बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि लक्ष्मी लम्साल बेइजिङ कार्तिक २ ग्रेटवाल १२४४ देखि १३०६ को अवधि नेपाली कलाकार अरनिकोको कलाप्रभावको युग थियो। उनले तिब्बत हुँदै चीनभरि बौद्ध धर्म, प्यागोडा शैली र रञ्जना लिपिको प्रचार गरे। युनथाइमा तिब्बती बुद्धिज्म र रञ्जना लिपि सायद उनैले कुँदेको हुनुपर्छ। हरेक यात्राहरूमा केही न केही नटेकिएका गन्तव्यहरू हुन्छन्, जसबारे यात्रु स्वयं अनभिज्ञ हुने गर्दछन्। दार्शनिक मार्टिन बुबरको यो भनाईलाई अचेल प्रविधिको दुनियाँले हदैसम्म चरितार्थ गरेको छ। घुमघामलाई तस्वीर खिच्ने अवसर ठान्ने प्रवृत्तिले ‘कैयन् पुस्तक पढ्नुभन्दा धेरै ज्ञानोपयोगी हुने’ भनिएका भ्रमणहरू ओझेल पर्दै गएका छन्। पाँचौदेखि १६औं शताब्दी लामो कालखण्ड लगाएर बनाइएको चीनको ग्रेटवाल पुग्ने चाहना संसारका कुनै पनि मानिसको हुन्छ। तर त्यहाँ पुगेका अधिकांश मानिसले लामो र अग्लो पर्खाल मात्रै देख्छन् र सकेसम्म पुरै पर्खाल आउने गरी तस्वीर खिच्न खोज्छन्। बेइजिङमा रहेको ग्रेटवालमा पटक पटक पुग्ने मौका पाएपनि कहिल्यै संस्कृतमा कुँदिएका बुद्धसूत्र देख्ने अवसर मिलेको थिएन। हुन त समय छ, अझै पनि संभावना होला। तर यो पछिल्लो यात्रापश्चात् थाहा भयो, नेपालीले गर्वले छाती फुलाउने एउटा ठाउँ पनि रहेछ ग्रेटवाल सम्पदामा। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले संचालन गरेको ‘ग्रेटवालको सेरोफेरो’ विषयक प्रतियोगिताको चौथो तथा अन्तिम चरणको नतीजा सार्वजनिक गर्नका लागि चीनको बेइजिङ नगरपालिकाबाट ६० किलोमिटर टाढा पर्ने च्वीयुङक्वान, ग्रेटवाल पुग्दा थाहा भयो, बेइजिङको अर्को एउटा स्थानबाट पनि ग्रेटवाल चढ्न सकिने रहेछ। मु थ्यान यू, पातालिङपछि च्वीयुङक्वान मेरो लागि ग्रेटवाल चढ्ने अर्को नयाँ प्रवेश नाका बनेको थियो। सन् १९८७ मा युनेस्को सम्पदामा सूचीकृत ग्रेटवाल विश्व सांस्कृतिक धरोहर त हुँदै हो, चीनको महत्वपूर्ण पूरातात्विक सम्पदा पनि। ग्रेटवालको कूल लम्बाइ २१ हजार १९६.१८ किलोमिटर छ। ग्रेटवालले चीनका १५ प्रान्त र स्वायत्त प्रदेशहरू छोएको छ। हपै, पैचिङ, थ्यानचिन, वल्लो शान्सी, पल्लो शान्सी, कान्सु, भित्री मंगोलिया, हैलुङच्याङ, चिलिन, ल्याउनिङ, शानतोङ, हनान, छिङहाइ, निङ्स्या र सिन्च्याङ। तर नेपाली मात्रैले गर्व गर्न लायकको ठाउँ चाहिं च्वीयुङक्वान नै हो। शीतल पवन एकोहोरो बहिरहेको अक्टोबर १० तारिखको बिहान १० बजेतिर हामी चढेको जीप निर्धारित स्थलनेर रोकियो। ४० युआनको टिकट काटेपछि पर्खाल चढ्ने क्रम शुरू भयो। झण्डै ८०–८५ डिग्रीको ठाडो उकालो उक्लेपछि पर्खालको समथर सतह आयो, त्यहाँबाट सुस्ताउँदै चारैतिर नियाल्ने हो भने ग्रेटवालको मुन्तिरका ठाउँहरू पनि देखिन्छ। ग्रेटवाल पार गरेर मुन्तिरबाट निरन्तर सवारी साधन कुदिरहेका हुन्छन्। नजीकै विशाल दह छ, वारिपारी अग्ला अग्ला पहाड छन्। नागवेली पर्खालहरू पहाडी चुचुरातर्फ दगुरेजस्तो गरी उक्लिएका छन्। अनि बेतोडसँग हावाको सिर्सिराहट अविच्छिन्न चलिरहेको महसुस हुन्छ। प्राचीनकालमा सुरक्षा रणनीति अनुरूप बनाइएका साना साना लुक्ने कुनाकाप्चाहरू छन्। त्यस्ता केही छत भएका साना साना थुम्का जस्ता कुनाहरू छिचोलेर ओर्लिँदा पर्खालकै भित्री भागमा पुगिन्छ। पर्खालको दाहिने भागमा युनथाइ प्रवेशद्वारजस्तो स्तम्भ देखिन्छ। केही अध्ययनको ध्येय नलिएर यात्रा गरिरहेको यात्रुले त्यो अर्ध वृत्ताकार विशाल स्तम्भ हेर्छ, भित्तामा कोरिएका केही अजंग, भयानक तस्वीरहरू पनि देख्छ र केही फोटो लिएर यात्रा टुंग्याउँछ। तर सूचनापाटीमा ध्यानपूर्वक जानकारी लिएर स्तम्भका भित्ताहरूमा आँखा गाड्यो भने धेरै कुरा देख्न सक्छ। झण्डै साडे ९ मिटर उचाई, प्रस्तरबाट निर्मित प्रवेश द्वारका भित्ताहरूमा बुद्धमूर्ति र सूत्रहरू देखिन्छन्। चरा, ड्रागन, ह्वेल, कुमार किशोर, जनावर, अजङ्गको हात्ती लगायत भित्तामा कुँदिएको भेटिन्छ। युआन राजवंशकालको तिब्बती बुद्धिज्म छ त्यहाँ। सूचनापाटीमा लेखिएको छ– प्राचीन संस्कृत, तिब्बती, फाग्पा, युगुर, पश्चिमी (१०३८–१२२७) स्या शासनकालको भाषा र हान भाषामा बुद्ध मन्त्रहरू कुँदिएका छन्। स्वर्गका राजाको मूर्ति प्रष्ट देखिन्छ। स्वर्गका राजाले बुद्ध नै बुद्धको वस्त्राभूषण लगाएका छन्। सर्प, अस्त्र, बज्रका आकृति पनि छन्। हान जातिको पहिरन लगाएकी महिला र वरिपरि ग्रेटवाल बाहिरका जातिका मानिसहरूको प्रकृति छ। यो च्वीयुङक्वान, युनथाइ बेइजिङको छाङफिङ जिल्लास्थित दक्षिणी मोहडातर्फ अवस्थित छ। युनथाइमा कुँदिएका तस्वीर र लिपिहरूले तत्कालीन राजाहरूको आध्यात्मिक जीवनशैलीको झल्को दिन्छन्। युनथाइ, तत्कालीन विश्वको सबैभन्दा पूरानो र सबैभन्दा ठूलो टावर थियो। युआन राजवंश कालमा बाटोमा यस्तो टावर बनाइएको थियो ताकि सर्वसाधारणले कल्याणका खातिर बुद्धको पूजा गर्न सकून्। सम्राट युआनशुनको पालामा सन् १३४२ मा ५ वर्ष लगाएर यसको स्थापना गरिएको थियो। १२४४ देखि १३०६ को अवधि नेपाली कलाकार अरनिकोको कलाप्रभावको युग थियो। उनले तिब्बत हुँदै चीनभरि बौद्ध धर्म, प्यागोडा शैलीका साथै रञ्जना लिपिको पनि प्रचार गरेका थिए। युनथाइमा तिब्बती बुद्धिज्म र रञ्जना लिपिको विश्लेषण गर्ने हो भने उनकै प्रतापले यस्तो लिपि कुँदिएको निष्कर्षमा पुग्न सकिन्छ। सम्बन्धित स्थानमा नपुगेका मानिसहरूले ‘संस्कृत लिपि’ भन्ने सूचनामाथि भरोसा गर्न सक्छन्। तर त्यो संस्कृत लिपि भने पक्कै होइन। हुन त अनुसन्धान गर्दै जाँदा संस्कृत भाषामा कुँदिएको सूत्र ग्रेटवालका भित्तामा कहीं कतै भेटिएला। संस्कृत भाषा देखिएपछि नेपालीले मात्रै हैन, भारतीयहरूले पनि गर्व गर्न पाउँछन्। च्वीयुङक्वानको युनथाइमा देखिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि त नेपाली मात्रैले एकलौटी रूपमा गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट नेपाल–चीन सम्बन्धमा थप आयाम पनि कोर्न सकिन्छ। https://nepalkhabar.com/np/new...
_____ · Oct 21, 2018 10:02 AM · 13,095 views
What will they find on भित्ता of Trump's big, beautiful wall hundreds of years later ?
Khaobaadi_Netaa · Oct 21, 2018 10:09 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion