विदेशमा पढेको ज्ञान स्वदेशमा प्रयोग गर्न थालेका छिरिङ, भुषण, मन्जित, प्रशान्त र अभिनव (बायाँबाट क्रमश:)।
काठमाडौ, श्रावण १५ - चार वर्षअघि अविनभ खनाल अमेरिका उडेका थिए । त्यहाँ उनले युनाईटेड वल्र्ड कलेजमा पढे । उनी अहिले इयर्लहम कलेजमा पढिरहेका छन् । यी २१ वर्षीय ठिटो डेढ महिनादेखि काठमाडौंको गौशलास्थित कांग्रेसका सभासद गगन थापाको कार्यलयमा काममा व्यस्त छन् । 'म कार्यालयमा गगन सरको सहयोगीको रूपमा काम गरिरहेको छु,' पोलिटिक्स र इकोनोमिक्सका विद्यार्थीले प्रस्ट पारे ।
बौद्धका अविनभ गगनको मातहतमा काठमाडौंलाई कसरी बस्न लायक ठाउँ बनाउन सकिन्छ भनेर केही रि-सर्च र कम्युनिकेसनको काम गरिरहेका छन् ।
नेपालकै चर्चित युवा नेतामा पर्छन्, गगन । उनकै मातहमा काम गर्न पाउनुलाई आफ्नो राम्रो अवसर मान्छन्, अविनभ । 'काम गर्ने वातावरण राम्रो छ,' पब्लिक एडमिनिस्ट्रेसनमा मास्टर्स डिग्री गर्दै नेपाली राजनीतिमा होमिने लक्ष्य बनाएका उनले बताए ।
अविनभमात्र होइन, अहिले विदेश पढेर आएका छिरिङ डोल्मा दावा शेर्पा, प्रशान्त लुइटेल, मन्जितराज पाण्डे र विदुरराज गौतमलगायत २० युवा सरकारी कार्यालय, सभासद र अन्य कार्यालयमा ३ महिनाका लागि सहयोगीको भूमिकामा काम गरिरेहका छन् । युवाहरूलाई विभिन्न कार्यालयमा काम गराउने, कार्यालयको अनुभव उनीहरूले पाउने र उनीहरूले हासिल गरेर ज्ञान पनि कार्यालयलाई सेयर गर्ने वातावरण मिलाउने काम दायित्व छात्रवृद्धिले गरेको छ ।
यो छात्रवृद्धिको सुरूआत दायित्व टिमले गरेको हो । यो टिमको मुख्य ७ सदस्य छन् । उनीहरू पनि चीन, भारत, अमेरिका, इंग्ल्यान्ड र फिनल्यान्डका युनिभर्सीटीमा अध्ययन गरेका आएका विद्यार्थी हुन् ।
दायित्व टिमका एक सदस्य हुन्, पुकार मल्ल । उनले हार्वर्ड युनिभिर्सीटीमा इलेक्ट्रिकल इन्जिनियरिङमा पीएचडी गरेर आएका हुन् । 'नेपालमा सरकारले धेरै गर्न सक्छ । हाम्रो धेरै कम्प्लेन हुन्छ,' उनले भने,'किन त हामीले कम्प्लेन गर्ने युवा र सरकारलाई सहकार्य गरेर अघि नबढाउने ?'
भारतको जवाहरूललाल नेहरू विश्वविद्यालयमा इन्टरनेशनल रिलेसनमा एमए पास गरेर आएका अर्को सदस्य भुषण पीकेडी परसैनका अनुसार छात्रवृत्तिका लागि सरकारका विभिन्न निकायका सचिव, उपसचिव र कर्मचारीलाई दायित्व टिमले भेट गरेको थियो । 'हाम्रो कुरा सुनेपछि त मुख्यसचिव लिलामणि पौडेल निकै पोजेटिभ हुनुभयो,' काठमाडौं घट्टेकुलोका २७ वर्षीय भुषणले सुनाए ।
काठमाडौं जोरपार्टीकी छिरिङ सन् १९९९ मै हाईस्कुल पढ्नका लागि अमेरिकी गएकी थिइन् । दस वर्षपछि नेपाल फर्कदा उनको हातमा पब्लिक एडमिनिस्ट्रेसनको डिग्री थियो । उनी अहिले दायत्वि छात्रवृत्तिकै कारण राष्ट्रपति रामवरण यादवको कार्यालय शीतल निवासमा काम गरिरहेकी छन् । काठमाडौंको धुलो, धुँवा र हिलोलाई छल्दै राष्ट्रपति कार्यालयलाई कसरी बलियो बनाउन सकिन्छ भनेर उनी रि-सर्च गर्न शितल निवास पुग्छिन् ।
'हाम्रो देशको जस्तै पोलिटिकल सिस्टम भएको देशमा राष्ट्रपति कार्यालयलाई चुस्त बनाउन के गर्न सकिन्छ भनेर पनि रिसर्च गरिरहेको छु,' ३० वर्षीय छिरिङले सुनाइन् । राष्ट्रपति कर्यालयमा काम गरे पनि उनले अहिलेसम्म राष्ट्रपतिसँग भेट्ने अवसर भने पाएकी छैनन् । उनी कार्यालयका अन्य पदाधिकारीसँग मिलेर काम गर्छिन् । 'राष्ट्रपति व्यस्त हुनुहुन्छ । कार्यालयका सरहरू सहयोगी छन् । काम गर्न सजिलो हुन्छ,' उनले भनिन् । उनलाई नेपाल र अमेरिकाबीचको फरक के छ भनेर सोध्दा उत्तर दिइन्,'त्यहाँ २ घन्टामा पूरा हुने काम यहाँ ८ घन्टा लाग्दो रहेछ ।' तर उनले यसलाई सुधार गरे अघि बढ्न सकिने बताइन् ।
२० वर्षीय मन्जितराज पाण्डे भारतको सुरेश ज्ञान बिहार युनिभर्सिटीमा अन्डरग्राजुएट गरिरहेका छन् । बिदाका कारण अहिले नेपालमा रहेका यि सिभिल इन्जिनियरका विद्यार्थी उप-प्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको मातहमा काम गरिरहेका छन् । 'ठमेलस्थित उनको घरमा काम गर्छु,' उनले भने,'लोकसेवा आयोग पार गरेर पाउने अनुभव यहाँ पाउन सकिन्छ ।' उनको भविष्यको लक्ष्य समाजलाई केही राम्रो असर पर्ने काम गर्नु रहेको सुनाउँछन् ।
बनेपा काभ्रेका बिदुरराजले बई/एमए इलेक्ट्रिकल इन्जिनियरिङका साथै इनभारमेन्ट इन्जिनियरिङमा पीएचडी गरेका छन् । सन् २००१ देखि २०१० सम्म गरी उनले भारत, अमेरिका र चीनको युनिभर्सिटीमा अध्ययन गरे । अहिले उनी दायित्व छात्रवृत्तिअन्तर्गत नेपाल लगानी बोर्डमा काम गरिरहेका छन् । 'हाम्रो टिममा व्यवसायिक कर्मचारी छन् । निकै आनन्द आइरहेको छ,' ३२ वर्षीय उनले कामको अनुभव सुनाए । उनले नेपाल र विदेशको फरक छुट्याउदै भने,'नेपालको ब्युरोक्रेसी कमजोर छ । व्यक्तिगत स्वतन्त्रता छैन । हामी आफ्नो भन्दा पनि परिवार, समाज, चिनजानका मान्छेका लागि बाँच्छौं ।' उनको लक्ष्य उर्जा र वातावरण क्षेत्रमा सफल व्यवसायी बन्ने हो ।
काठमाडौं बल्खुका प्रशान्त पनि नेपाल लगानी बोर्डमै काम गर्छन् । रिड कलेज, एमआईटी पढेर बोस्टन युनिभर्सिटीबाट फिजिक्समा मास्टर्स गरेका ३२ वर्षीय उनले छोटो समयमा समाजका धेरै कुरा सिकेको बताए । उनी नेपालमै सधैका लागि बस्न चाहन्छन् । उनी अहिले केमिकल फर्टिलाइजर प्लाटको सुरूआत गर्ने योजनाको सम्भावनाको बारेमा सोचिरहेका छन् । लगानी बोर्डमा काम गर्दा यहाँको कम्पनी, बैंकिङ सेक्टरलगायत विभिन्न संस्थाको बारेमा थाहा भएको उनले बताए ।
सरकारी कर्मचारीको अनुभव युवाहरूलाई दिलाउने र युवाहरूले देशविदेशमा बटुलेका ज्ञान उनीहरूलाई दिने वातावरण मिलाएको हो, दायित्व छात्रवृत्तिले । यहाँ काम गर्ने युवाले केही रकम दायित्व छात्रवृत्तिबाट पाउने छन् र विभिन्न कार्यालयमा गएर निशुल्क काम गरिदिन्छन् । 'सुरूआतमा हामीले ५/५ डलर उठाएर यसको सुरूआत गरेको हौं,' भुषणले भने,'अहिले ठूला व्यवसायिले छात्रवृत्तिका लागि आर्थिक सहयोग उपलब्ध गराउने वचन दिएका छन्, केही कार्यालयले त छात्रवृत्ति दिन पठाएका युवाहरूलाई आफैले तलब दिन थालेका छन् ।'
दायित्वले विदेश र देशमै रहेका प्रतिभावान युवाहरूलाई समाजसँग जोड्दै देश विकासमा ठूलो भूमिका खेलाउने काम गरिरहेको छ । 'आगामी दिनमा हामीले यो छात्रवृत्तिलाई ६ महिना, १ वर्ष गरेर बढाउदै जाने छौं,' पुकारले भने,'युवाहरूले नै समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन् । र, हामीले त्यसलाई अघि बढाउनु पर्छ ।'
प्रकाशित मिति: २०७१ श्रावण १५ ०७:०५
http://www.ekantipur.com/np/2071/4/15/full-story/393280.html
Last edited: 31-Jul-14 09:01 AM