राजनीतिको कुरा मात्र कति गर्नु, कति सुन्नु, कति बोल्नु वा कति लेख्नु भनेर
राजनीतिबाट टाढा हुने प्रयास गर्छु। अनि, राजनीतिले नछुने विषयवस्तुहरूको खोजि गर्न
थाल्छु। साथीभाइहरूसँग गफ गर्ने, रमाइलो गर्ने र हाँसो मजाक गर्ने प्रयास गर्दछु। अनि
कतिपयका ‘जन्मदिन’, कतिपयका विवाह, नयाँ नोकरी, वा परीक्षामा पाएका सफलता
/असफलता दुवै कथाहरूका माझ हुने पार्टीहरूमा सामेल हुन्छु। सबै-सबै यस्ता घटनाहरूका माझ
अर्को एउटा समूहको पार्टीमा पनि समावेश हुन्छु जो ‘भिसा’ लागेको खुशीयालीमा पार्टी
दिइरहेका हुन्छन्।
मान्छे के मा खुशी हुन्छन्, मलाई थाहा छैन। मान्छेको सबैभन्दा ठूलो सफलता के हो त्यो पनि
मलाई थाहा छैन। मान्छेहरूले जीवनमा के उद्देश्य लिएका हुन्छन् र उक्त उद्देश्य प्राप्तिका
लागि के-के प्रयास गरिरहेका हुन्छन्, थाहा हुने कुरा नै भएन। मान्छेको लक्ष्य प्राप्ति भयो
वा भएन र लक्ष्यको प्राप्ति पछि ऊ खुशी हुन सक्यो वा सकेन त्यो पनि थाहा हुने कुरा भएन।
तर, सबैभन्दा खुशीसाथ ‘पार्टी’ दिने मेरा साथीहरूलाई हेर्ने हो भने ‘भिसा’ पाउँदा
नेपालीहरू सबैभन्दा बढी खुशी हुन्छन् भन्ने मान्नु पर्छ। हुन त मैले सङ्गत गर्ने साथीहरूका
माझ मात्र यो सही र अरूहरूका निम्ति गलत हुन सक्छ। तर उनीहरूको हाव-भाव, कुराकानी,
व्यवहार तथा उनीहरूको अभिव्यक्ति सुन्दा लाग्छ, यो नै उनीहरूको जीवनको लक्ष्य हो। यो
पाउनु नै उनीहरूले जीवन पाउनु हो। यो नै क्यारियर र जीवनको सबैभन्दा ठूलो सफलता हो।
अर्थात् यो नै जीवन हो र यो नै जीवनको लक्ष्य हो। लाग्छ, उनीहरूलाई जीवनमा यो बाहेक
अन्य सफलताको आशा, माया-मोह र लोभ नै थिएन, छैन र हुने पनि छैन।
‘भिसा’लाग्नेहरूलाई सरसर्ति हेर्ने हो भने सबैको उद्देश्य, लक्ष्य र चाह एकै छैन। तर जे
उद्देश्यका लागि ‘भिसा’ पाएपनि ‘भिसा’ पाउनेहरू खुशी नै हुन्छन्।
कुनै एनजिओ/आएनजिओका कर्मचारीलाई कामका लागि नेपालकै कुनै ठाउँमा जाने हो वा कुनै विदेश
जाने हो भनेर सोध्यो भने उत्तर आउँछ- ‘विदेश’।
सरकारी कर्मचारीलाई सोधे उत्तर आउँछ- ‘विदेश’
पत्रकार, व्यापारी, विद्यार्थी, इन्जिनियर, डक्टर, लेखक, नेता-अभिनेता वा जसलाई
सोध्नुहोस्- उत्तर आउँछ ‘विदेश’।
भन्नाको मतलब कारणहरू सोध्नुभयो भने उत्तरहरू हजारौं थरिका आउन सक्छन् तर प्राथमिकता
र चाहना एकै आउँछ- ‘विदेश’।
यहाँ बसेर के गर्ने? नेपालमा त फ्युचर नै छैन। नेपालमा त क्यारियर नै छैन। विदेशमा गएर
पढ्नुको कुरा नै अर्को। त्यहाँको सर्टिफिकेटको पो मान्यता। यहाँको पढाइ नै झुर छ।
क्याम्पसमा सधै राजनीति हुन्छ, पढाइ हुँदैन वरू त्यता गयो, पढ्यो अनि नेपाल फर्क्यो।
नेपालमा स्तरीय पढाइ हुने ठाउँ नै छैन। यहाँको जागीर पनि के जागीर बरू दुई वर्ष जाने टन्न
दु:ख गरेर पैसा कमाउने र नेपाल फर्केर सुखको जीवन विताउने। एक जना विदेशीसँग विवाह गर्न
पायो भने त लाइफ बन्छ यार। विद्यार्थी भिसामा जाने पढेजस्तो पनि हुन्छ काम गर्यो पैसा
कमायो। त्यहाँ त सिक्न वा पढ्न पो जाने त त्यहाँ गएर बस्ने रहर त कसलाई छ र? के गर्नु
कमाउनै पर्यो, बालबच्चा पाल्नु नै पर्यो। नेपालमा गरेर खान पनि दिन्नन्। नेपालमा केही
गर्ने वातावरण नै छैन। यस्तो लाइफ पनि के लाइफ आदि-आदि।
जब यस्ता अनगिन्ति प्रश्न तथा उत्तरहरूलाई एकै ठाउँमा राखेर केलाउने प्रयास गर्छु तब चाहेर
वा नचाहेर पनि राजनीतिसँग यस्ता विषयवस्तुहरू प्रत्यक्ष तथा परोक्ष रूपमा जोडिएका हुन्
कि जस्तो लाग्छ। विदेश जाने, उतै घरजम गर्ने, भिसा पाउँदा पार्टी गर्ने, पढ्न जाने, काम
गर्न जाने वा यावत् कुराहरूले मलाई त्यति असर पार्दैन। उनीहरूको व्यक्तिगत इच्छा, चाहना
वा आकांक्षा होला। उनीहरूको बाध्यता-विवशता होला। उनीहरूले आफ्नो तथा परिवारको
उज्ज्वल भविष्यका लागि देश छोडेका होलान्। प्रगति, उन्नति, अध्ययनका लागि देश छोडेका
होलान् र भविष्यमा देशको सेवा गर्ने इच्छा होला। देशकै नभए पनि परिवारको अथवा त्यो
पनि भएन भने आफ्नै सेवा गर्ने इच्छा होला। त्यसैले यस्ता व्यक्तिगत इच्छाहरू गलत हुन् भनेर
कसैले भन्न मिल्दैन। आफ्नो हित, प्रगति तथा उन्नतीको चिन्ता गर्न पाउने तथा त्यसका
लागि आवश्यक कदम चाल्न पाउनु भनेको उनीहरूले मौलिक हक हो र यो हकको उपभोग गर्न
उनीहरूले पाउनु पर्छ। त्यसैले यसमा कसैको आपत्ति रहने कुरा नै रहेन। तर पनि केही तीता
कुराहरू कोट्याउनै पर्छ। केही प्रश्नहरू गर्नु नै पर्छ। यसपालि मैले प्रश्नहरूमात्र राख्ने
जमर्को गर्छु, यहाँहरूको तीतो-मिठो प्रतिकृयापछि नै उत्तर लेख्ने प्रयास गर्नेछु।
१) सबैले व्यक्तिगत रूपमा आफ्नो र आफ्नो परिवारको हितका लागि सोच्ने हो भने समग्र देशका
लागि सोच्ने को हो?
२) देशको बारेमा सोच्ने जिम्मा कसले लिने हो? देशको प्रगति उन्नतिका वारेमा सोच्ने कसले
हो? कि व्यक्तिगत प्रगति हुनु नै पारिवारिक प्रगति हो र पारिवारिक प्रगति नै सामाजिक
र सामाजिक प्रगति नै देशको प्रगति हो?
३) के प्रत्येक व्यक्तिले आफ्नो बारेमा मात्र सोच्ने र आफ्नो फाइदा, हक-हित, स्वार्थ वा
भलाइका लागि आवश्यक कदम चाल्ने हो भने राज्यको अवधारणा आवश्यक नभएको हो? वा कसैले
कसैको जिम्मेवारी उठाउनु नपर्ने र बसमा ‘आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्’ भनेर लेखे
जस्तै सबैले आफ्नो व्यवस्था आफैले गर्नु पर्ने हो?
४) डक्टर, स्टाफ नर्स, ओभरसियर, इन्जीनियर वा अन्य व्यक्तिहरू उत्पादनका लागि सरकारले
लाखौं रूपैयाँ खर्च गरेको हुन्छ (जस्तै- एक नर्स, डाक्टर वा इन्जिनियरको उत्पादन खर्चको
हिसाव गर्दा थाहा हुन्छ।) तर यहाँबाट परीक्षा उत्तीर्ण हुनुपूर्व नै भिसाका लागि आवेदन
दिइसकेको अवस्था देखिन्छ। यदि देशले लगानी गरेका व्यक्तिहरू देशमा १ वर्ष पनि बस्न सक्दैनन्
(देशलाई निश्चित समयका लागि समय दिनु पर्नेमा) भने उनीहरूमाथि सरकारले किन लगानी गर्ने?
५) डाक्टर उत्पादन गर्दा लाग्ने खर्च हेर्यो भने अझ कहाली लाग्दो अवस्था छ। सरकारी
पैसामा उत्पादित हुने यस्ता डाक्टरहरू काठमाडौं बाहिर जाने कुरा त टाढाको कुरा (हुनत
उनीहरूको तर्क छ काठमाडौं बाहिर रोगहरू Diagnosis गर्ने प्रविधि छैन र उनीहरूले पढेका
कुराहरूको प्राक्टिस गर्न पाउँदैनन् तथा उनीहरूले नयाँ कुरा सिक्न पाउँदैनन्।) काठमाडौं पनि
नबसी विदेश गएर बस्ने गरेका हुन्छन्। गरीब जनताको कर अर्थात् सरकारी पैसाले उत्पादित
डाक्टर, नर्स वा इन्जिनियरले देशलाई केही समय पनि दिन सक्दैनन् भने यस्ता मान्छेहरू
उत्पादन गर्न सरकारले किन खर्च गर्ने?
६) प्रत्येकले आफ्नो जीवन, परिवार र भविष्य सोचेको छ र उक्त कुरा सजिलोसँग नपाएकोमा
वा उक्त कुराको ग्यारेण्टी नभएकोमा देशलाई, अन्य मान्छेहरू (नेता, राजा, सेना-प्रहरी वा
माओवादी) लाई गाली र गुनासो गरिरहेको छ तर आफ्नो त्यो दायरा भन्दा बाहिरका
मान्छेहरूको हितका लागि वा भविष्यका लागि कसले कति योगदान दिइरहेको छ?
७) समग्रमा मलाई सोध्न मन लागेको एउटै प्रश्न के हो भने प्रत्येकको आफ्नै जीवन छ,
प्रत्येकको आफ्नो परिवार तथा भविष्य छ र यसप्रति चिन्ता तथा चासो पनि छ तर देशको
चासो कसले लिएको छ वा चिन्ता कसले गरेको छ? आफन्त छोडेर देशका लागि को समर्पित छ?
तपाईँ? म? नेताहरू? राजा? प्रहरी? आर्मी? माओवादी? वा अरू कोही? -/
दीपक अर्याल
काठमाडौ