[Show all top banners]

itiahariko
Replies to this thread:

More by itiahariko
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 ग्रिनकार्ड
[VIEWED 1439 TIMES]
SAVE! for ease of future access.
Posted on 08-11-19 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

उसलाई ऊ उजेली भन्थ्यो। उसको नाउँ फरक थियो, तर अर्थ मिल्दोजुल्दो थियो। कहिलेकाहीँ डल्लू भनेर जिक्याउँथ्यो। ङिच्च हाँस्थी।

जोवन खाँदिएकी केटी। चौबीस–पच्चीसको काया। शरीरभरी यौवनका फूल फक्रक्क! हाँसो मीठो थियो। तर, एकाएक हराइ उजेली!

अमेरिकामा हराइ। कुकुरसमेत नहराउने देशमा हराइ। हराए पनि कुकुरसमेत भेटिने देशमा उजेली हराइ।

उजेली आउँछे। हातमा एकमुठीको कागजको डल्लो थमाउँछे। एकैछिनपछि उठेर जान्छे। फर्केर आउँदिन। गाडी स्टार्ट गर्छ, हुइँकिन्छ। अलि पर पुगेर कागजको डल्लो खोल्छ, पढ्छ। टाउको एकनासले दायाँबायाँ गर्न थाल्छ। मध्यरातको अँध्यारो एकान्तमा निक्कैबेर हराउँछ। अँध्यारोमा उजेली नै उजेली चिच्याएको सुन्छ। छट्पटिएको देख्छ। आफैलाई प्रश्न गर्छ– 'यस्तो पनि हुन्छ, त्यो पनि यो अमेरिकामा?'
सम्झनै पर्दैन, कहिल्यै बिर्संदैन। मष्तिस्कमा उजेलीले घर बनाएकी छे। दृश्य र घटना फनफनी घुमिरहेका छन्। आँखामा छमछमी नाँचिरहेका छन्।

त्यो दिन, कस्तो कठ्यांगिँदो जाडो! अक्टोपसजस्तै छ निख्रँदो अक्टोबर, कक्रक्कै बनाउने। चोर रमाउने रात, निष्पट्ट अँध्यारो छ। ढोका खोल्न गोजीबाट हात निकाल्छ।

'गडड्याम अमेरिका पनि यस्तो अँध्यारो!' हातसँगै मुखबाट हल्का लबरएिको बोली निस्कन्छ।

'बाहिरको बत्तीको फ्युज गएको छ।' भित्रबाट आएको ध्वान्द्रे स्वरको मुस्लो ढोका छेडेर उसका कानमा खाँदिन्छ।

यसै पनि मान्छेको फ्युज जलेको छ। बत्तीको जलेर के भो? फ्युजबिनाको ल्याम्पपोस्ट हो गडड्याम मान्छे, भन्ठान्छ। 'ओके' भन्छ। ढोका खोल्छ।

खपिनसक्नु भएको छ। लाइटर निकाल्छ। सिगरेट सल्काउँछ। मत्थर हुन्छ तल्तल्।

झिलिक्क बिजुली चम्किन्छ। बेसमेन्टको ढोकामा आकृति देख्छ। लाइटर बाल्छ। वरिपरी झुलुक्क एक झिल्को उज्यालो झुल्किछ। लाइटरको उज्यालोमा उजेलीको मधुरो छायाँ सल्बलाउँछ।

नजिकै जान्छ। अँध्यारोमा झन् अँध्यारो अनुहार लगाएर उभिएकी छे, उजेली।

भित्र बिन्दास तालमा ह्विस्की पिउँदै थिई! किन आइ, त्यो पनि बेसमेन्टबाट? मनको जंगलमा एउटा प्रश्न उमि्रन्छ। त्यसलाई त्यही जंगलमा गाड्छ। उजेलीले अलिअघि कानमा खुसुक्क पारेको सम्झन्छ– 'आज फ्रिकिङ फ्रिक हुन चाहन्छु।'

उजेली छेउमा आउँछे। दाहिने पाखुरो समाउँछे। चपक्कै टाँसिन्छे।

'दादा... दादा...! आई लभ यु। आज बल्ल मलाई साहस आएको छ। म...'

अत्तालिएकी छे। लाग्छ, केही भन्न चाहन्छे उजेली।

एक मनले भन्छ, एक्स्ट्रिम मुडमा छे कतै यसले फ्लर्ट गर्न लागेकी त हैन? अर्को मन बोल्छ, हैन। जेहोस् ह्यान्डल गर्न सक्छु। ह्विस्कीको जोस हुन सक्छ। होस गुमाएर जोस निकाल्न नै पिउने हो। मेरा सीमा र मर्यादा मलाई थाहा छन्। निस्पि्कक्री हुन्छु।

'तपाईंसँग बोलेको त्यो राक्षसले देख्यो भने पिट्छ। त्यसैले बाथरुम जान्छु भनेर बेसमेन्टबाट लुकेर अएकी।'

एकै स्वासमा बोल्छे उजेली। थर्थरी काँपेजस्ती छे। झन् कस्सेर समाउँछे उसलाई।

बाहिरको जाडोले हैन, भित्रको आगोले पोलेको छ उजेलीलाई। छट्पटी र औडाहाले काँपेकी हो उजेली। थोरै होस्, उसले बुझेको छ उजेलीलाई।

'के भो भन? छिटो भन?'

'मलाई त्यो राक्षसले...!' चल्दाचल्दैको इन्जिन ‰वाट्टै रोकिएजस्तो रोकिन्छे उजेली। ऊ कर गर्छ, तर बोल्दिन। बोल्दैबोल्दिन, निक्कैबेर बोल्दिन। कति गर्दा पनि बोल्दिन।

'मलाई...!' धेेरै बेरपछि बोल्छे।

एकाएक डरलाग्दो गरी आकाश चिरिन्छ। पूरै धरती नै सल्केलाजस्तो गरी बिजुली चम्किन्छ। बिजुलीको उज्यालोमा उजेलीले पछाडि उभिएको मान्छे देख्छे। बोली झर्न नपाउँदै फेरि ठ्याप्पै रोकिन्छे।

कानमा खुसुक्क भन्छे– 'राक्षेस!' उजेली भित्र जान्छे।

पछाडि फर्केर हेर्छ। अँध्यारोमा पहेँला दात देख्छ। अर्को सिगरेट सल्काउँछ। राक्षस ऊसँगै बसेर सिगरेट पिउँछ।

'मलाई पनि तल्तल् लागेर आ'को।' बिरालाले जस्तै सिध्राको माला जपेजस्तै बिरालाको भाषा बोल्छ, राक्षस। केही दिनका मित्रहरू राक्षसलाई ब्वाँसो भन्न थालेका छन्।

'ग्याम् हेर्न जाम्।' राक्षस बोल्छ। भित्र पस्छ। टीभीमा फुटबल चलिरहेको छ।

भित्रको उज्यालोमा राक्षसको अनुहार अघिभन्दा फरक लाग्छ। खुसीको ठाउँमा द्वेष, पीडा र आक्रोशको रंग पोतिएको देख्छ। गाइँगुइँ सुनेका कुराको बतास त्यसै चलेको हैन रहेछ भन्ठान्छ। ऊभित्र पनि क्रोध र घृणाको आगो बल्न थाल्छ। साथीभाइसँग गफिएर दारु पिउँदै भित्रको आगो भित्रै निभाउँदै बस्छ।

धेरैबेर बस्न मन लाग्दैन। हिँड्ने कुरा गर्छ। उजेली छेउमै छे। कोट्याउँछे। आँखाले इसारा गर्छे, एकछिन् पर्खिनु। उजेली आफ्नो कोठामा जान्छे। भित्रभित्र उम्लिए पनि बाहिर शान्त देखिन्छ। पिउन खासै मन लाग्दैन। पिएजस्तो गरेर टाइमपास गर्छ।

उजेली आउँछे। छेउमा बस्छे। पछाडिबाट उसको हात तान्छे। हातमा एकमुठीको कागजको डल्लो थमाउँछे। मुठी कसीदिन्छे। एकैछिनपछि उठेर जान्छे। फर्केर आउँदिन।

बगरको माछो नाचेजस्तो नाच्छ मन। भित्रभित्रै छट्पटी हुन्छ। गाडी स्टार्ट गर्छ, हुइँकिन्छ। अलि पर पुगेर कागजको डल्लो खोल्छ, पढ्छ। टाउको एकनासले दायाँबायाँ गर्न थाल्छ। मध्यरातको अँध्यारो एकान्तमा निक्कैबेर हराउँछ। अँध्यारोमा उजेली नै उजेली चिच्याएको सुन्छ। छट्पटिएको देख्छ। आफैलाई प्रश्न गर्छ– 'यस्तो पनि हुन्छ, त्यो पनि यो अमेरिकामा?'

भोलिपल्ट उजेलीलाई भेट्न जान्छ। काम गर्ने ठाउँमा ऊ छैन, अर्की केटी छे।

डेरामा आउँछ। जुनालाई भन्छ। विश्वास मान्दिन जुना।

पर्सिपल्ट राक्षसको छिमेकी नारदमुनी शर्माले फोन गर्छ। ह्यान्स् फ्रि गरेर जुनालाई सुनाउँछ। उजेलीले भोगेको दुर्दशा सुनिनसक्नु छ। पत्याइनसक्नु छ। जुनाको अनुहारमा आक्रोशको आगो बल्छ।

उजेली कहाँ गई कसैलाई थाहा छैन। बोस्टनमा छैन। राक्षसले हल्ला फैलाउँछ– 'कसैसँग बिहे गरेर युटाहा गई।'

तर उसलाई विश्वास लाग्दैन।

केही दिनदेखि निरास देखिन्थी। बेग्लै लाग्थ्यो, जीवनको बान्की। फरक देखिन्थ्यो, यौवनको लय। शिथिल लाग्थी, छहराजस्ती चञ्चल त्यो यौवना। उदास लाग्थी, सूर्यमुखी फूलजस्ती फारासिली केटी। अलमोस्ट डेड लाग्थी फुल्ली चार्ज्ड ब्याट्रीजस्ती उजेली!

सोध्ने साइत पनि खासै जुरेन। उजेलीले भनोस् पनि कसरी? हरदम डसुँलाजस्ता राक्षसका आँखा। फोहर नलजस्तो दुर्गन्धित मुख। पशुतुल्य व्यवहार। कहिल्यै साहस गरिन। सुख्खा हाँसो हाँसेर टार्थी। सधैँ भन्थी– ठीकै छ। तर, अनुहारको निरशता र बोलीको उदासीनताले पक्कै धेरे बेठीक छ भन्ने चैँ ठानेको थियो।

उजेलीले पक्कै मनभरी दुःख र पीडाका आँठा बाँधेर बसेकी छे। कुनै दिन यसलाई बाध्य बनाउँछु भन्ने पनि सोचेको थियो, तर एकाएक बेपत्ता भई।

राक्षसले उसलाई शत्रु देख्न थालेको छ। तगारो बनेको थियो, अहिले पर्खाल ठड्याइसकेको छ राक्षसले।

जतनले राखेको छ उजेलीले डल्लो पारेर दिएको चिठी। बेलाबेलामा सम्झन्छ। बेलाबेलामा निकाल्छ, पढ्छ। मनमनै पापी–दुष्ट भन्छ। भित्रभित्रै दुःखी हुन्छ। उजेलीका पीडा र छट्पटीले उसलाई बेस्सरी गिज्याउँछन्। आफ्नो लाचारीलाई धिक्कार भन्छ।

त्यो रात पनि पढ्छ, त्यो चिठी। धेरै सोच्छ। सोच्दासोच्दै फुस्स हुन्छ।

± ± ±

'उजेली!'

फ्य्रामिङ्ह्याम मन्दिरबाट फर्कंदै छ। बिहानको झर्झराउँदो घाम। बाटामा पर्ने सनीसाइट लिकरको पार्किङ लट। गाडीसँगै दौडिरहेका आँखा टक्क रोकिन्छन्।

गाडी मोड्छ। उजेली घामतिर फर्केर टोलाइरहेकी छे। नजिक जान्छ। छेउमा बेबीट्रोली पनि छ। उजेलीको एउटा हात ट्रोलीमा छ। ट्रोलीमा सानो नानी निदाइरहेको छ।

'उजेली! डल्लू!'

उजेली बोल्दिन। एकतमासले हेर्छे। उसैगरी हेर्छे जुनालाई पनि। लाग्छ, उजेलीले दुवैलाई कहिल्यै देखिकी छैन। चिनेकी छैन। निक्कैबेर हेर्छे, हेरिरहन्छे।

हेर्दाहेर्दै उजेलीका आँखा रसिला हुन्छन्। भरिँदै आउँछन् आँखा। डिल नाघेर बग्न थाल्छन्। निक्कैबेर बग्छन् आँखा। चुपचाप छन् दुवै। बगिरहेका छन् आँखा।

'दादा..., भाउजु...! मेरो जीवनको दियो निभायो त्यो राक्षसले।'

धुरुधुरु रुन थाल्छे उजेली। एकनासले रुन्छे।

के भयो? कसरी भयो? कहाँ थियौ तिमी?

'कसरी भनौँ? के भनौँ? मलाई नै थाहा छैन, म कहाँ छु? अब म कहिले हाँस्नु? कसरी हाँस्नु? रुन पनि अब गाह्रो भएको छ। के सोचेर अमेरिका आएकी थिएँ, के भयो!'

'भन के भयो? कसको बच्चा हो यो?'

'मेरो।'

'यसको बाउ?'

'मरिसक्यो।'

'कहिले?'

'त्यही दिन?'

'कुन दिन?'

'जुनदिन मलाई त्यसले बलात्कार गर्‍यो।'

'को हो त्यो?'

'त्यही राक्षस!'

'जिउँदै देख्छु त!'

'मरिसक्यो त्यो पापी मेरा लागि।'

फेरि धुरुधुरु रोइ उजेली। लगातार रोइ। धेरैबेर रोइ। जीवनभर नरित्तिने बहको दह टिलपिल छ मनमा। अलिकति भए पनि रित्याइ। निक्कैबेर टाँसिइ जुनाको छातीमा। जुनाले पनि उसलाई सबै वृत्तान्त सुनाइ। उसका पनि आँखा रसाए।

'नाताले नभए पनि मान्छेका नाताले हामी तपाईंका नाता नै हौँ। कसरी भयो यो सबै?' जुनाले सोधी। तर, बोल्नै सकिन उजेली। एकहोरो रोइरही। जुनाले कर गरी।

'गाउँको दाजु भनेर त्यसैको घरमा आएँ। त्यसले पनि साह्रै कर गर्‍यो, मेरैमा आउनु भनेर। बिहेवारी, छोराछोरी भएको मान्छे भनेर ढुक्क भएँ। चिनेजानेको मान्छेका घरमा छोरी पुगी भनेर बूढा बा–आमा पनि खुसी हुनुभो। तीन महिनाको भिसा थियो। सकिन केही दिन बाँकी थियो। भिसा सकिएपछि के गर्नु भनेर सोधेँ। ममीलाई हाल्छु नि भन्यो। तिहार आउन लागेको थियो। दाजु मानेर टीको लगाइदिने निधो गरेँ। दादा म तपाईंलाई टीका लगाइदिन्छु है पनि भनेँ। केही बोलेन। टाउको तल–माथि गरेर फिस्स हाँस्यो। म ढुक्क भएँ। टीकाको सामग्री पनि तयार गरेँ।'

बोलीसँगै बगेका आँसु पुछी। तर, बोल्दाबोल्दै रोकिइ उजेली। सुँक्कसुँक्क गर्दै टुलुटुलु हेर्न थाली।

'अनि?' जुनाले सोधी।

अनि, भाइटीकाको दिन।

'म बेलुकी टीका लगाउँछु, अहिले मिटिङ छ' भनेर बाहिर गयो। 'टीका ला'को भाइलाई टीका लगाइदिन उसकी स्वास्नी अन्तै कतै गई। छोराछोरी पनि आमासँगै गए। राति मातेर आयो। स्वास्नीले फोन गरी, बेलुकी ढिलो हुन्छ भनी। उतै बस भन्यो। रक्सी निकाल्यो। बेस्सरी पियो। मलाई पनि पिउ भनेर साह्रै कर गर्‍यो। अलिकति पिएँ। अनि...'

अनि फेरि रोकिइ उजेली। शब्दसँगै छातीभित्रको पीडा आँखाबाट बगिरहे। उसले दोकानबाट एक बोतल पानी ल्यायो। पानी पिइ। लामो स्वास तानी।

'अनि, त्यसपछि डल्लू?' उसले सोध्यो।

'अनि, त्यो दिन त्यति सञ्चो पनि थिएन। रक्सीले झन् विसञ्चो होलाजस्तो भयो। टीका लगाउने भनेर बिहानदेखि भोकै थिएँ। कोठामा गएँ। टीका लिएर बैठकमा आउन लाग्दै थिएँ कोठामै आयो। टीका थाली खोसेर फ्याँकिदियो।'

बोल्दाबोल्दै बोल्ने नसक्ने भई उजेली। थामिनसक्नु गरी रुन थाली। भित्रैदेखि उम्लिएर आइ। भल्भल्ती बग्ने थाले आँखा।

'त्यसपछि म भन्न सक्दिनँ।'

'तर, तिमीले भन्नैपर्छ। पीडा नबगाए भित्रभित्रै जमेर चट्टानको पहाड बन्छ। थामिनसक्नु हुन्छ त्यो पहाडको बोझ। भन जति सक्छौ भन आज।' जुनाले कर गरी।

'अनि, तेरा बाउ–आमाले जन्माएको हो मलाई? म तेरो दाजु हुँ? भन्दै मलाई निर्वस्त्र बनायो। कति बिन्ती गरेँ। दाजु भनेँ, पाउ समाएँ। रोएँ, कराएँ, चिच्याएँ। दयाको दान मागेँ। कसैले सुनेन। राक्षसले छोडेन। तेरो भिसा आजै सकिएको छ, धेरै कराइस् भने पुलिस बोलाउँछु, जेल पठाउँछु भन्यो। गिरिनकाड बनाउने भए चुप लाग भनेर लडायो। ओछ्यान बिग्रिन्छ भनेर भुइँमा खँदारो। रगतपच्छे बनायो। कोठामा बत्ती झलमल्ल थियो। सारा अँध्यारो देखेँ मैले।'

फेरि धुरुधुरु रुन थाली उजेली। हेर्न सकेन उसले पनि। आँखा चिम्लियो। अर्कोतिर फर्कियो। एक नजर आकाशतिर फ्याँक्यो, अँध्यारो अनुहार लगाउँदै छ आकाश। उजेलीको धरती सधैँको लागि अँध्यारो भैसकेको थियो।

जुनाले अँगालोमा बाँधी, थुम्थुम्याइ। निक्कैबेर पछि बोली उजेली।

'सुत्न सकिनँ। रातभर रोइरहेँ। रातभर रक्सी धोकेर बसिरह्यो त्यो राक्षस। बिहानीपख फेरि आयो र फेरि नंग्यायो मलाई।'

'अनि?' उसले सोध्यो।

'अनि, जतिबेला उसलाई मन लाग्यो तयार हुनुपर्थ्यो। विसञ्चो हुँदा पनि त्यसको भोक पूरा गर्नुपर्थ्यो। रक्सीले मातेका बेला भोक पनि जगाइदिनुपर्थ्यो, पूरा पनि गरिदिनुपर्थ्यो। दमाहाजत्रो भुँडीले थिचिँदा सासै रोकिएलाजस्तो हुन्थ्यो। कुकर्ममाथि अप्राकृतिक कुकर्म पनि गर्न लगायो। बिस्तारै स्वास्नीलाई थाहा भयो। स्वास्नीलाई के भन्यो थाहा छैन। मेरो लोग्ने अग्लो, राम्रो, हिरोजस्तो छ भनेर आँखा ला'की हैनस्! तेरा आँखा फुटाइदिउँ भन्दै मलाई नै कुट्थी स्वास्नीले। चुडेल, बोक्सी भन्थी। भाउजु भनेर पाउ समाएँ। मनका कुरा कति पटक भन्न खोजँे कहिल्यै सुनिन।आइमाईका शत्रु आइमाई नै हुँदार'छन्। कोही भएन सहारा।

'अनि, त्यसपछि?' फेरि उसैले सोध्यो।

'यसलाई अब म डिपोट गराउँछु भन्थ्यो, स्वास्नीका अघि। स्वास्नीका पछि गिरिनकाड बनाइदिन्छु भन्थ्यो। मलाई नंग्याइरहन्थ्यो। एकदिन त आत्महत्या गरुँजस्तो पनि भयो। एकाएक वाकवाकी आयो। राक्षसले डाक्टरकहाँ लग्यो। पेटमा बच्चा भैसकेको रहेछ। मर्न सकिनँ।'

'किन कसैलाई नभनेको?' जुनाले सोधी।

'कसरी भन्नु कसैलाई? कसैसँग भेट्न, बोल्न दिँदैनथ्यो। फोन गर्न दिँदैनथ्यो। फेसबुक बन्द गरिदियो। पुलिस–कानुनको केही सहारा लिन पाइनँ। अंग्रेजी नजान्नु पनि मेरो ठूलो कमजोरी थियो। तँ इलिगल छेस्, तलमाथि गरिस् भने डिपोट गराउँछु भन्थ्यो सधैँ। कहिले जेल पठाउँछु भन्थ्यो। नेपालमा भए त्यसले मलाई इन्डियातिर लगेर बेची पनि दिन्थ्यो। पेटको बच्चा सम्झेर सबै सहेर बस्नुबाहेक अन्य बाटा बन्द भए।'

'त्यसपछि?' उसले सोध्यो।

'त्यसपछि घरमा कलह हुन थाल्यो। युटाहा पठाएँ भनेर नजिकैको साथीको घरमा तीन महिना लुकाएर राख्यो। मसँग भएको पैसा पनि सबै लियो। उसको घरमा बसेको मासिक पनि लिन्थ्यो। गिरिनकाड बनाउनु परो भनेर पनि लिन्थ्यो। पछि फर्काउँछु भनेरसमेत लिन्थ्यो। कमाएको पैसा सबै उसैको हुन्थ्यो। उसैको अधीनमा चल्नुपर्थ्यो।'

'अनि?' जुनाले सोधी।

'अनि अहिले यहाँ ल्याएर राखेको दुई वर्षभन्दा बढी भयो। छोरो नै दुई वर्षको भइसक्यो। मेरो कोही छैन यो संसारमा छोरोबाहेक। नेपाल भएका बा–आमाले पनि त्यागिसक्नु भो। बा–आमाका लागि म मरिसकेँ।'

छोरातिर हेरेर फेरि क्वाँक्वाँ रुन थाली उजेली।

विस्तारै सोध्यो, 'ग्रिनकार्ड?'

'छैन, केही थाहा छैन त्यो जेमराज गिरिनकाड! बोल्यो कि निलुँलाजस्तो गर्छ। म इलिगल नै छु। अहिले पनि कहिलेकाहीँ आउँछ। कसैलाई भनिस्, भेटिस्, कुरा गरिस् भने जेल हालिदिन्छु भन्छ। तरो बच्चासहित डिपोट गरिदिन्छु भन्छ। आउँछ रक्सीको मात पोख्छ जान्छ।'

± ± ±

जुरुक्क उठ्छ। ल्यापटप खोल्छ। गुगल गर्छ, सनीसाइट लिकर स्टोर। भेट्छ आशल्यान्डमा। जुनालाई बिउँझाउँछ। सपना सुनाउँछ। जुनाका आँखा एकहोरिन्छन्। भित्तातिर टाँसिन्छन्।

खुइ्यय स्वास तान्दै जुना बोल्छे– 'उजेलीले सपनामा भनेका कुरा, नारदमुनीले सुनाएका कुरा र कागजमा लेखेका कुरा धेरै मिल्छन्।'

अर्को लामो स्वास तान्दै थप्छे– 'होसमा भन्न नसकेको कुरा मान्छेले बेहोसमा भन्छ। बेहोसमा पनि भन्न नपाएको कुरा सपनामा आएर भन्छ।'

भरखर चौबीस–पच्चीसकी उजेली। कज्मिक प्लिजरमा हराउने बैँस। खाउँखाउँ लाउँलाउँ छ उमेर। गाउँगाउँ नाचुँनाचुँ छन् रहरहरू। उडुँउडुँ छन् इच्छाहरू। उफ्रुँउफ्रुँ छन् चाहनाहरू। भोगुँभोगुँ छन् कामनाहरू। साह्रै रहर गर्थी जमघटमा रम्न। नाच्न, गाउन, उफ्रिन! कति हुँदा हुन् मनभरी पलाएका अनेक रहर र इच्छा। कामना र आकांक्षा? खोस्यो, सबै खोस्यो, सदाका लागि खोस्यो त्यो राक्षसले। सधैँका लागि छिमल्यो उजेलीका बैँसका पखेटा त्यो पापीले। यस्तैयस्तै सोच्यो। निक्कैबेर मूर्तिवत् भयो ओछ्यानमै।

± ± ±

उजेली भारतीयमूलको मान्छेको रक्सी दोकानमा काम गर्छे। बिहान–बेलुकीको छाक त्यसैबाट टार्छे। दुकानदारकै घरको बेसमेन्टको अँध्यारो कोठामा ओत लागेकी छे। त्यति नै हो उसको संसार। संसारका लागि अमेरिका स्वर्ग छ, तर उजेलीका लागि जिउँदै नर्क भएको छ।

'मलाई त्यस दिनदेखि त्यो राक्षसले कहिल्यै तिमी भनेन। सधैँ तँ भन्यो, दाह्रा किट्यो। सधैँ झुस भनेर बोलाउन थाल्यो।'

उजेलीको दुःखेको मन सम्भि्कयो। आफ्ना पुराना दिन सम्भि्कयो। मनमनै भन्यो– 'मैले पनि त्यसलाई राम्रै ठानेको थिएँ, तर मान्छे देखेर धारणा बनाउनु ठूलो गल्ती हो।' हुन त यो सामान्य गल्ती थियो, तर परिणाम असामान्य भयो।

उसको मन मानेन। हैन, भावनमा डुबेरमात्र हुँदैन। मैले केही गर्नुपर्छ, म जान्छु भन्दै निस्कियो। ठाउँ फेला पार्‍यो। भित्र पस्यो। उजेली छे। बोलायो। भगवान् भेटेजस्तो भयो उजेलीलाई। दौडँदै आइ। दुवै बाहिर निस्किए।

दुभार्ग्य! राक्षस आइपुग्यो। राक्षसले देख्यो। डसँुलाजस्तो गरी आँखा तर्‍यो। गरुडसामु परेको सर्पजस्ती भई उजेली। सातो गएजस्ती भई। साह्रै डराइ। अँध्यारो अनुहार लिएर दौडँदै भित्र छिरी। ऊ केही नबोली हिँड्यो।

अझै हारेन ऊ। भोलिपल्ट फेरि गयो, तर उजेली छैन। सोध्यो। भन्दिए– 'उसैले लिएर गयो।' त्यस दिनदेखि उजेली फेरि बेपत्ता भई।

जुना फेरि छक्क परी। सोधी– 'अमेरिकामा पनि यस्तो हुन्छ?'

जुना उसकी स्वास्नी हो। उजेली अर्थात् डल्लू उसले बैनी मानेकी सगोत्री बैनी हो। उजेलीको मूल परिचय एक निरीह नारी हो। जो सम्पूर्ण गुमाएर अमेरिकामा गुमनाम छे। राक्षससिवाय कसैलाई थाहा छैन, उजेली कहाँ छे?

लज्जाहीन छ राक्षस। हाँसेर बाँचिरहेको छ। त्यही राक्षसको त्यो जेमराज गिरिनकाडले उजेलीलाई सधैँ मारिरहेको छ। जिउँदो लास बनाएको छ।

ग्रिनकार्ड


 
Posted on 08-11-19 10:31 PM     [Snapshot: 44]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

राम्रो लेखाइ/ अमेरिका मा घटिरहेका यथार्थप्ररक बिषयबस्तु/ धन्यबाद छ लेखक लाइ/
 
Posted on 09-26-19 12:30 AM     [Snapshot: 913]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
6 ÷ 2(2 + 1)=
Advance parole reason
LAX to Guangzhou to Nepal - CS Air
This beautiful Traditional Hindu Wedding of Trusha & Neil: have your Pinterest dreams come to life
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters