि गाउँलेमा खुसीको सीमा नाघेको छ । चीनको तिब्बत जोड्ने लक्ष्यसाथ जनताले निर्माण थालेको सडकलाई सरकारले प्राथमिकतामा राखेको छैन । सरकारले वास्ता नगरे पनि बिगु, आलम्पु र चिलङ्खावासीले चन्दा उठाएर घरआँगनमा मोटर ल्याएका छन् । त्यो खुसीमा गाउँले भेला भई नाचगान गरे । युवा, वयस्कदेखि वृद्धाहरू डिलमा बसेर लहरै आएका मोटरका ताँती हेरिरहेका थिए । जम्मा भएका केटाकेटी मोटरलाई छुन दौड्दै थिए । रमिता हेर्दै गरेका लाक्डोमा शेर्पाले भनिन्, 'यस्तो दिन आउला भन्ने कहिल्यै सोचेको थिएन ।' उनले गाउँमा मोटर आउँछ भनेपछि ऋण गेरर रकम हालेको बताइन् । विगु-८ का उनी जस्तै धेरै गृहिणीले आफ्नो पेवापातसमेत सडकलाई दान गरेका छन् । सडक बनाउन गाउँलेहरूले ५० रुपैयाँदेखि ३ लाखसम्म घरलौरी सहयोग गरेको सडक निर्माण समितिका अध्यक्ष निमा शेर्पाले बताए । उनका अनुसार सडक बनाउन गाउँदेखि देशविदेशमा हुनेले गक्षअनुसार सहयोग हालेका छन् । संकलित ९५ लाख ६३ हजार सातसय ९९ रुपैयाँले ३६ किलोमिटर ट्रयाक खुलेको छ । अरनिको राजमार्ग बाह्रबिसेबाट गाउँलेको प्रयत्नमा बनेको १४ किलोमिटरलाई लम्ब्याउँदै आलम्पु ल्याइपुर्याएको सडकको नाम ठिङ्साङ ला पर्यटकीय मार्ग राखिएको छ । सडक उद्घाटन गर्न आएका स्थानीय विकास मन्त्री रामचन्द्र झाले विकासमा जनताको उत्साह देखेर आस्थाले आफ्नो शिर झुकेको बताए । 'म लज्जित छु,' मन्त्रीले भने, 'जनताको पौरखले खनेको सडकमा सरकारले सहयोग गर्न नसकेकोमा लज्जित भएको छु ।' जनसहभागिताका आधारतिर विकासका कामलाई देशभर करोडौं रकम बाँड्ने स्थानीय विकास मन्त्रालयले यो सडकलाई उपेक्ष्ाा गरेको छ । यस शीर्षकबाट जिल्लाको अरूनै सडकमा रकम आए पनि पहुँच नपुगेकाले क्षेत्रीय महत्त्वको सडक उपेक्षामा परेको हो । 'चैत भित्र सडकका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने छु,' मन्त्री झाले यस्तो महत्त्वको सडकमा रकम हाल्नेबारे जानकारी नभएकोमा क्षमा मागेका छन् । डोजरले खन्दै अघि बढेको सडक निर्माणमा आफ्नो जग्गामात्र होइन, कुखुरा खसीसमेत स्वैच्छाले सहयोग गरेको यसमा खटिएका ग्याम्जो शेर्पाले बताए । सुरुमा प्राविधिक खटिए पनि पछि उनैले सडक निर्माण अगाडि बढाउन निःशुल्क समय दिइरहेका छन् । त्यस्तै निःशुल्क समय दिनेमध्ये निमटाँसी शेर्पाले डोजरसँगसँगै हिँड्ने सडक निर्मातालाई जनताले खुवाउने गरेको जानकारी दिए । बिस्तारै निर्माण अघि बढेको सडक उद्घाटन गर्न भेला भएका हजारौं गाउँवासीमाझ मुख्य राजनीतिक दलले तिब्बतसम्म जोडेर क्षेत्रीयस्तरको राजमार्ग बनाउन वाचा गरे । कार्यक्रममा दोलखा र सिन्धुपाल्चोकका जिल्लादेखि केन्द्रीय तहका नेता उपस्थित थिए । नुन-भुटन खाने पैसाले जनताले बनाएको सडकलाई सहयोग गर्न नसकेकामा दुवै जिल्लाका नेताले खिन्नता महसुस गरे । सडक आउँदा जग्गाको मुआब्जामा किचलो गर्ने संस्कृतिलाई यो गाउँवासीले निःशुल्कमात्रै होइन, रकम र अन्य भौतिक वस्तुसमेत दान गरेर चुनौती दिएकामा नेताहरू प्रशंसा गर्दै फर्के । समितिका कोषाध्यक्ष निम्तो शेर्पाले विगु, आलम्पु, चिलङ्खा र खोपाचागुवासीले ६० लाखभन्दा बढी सहयोग दिएको बताए । 'गाउँ, काठमाडौं र अमेरिका बस्नेहरूबाट त्यति रकम संकलन भएको हो,' उनले भने । बाँकी रकम गाविस, सरकारी स्रोत र स्थानीय धुपीसल्लाको दाउरा बेचेर उठाइएको उनको प्रतिवेदनमा उल्लेख छ । सम्भवत जनताको तहबाट त्यतिधेरै रकम जुटाई सडक निर्माण थालिएको पहिलो भएको मन्त्रीदेखि दलका नेताहरूले समारोहमा बताएका छन् । मोटर चढेर पहिलोपटक गाउँ आएका पाहुनाहरूलाई स्वागत गर्न स्थानीय शेर्पा र थामीले सांस्कृतिक झाँकी देखाएका थिए । कार्यक्रमस्थलमै सडक बनाउन भनेर सहयोग गर्न गाउँलेको ताँती लागेको थियो । थामी र शेर्पा भाकाका गीतहरूमा सडक आएपछि गाउँमा हुने परिवर्तनका कुरा थिए ।
Maylumaya · Mar 29, 2009 2:44 PM · 16,303 views
better than past and current politicians.
snowfed_river · Mar 29, 2009 4:06 PM
Thanks for the news MM
Narayangarh suburb · Mar 29, 2009 4:08 PM
नेपाल सरकारको भत्ता त भात् खाएर बसेका माओवादी लाई तिमीहरुले जिर्ण बनाएको देस, गाउ घर , मर्मत गरन पठाएँ हुने । ज्वाँई पालिए सरह पालिएका छन . It will be a productive after 10 years of distruction.
बैरागिकाइलो · Apr 3, 2009 2:44 PM
Great work :-).....
Amazing · Apr 3, 2009 2:48 PM
Respect that 100% better than what our politician and thekedar (combined) does it these days
Gaine · Apr 3, 2009 7:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion