Momo n Curry - Authentic Nepalese Cuisine
Your Banner Here

Log in!
   [Show all top banners]

Raam Raam

More by Raam Raam
What people are reading
Subscribers
[Total Subscribers 0]
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 भाउजु
[VIEWED 951 TIMES]
SAVE! for ease of future access.
Posted on 11-12-16 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 


भाउजू

“काका ! यो दाइ तपाईंलाई खोज्दै आउनुभा’छ,” मैले माइलो काकाको नातिले औंल्याएतिर हेरें । 
एकैछिन यस्तो लाग्यो, म ऐनामा आफैंलाई हेरिरहेछु । तर, होइन ! मेरो यो रूप कहिल्यै थिएन । 
मैले केही बोल्नुभन्दा पहिल्यै त्यो युवक मेरो खुट्टामा घोप्टियो ।
“को हौ बाबु ? काँबाट आयौ ? मलाई कसरी चिन्छौ ?” मैले उसको टाउकोमा हात राख्दै सोधें । निकै बेर मेरो खुट्टामा घोप्टिएर टाउको उठाउँदा उसका आँखा सजल थिए ।
किन–किन मलाई ती आँसु भरिएका आँखाहरू एकदमै परिचितझैं लागे । मैले फेरि उसलाई सोध्न खोजें । तर, त्योभन्दा पहिले उसले मलाई अँगाल्यो र मेरो छातीमा टाँसियो । मेरो मुटु नराम्रोसँग हल्लियो । मन गाँठो परेको डोरीझैं भयो । मैले उसलाई आफूबाट पर धकेल्न खोज्दै भनें, “के गरेको बाबु यो ? को हौ तिमी ?”
उसले रुघिएको कण्ठले भन्यो, “म ताराको, तपाईंकी भाउजूको छोरा ।”
मेरो मुटु उफ्रेर मुखबाट बाहिर निस्कन खोज्यो । मैले भएभरको शक्ति बटुलेर उसलाई पर धकलें । धेरैबेर उसलाई नियालेर हेरें । यतिबेलासम्म उसका आँखा वर्षिन सुरु गरिसकेका थिए । मैले भक्कानिँदै उसलाई अँगालें ।
लाग्यो– वर्षौपछि श्रापमुक्त भएँ म ।
मेरी भाउजूको अंश मेरो अँगालोमा थियो, मतलब मैले क्षमादान पाएँ अब ।
 
० ० ०
 
आज तेस्रो दिन थियो आमालाई कुरेर बसेको ।
“तपाईं जेसुकै भन्नुस् माल्दाइ, जेठाको मुख नहेरी भाउजूको परान जाँदैन,” काकाले बिस्तारै भने ।
बाले असहाय भावले खुइय गर्दै भन्नुभयो, “खै, खबर त गरेकै हो । टेलिफुनाँ कुरा गर्दा जसरी नि आउँला भन्थो, टाढाको कुरो के हो के हो !”
उसो त आमा प्रायः बिरामी भइरहनुहुन्थ्यो । तर, यसपटक उहाँ बाँच्ने आशा कसैलाई थिएन । त्यसैले पनि कसैले उहाँलाई सहर लैजाने कोसिस गरेनन् । 
“यस्तो गलेको ज्यानले म डोकाँ बोकिएर सहर पुग्दै पुग्दिनँ, बरु सालिकेलाई आएर मुख देखाएर जा भन्दिनुस् सालिकेको बा, मेरो परान सुबिस्ताले जान्थ्यो ।”
आमाले मान्दै मान्नु भएन डोकोमा बोकिएर जान । 
बाका अरु ३ भाइले पनि बालाई अन्तिम अवस्थामा कहीँ नलैजान सल्लाह दिए ।
मभन्दा ९ वर्ष जेठो मेरो दाइ शालिकराम अमेरिका भासिएको १० वर्ष भइसकेको थियो । मलाई त राम्ररी याद पनि थिएन ऊ कसरी पुगेथ्यो त्यहाँ तर मलाई ऊ हिँड्ने बेलामा आमा रोएको, बाले उसलाई सम्झाएको भने याद थियो ।
आफूभन्दा नौ वर्ष जेठो दाइ मेरो लागि बासमान नै थियो । म बासँगझैं ऊसँग पनि उत्तिकै डराउँथें त्यो बेला । मेरा उमेरका साथीहरूले ‘बालाई भन्दिम् ?’ भन्दा बरु म त्यति डराउँथिनँ जति ‘दाइलाई भन्दिम् ?’ भन्दा डराउँथें । बाले त बरु मेरो बदमासी सुनेर पनि कहिलेकाहीँ हाँसेर टारिदिनुहुन्थ्यो तर दाइले मेरो कान निमोठेर रातै पारिदिन्थ्यो । 
१९ वर्षको उमेरमा घर छोडेर हिँडेको दाइ पूरा १० वर्ष घर आएन । 
६ वर्षसम्म त उसको कुनै सन्चो/बिसन्चोको खबरसम्म पाउन सकेनौं । तर ४ वर्षअघि तल फाँटको अरबे साहूको पसलमा फोन आएदेखि बाले चारचौरास दौडेर उसको खोजखबर गर्नुभो । 
दुई वर्षअघि दाइले मोबाइल पठाइदिएकोले ऊसँग प्रायः कुरा भइरहन्थ्यो अब । 
बा–आमा उसलाई ‘घर आइज, आएर बिहे गर्’ भन्दै किचकिच गरिरहनुहुन्थ्यो । ऊ ‘हस् हस्’ भनेर टारिरहन्थ्यो । 
मेरो त ऊसँग बोल्ने हिम्मत हुन्थेन तर ऊ मलाई ‘राम्ररी पढ्, राम्ररी एसएलसी पास गर् अनि म तँलाई मसँगै यहाँ ल्याउँछु’ भन्थ्यो । म दंगदास परेर गाउँभरि झ्याली पिट्दै हिँड्थेँ, “म नि अम्रिका जाने, म नि अम्रिका जाने ।”
बाले सुने मेरो कान निमोठ्दै भन्नुहुन्थ्यो, “यी यत्रो जा अम्रिका ! एउटै गा’को त घरबार भुलेर बस्याछ, अब पठाउँला नि तँलाई !”
आमा सुक्सुकाउँदै भन्नुहुन्थ्यो, “घर बेबार हेर्नेबेलामा विदेशाँ हरा’छ दाइ, अब तँ नि गए हामी के गर्छौं ? उसका दौंतरीहरूका काखाभरि सन्तान भइसके, ऊ भने काँ हन्डर खाइरा’छ एक्लै विदेशाँ ।”
हाम्रो पछाडि गाउँघरमा दाइले उतै खैरीनी राखेर बसेको गाइँगुइँ चल्थ्यो । मेरो कानमा पर्दा म लड्न भिड्न जान्थें । बाले सुने भन्नुहुन्थ्यो, “आफ्नै सिक्का खोटो, अरुलाई के भन्नु ? आएर बे गरेर गए कसले के भन्न सक्छ ? तर, उसलाई पर्वा भए पो ? एकबीस नौ को भयो, एैलेसम्म बे नगरी बसेसी अरुले कुरा काट्दैनन् ?”
आमाको अर्कै दुखेसो थियो– छोराले धर्म भ्रष्ट गराइदिएर स्वर्गमा बास नपाइएला भन्ने । मलाई भने आफ्नो बासरहको दाइमाथि अटुट विश्वास थियो । मसँगै पढ्ने र मैले साह्रै मन पराउने कुसुमले दाइबारे गाउँमा चल्ने गाइँगुइँ सुनाउँदा उल्टै ऊसँग रिसाएर कयौं दिन बोल्थिनँ ।
“मैले भन्या हो र ?” ऊ मलाई मनाउने प्रयास गर्थी, “हाम्री फुपूका घरकाले भनेका रे, उनैले कुरा ल्याकी ।”
“त्यसो हो भने उनैको कुरा सुन, मसँग बोल्न पर्दैन,” म उसको छेउबाट उठेर हिँडिदिन्थें ।
यस्तोमा एकदिन साँझको झिसमिसेमा खैरेलेझैं पिठ्यूँमा बडेमानको ब्याग भिरेर गोरो, चिट्टो, खैरेजस्तै देखिने मेरो दाइ घर आइपुग्यो ।
पहिले त कसैले उसलाई चिन्दै चिनेनन् । चिनेपछि रुवाबासी सुरु भयो । रुवाबासी बन्द भएपछि चार दिनमा छ पटक तुलसीको मठमा पु¥याइएकी आमाले मन्टो उठाइन् ।
दुई दिनसम्म त आमाले दाइको हात छोड्दै छोड्नुभएन । १० वर्षको कसर जो पूरा गर्नु थियो । तेस्रो दिन उहाँले नातिनातिनाको नभए पनि बुहारीको मुखसम्म हेरेर मर्ने आफ्नो चाहना व्यक्त गर्नुभयो ।
दाइको मुखबाट ‘हुन्छ’ या ‘हुन्न’ ननिस्किँदै बा, काकाहरू, अरु नातेदार र गाउँलेसमेत ऊमाथि खनिए । विचरो दाइ ।
बाले बिस्तारै भन्नुभो, “यै कारणले बाँची पो हाल्छे कि ? तँ आएदेखि अनुहार उजेलो भा’छ, उठेर बसेकी छ । पेटमा पानी अडेको छ । बाबु शालिक, अब यसलाई जलाएर जान्छस् कि जिलाएर, तेरो इच्छा ।”
सबैले एकमुखले बाको अनुमोदन गरे । दाइले डबडबाएको आँखाले आमालाई हेरेर टाउको झुकायो । सबैले त्यसलाई दाइको स्वीकृति सम्झे ।
काकाहरू कोही सहरतिर दौडिए किनमेल गर्न, कोही केटी पक्का गर्न । उसो त आमाले वल्लो–पल्लो गाउँका दुई–चार वटी केटी छानिराख्नुभा’थ्यो पहिल्यै । तर, यो हतारमा दाइको लागि जुरिन् पल्लो गाउँकी तारा, कुसुमकी दिदी ।
थाहा छैन– दाइ खुसी भयो कि भएन तर म औधी खुसी भएँ । लाग्यो– कुसुमलाई लिएर जुन भविष्यको सपना म बुन्दैथिएँ, त्यो अब पूरा हुने भयो ।
३ दिनभित्रै दाइको बिहे भयो गाउँकै मन्दिरमा । यो सबै भइराख्दा दाइ चुइँक्क बोलेन । ज–जसले जे–जे भने, उसले सबै सुनिदियो, मानिदियो । उसका कुरा काटेर नथाक्ने सारा गाउँले उसको प्रशंसामा आकाश पाताल जोड्नमा लागे ।
कुसुमकी दिदी तारा मेरी भाउजू बनेर भित्रिइन् ।
सातौं दिन बुहारीको अनुहार मनभरि हेर्न नपाउँदै आमाले यो संसार छोड्नुभयो, अनुहारभरि सन्तुष्टिको आभा बोकेर । 
दाइ डाँको छोडेर रोयो । त्यसबेला मैले बुझ्नै सकिनँ, ऊ आमालाई बचाउन नसकेको आफ्नो असमर्थतामा रोयो या किन ?
तारा भाउजू हुनेखाने परिवारकी थिइन् । उनका बा धेरै वर्षसम्म गाउँको प्रधानपञ्च थिए पञ्चायतकालमा । तारा भाउजू गाउँका एकदमै कम छोरीमध्ये एकमा पर्थिन्, जसले स्कुलको मुख देखेका थिए । अझ तारा भाउजूले त एसएलसी पास गरेकी थिइन् । उनकी बहिनी कुसुम मसँगै १० मा पढ्थी । भाउजूको सबैभन्दा ठूलो योग्यता एसएलसी पास हुनु नै थियो दाइसँग बिहे गर्न ।
किरिया सकेपछि दाइ अमेरिका उड्ने तयारीमा लाग्यो । बाले रोक्न कति कोसिस गर्नुभयो तर उसले यति ढृढतापूर्वक नका¥यो कि बाले फेरि केही भन्न सक्नुभएन । काकाहरूले सम्झाउन खोजे, गाउँका बूढापाका अघि सरे, सासू–ससुराले हात जोडे । तर, दाइ रोकिएन ।
२० दिन पुरानी आफ्नी विवाहिताको मौन आँशुका धाराले लतपताएको गाजललाई बेवास्ता गर्दै कागजपत्र मिलाएर लिन आउने आश्वासन तेस्र्याएर दाइ बिदेसियो ।
तारा भाउजू कयौं रात भक्कानो छोडेर रोइरहिन् । म आफ्नै कोठामा बसेर उनको रुवाइ र छटपटाहटको मौन साक्षी बनें लामो समयसम्म ।
बिस्तारै भाउजूले आमाको ठाउँ लिइन् । काम गर्ने हली गोठालाहरूले आमालाईझैं ठूली मुखिनी भनेर बोलाउन थाले । मभन्दा केही महिनामात्र जेठी भाउजू व्यवहारले पनि ठूली मुखिनी बनिन् । तर, दाइका आक्कलझुक्कल आउने फोन सुनेर ओच्छ्यानमा रातभर छटपटाउँदै रुने उनको बानी उस्तै रह्यो ।
समयसँगै मैले र कुसुमले एसएलसी पास ग¥यौं । बाले मलाई सहर पढ्न पठाउने कुरा गर्नुभयो । म खुसी–खुसी तयार भएँ । राति खाना खाने बेला भाउजूले जबर्जस्ती खाना थपिदिँदै भनिन्, “दाइलाई त एकछाक मीठो पकाएर ख्वाउन पाइनँ, अब तपैं पनि जान लाग्नुभो । तपैं हुँदासम्म त घरभरि भएझैं लाग्थ्यो दाइ नभए पनि तर ... बा पनि त घर बस्नुहुन्न अचेल त्यति । अब त चुलो बाल्नु पनि कसको लागि ? ताराको भाग्यमा रित्तो घर, रित्तो ओच्छ्यान, रित्तो मन र जीवनबाहेक अरु केही लेखेनछ दैवले ।”
उनका ती शब्द मेरो छातीमा ठोक्किए । मैले अरु खान सकिनँ ।
भोलिपल्ट मैले बासँग आफ्नो सहर नजाने निर्णय सुनाएँ ।
बाले जिल्ल पर्दै भन्नुभयो, “के गर्छस् याँ बसेर ? दाइले झैं पढ्दैनस् ? ठूलो मान्छे बन्दैनस् ?”
“बा ! ठूलो मान्छे हुन म घरपरिवार छोड्दिनँ । बूढो हुनुभएको तपाईं र एक्ली भाउजूलाई छोडेर म कहीँ जान्नँ । यहीँ बसेर पढ्छु । तरकारी, फलफूलखेती गर्छु । दाइ आएर भाउजूलाई लिएर गैहालोस्, त्यसपछि म सोचूँला सहर जाने कुरा ।”
बाले केही भन्नुभएन । मेरो टाउकोमा हात राखेर आफ्ना धमिला आँखा पुछ्दै बाहिर निस्कनुभयो । घरपरिवार बिर्सेर बाहिर बसिरहेको छोराको वियोग झेलिरहेको मेरो बालाई मेरो त्यो निर्णयले राहत दिएझैं लाग्यो मलाई ।
म नजाने कुरा जब तारा भाउजूले सुनिन्, उनको अनुहार धपक्क बल्यो । तर, उनले बिस्तारै भनिन्, “नगएर के गर्नी ? पढ्न परेन ?”
“तपैं दाइसँग गएपछि म बालाई लिएर सहर बस्छु अनि पढ्छु । अहिलेचैं यहीँ खेतबारीमा काम गरेर पैसा कमाउँछु ।” मैले हाँस्दै भनें ।
उनले सुटुक्क आँसु पुछिन् र भनिन्, “दाइ आएपछि तपैं र बालाई पनि सँगै लान भन्छु म ।”
उनको स्वरमा उदासी मिसियो । झनै बिस्तारै भनिन्, “आउने पो कैले हुन् बरु ?”
म नजाने कुरा जब कुसुमले सुनी, नराम्ररी रिसाई ।
“के गर्छौ सहर नगर ? हली गोठालोको काम सघाउँछौ ?” अनुहारमा सम्पूर्ण औंसी पोतेर उसले भने ।
“सधैंलाई हो र ? केही वर्ष त हो नि । दाइ आएर भाउजू लगोस् अनि जान्छु सहर पढ्न,” मैले पूर्ण विश्वासका साथ भनें ।
“मचैं भिनाजुझैं अमेरिका जाला, टन्नै पैसा कमार हाम्लाई पनि हेर्ला भन्या त...,” कुसुम भुत्भुताई ।
“म यहीँ बसेर पैसा कमाउँछु । यहीँ बसेर पढ्छु,” मैले भनें । उसले ओठ लेप्राई ।
मैले आफ्नो भनाइ सावित गरेर देखाएँ, जसका लागि तारा भाउजूले दिन–रात नभनी मेरो साथ दिइन् । हामीले अदुवाखेती सुरु ग¥यौं । साथमा काँक्रो, गोलभेंडा, खुर्सानी, बन्दा, काउली, गाँजर र अरु पनि थुप्रै– मौसमअनुसार । तरकारी बोकाएर आफैं सहर पुग्थें म । बेचेर जम्मा भएको पैसाले म आफ्ना लागि भन्दा धेरै बा र भाउजूका लागि सामान किन्थें । भाउजू सुरुसुरुमा अप्ठ्यारो मान्थिन् तर बिस्तारै आफ्नो आवश्यकताको लिस्ट नै दिन थालिन् ।
मेरो मन फुरुंग हुन्थ्यो उनका लागि केही किन्दा । 
उनी मेरो खुब ख्याल राख्थिन् अनि म उनको । तर मेरो बाध्यता– म आज पनि उनलाई नरोऊ भन्न सक्थिनँ । उनी आफ्नो कोठामा राति एक्लै दाइको यादमा छटपटाएर रोइरहन्थिन् । अरु बेला भने म जिउज्यानले कोसिस गर्थें– उनको ओठमा मुस्कान ल्याउन ।
ती दिनहरूमा भाउजू मेरो जीवनको एउटा यस्तो हिस्सा बनिदिएकी थिइन्, जसको प्रेरणा, साथ र हौसलाबिना म आफैंलाई आधा अधुरो हुन्थें ।
हुन त हामी गाउँका हुनेखानेमै गनिन्थ्यौं पहिले पनि । झन् अहिले त मेरो कमाइले धेरै माथि पु¥याएको थियो ।
कमेरो पोतेको कच्ची घरले काँचुली फेरेर पक्की, घुमाउने बार्दली भएको घरको रूप लिएको थियो । गोबर ग्यासले चुलोमात्र होइन, झिलिमिली बत्ती पनि बल्थ्यो घरमा । काम गर्ने मान्छे थिए । भाउजू खटनपटन गर्थिन् । परे आफू पनि खटिन्थिन् । बाँकी उनी उस्तै थिइन् । आँखामा कालो मोटो गाजल, निधारमा बाटुलो रातो टीका । कालो–कालो वर्णको हिस्सी परेको अनुहार । मलाई मेरी भाउजू वरपरका १० गाउँमा सबैभन्दा राम्री लाग्थिन् । कुसुमभन्दा पनि राम्री ।
 
५ वर्ष बित्यो । म २४ वर्षको लक्का जवान भएँ । दाइ फर्केर आएन । भाउजूको छटपटी र रुवाइ कम हुँदै गयो । अब त दाइले कहिलेकाहीँ फोन गर्दा पनि उनी कुरा नगर्ने बहाना खोज्थिन् । खुसी देखिन्थिन् तर मलाई जति कसलाई थाहा थियो र उनको पीडा !
मलाई त्यतिबेला असह्य हुन्थ्यो, जतिबेला उनका दौंतरीहरू एउटा सन्तान डो¥याएर र अर्को काखमा च्यापेर उनलाई भेट्न आउँथे ।
त्यसबेला मेरी भाउजूको पीडा आँखामा छचल्किन्थ्यो, मेरो मुटुमा गाँठो पथ्र्यो । 
हिजो मैले बुझेको थिइनँ– बिहे गरेको २० दिनमा लोग्नेसँग अलग हुनुको उनको पीडा । तर, आज म उनका ती एक–एक आँशुको एक–एक सुस्केरा र छटपटीको अर्थ बुझ्थें । शायद उनले भन्दा पनि धेरै । त्यसैले पनि म चाहन्थें– उनी गाउँका अरु युवतीझैं सिँगारपटार गरून्, राम्री भएर हिँडून्, हाँसोठट्टा गरून् । तर अहँ ! मैले उनलाई दाँत देखिने गरी हाँसेको कहिल्यै देखिनँ, मेरी भाउजू बनेपछि ।
पहिले–पहिले बा र काकाको नामले चिनिन्थें म । अब उनीहरू मेरो नामले चिनिन्थे । कयौं मान्छेले मेरो कारणले रोजगारी पाएका थिए ।
गाउँ अब धेरै फेरिएको थियो । घर–घरमा फोन थियो, बिजुली थियो । तल खोलाको छेउसम्म त ट्र्याक्टर, ट्रक आउँथे । त्यसैले अब तरकारी लिएर सहर पुग्नै पर्थेन, सहरबाट टिप्पर लिएर मान्छे तरकारी उठाउन फाँटसम्मै आइपुग्थे । घरसम्म भने अझै मोटर आउन सक्थेन, मोटरसाइकल भने मज्जाले आउँथे ।
फाँटमा मेरो पनि ठूलो पसल थियो । आफ्नै मिनी ट्रक थियो । मोटरसाइकल थियो, जसमा चढेर हरेक हप्ता सहर पुग्थें म– कुसुमलाई भेट्न । 
एसएलसी पास गरेपछि ऊ सहरमै मामाको घरमा बसेर पढ्दै थिई । उसले त मलाई पनि  सहर जान कत्ति कर गरेकी थिई तर म गइनँ ।
घरमा, गाउँमा मेरो बिहेको कुरा हुन थालेको धेरै भइसकेको थियो । तर, मैले कसम खाएको थिएँ– दाइ नआएसम्म र भाउजूको आँखाको उदासी नपुछिएसम्म बिहे गर्दिनँ ।
कुसुमले ब्याचलर अफ नर्सिङ सकेर अस्पतालमा काम गर्न थालेकी थिई । उसका बा–आमा अब उसको बिहेका लागि हतार गर्न थालेका थिए । त्यसैले कुसुम घुमाईफिराई मसँग बिहे गर्न चाहेको कुरा गर्न थालेकी थिई । तर, मैले उसलाई मुख फोडेर केही भनेको थिइनँ । म चाहन्थें घरका पाकाहरूले नै त्यो निर्णय गरून् । तर, त्यसका लागि दाइ आउन जरुरी थियो ।
 
अर्को एक वर्ष बित्यो । 
केही दिनयता बा बिरामी रहन थाल्नुभएको थियो । शायद त्यसैले पनि होला– उहाँ प्रत्येक दिनजस्तै फोन गरेर दाइलाई बोलाउनुहुन्थ्यो र भाउजूलाई सँगै लैजान किचकिच गर्नुहुन्थ्यो ।
“तेरो कारणले भाइले पनि बिहे नगर्ने भो,” उहाँ भन्नुहुन्थ्यो ।
यसबीच भाउजूका बा–आमाले कुसुम र मेरो बिहेको कुरा चलाए बासँग । बालाई कुनै आपत्ति थिएन । बाले मलाई सोध्नुभयो । मेरो जवाफ उही थियो– पहिले दाइ घर आओस् ।
 
त्यो फागु पूर्णिमाको दिन थियो । सहरको हावाले गाउँलाई पनि छोडेको थिएन । अतः खाडी, कोरिया, मलेसिया र इन्डियाले तान्न नभ्याएका, विदेश र सहरबाट छुट्टीमा आएका सारा युवायुवतीको अनुहार रंगले सरोवर, नचिनिने भएको थियो । यस्तोमा कतिले मेरो पसलमै आएर मैले विरोध गर्दैगर्दै मलाई पनि रंगाएरै छोडे । सहर र विदेशबाट छुट्टीमा आएका सहपाठीहरूको जबर्जस्तीमा मैले पसल अलि चाँडै बन्द गरें ।
हामी सबै नजिकैको होटल पस्यौं । साथीहरूले टन्न रक्सी पिए । म पिउँदै नपिउने मान्छेले पनि उनीहरूको जोरजबर्जस्तीमा डेढ बोतल बियर रित्याएँ ।
साथीहरूसँग छुट्टिएर घर आएँ । पहिलोपटक बियर पिएकोमा आफूलाई अपराधी ठह¥याएँ ।
त्यति ढिलो त भएको थिएन तर पनि मलाई कुरेर ढोकामै उभिएकी भाउजूले आत्तिएको स्वरमा भनिन्, “काँ गा तपैं यति अबेरसम्म ? फोन गरेको नि उठा’ हैन । चक्रेलाई पसलाँ हेर्न पठाको, उसले नि आएर पसल बन्द छ भन्यो । बा घराँ हुनुहुन्न । मेरो परान घाँटीमा आएर बस्या’छ कतिखेरदेखि, काँ गा तपैं यसरी भन्दै नभनी ?”
उनको आँखाबाट आँसुका ढिक्का झरे । मेरो मुटु गाँठो प¥यो । यसै अपराधबोधले भरिएको मेरो मन, उनको आँसुले छियाछिया भयो ।
“म...म साथी..” मेरो मुखबाट शब्दभन्दा आँखाबाट आँसु सजिलै झ¥यो । अनायासै उनी हातले मुख छोप्दै हाँसिन् ।
“काँबाट दलेर आउनुभो यतिविधि रंग ? ढेडुजस्तै देखिनुभा’छ...” उनले आँसु पुछिन्, “तपैंको त छायाँले पनि चिन्छु र पो नत्र अनुहारले त काँ चिन्न सक्नु ?”
उनी चिसो आँखा लिएर हाँसिरहिन् । म रुँ कि हाँसौं भएर उनैलाई हेरिरहें ।
“अब रातभरि यहीँ उभिरहने हो ? हिँड्नुस् भित्र ।” उनी भित्र पसिन् । म लुरुक्क उनको पछि लागें ।
उनको अनुहारमा कतै रंगको एउटा छिटा पनि थिएन । झन् अचेल त उनी टुप्पीसम्म लामो सिन्दुर पनि लाउँथिनन् । त्यसैले हो कि किन– मलाई उनको अनुहार झनै रित्तो र उजाड लाग्यो । मेरो मन उनीप्रति सहानुभूतिले भरियो । कस्तो अत्यासपूर्ण जीवन बाँच्न बाध्य पा¥यो मेरो दाइले यो निरीह प्राणीलाई । मेरो मन आक्रोशले भरियो दाइप्रति ।
“आओस् मात्रै घर, जान्याछु मैले,” मनमनै सोचें ।
“भात पस्कन्छु । तपैं हातमुख धोएर आउनुस्,” भाउजू भन्दै थिइन् ।
“म खाएर आएको, तपैं खानुस्,” उनको त्यो विधवाको जस्तो उजाड÷उराठ रूपसामु अझै उभिने मेरो हिम्मत भएन । म उनीतिर हेर्दै नहेरी माथि उक्लिएँ ।
निकैबेर म त्यत्तिकै आफ्नो कोठामा छटपटाइरहें । दाइसँग मनमनै झगडा गरिरहें । अचानक पल्लो कोठाबाट आएको भाउजूको सिसकी मेरो कानमा ठोक्कियो । मलाई औडाहा छुट्यो । म उठें, बसें, फेरि उठें तर सधैंजस्तै कान थुनेर निदाउन सकिनँ ।
मैले निकै पटक ढकढकाएपछि भाउजूले ढोका खोलिन् । दुवै हात पछि गरेर ढोकामा उभिएको मलाई देखेर उनको अनुहारमा आश्चर्य पोतियो ।
“लौ हेर ! अहिलेसम्म मुखै नधोई पो बस्या रै’छ यो मान्छे । जानुस् मुख धोएर सुत्नुस् । अबेर भैसक्यो,” उनी सुन्निएको आँखा मबाट हटाएर उता फर्किन खोजिन् । मैले पूजा कोठाबाट मुठ्ठीभरि ल्याएको अबिर उनको अनुहारभरि दलिदिएँ ।
“ब..बाबु..!” उनले विरोध गर्न खोज्दै भनिन्, “के गर्नुभा’ यो ?”
“म तपैंको यो विधवाको जस्तो रूप हेर्न सक्दिनँ, सत्य । म चाहन्छु आजको फागु पूर्णिमाको सबै रंग तपैंको जीवनमा भरियोस्,” मैले थरथर काँप्दै भनें ।
उनी मेरो हात झट्कारेर अघि बढ्न खोजिन्, कहीँ अल्झिएर धर्मराइन् । मैले थाम्न कोसिस गरें । यो कोसिसमा हामी दुवै लड्यौं र छताछुल्ल पोखियौं ।
२० दिन म घर फर्किनँ । बालाई सहरमा काम छ भनेर खबर पठाएँ, बहुलाहाजस्तै यहाँ र त्यहाँ भौतारिरहें । कुन मुख लिएर घर फर्कन्थें ? कसरी उभिन जान्थें म मेरी भाउजूको सामु ? 
कयौं पटक मर्न कोसिस गरें तर सकिनँ । बारम्बार बा र भाउजूको अनुहार आँखाअगाडि आउँथ्यो अनि मनले भन्थ्यो, “यिनीहरू के गर्लान् म यसरी अपहत्ते गरेर मरे ?”
न रक्सीले राहत दिन्थ्यो, न आँशुले । हारथाक भएर २१ औं दिनको दिन भाउजूले दिएको सबै सजाय भोग्ने संकल्प गर्दै म घर फर्किएँ । तर, भाउजू घरमा थिइनन् ।
सबै कागजपत्र मिलाएर भाउजूलाई लिन आएको दाइ भाउजूलाई लिएर अघिल्लो दिनमात्रै अमेरिका उडेछ ।
आधा मन भाउजूको सामना गर्न नपर्ने भएकोमा अलि ढुक्क भयो । बल्लतल्ल यत्रो वर्षपछि घर आएको दाइलाई भेट्न पाइनँ । हिँड्ने बेलामा भाउजूलाई राम्ररी बिदा गर्न पाइनँ । सबैभन्दा बढी मन यसले दुखायो ।
त्यसपछि मैले बा, कुसुमको परिवार र कुसुमले जतिसुकै जबर्जस्ती गरे पनि बिहे गर्न मानिनँ । कसरी मान्थें ? उसकी दिदीको अपराधी जो थिएँ म । 
कुसुमको बिहे अन्तै भयो । मलाई सत्तोसराप गर्दै ऊ बिदा भई । 
मैले आफूलाई झनै धेरै काममा जोतें । न बिहे गरें, न परिवार बनाएँ । आफूलाई दुःख दिइरहें र पापको पश्चाताप गरेको भन्ने सोचेर मन बुझाएँ । यही क्रमले २६ वर्ष बित्यो ।
 
० ० ०
आज भाउजूको छोरा अनिकेतलाई सामुन्ने देखेर मलाई लाग्यो– शायद माफीको लायक भएछु म । नत्र यत्रा वर्ष एकपटक फोन पनि नगरेकी, कुनै खबर नपठाएकी भाउजूले छोरा किन पठाउँथिन् यहाँ ?
अनिकेत आएको लगभग महिना दिन बितेपछि एकदिन मैले ऊसँग सोधें, “बाबु ! कहिले फर्कन्छस् ?”
उसले क्वारक्वार्ती मलाई हे¥यो एकैछिन अनि बिस्तारै भन्यो, “कहिल्यै फर्किन्नँ ।”
“के भन्छ यो ? उता दाइभाउजू पीर गरिरहनुभा’ होला, फोन पनि गरेको छस् कि छैनस् ? झगडा गरेर त आ’को होइनस् ?”
ऊ केही नबोली भित्र पस्यो । म त्यहीँ उभिइरहें ।
केही बेरपछि बाहिर निस्कियो, मेरो हातमा एउटा खाम थमायो र मतर्फ हेर्दै नहेरी सहरमा परिणत भएको फाँटतिर झ¥यो ।
मैले ओल्टाईपल्टाई त्यो खाम हेरेँ, जसमा कसैको नाम थिएन । फलैंचामा बसेर त्यो खाम खोलें ।
सबैभन्दा माथि ‘बाबु’ लेखेर केरिएको थियो र त्योसँगै मेरो नाम ‘अर्जुन’ लेखिएको थियो । मैले बिस्तारै पढ्न सुरु गरें–
 
“.... यो चिठ्ठी तपाईंको हातमा पर्दा म अर्कै दुनियाँमा विश्राम गरिरहेकी हुनेछु ...।”
म अडिएँ । त्यही लाइनलाई कयौं पटक पढें । के मतलब थियो त्यसको ? थरथराएको हातले दह्रोसँग चिठ्ठी थामें र आँसुले धमिलिँदै गएको आँखालाई फेरि चिठ्ठीमा केन्द्रित गरें–
“... त्यो दिन हिँड्ने बेलासम्म तपाईं आइपुग्ने आश गरिरहें तर तपार्इं आउनुभएन । कुनै दिन तपाईंको दाइको साथ लागेर अमेरिका उड्नु मेरो जीवनको एउटैमात्र उद्देश्य भए पनि त्यो बेला यदि मिल्ने भए म त्यो घर छोडेर कहीँ जान चाहन्थिनँ । तर, तपाईंको सजिलोको लागि म तपाईंको दाइको पछि लागें । के गरौं ? सामाजिक रूपमा उहाँसँग नै बाँधिएकी थिएँ, मन जो र जेसँग बाँधिए पनि । अमेरिका जानु अब मेरो लागि कुनै खुसीको कुरो थिएन, त्यसमाथि त्यहाँ पुगेर त झन् त्यो एउटा यातनाशिवाय केही रहेन । तपार्इंको दाइ स्वास्नी मान्छेको संसर्गमा खुसी हुने खालको पुरुष हुनुहुन्थेन । उहाँको वर्षौंदेखि पुरुष पार्टनर थियो, जोसँग वहाँ छुट्टिन चाहनुहुन्थेन...।”
“हे भगवान !” मेरो मुखबाट निस्कियो । मैले थरथराएको हातले आँशु पुछें र फेरि पढ्न थालें–
“... उनीहरू दुवैजनाले मलाई सामु राखेर आफ्नो असमर्थता सम्झाए । मलाई जीवनभर सहयोग गर्ने बचन दिए र मैले चाहेको गर्न सक्ने आश्वासन दिए । ६ वर्षदेखि पतिको संसर्ग र साथको कामनामा छटपटाइरहेकी एउटी स्त्रीले त्यो सबै सुनेर बहुलाउनुपर्ने थियो तर म शान्त थिएँ । शान्त के, म त खुसी थिएँ । तपाईं सोच्नुहोला, यस्तो पनि हुन्छ ? तर सत्य यही हो । बिहे गरेर आफ्नी विवाहिताको स्पर्शसमेत नगरी २० दिनमै विदेश हिँडेको पतिको संसर्गको चाहमा छटपटाउँदै हरेक रात सिरानीलाई अँगालो हालेर रुने यो ताराको त्यति बेलाको मनस्थिति बुझ्न कठिन नै हुन्छ शायद कुनै पनि पुरुषलाई । तर, यतिखेर तपाईंलाई बुझाउन म यति नै भन्न सक्छु कि मेरा ती ६ वर्ष लामा छटपटाहटपूर्ण प्रतीक्षाका रात र दिनलाई एउटै रातले जितिदिएको थियो अर्जुन ! त्यो फागु पूर्णिमाको रातले ।”
मेरो हातबट चिठ्ठी भुइँमा खस्यो । जिब्रो च्यापुसँग टाँसियो । म छटपटाउँदै उठें । 
चिठ्ठी भुइँबाट टिपेर हातमा लिएर निकैबेर म आँगनमा टहलिएँ । 
हुन त भाउजू दाइसँग अमेरिका हिँडिसकेपछि पनि मेरो आँखाअगाडिबाट उनको अनुहार कहिल्यै पुछिएन, कहिले के अनि कहिले केको बहानामा । मैले उनी र उनको यादलाई आफ्नो मनबाट टकटक्याउन जति कोसिस गरें, त्यति नै धेरै उनको याद आइरह्यो । त्यसैले पनि शायद म अपराधबोधबाट मुक्त हुन सकिनँ । दाइकी अर्धांगिनीलाई बिनाकारण याद गरिरहनुको अपराधबोध । तर, उनको चिठ्ठी पढेर मलाई लाग्दैथियो– मैले त्यसरी उनलाई याद गर्नु बिनाकारण थिएन ।
मैले फेरि चिठ्ठी पढ्न सुरु गरें–
“.. तपाईंको दाइले आफ्नो कुराको मान राख्नुभयो । उहाँ जोसँग र जसरी बसे पनि आफ्नो नामसँग जोडिएको मेरो नाम यथावतै रहन दिनुभयो । समाजको आँखामा हामी पतिपत्नी नै रह्यौं । यहाँ आएको केही समयपछि मैले थाहा पाएँ– म गर्भवती थिएँ ।”
मेरो मुखबाट लामो सास निस्कियो । मैले आफ्नो निधारमा रसाएको पसिना पुछें र मनको ज्वारभाटालाई थाम्दै फेरि चिठी पढें–
“.... तपाईंको दाइले कुनै प्रश्न सोध्नुभएन । बरु मलाई भन्नुभयो, “तारा ! तिमी यदि यो बच्चाको बाबुसँग बिहे गरेर ऊसँग जीवन बिताउन चाहन्छौ भने भन, म तिमीलाई मद्दत गर्छु ।” म के भन्थें तपाईं नै भन्नुस् अर्जुन ? जीवन तपाईंको दाइसँग अनि मन तपाईंसँग बाँधिएको थियो मेरो, तर रोज्न पाउने अधिकार मलाई दिएको थिएन समाजले । तपाईंसँग मन जोड्नु मेरो रोजाइ कदापि थिएन तर मेरो भोक, प्यास, आँशु, पीडा र मन बुझिदिने तपाईंसँग आफसे आफ बाँधिन पुगेको यो असत्ती मनलाई मैले कसैगरी फकाएर फेरि अन्तै कतै मोड्नै सकिनँ, खासगरी त्यो रातपछि । तपाईं मलाई पतीत, पत्रू नै मान्नुस् तर अर्जुन, त्यो रात तपाईंले मेरो शरीरलाई पहिलो पटक छोए पनि मेरो मन तपाईंसँग बिटुलिएको धेरै भइसकेको थियो । भित्ताको यतापट्टिबाट उतापट्टि सुत्नुभएको तपार्इंको छातीमा टाउको राखेर निदाउन थालेदेखि नै त मैले छोडिदिएको थिएँ तपाईंको दाइलाई सम्झिएर रुन । त्यसपछिको मेरो रुवाइ उनको यादमा नभएर आफ्नो बाध्यताको लागि हुन्थ्यो ।
सिन्दुर एउटाको नाउँमा र छटपटाहट अर्कोको लागि । यसरी नै सारा जीवन बिताउन राजी थिएँ म । तपाईंको छेउछाउमै, तपाईं सुतेको कोठाको भित्तालाई छोएर नै तृप्त हुन सिकिसकेकी थिएँ मैले अर्जुन । तर, त्यो फागु पूर्णिमाको रातमा तपाईंले यो ६ वर्षकी विवाहितालाई पहिलो पटक विवाहित हुनुको अर्थ दिनुभयो । मेरो कुमारीत्वलाई आमा बनेर फक्रने सौभाग्य दिनुभयो । अर्जुन ! तपाईंले भनेझैं मेरो जीवनमा सधैंको लागि रंग भरिदिनुभयो, नत्र त म कुनै बाँझो जमिनजस्तै सुकेको छातीमा फुल्न नसकेको कुमारीत्व बोकेर यसै मर्ने थिएँ शायद ।
मलाई थाहा छ– त्यो रातको लागि तपाईंले आफूलाई कहिल्यै माफ गर्न सक्नुभएन त्यसैले त आफूले मन पराएकी कुसुमसँग बिहे गर्न सक्नुभएन । तर, आज म तपाईंसँग भन्न चाहन्छु– तपाईंको अपराधबोध गलत छ किनकि मलाईजति कसलाई थाहा छ तपाईंको नियतमा खोट थिएन भनेर ? ती ६ वर्षहरूमा हर घडी मेरो चिन्ता गर्दै, मलाई खुसी राख्ने तपाईंको प्रयासमा केवल दाजुको अनुपस्थितिमा उसकी नवविवाहिताको ख्याल राख्नेबाहेक अर्को कुनै सोच थिएन । त्यो त म नै थिएँ, जो तपाईंको निश्चल, निःस्वार्थ साथमा जीवन भेट्न थालें । तपाईंको दाइकी अर्धांगिनी भइरहन कोसिस नगरेको होइन । तपाईंको दाइले मलाई स्पर्शमात्रै पनि गरेर गएको भए मेरो कोसिस सफल पनि हुन्थ्यो होला । तर, उहाँ त मेरो सिउँदोमा सिन्दुरको धर्को कोरेर, मेरो कुमारी मनमा नयाँ कौतुहलता र प्यास जगाएर यसरी बिदा हुनुभो, मानौं म एउटा माटोको मूर्ति थिएँ । मलाई आजीवन उहाँको प्रतीक्षा गर्न मञ्जुर थियो तर कुन आधारमा ? न मैले उहाँको बोली सुनेकी थिएँ, न स्पर्श चिनेकी थिएँ ।
अर्जुन ! स्वास्नी मान्छेको लागि शरीर त्यति महत्वपूर्ण हुँदैन जति साथ महत्वपूर्ण हुन्छ । शायद त्यसैले म तपाईंतर्फ तानिएँ । मलाई थाहा छ– हरेक रात म रुँदा, छटपटाउँदा मेरो ओच्छ्यान सँगैको भित्तोमा टाँसिएर बस्नुहुन्थ्यो तपाईं । मलाई थाहा छ– कयौं पटक मसँगै रुनुहुन्थ्यो तपाईं । मेरो ओठको मुस्कान मेटिन नदिन प्रयत्नरत आँखा सामुको तपाईंलाई छोडेर यो पापी मनले तपाईंको दाइको हुनै मानेन । 
घर छोडेपछि म फेरि फर्केर त्यहाँ नआउनुको कारण तपाईं नै हुनुहुन्थ्यो । मलाई डर थियो– म तपाईंलाई देखेपछि आफूलाई रोक्न सक्नेछैन । मलाई यो पनि थाहा थियो– तपाईं सत्य सुन्न र सहन सक्नुहुनेछैन । त्यसैले म तपाईंको बा बित्दा दाइसँग घर आइनँ । कुसुमको बिहेमा आइनँ । आमा मर्दा आइनँ । अर्जुन ! मेरो जीवनको सबैभन्दा महत्वपूर्ण मान्छे तपाईं तर विडम्बना ! मैले तपाईंको हात थामेर तपाईंसामु यो सत्य भन्न सकिनँ । मेरो कोखमा जीवन रोप्ने, मेरो काखमा सन्तान दिएर मभित्र मातृत्व फुलाउने तपाईंलाई मैले कहिल्यै कसैसामु मेरो भनेर चिनाउन सकिनँ, मेरो दुर्भाग्य ।”
मेरो आँखाबाट बलिन्द्र धारा आँशु झरेर चिठ्ठीका अक्षरहरूलाई भिजाउँदै थिए तर मैले पढ्न छोडिनँ ।
“.... जब कुसुम अमेरिका आई, मैले उसलाई सबै कुरा भनें...”
मलाई याद आयो कुसुमको बदलिएको व्यवहार । मैले ऊसँग बिहे गर्दिनँ भनेको बेलादेखि मसँग बोल्न छोडेकी कुसुम अमेरिकाबाट फर्केपछि मसँग आत्मीयतापूर्वक कुरा गर्थी र बात बेबात धन्यवाद भनिरहन्थी ।
“... सुनेर बिचरी बेस्सरी रोई । कस्तो भाग्य लिएर जन्मिएकी थिएँ म अर्जुन, जोसँग सामाजिक रूपमा बाँधिएँ, ऊ मेरो हुन सक्थेन । अनि जोसँग म मनले बाँधिएँ। म उसको हुन सकिनँ । तपाईंको खोजखबर राख्दै, तपाईंको छोरोमा तपाईंको गुण भर्दै, उसलाई हुर्काउँदै बितिरहेथ्यो मेरो जीवन, क्यान्सरले नबिथोल्दासम्म ।”
यो मेरो लागि नयाँ कुरा थियो । उनको धेरैथोरै खबर जे पनि मछेउ आइपुग्थ्यो । त्यसमा क्यान्सरको कतै उल्लेख थिएन ।
“... अन्तिम स्टेजको क्यान्सरको बारेमा थाहा पाएपछि मलाई लाग्यो– तपाईंलाई सत्य थाहा हुन जरुरी छ । नत्र त मैले यही प्रण गरेथें कि म तपाईंको लागि तपाईंकी भाउजू नै रहनेछु आजीवन । तर, अब तपार्इंको र मेरो सत्य तपाईंको दाइ, कुसुम र तपाईंको छोरा अनिकेतलाई थाहा छ । मेरो जीवनका अन्तिम दिनहरूमा जब म अस्पतालमा थिएँ, मैले तपाईंको दाइ र अनिकेतलाई सत्य भनिदिएँ ।
अर्जुन, मलाई कुनै कुराको अफशोच छैन, सत्य । म असन्तुष्ट, अतृप्त मरिनँ । मैले जीवनका सबैखाले अनुभव तपाईंबाटै जानें । साथको, मायाको, शरीरको, स्वास्नीमान्छे हुनुको, आमा हुनुको र सुरक्षित हुनुको । त्यसैले नै म यो चिठ्ठी लेख्न सक्ने भएँ । तपाईंलाई धन्यवाद नभनेसम्म शायद मैले अर्को दुनियाँंमा ठाउँ पाउनेछैन । अर्जुन, समाज र सम्बन्धको विपरीत गएर तपाईंलाई माया गर्नु, तपाईंसँग मन बाँध्नु मेरो अपराध हो । यदि यो अपराध हो भने तपाईंको होइन । त्यसैले यो अपराधबोधबाट निस्कनुस् र अनिकेतको साथमा बाँकी जीवन बिताउनुस् । 
– तपाईंकी तारा
 
मैले अन्त्यमा लेखिएको उनको नाम कयौं पटक पढेँ । आँखाबाट आँशुको भेल बगिरह्यो !
 
आवरण पेन्टिङ स्रोतः किरण कुमार, touchtalent.com 
- See more at: http://baahrakhari.com/news-details/9894/2016-11-12#sthash.IX9SrtlJ.dpuf
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
How long does it take to get I485 approved?
Who designed Nepalese Flag?
उसलाई हतार छैन।
CPT universities on 1st day - URGENT
About tax waiver for OPT EAD
Looking for various IT Consultants for our direct client
IT ma lagera bankrupt baiyo
एउटा गाडी बेच्दा २६ लाख नाफा खाने रहेछन
युट्युबमा भिडियो राखेर करोडपति हुने नेपालीहरु
आँकको रुख
तेसो भए नयाँ मोहल्लामा सरौ ?
होलीको बेला खिचिएको नेपाली चेलीको तस्बिर viral
Looking for a room in Northern New Jersey
US CITIZENSHIP
Johnny B Goode
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters