[Show all top banners]

business5

More by business5
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 “अनेकौँ घटनाको जीवन्त दस्ताबेज हो जिन्दगी’
[VIEWED 4740 TIMES]
SAVE! for ease of future access.
Posted on 05-12-17 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाल्पा अर्गेलीका बासिन्दा हुन् माया ठकुरीका बुबा गोपालजंग राणा । उनले जिन्दगीको लामो कालखण्ड भारतीय सेनामा सेवा गरेर बिताए । सेनामा भर्ना हुने क्रममा उनले आफ्नो नाम गम्भीरसिंह ठकुरी लेखाएका थिए । करिब ३५ वर्षको उमेरमा रुकुमकोटका राजखान्दान समुद्र मल्लकी नौवर्षीया छोरी देवीसँग विवाह गरेका हुन् उनले । विवाहलगत्तै श्रीमतीलाई लिएर आप्mनो कर्मथलो लखनउ गए उनी । त्यहीँको सैनिक अस्पतालमा सन् १९४६ जुलाई २ मा जन्मिएकी थिइन् माया ठकुरी ।

मायालाई आफ्नो बाल्यकाल सम्झिँदा अहिले पनि कहाली लाग्छ । बाल्यकालमा उनले धेरै कष्ट व्यहोरिन् । त्यसको कारक अरू कोही नभएर आफ्नै बुबा थिए । बाल्यकालमा कति हन्डर र ठक्कर खाइन् त्यो बताउन पनि सक्दिनन् उनी । कैयौँ रात भोकभोकै बसे मायाका आमाछोरी र भाइबहिनी । उनका बुबाले आमासँगै कहिल्यै श्रीमतीको व्यवहार गरेनन् । उनका बुबा दिनहुँ रक्सी खान्थे । परस्त्रीसँग धेरै हेलमेल राख्थे । पासा खेलेर महिनाभरको तलब सखाप पार्थे । ठाउँठाउँमा धेरै भित्रिनीहरू राखेका थिए उनले ।

मायाभन्दा अगाडि दुईवटा बच्चा खेर गएका रहेछन् ठकुरी दम्पतीका । छोरो जन्मिन्छ भन्ने आशामा मायाका बुबाले बन्दुक पड्काएर हर्षबढाइँ गर्ने सोचले सबै बन्दोबस्त मिलाएका रहेछन् । तर, छोरी जन्मिएको थाहा पाएपछि सारा योजना विफल भयो । त्यसपछि भित्तामा मुड्की बजारेका थिए उनका बुबाले । माया भन्छिन्, ‘जन्मिनेबित्तिकै बुबाले त्याग गरेकी सन्तान हुँ म ।’ जन्मिएको केही वर्षसम्म बुबाले मायाको अनुहारसमेत हेरेनन् । पछि एक रात छोरीले समाएर समुद्र तारेको सपना देखेपछि बल्ल छोरीसँग फाट्टफुट्ट बोल्न थालेका थिए उनका बुबा ।

माया जन्मिएको दुई–तीन वर्षपछि उनका बुबाको सिलाङमा सरुवा भयो । त्यहाँ गएको केही वर्षभित्र मायाका भाइ र बहिनी पनि जन्मिए । एकाध वर्षसम्म त मायाका बुबाले आपूmसँगै राखेका थिए श्रीमती र छोराछोरीलाई पनि । तर, बिस्तारै दुई–तीनजना भित्रिनी ल्याएपछि उनको परिवारप्रति गर्ने व्यवहारमा परिवर्तन आउन थाल्यो । लखनउमा हुँदासम्म भित्रिनीहरू बाहिर राखेका राणाजीले सिलाङमा भने दुई–तीनजना भित्रिनी त घरमै राखेका थिए । त्यसपछि विवाहित श्रीमती र छोराछोरीलाई क्वार्टरमा राखेर उनी बाहिरबाहिरै बस्न थाले । समय बित्दै गएपछि खर्च पनि दिन छाडे । त्यसपछि अनेकौँ रात भोकभोकै कटाउन बाध्य भए उनीहरू । जिन्दगीका यी कठिन दिनमा अनेक आरोह–अवरोह भोगे मायाका आमा र भाइबहिनीले । बुबाले खर्चको नाममा एक सुको चुहाउँदैनथे । कैयौँपल्ट छिमेकीको घरको भात चोरेर खाएको सम्झिँदा अहिले पनि मायाको आँखाबाट आँसु चुहिन्छ ।

जागिरबाट पेन्सन भएपछि सिलाङनजिकै उमराव भन्ने ठाउँमा गोठ पालेका थिए मायाका बुबाले । त्यहाँ सयौँ गाई–भैँसी थिए । त्यसको आम्दानीले आफ्नो परिवारको गुजारा गर्थे तर मायाका आमाछोरीलाई भने कौडीसम्म दिँदैनथे । त्यसवेलासम्म राणाजीले थुप्रै सन्तान पनि उत्पादन गरिसकेका थिए । लगभग ८० वर्षको उमेर हुँदा गोठमा श्रीमान् बिरामी परेको सुनेर मायाकी आमा हेर्न गइछन् । उनको लगभग अन्तिम अवस्था भइसकेको रहेछ । जीवनभर हेला गरेकी श्रीमतीलाई जीवनको अन्तिम अवस्थामा भने राणाजीले आप्mनो निधनपछि पाउने पेन्सन विवाहित श्रीमतीले पाउने गरी कागजपत्र मिलाइदिएका रहेछन् । जिन्दगीको लामो कालखण्डमा बुबाले आमाका लागि त्यही एउटा मात्र ‘भलो’ काम गरेको स्मरण गर्छिन् माया ।

मायाका भाइको २८ वर्षको उमेरमा जन्डिसका कारण निधन भयो । भाइको निधनबारे उनी केही बताउन चाहन्नन् । भन्छिन्, ‘त्यस घटनाको म वर्णन गर्न सक्दिनँ ।’ उनका भाइले पनि धेरै दुःखकष्ट व्यहोरे । बिरामी हुँदा औषधोपचारसमेत हुन पाएन । माया र भाइले स्कुल देख्न पाएनन् । तर, उनीहरूले बहिनीलाई भने पढाए । एक मात्र भाइको तस्बिर मायाको दिमागबाट हटेको छैन । प्रत्येक वर्ष भाइटीका आउन लाग्दा मायालाई नमीठो लाग्छ । भाइटीकाका दिन उनी भाइलाई खुब सम्झिन्छिन् र भित्रभित्रै रुन्छिन् ।

मायाले जिन्दगीमा धेरै अँध्यारो सामना गरेकी छन् । अभाव र कष्टमै बाल्यकाल बिताएकी माया आफ्नो जिन्दगीबारे भन्छिन्, ‘अस्थिरता, असुरक्षा, अपहेलना, तिरस्कार मेरो जीवनमा कति आए–गए भनिसाध्य छैन । जिन्दगीको कुनै कालखण्डमा सुख पाउँछु होला भनेर कल्पनासमेत गरेकी थिइनँ । हाल यी सबैबाट उम्किएर एउटा सुन्दर पारिवारिक जीवन बिताएरहेकी छु । लाग्छ अनेकौँ घटनाको जीवन्त दस्ताबेज हो जिन्दगी ।’

जिन्दगीबारे थप प्रस्ट्याउँछिन् माया, ‘बाल्यकालमा बुबाबाट पाउने अभिभावकत्वको छहारी मैले पाइनँ । बुबाको माया र बुबाले आफूप्रति गर्ने वात्सल्य प्रेम मैले कहिल्यै अनुभव गर्न पाइनँ । मलाई यो अवस्थासम्म ल्याउन आमाले ठूलो कष्ट व्यहोर्नुभयो, तर उहाँलाई कहिल्यै सुखसँग राख्न पाइनँ । यसमा मलाई धेरै पछुतो पनि छ ।’ आमाको निधन हुनुअघि माया सिलाङमै चिनजान भएका इन्जिनियर दामोदर शर्मासँग प्रेमविवाह गरेर नेपाल आइसकेकी थिइन् । विवाहपछि एकदुईपटक सिलाङ पुगेकी माया आमाको निधनपछि भने त्यहाँ गएकी छैनन् । आमा नै नरहेपछि अब त्यहाँ पुग्नुको औचित्य नभएकाले अब कहिल्यै त्यो ठाउँ नपुग्ने बताउँछिन् उनी ।

सिलाङमा हुँदा उनका समवयका साथीसँगी सबै स्कुल जान्थे । माया भने स्कुल जानबाट वञ्चित भइन् । बुबाले खर्चको नाममा एक कौडी चुहाउँदैनथे आमाछोरीका लागि । स्कुलमा भर्नाका लागि चाहिने थोरै पैसासमेत थिएन उनकी आमासँग । साथीहरू स्कुल गएको देखेपछि पढ्न औधी रहर लाग्यो मायालाई । बुबाले खर्च दिँदैनथे । आफू पनि स्कुल जाने भनेर जिद्दी गरिन् आमासँग । स्कुलमा भर्ना गर्न पैसा चाहिने भएकाले आमाले उनलाई स्कुल पठाउन सकिनन् । आमाले ‘अलिक पछिदेखि जालिस्’ भनेपछि उनी पनि राजी भइन् । तर पछि भनेको कहिले हो उनलाई त्यसको हेक्का थिएन ।

आमाले रामायण पढेको सानैदेखि चाख दिएर सुन्थिन् माया । अनि साथीहरूले लेखेका कापी हेरेर ‘कखगघ’ र ‘एबिसिडी’ सिकिन् उनले । साथीहरूले कापीमा लेखेका अक्षर हुबुहु सार्दै पढ्न सिकिन् । जिन्दगीमा नपढी केही पनि नजानिँदो रहेछ भन्ने बुझिन् उनले । अनि जसरी भए पनि पढ्ने अठोट गरिन् ।

११ वर्षको उमेरमा एक भारतीयकहाँ बच्चा हेर्ने काम गरिन् मायाले । उनको जागिरे जिन्दगी यहीँबाट सुरु हुन्छ । उनी यसलाई जिन्दगीको पहिलो जागिर भन्छिन् । त्यस्तै तान बुन्ने कामसमेत गरिन् । अलिक ठूली भएपछि प्रेसमा कम्पोजिटरका रूपमा काम गरिन् । यसबाट थोरबहुत आम्दानी हुन्थ्यो र आमाछोरीको दुई छाक कष्टले जुट्थ्यो । त्यसबाट बचेको थोरबहुत पैसाले आफूले पढ्न नपाए पनि बहिनीलाई स्कुल पठाइन् उनले ।

अलिक ठूली भएपछि सतीश नाम गरेका एक स्थानीय शिक्षककोमा निःशुल्क ट्युसन पढ्ने सर्तमा चिया पकाउने र भाँडा माझ्ने काम गरिन् उनले । कसोकसो गरेर प्राइभेट परीक्षार्थीका रूपमा एसएलसी पास गरिन् । खुला विश्वविद्यालय सिलाङबाट आइए र गुवाहाटी विश्वविद्यालयबाट बिए पूरा गरिन् । त्यसपछि गुवाहाटीमै बिएल पढ्न कलेज भर्ना भइन् । तर, कानुनमा रुचि नभएकाले त्यो त्यत्तिकै छाडिन् र भारतखण्डे विश्वविद्यालयमा सङ्गीत कक्षामा भर्ना भइन् ।

आमाले रामायण वाचन गरेको सुनेर र बुबाले आफूहरूमाथि गरेको व्यवहारले उनमा सिर्जनाको जग बसिसकेको रहेछ । अनि बिस्तारै साहित्य सिर्जना र गीत गाउन थालिन् । सुरुमा उनी हिन्दीमा लेख्थिन् । हिन्दी भाषामा प्रकाशित हुने पत्रिकामा उनले एउटा ‘पागल’ शीर्षकको कथा लेखेर पठाइन् । पछि सम्पादकले आफ्नै मातृभाषामा लेख्न सुझाब दिएर उनलाई चिठी पठाएछन् । त्यो सम्पादकको चिठी साथीहरूलाई देखाउँदै उनी दङ्ग पर्थिन् । पछि त्यही हिन्दी कथालाई नेपाली भाषामा कविताको संरचनामा ढालिन्, ‘बौलाही’ शीर्षकमा सिलाङबाट प्रकाशित हुने ‘आशा’ पत्रिकामा त्यो कविता छापियो । त्यसपछि आफू पनि साहित्यकार भएको महसुस गर्दै गर्वका साथ सिर्जनातिर अझ कस्सिएर लागिन् ।

मायामा सिर्जनात्मक लेखनका साथै गायनमा पनि औधी रुचि थियो । उनी स्थानीय विभिन्न कार्यक्रममा गीत गाउँथिन् । पछि शास्त्रीय सङ्गीत सिकेपछि त उनी त्यहाँ चर्चित नै भइन् । सन् १९५८ मा गुवाहाटी रेडियोमा उनको पहिलो गीत रेकर्ड भयो । त्यसवेला उनको भ्वाइस टेस्टका लागि आएका थिए असमका चर्चित नेपाली साहित्यकार लीलबहादुर क्षेत्री । पछि लीलबहादुरलाई दाजु मानेर उनले भाइटीकासमेत लगाइदिइन् । गुवाहाटी र अल इन्डिया रेडियोमा उनका कैयौँ गीत रेकर्ड भए, तर तिनीहरूको अर्काइभ सुरक्षित राख्न सकिनन् उनले । त्यहाँ गाएका उनका गीत त्यतै बिलाए । पछि नेपाल आएपछि रेडियो नेपालमा रेकर्ड भएका एक दर्जन गीतको सिडी भने उनीसँग अहिले सुरक्षित छ ।

यही क्रममा सिलाङका नेपालीहरूको समन्वयमा ‘नेपाली संगीत कला समिति’ नामको संस्था स्थापना भयो । त्यहाँको साहित्य र सङ्गीतलाई जीवन्त बनाउनका लागि त्यो संस्था खोलिएको थियो । सिके रसाइलीले संगीत, माया र सरस्वती स्याङ्बोलगायत केही साथी गायन र केबी गुरुङले मादल र मुरली बजाउने जिम्मा लिएका थिए । त्यो संस्था त्यो क्षेत्रमा निकै चर्चित भयो । उनीहरू संगीतमा लागिरहेका वेला बबुर राना, भोला गुरुङ, डिआर सुब्बालगायत व्यक्ति साहित्यको उत्थानमा लागिरहेका थिए । मायालाई साहित्यकार माया ठकुरी बनाएर चिनाउनुमा उनै डिआर सुब्बाको ठूलो योगदान रहेको उनी बताउँछिन् ।

२०२० सालमा राजा महेन्द्रको जन्मोत्सवको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा सिलाङको सांस्कृतिक टोलीका साथ माया पनि काठमाडौं आएकी थिइन् । नेपालको नाम मात्र सुनेकी मायालाई नेपालबारे केही थाहा रहेनछ । उनलाई भने सांस्कृतिक कार्यक्रम भन्दा पनि राजारानी हेर्ने तीव्र इच्छा रहेछ । शीतलनिवासमा राजारानीसँग उनीहरूलाई भेट गराइएछ । माया स्मरण गर्छिन्, ‘राजारानीलाई देख्दा के गरूँ र कसो गरूँ भयो । सीधा नजरले राजारानीलाई हेर्न पुगेछु । नजिकैका साथीहरू त्यसरी नहेर् भन्दा रहेछन् तर मैले उनीहरूले भनेको बुझिनँ । मैले त्यसरी पुलुकपुलक हेरेपछि राजाराजीलगायत त्यहाँ उपस्थित राजपरिवारका सबै सदस्य हाँसिरहेका थिए ।’

त्यही अवसरमा राजाले दरबारमा दिवाभोज आयोजना गरेका थिए । मायालाई राजा महेन्द्रको अटोग्राफ लिने तीव्र इच्छा जागेछ । दिवाभोज चलिरहेका वेला राजालाई खोज्दै माया राजा बसेको कोठाछेउ पुगिन् । एडिसीले ढोकामा उनलाई छेकेको थाहा पाएपछि राजाले मायालाई भित्र पठाउन आदेश दिए । पहिलोपटक नेपाल आएकी मायालाई राजासँग कस्तो शिष्टाचार गर्नुपर्ने केही थाहा थिएन । उनी भन्छिन्, ‘भित्र पसेर नमस्कार गरेँ । मैले नमस्कार गरेपछि राजा मुस्कुराए । सायद मैले राजामाथि गर्नुपर्ने शिष्टाचार नजानेको थाहा पाएर पनि होला । अनि मैले अटोग्राफ दिँदै राजालाई यहाँ तपाईंंको नाम लेखिदिनुस् त भनेपछि राजाले त्यसमा केही लेखेर हस्ताक्षर गरिदिए ।’

अनि एडिसीलाई बोलाएर राजाले मायालाई विभिन्न व्यक्तित्वसँग भेट गराउन पठाएछन् । एडिसीले कोकोसँग भेट गराए त्यतिखेर उनलाई केही हेक्का भएन । पछि साथीहरूलाई अटोग्राफ देखाउँदा साथीहरू तीनछक्क परे । कारण त्यहाँ तुलसी गिरीलगायतका ठूला राजनीतिज्ञ बालकृष्ण समलगायत नेपालका विशिष्ट व्यक्तित्वदेखि भारतीय कवि हरिवंश राय बच्चनको पनि अटोग्राफ रहेछ । त्यो दिवाभोजमा हरिवंश राय बच्चनसँग भेट भए पनि साथीहरूले बताएपछि मात्र उनले थाहा पाइन् । त्यो अटोग्राफ आफूसँग सुरक्षित रहेको उनी बताउँछिन् ।

त्यसपछि मायालाई नेपालमै बसेर नेपाली भाषासाहित्यको योगदान गर्न राजाले प्रस्ताव पठाएछन् । यहाँ बस्दा पढ्ने–लेख्नेदेखि लिएर सबै सुविधा दिने प्रस्ताव पनि गरिएको रहेछ । तर, उनले सोझो मनले अस्वीकार गरिछन् । भन्छिन्, ‘मलाई कतिपटक यहीँ बस्ने प्रस्ताव आएको थियो, तर मैले आफ्नै देश जान्छु भनेँ । पछि सिलाङ फर्किएपछि पनि धेरै चिठी आए तर त्यसको महत्व नबुझेर मैले केही जवाफ पठाइनँ ।’

जिन्दगी यस्तै हो भनेर लेखपढ गर्न छाडेको भए अहिले कुन हबिगतमा हुन्थ्यो होला भनी कहालिन्छिन् माया । उनका ती संघर्षका दिनमा मार्गनिर्देशक भएर आए हरिभक्त कटुवाल, कृष्णप्रसाद ज्ञवाली, डिआर सुब्बा, दिल साहनी, सिके रसाइलीलगायतका साहित्यिक मनहरू । उनीहरूको साथसहयोगले नै अहिलेको माया ठकुरी बन्न सफल भएको भन्न उनी धक मान्दिनन् । त्यसो त उनी मेघालयमा छँदै उनका रचना काठमाडौंबाट प्रकाशित हुने गरिमा, मधुपर्कमा धमाधम छापिन थालेका थिए । ०३० सालमा हरिभक्त कटुवाल काठमाडौं आउँदा उनका केही कथा पनि लिएर आएका थिए । दुई–चार महिनापछि उनी फर्केर गएपछि रत्न पुस्तक भण्डार काठमाडौंबाट प्रकाशित ‘नजुरेको जोडी’ कथासंग्रह मायाको हातमा थमाइदिएछन् । आफ्ना कथा कृतिका रूपमा आउँदा माया छक्कै परिछन् । उनी भन्छिन्, ‘सायद हरिभक्त कटुवालको साथ सहयोग नपाएको भए मेरा कथा लामो समयसम्म पाण्डुलिपिकै रूपमा रहन्थे होला ।’

त्यसपछि उनका कथाकृति धमाधम छापिन थाले । हालसम्म उनका ‘नजुरेको जोडी’, ‘गमलाको फूल’, ‘साँघु तरेपछि’, ‘चौतारो साक्षी छ’, ‘माया ठकुरीका कथाहरू’, ‘आमा जानुहोस्’लगायत सातवटा कथासंग्रह प्रकाशित छन् । यसका अतिरिक्त उनका बालसाहित्यका दुई–तीनवटा कृति पनि प्रकाशित छन् । साहित्यिक योगदान गरेबापत उनले रत्नश्री स्वर्णपदक, मैनाली कथा पुरस्कार, शिक्षा पुरस्कार, राष्ट्रिय नारी पुरस्कार, जनमत दीपा सम्मानलगायत एक दर्जनजति पुरस्कार तथा सम्मान पनि प्राप्त गरेकी छन् ।

मायाले एक दशकअघि उपन्यास लेख्ने कुरा कतै उल्लेख गरेकी थिइन् । तर, त्यो पूरा भएको छैन । कुनै दिन त्यो आउने उनी बताउँछिन् । साथीहरूले आत्मकथा लेख्न धेरै सुझाब दिन्छन् उनलाई । तर, आत्मकथा लेख्दा धेरै चुनौती सामना गर्नुपर्ने उनी बताउँछिन् । आत्मकथामा राम्रो कुरा मात्र लेख्ने प्रवृत्तिको कट्टर विरोधी हुन् उनी । भन्छिन्, ‘आत्मकथा नै लेखिसकेपछि जिन्दगीमा केके व्यहोरियो त्यो सबै आउनुपर्छ । राम्रा कुरा मात्र लेखेर आप्mना गलत काम छोड्नु न्यायसंगत हुँदैन । त्यसैले आत्मकथा लेख्न धेरै चुनौती उठाउनुपर्छ । परिवारका सदस्यदेखि इष्टमित्र सबैको गाली सहन सक्ने शक्ति आफूमा भएपछि मात्र आत्मकथा लेख्ने आँट गर्नुपर्छ ।’

माया आफूलाई उपेक्षित कथाकार ठान्छिन् । कृति प्रकाशन भए पनि उनी न विमोचन गराउँछिन्, न उनका कृतिको कसैले समालोचना नै गरिदिन्छन् । उनी भन्छिन्, ‘म सहयोगको याचना बोकेर हात फैलाउँदै अरूको ढोका ढकढकाउन जान्नँ । सायद त्यसैले पनि होला मेरो कहीँ–कतै चर्चा हुन्न । त्यही भएर पनि म ओझेलमा परेकी छु ।’ तर अहिले उनका कथाहरू गुवाहाटी विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रममा पनि राखिएको छ । यसलाई उनी अँध्यारोमा चाँदीको घेराको रूपमा लिन्छिन् ।

जिन्दगीका धेरै दुःख, कष्ट, तिरस्कार र अपहेलना व्यहोरेकी एक सन्तानकी आमा माया श्रीमान् दामोदार शर्मा, छोरी अनुराधा र दुई नातिका साथ धोबीघाटनजिकै बस्छिन् । जिन्दगी जसरी हुन्छ सहज बनाउनुपर्ने उनको धारणा छ । बिहान–बेलुका परिवारसँग हाँसोठट्टामा दिन बिताइरहेकी माया दिउँसोको समय भने प्रायः साहित्यिक कार्यक्रमतिर देखिन्छिन् । जिन्दगीको सुरुवाती कालखण्ड दुःखकष्ट र अभावसाथ बिताएकी माया जिन्दगीको पछिल्लो कालखण्ड भने सुखका साथ समाप्त गर्न चाहन्छिन् । र आफ्ना बाँकी रहेका काम जतिसक्दो चाँडो सक्न अनवरत लागिरहेकी छिन् ।http://www.enayapatrika.com/2017/02/18/126516/
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
सुवास नेम्वाङको निधन कोविद भ्याक्सीन को कारण हृदयघात
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters