[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

rahulvai
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 ६५ हजारमा भारतले किन्न खोजेकी माननीय
[VIEWED 5182 TIMES]
SAVE! for ease of future access.
Posted on 08-30-18 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 



६५ हजारमा भारतले किन्न खोजेकी माननीय

भद्रकुमारी घले

६५ हजारमा भारतले किन्न खोजेकी माननीय

उनको स्वभावै खरो । त्यसैले चित्त नबुझेको विषयमा उनले कहिल्यै कसैलाई समर्थन गरिनन् । आफैले मान्दै आएको राजालाई पनि । उनी त्यसबेला राजपरिषद्को सदस्य थिइन् । तिनताक पारस शाहले चलाएको गाडीको ठक्करबाट गायक प्रविण गुरुङको निधन भयो । यसले सर्वत्र ठूलै हङ्गामा मच्चायो । 

राजपरिषद्ले परिषद् सदस्य सुश्री भद्रकुमारी घले (८७) लाई पारस शाहको समर्थनमा आफ्नो मत राख्न भन्यो । अर्थात् यो खबरलाई झुठो भन्नु पर्ने थियो उनले । भद्रकुमारी घले त्यो पक्षमा थिइनन् । गलतलाई गलत भन्ने स्वभावकी घलेले परिषद् सदस्यबाट राजीनामा दिइन् । 

गएकोे शुक्रबार मैतिदेवीस्थित उनको निवासमा कुराकानी गर्दै उनले भनिन्, ‘म खरो बोल्ने मानिस हुँ । राजा वीरेन्द्रकै कृपाले म राजपरिषद्को सदस्य भएँ । केशरजंग रायमाझी अध्यक्ष थिए त्यसबेला । प्रविण गुरुङको निधनको विषयमा मलाई परिषद्मा रहेका सदस्यहरुले  ‘यो झुठो हो’ भनेर बोल्न भने । मैले म झुठो बोल्दिन, बरु परिषदबाट राजीनामा दिन्छु भनेँ । र राजनामा दिएँ ।’

पीिछ अध्यक्ष केशरजंग रायमाझीले ‘भद्रा जी, किन राजीनामा दिनु हुन्छ । बिरामी भएँ भनेर बस्नुस् भने । बरु उनलाई त्यस विषयमा बोल्नै पर्छ भनेर डा. स्वामी प्रपन्नाचार्यले दवाव दिएका थिए । 
अर्थात्, पदमै रहेको अवस्थामा पनि उनले धेरै पटक खरो बोलिन् । गलत कुरा र काममा समर्थन गरिनन् ।

यही खरो स्वभावका कारण होला, भद्रकुमारी घले (८७)ले २०१८ सालमै पञ्चायत प्रवेश गरेपनि, त्यसको केही वर्षपछि माननीय भएपनि मन्त्री हुन लामै समय कुर्नुपर्यो । मन्त्री भएपनि एक पटक भन्दा बढी मन्त्री भइनन् उनी । 
यस्ता खरा प्रसंग उनीसित अरुपनि धेरै छन् ।

०००

समाजसेवी तथा राजनीतिज्ञ भद्रकुमारी घले काठमाडौंमा जन्मिन् । ओखलढुंगाको जराटार अम्बोटे, घलेगाउँमा हुर्किन् । मावल दोलखा जिल्लाको चङ्खु गँगटामा लेखपढ गर्न, चण्डी, रामायण, महाभारत भट्याउन जानिन् । केही वर्षपछि उनी ओखलढुँगा फर्किन् । सिन्धुलीको नारापुर अम्बोटेमा उनीहरुको मौजा पनि थियो । त्यसैले उनले आफ्नो कर्म क्षेत्र सिन्धुलीलाई नै बनाइन् ।  

उनका अनुसार दुई वर्षकी हुँदा उनी एकदम रोगी थिइन् । त्यसैले उनलाई उनका आमा बाबुले उनको बजैको काखमा राखिदिए । उनले बजैको काख पाइन् । बाह्र–तेह्र वर्षसम्म बजैको काखमै लडीबुडी गरिन् । 

उनी भन्दैथिइन्, ‘मैले मामाघर पुगे पछि मात्रै पढ्न लेख्न जानें । त्यहीँ बुद्धि चाणक र दुर्गा कवच पढ्न सिकेँ । त्योभन्दा अघि त घाँस काट्ने र भारी बोक्ने काम मात्रै त गरियो ।’ 

उनी सात वर्षकी हुँदा उनकी फूपुसँग उनको मामाको बिहे भयो । उनी फुपूको साथी भएर मामाघर गइन् । त्यतिबेला नौ दिन लगाएर उनीहरु दोलखाको त्यो मावल गाउँ पुगेका थिए । 

भद्रकुमारीका मावलका बाजे नरबहादुर गुरुङ त्यसबेला सात गाउँका मुखिया थिए । तिनको शान सौकत नै बेग्लै थियो । कैयन काम गर्ने व्यक्ति राखेका थिए घरमा । उनी सधैँ पाँच छ पाथी गहुँ, मकै र कोदो मिसाएर कुखुराका अघिल्तिर छर्थे । कुखुराको खोर भित्र पनि अण्डै अण्डा । उनी चकित परेकी थिइन् अण्डाको रास देखेर । 

उनका बाजे तिहारमा त्यही कमारा कमारी दाउमा थापेर जुवा खेल्दा रहेछन् । ठालुहरुको जमात बस्यो र कमारा कमारीलाई जुवाको दाउमा लगायो ।  उनी पुरानो कुरा सम्झिएर हाँसिन् र भनिन्, ‘यस्तो पनि हुँदो रहेछ ! यस्तो त मैले पहिलो पटक देखेकी थिएँ । यहि आँखाले देखेँ त्यस्तो जुवा ।’

उनको मावलमा उनका मामाहरुलाई पढाइन्थ्यो पनि । त्यसैले पनि उनले लेखपढ गर्ने मौका पाइन् । यो उनका लागि जीवनकै ठूलो उपलब्धी भयो । 

पूर्व मन्त्री भद्रकुमारी घलेका घरतिरका बाजे पहिलो विश्वयुुद्धमा युद्ध गरेर फर्किएका योद्धा थिए । उनले सुनाउँथे, अंग्रेजकी छोरी यस्ती, अंग्रेजकी छोरी उस्ती भनेर । कति राम्रो पढेका । बाजेका कुरा सुनेर उनी मेमहरुले कसरी पढेका होलान् भन्ने सम्झिन्थिन । तर आफूले पढ्न थालेपछि ‘ए पढाइ भनेको त यस्तै हुने रहेछ’ भन्ने ज्ञान उनलाई भयो । 

करिब दुई वर्ष उनी मावल बसिन् । त्यस पछि मात्रै घर फर्किइन् । त्यहाँ फर्किएपछि उनले लेख्न पढ्न थालेको सबैले चाल पाए । उप्रान्त उनको काम भयो, समयसमयमा पाकाहरुलाई स्वस्थानी, रामायण र महाभारत सुनाउने । अनि गाउँका घलेनी केटीहरुका चिठि लेखिदिने ।

मावल जानुपूर्व घाँस काटने उनको लेखपढ गर्न जानेपछि मानमनितो बढेको थियो । उनलाई चिठी लेख्न लगाउनेले पनि दूध चिउरा, दही चिउरा, मिठा मिठा खानेकुरा खुवाउँथे ।  गाउँका घलेनीहरुले गरेको मानमनितो सम्झेर उनको मुहार उज्यालियो । लाग्यो, उनी यतिखेर ओखलढुँगा अम्बोटेमै छिन्, घलेनीहरुका बीच घेरिएर । 

घले गर्दै थिइन् त्यो बेलाको वर्णन । भन्दै थिइन्, ‘त्यो बेला छ पैसा मानाको घ्यु पाइन्थ्यो । एक पैसामा अन्डा, एक रुपैयाँमा भाले, पाँच रुपैयाँमा खसी खाने मानिस मै हुँ । सत्य युग जस्तै थियो त्यो समय ।’

तेह्र वर्षकी हुँदा उनी मौजा रहेको ठाउँ सिन्धुली आइन् । उनका अनुसार सिन्धुलीबाट जनकपुर जाँदा चार पाँच दिनसम्म पनि घरमा ढोका ढप्काएरै मात्रै पनि गइन्थ्यो । केही हुन्थेनन् । कोही छिर्थेनन् घरमा । अगाडि नासपाती लटरम्म फलेका हुन्थे । तर एकदाना कसैले टिपेर खान्थेनन् । खानु पर्दा सोध्थे । 

घले राष्ट्रिय पञ्चायतको सदस्य हुँदा पनि सिन्धुलीबाट राती पनि एक्लै हिँडेकी थिइन्, कैयनपटक । कसैको डर लाग्थेन उनलाई । त्यो बाटोमा उनलाई डर लाग्ने भनेको जङ्गली जनावरहरुसित मात्रै हो ।  केही समयपछि पढ्नैका लागि उनी काठमाडौं आइन् । उनकी ठूलीआमा सानीआमा थिए काठमाडौंमा । त्यस बेला पाँच छ जना भरिया लगाएर काठमाडौं आएको उनी अझै सम्झन्छिन् । 

काठमाडौं आएर उनी कन्या पाठशालामा पढ्न थालिन् ।  त्यसैबेला पाँच वर्षमा म्याट्रीक पास भन्ने सूचना गरेको उनले सुनिन् । यसले उनलाई उत्साहित तुल्यायो । तर पढ्नलाई गान्धी आश्रम वर्धा जानु पर्दथ्यो । उनले आफ्नी ठूलीआमासँग कुरा गरिन् । तर ठूली आमाले गाली गरिन्,  मेरी बहिनीलाई यसले दुःख दिन थाली भनेर ।

तर उनी पनि हठी थिइन् । निवेदन लेखेर वर्धाका लागि चयन भइन् । यहाँ नेपाली गान्धी तुलसीमेहरको अगुवाईमा यो कार्य हुँदै आएको थियो । उनी र भुवनेश्वरी सत्याल पनि छानिए । 

उनी भन्दै थिइन्, ‘पछि तुलसी मेहर आएर त मलाई हुन्न भन्छन् । उनले त अर्कै केटीको व्यवस्था गरेका रहेछन् । मलाई मृगेन्द्र शमशेरले पनि यस पटक नजाउ भने । मैले हुन्न सरकार भन्दै रुन थालेँ । त्यस पछि मात्रै मलाई पठाएका हुन् । यसरी आठ जना केटीहरुको समूहमा म पनि परेँ ।’

वर्धा जानका लागि सबै थानकोट पुगे । चित्लाङ, भिमफेदी भएर जानु पर्दथ्यो । थानकोट पुगेपछि त तुलसी मेहरले भद्रकुमारीलाई ‘तिमी पहाडकी बहादुर केटी, पहाड हिँड्न सक्छौ’ भन्दै हिँडाएछन् । अरुलाई भने उलिनकाठमा चढाएर लगे, भिमफेदीसम्मै । त्यसैले पनि उनलाई जीवनभरि तुलसी मेहर प्रति कहिल्यै श्रद्धा जागेन । उनी अहिले पनि यो भन्न हिचकिचाउँदिनन् । 

उनी भन्दै थिइन्, ‘तुलसी मेहरसँग मेरो फाटो जस्तै भयो । मैले बुढाको धोती पनि धोएँ चप्पल पनि धोएँ । तर पनि मैले तिनीलाई कहिल्यै श्रद्धा गर्न सकिन् ।’

पहाडमा बिताएका पलहरुले उनीमा एउटा अदम्य शक्ति र साहस भरेको थियो । त्यही शक्ति र साहसका साथ उनी पैदल हिँडिन्, भिमफेदीसम्मै । त्यस दिन चित्लाङमा खाएको खानाको स्वाद आजसम्म उनको स्मृतिमा ताजा बसेको छ ।  भारतको नागपुर हुँदै पुग्नुपर्ने वर्धा गान्धी महिला आश्रम पुगेकी भद्रकुमारी आश्रमको पुस्तकालयमा दराज भरि किताब देखेर दंग परिन् । त्यसपछि उनको मन लेखपढ्मा झनै बस्यो । त्यसैबेलादेखि उनले कविता र गीत पनि कोर्न थालिन् । 

वर्धामा बेलाबेलामा ठाउँठाउँबाट आएका केटीहरुले आफ्नो आफ्नो ठाउँको स्थानीय संस्कृति झल्किने कार्यक्रम गर्थे । नेपालबाट गएका भद्रकुमारी, भुवनेश्वरीलगायतका केटीहरुले पनि नेपाली लोक गीतसंगीत र नृत्य प्रस्तुत गरे । उनीहरुले नेपाली सांस्कृतिक प्रस्तुति अन्य विद्यालय तथा कलेजमा पनि प्रस्तुत गरे । 

केही समयपछि वर्धामा रहेका नेपाली केटीहरुले नेपाली पनि बिर्सिन्छन् कि भन्ने लागेर तुलसी मेहरले साहित्यकार कृष्णचन्द्रसिंह प्रधानलाई नेपाली शिक्षकका रुपमा पठाएको उनी सम्झिँदै थिइन् ।  वर्धाबाट म्याट्रिक गरिसकेपछि समाजसेवी घलेले इन्दोरबाट नर्सिङ कोर्स गरिन् । अरु पनि थप तालिम हासिल गरिन् । र, २०१३ सालमा उनले जनकपुरको अस्पतालमा नर्स भएर काम गर्न सुरु गरिन् ।

व्यवहार खरो भएपनि मन कमलो भएकै कारण उनको कार्यशैली सबैलाई मनपथ्र्यो । उनको कामको पनि चर्चा हुन्थ्यो । केही वर्ष जनकपुरमा काम गरेपछि उनी थप अध्ययनका लागि बनारस गइन् र शास्त्री पढ्न थालिन, काशी हिन्दू विद्यापिठमा । 

०००

शास्त्री पढाईको अन्तिमतिर उनले थेसिस बुझाइन् । फाइनल परीक्षा बाँकी नै थियो । त्यसैबेला उनी सिन्धुली आइन् । सिन्धुलीमा आमा थिइन् ।   उनकी आमाले एकदिन भनिन्, ‘जनकपुरमा नयाँ अञ्चलाधीश आएका छन् रे । चिनापर्ची गर्नुपर्ने ।’ त्यसपछि दुबै आमा छोरी कमलाखोँज, चारकोसे झाडी, गोदार, धनुषाधाम हुँदै जनकपुर पुगे । रात धर्मशालामा बिताए । बिहानै जलेश्वर पुगे अञ्चलाधीश भेट्न । 

खबर गरेको केही समय पछि अञ्चलाधीश दिलबहादुर श्रेष्ठ बाहिर निस्के । भद्रकुमारी घले भन्छिन्, ‘अञ्चलाधीश त मेरी आमालाई तपाई भक्तकुमारी घले । अनि उनले मेरी आमालाई भने, उनी तपाईकी छोरी भद्रकुमारी घले । काशी हिन्दू पिठमा शास्त्री पढ्दै छिन् । तिनको कुरा सुनेर चकित परेँ म । पछि थाहा भयो, मेरा बारेमा मकेश्वरप्रसाद सिंहले उनलाई सबै भनेका रहेछन् । यस क्षेत्रमा पर्दामा रहेका महिलाहरुलाई जागरुक बनाउने हो भने महिला संगठनको जिम्मा भद्रा घलेलाई दिनु पर्छ । उनले सक्छिन् यो काम गर्न ।’ 
अञ्चलाधीश श्रेष्ठले तत्कालै अबिर मगाएर भद्रकुमारीको निधारमा टीका लगाईदिँदै भने ‘तिमी नेपाल महिला संगठनको जनकपुर अञ्चल सभापति भयौ’ भनेर । उनले विधान र नियमावली भद्रकुमारीको हातमा दिँदै लौ अञ्चलमा संगठनको बिस्तार गर भनेँ । यसरी उनी महिला संगठनसँग जोडिइन् ।

महिना दिनभित्र उनले बनारस जानु पर्ने थियो । समय कम थियो । तरपनि उनी आफ्नो कामलाई पूर्णता दिन सक्रिय भइन् । उनले जनकपुर अञ्चलको छ वटै जिल्ला घुमेर महिलाहरुलाई एकत्रित गरिन् र जिल्लामा जिल्ला कमिटि गठन गरिन् । जिल्ला समितिपछि उनले अञ्चल समितिलाई पनि पूर्णता दिइन् । अनि अञ्चलाधीशलाई रिपोर्ट बुझाएर बनारस फर्किन् ।

केही समयपछि काठमाडौंमा महिला संगठनको मिटिङ भयो । भद्रकुमारी काठमाडौं पुगिन् । एकसे एक नेताहरु पहिले कमल शाहको चाकरीमा जानेगरेको घले बताउँदै थिइन् । त्यसबेला कमल शाहले कतिलाई त पकेटखर्च पनि दिने गरेको कुरा उनले खोलिन् ।
तिनै कमल शाहलाई भद्रकुमारीले भनिन्, ‘एउटा संगठनको केन्द्रीय सभापति, तीन वटा महिला संघका तर्फबाट माननीय मध्ये एउटा कुनै पद रोज्नुस्’ । अरु तीन सीटमा आफूहरुले लड्ने उनले बताईन् । तर शाहले आफूलाई अध्यक्ष र माननीय दुबै सिट चाहिने जिकिर गरिन् । पछि निर्वाचनमा भद्रकुमारीहरुको समूहले उनलाई केन्द्रीय सभापतिमा हराइ दिए । 

यसैबेला भद्रकुमारी पहिलो पटक राष्ट्रिय पञ्चायतको सदस्य भइन् । उनी भन्दै थिइन्, ‘हामी माननीय हुँदा तीन सय रुपैयाँ तलब र दश रुपैयाँ भत्ता थियो ।’  राजनीतिका बारेमा खासै ज्ञान नभएकी भद्रकुमारी महिला संगठनका तर्फबाट माननीयमा लड्ने भइन् । सूर्यप्रसाद श्रेष्ठ सेक्सन अफिसर थिए । उनले जमानत वापत दुई सय रुपैयाँ जम्मा गर्नुपर्ने बताए । उनीसँग पैसा थिएन । भरखरै बनारसबाट फर्किएकी थिइन् । पैसा हुने कुरो पनि भएन । त्यसैबेला उनलाई साथी भुवनेश्वरी सत्यालको सम्झना भयो । उनले भुवनेश्वरीका पिताजीसंग चुनाव लड्नका लागि पाँच सय रुपैयाँ मागिन् । त्यही पाँच सय रुपैयाँले उनले माननीयमा विजय हासिल गरिन् । 

राष्ट्रिय पञ्चायतको सदस्य भएपछि उनले महिलाहरुमा जागृति ल्याउनु पर्ने भन्दै विभिन्न काम गरिन् । त्यसपछि राजा महेन्द्रकी भाइ बुहारी प्रिन्सेप शाहको सहयोगमा राष्ट्रव्यापी वृहत् महिला भेला पनि गराइन् । प्रिन्सेपले भद्रकुमारीलाई महिलाहरुको भेला गराउन सकिन्छ भनेर सोध्दा उनले सक्ने जवाफ दिएकी थिइन् । त्यसैको परिणाम थियो महिला सम्मेलन । 

भद्रकुमारी भन्छिन्, ‘प्रिन्सेप सरकारलाई मैले सकिन्छ, तर यसका लागि पैसा चाहिन्छ भनेँ। उनले स्वीकृति दिइन् । हामी चार जना कमल शाह, तरुलता रायमाझी, विमला मास्के र म थियौं । कमल शाहले व्यवस्थापनको जिम्मा लिइन् । मैले पचहत्तर जिल्लाकै सडियोलाई टेलिफोन गरेर महिलाहरुको वृहत्त भेला सम्पन्न गराएँ । यो काम पन्ध्र दिन भित्रै सक्यायौं हामीले । राजा महेन्द्र पनि दंग परे ।’

महिला संगठनमा मात्रै होइन, साहित्य सम्मेलनमा पनि यिनको सहभागिता हुँदै आएको थियो । केदारमान व्यथित प्रज्ञाको कुलपति हुँदा चितवनको रामपुरमा ०२२ सालमा वृहत साहित्य सम्मेलन सम्पन्न भएको थियो ।  उनले सुनाईन्, ‘मैले ‘ए मेरो कलमको टुँडो’ भन्ने कविता लेखेकी थिएँ । व्यथित जी मलाई भद्रा जी त्यो टुँडो सुनाउनुस् न भनिरहन्थे । राजा महेन्द्रका अगाडि पनि मैले कविता सुनाएकी थिएँ ।’

उनी राजनीतिमा लागे पनि चाकडीमा लागिनन् । नेताहरुको जानुको साटो उनी कहिले सिद्धिचरण श्रेष्ठ कहाँ पुग्थिन् त कहिले लैनसिंह वाङदेल र कहिले बालकृष्ण सम कहाँ पुग्थिन् ।   कविता गीत मात्रै होइन, भद्रकुमारी चित्र पनि कोर्छिन् । उनले कोरेका चित्रहरुको बेलाबखत प्रदर्शनी पनि गर्दै आएकी छिन् । उनले कोरेका चित्रहरु जसरी रुचाईए त्यसैगरि केही चित्रहरुले उनलाई सजाय दिनु पर्ने अवस्था पनि सिर्जना गर्यो ।

०००

एकपटक भृकुटीमण्डपमा माननीयहरुले आफ्नो आफ्नो अञ्चलको स्टल सजाए । भद्रकुमारीले पनि स्टल सजाईन् । उनका स्टलमा पनि राजा महेन्द्र आए र केही सामान किने पनि ।  राजा वीरेन्द्रको समयमा भएको एउटा गाइजात्रे कार्यक्रममा उनले बनाएको व्यङग्य चित्र पनि सजाइयो । उनले चित्रबाट तिखो व्यङग्य गरेकी थिइन्, समसामयीक विषय माथि । राजा उपस्थित भएको कार्यक्रममा व्यङग्य कविता पनि पढिन् । राजाले उनको चित्र पनि हेरे । तर राजाका भाइ ज्ञानेन्द्रलाई भद्रकुमारीको चित्र र कविता मनपरेन ।
ज्ञानेन्द्रले भद्रकुमारीलाई सजाय गर्नुपर्ने जिकिर गरेछन् राजासँग । तर राजाले ‘गाईजात्रामै त हो यसरी व्यङग्य गर्ने’ भनेर टारिदिएछन् । 

सबैकी ‘भद्रा दिदी’ कहिले डराइनन् । आफूले बिगार गरेको छैन भने डराउने कुरै छैन भन्ने विचारमा अझै पनि अडिग छिन् उनी । त्यसैले त उनले आफूलाई चित्त नबुझेको कुरो जस्को अगाडि भएपनि स्पष्ट भन्दै आएकी छिन् ।

चार पटक माननीय भएकी उनले एकपटक ‘यो आइमाई मान्छे र लोग्नेमान्छेलाई समान नठान्ने मुलुकी ऐनको कुनै काम छैन’ भनेर मुलुकी ऐन फँेकिदिइछन् । त्यो देखेर चाकडी गर्नेहरु जुर्मुराए । ठाउँमा पुगेर उनका विरुद्ध नानाभाँती कुरा लगाए । तीलको पहाड बन्यो कुरो ।

भद्रकुमारी भन्दैथिइन्, ‘त्योबेला गृहमन्त्रालयले मलाई जेल पनि हाल्न खोजेको थियो । तर त्यसबेला मलाई प्रिन्सेप शाहले नै जोगाइन् । उनले राजा महेन्द्रसंग केके कुरा गरेर मिलाइन् ।’

उनी प्रिन्सेप शाहलाई साहै दूरदर्शी र माया गर्ने व्यक्ति मान्छिन् । तर उनी आफै आश्चर्य हुन्छिन्, उनी राजाबादी हुँदाहुँदै पनि राजाबाट उनले कहिल्यै केही नपाएको बताउँछिन् । भन्छिन्, ‘राजा महेन्द्रले यसलाई यति दिए, उसलाई यति दिए भन्ने खुबै सुन्थेँ । तर मलाई एक पैसा पनि कहिल्यै दिएनन् । प्रिन्सेप शाहले मलाई माया गर्थिन, तर एउटा कपडा धरी कहिल्यै दिइनन् । राज्यमन्त्री त म राजा वीरेन्द्रको समयमा मात्रै भएँ । त्यो पनि एक पटक मात्रै ।’

एउटा अर्को प्रसंग सुनाईन् भद्रकुमारीले । उनी तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको पक्षमा थिइन् । एकदिन सूर्यबहादुरले उनलाई बोलाएर भने, ‘चुनावको समय आएको छ । तपाईसँग भारतीय दुतावासका फस्र्ट सेक्रेटरीले भेट्छन् है’ । 
भद्रकुमारीले ठानिन् कुनै विशेष सल्लाह होला । यसैक्रममा एउटा व्यक्तिले उनलाई दूतावासका फर्स्ट सेक्रेटरीको घरमा पुर्‍याए । चियासँगै उनले भद्रकुमारीका अगाडि पैसठ्ठी हजार रुपैयाँ राखीदिए । भद्रकुमारीले ‘यो के हो भनेर सोधिन्’ । फर्स्ट सेक्रेटरीले पनि उनलाई ‘तपाई सूर्यबहादुर थापाको पक्षको भएकोले भारत सरकारका तर्फबाट निर्वाचन खर्च दिइएको’ भनेछन् । 

यो प्रसंग झिक्दै भद्रकुमारीले भनिन्, ‘भारतसँग मैले खर्च लिनु ? त्यो पनि पैसठी हजार ! यो पैसठ्ठी हजार लिएर म जिन्दगी भर भारत सरकारको अगाडि शीर निहुराएर बस्न सक्दिन । मैले ती सेक्रेटरीलाई स्पष्ट भनिदिएँ, नाथे पैसठ्ठी हजारमा तिम्रो कमारो बन्दिन ।’ 

उनको यही खरो र हठी स्वभावका कारण आज पनि उनी उही मान मनितोमा छिन् । सबैकी दिदी हुन् उनी । धेरैको उद्धार गरेकी छिन् । ‘भद्रकुमारी घले सेवा सदन’का माध्यमबाट समाजसेवामा सक्रिय छिन् । उनले शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा अनेकन सामाजिक कार्य गर्दै आएकी छिन् । दुःखीलाई सहयोग गर्नु नै उनको यतिबेला कर्तव्य भएको छ । 

महिलाको विकास र तिनलाई न्याय दिलाउने काममा अहिले पनि सक्दो लागिरहेकी छिन् उनी । महिला जागृतिमा उनको सक्रियता आजपनि उस्तै छ, जस्तो २०१८–२० सालमा थियो ।  उनी भन्छिन्, ‘हामी नारीलाई प्रकृतिले अति योग्य र क्षमतावान बनाएको छ । तर खै, कसैले पनि बुझेका छन् जस्तो लाग्दैन ।’
०० 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
What stocks to buy -- Any recommendation
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
❤️ चिक्नी चमेली ❤️
बिजया दशमीको उपलक्ष्यमा अमेरिकी रास्ट्रपति द्वारा शुभकामना
ट्रंप २०२०
आयाहूआस्का
Visit Reeyas Kitchen for Nepali Food Recipes
Sajha Poll: Who is underwear ko avatar?
The Great Himalayan Cable Car
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
निर्लज्जताको बाढी आएको छ
Photo of the day
अन्डरवेयर को मृत्‍यु भएको दिन
Yo ko ho Mchkne Nas bhanne mji
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
Simple Yet Deep Question
नेपालीले अमेरिकाको बैंक लूटने प्रयाश
आहा! कती मिठो गीत्!
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters