[Show all top banners]

nepcha1
Replies to this thread:

More by nepcha1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 मुलुकलाई नयाँ जंगबहादुर चाहिएको छ
[VIEWED 2413 TIMES]
SAVE! for ease of future access.
Posted on 09-30-12 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मुलुकलाई नयाँ जंगबहादुर चाहिएको छ

 
संस्कृतिप्रति गहिरो खोजबिनकै कारण तीन पटक मदन पुरस्कार पाइसकेका सत्यमोहन जोशी ९३ वर्षको उमेरमा पनि उही जोशका साथ अन्वेषणमा दत्तचित्त छन्। पाटनको बखुम्बहालस्थित जोशी निवासमा बिहीबार बिहान नागरिक टीम पुग्दा उनी विद्युतीय प्रकाश हालिएको एक्वारियमअघिल्तिर धुम्धुम्ती बसिरहेका थिए। हिन्दु धर्ममा आस्थावान् जोशीले घरभित्रै बुद्धको मूर्ति स्थापना गरेका छन्। भाषिक, जातीय पहिचानका आवाजसँगै राष्ट्रिय एकता कमजोर हुन थालेको अनुभूत हुँदै गर्दा सबै समुदाय, जाति र क्षेत्र जोड्ने आइकनहरुको खोजी हुन थालेको छ समाजमा। बुढ्यौलीलाई माथ गर्नेगरी संस्कृति कर्ममा तल्लीन जोशी यस्तै एउटा आइकन हुन्, जो देश बलियो नभई जुनसुकै समुदायका भए पनि जनता बलियो हुन नसक्ने कडा अडान लिन्छन्। उनीसँग नागरिकका प्रधान सम्पादक किशोर नेपाल र संवाददाता बसन्त बस्नेतले गरेको कुराकानी :
 
• संस्कृति फेरिँदै गएको सत्य हो। यसको स्रोत चाहिँ उही हो। शैली बदलिँदै जान्छ।

• जातीयताका कुरा आएर संघीयतामा गड्बडी हुँदा चार वर्षयताको संविधान निर्माण पनि त्यही मुद्दामा आएर अड्कियो।

• जुत्ताले कहाँ दुखाएको छ भन्ने त जुत्ता लगाउने मान्छेलाई थाहा हुन्छ। हामीलाई थाहा छ, हाम्रो दुःख। त्यो नबुझिदिनाले संविधान नबनेको हो। बाहुनक्षेत्री छँदै छन्, तिनीहरुले अलिअलि राई लिम्बु नेवार भएर पनि सोचिदिने हो भने कुरो ठ्याक्क मिल्छ।

• रेडियोमा अरु बेला जे गरे पनि पाँच मिनेट त नेवार भाषालाई ठाउँ दिएको छ। त्यही भाषालाई बाइस सालमा आएर एक भाषाको नीतिमा मिल्काइदिने काम भयो।

• पहिलेको ज स्तो स्वच्छ विचारले देश बनाउने भन्ने विचार अहिले देखिन्न। जनादेशको पालन गर्नुपर्ने हो। राष्ट्रपतिले झगडा नगर, मिलेर सहमतिको सरकार बनाउ भने पनि मिल्नै सक्दैनन्। मैले गल्ती गरें भनेर आत्मालेाचना गर्ने संस्कार देखिँदैन। हामी मिलौं भन्ने भावना नै आउँदैन।

• आफ्नै पार्टीलाई आफ्नै मान्छेले आफैं बन्चरो हानेका छन्। यो पार्टी भएन रे। पदलोलुपताले बिगार्‍र्यो। सबलाई प्रधानमन्त्री, मन्त्री हुनुपर्ने। राम्रो नेता भए देश बनिहाल्छ।

• गतिलो नेतृत्वले अधिनायकवाद नलादी यो देश बन्दैन। तर त्यो डिक्टेरसिप बेनिभोलेन्ट (उदार) खालको हुनुपर्छ। रामराज्यको सार बुझेको लिडरसिप चाहिन्छ देशमा।

• लोकतन्त्रको मर्म बुझेको तानाशाह चाहिन्छ। त्यसो गरे कुरो बिग्रन पाउँद। स्वार्थी, परिवारवाद र नातावादमा विश्वास गर्ने तानाशाह होइन देशका लागि केही गर्छु भन्ने खालको तानाशाह चाहिन्छ। 

 

 


...प्रविधिले पनि कहिलेकाहीँ साह्रै दुःख दिन्छ हगि?

(हाँस्दै) यो पनि एक प्रकारको व्यापार नै त हो।

तपार्इं त मोबाइल पनि बोक्नुहुन्न... 
एकचोटि बोकेको थिएँ । त्यो पनि हरायो। फेरि पनि बूढो मान्छेलाई भनेर पठाइदिएका थिए। घरमा हुँदा कहिलेकाहीँ चलाउँछु। त्यति धेरै प्रयोगचाहिँ गर्दिनँ।

सञ्चार सम्पर्कमा बस्न नचाहनु भएको त होइन नि?
होइन, होइन। प्रविधि त यति आवश्यक भइसक्यो कि सानो केही पर्‍यो कि चाहिन्छ नै। फुटपाथको व्यापारीदेखि साधारण तरकारी व्यापारीलाई पनि मोबाइल चाहिन्छ आजकल। कुरा गर्न नभई नहुने कुरा हो यो। 

पहिले पाँच सय शब्द लेखिनु पनि ठूलो मानिन्थ्यो। अहिले प्रविधिले सबै कुरा खुम्च्याएर लैजाँदैछ। त्यसैगरी समाज र देशमा पनि छिटोछिटो परिवर्तन आउँदैछ। हाम्रो संस्कृति पहिलेभन्दा फेरिएको हो?
संस्कृति फेरिँदै गएको सत्य हो। यसको स्रोतचाहिँ उही हो। शैली बदलिँदै जान्छ। जस्तो भर्खरै तीज गयो। तीजमा नयाँ नयाँ फेसन आइरहेको छ। कतिलाई विकृति/विसंगति आइरहेको पनि लाग्ला। समयले ल्याएको कुरा रोकेर रोकिन्न। आइमाईको हक अधिकारका कुरा उठ्न थालेका छन्। हाम्रोमा तीजको दिन नाच्ने/गाउने परम्परा छ। स्वतन्त्रता छ हाम्रोमा। व्रत बस्ने परम्परा पनि त छ। पतिदेवका लागि अथवा कसैका लागि भनेर महिला व्रत बस्छन्। त्यस्तो परम्परा सितिमिति कहाँ अरुकोमा पाइन्छ? चुरा लगाउने, राम्रो पोशाक लगाउने भनेको गर्नै नहुने कुरा पनि कहाँ हो र! समाजलाई गलत असर पो पार्नुहुँदैन। परिवर्तन भनेको यसरी नै आउने हो। नत्र विकास पनि हुँदैन। दुनियाँ कति अगाडि बढिसक्यो, हामी भनै पुरानै संस्कृति भन्दै बस्नु उचित हुँदैन।

२०६२/०६३ को जनआन्दोलनले धेरै पुराना मान्यतामा परिवर्तन ल्याइदियो। त्यसपछिको समाज एउटा संस्कृतिविद् र इतिहासकारको आँखामा कस्तो देखिन्छ?

हाम्रो देशमा साँस्कृतिक विविधता छ। राई, लिम्बू, नेवार, धिमाल, बाहुन आदि छन्। झण्डै सय जति जाति/भाषा छन्। तिनका आफ्ना आफ्नै संस्कृति छन्। राउटेदेखि चेपाङसम्मका संस्कृति छन्। जातीयताका कुरा आएर संघीयतामा गड्बडी हुँदा चार वर्षयताको संविधान निर्माण पनि त्यही मुद्दामा आएर अड्कियो। अब संविधान आयो आयो भन्दा पनि बन्न सकेन। एकल पहिचान दिने हो कि बहुपहिचान भन्ने कुरामा लफडा भयो। जसले जातीयताले खण्डित हुन्छ, टुक्रिन्छ भनिरहेका छन्, ती मान्छेको भिजन अर्कै किसिमको छ। जसले पहिचान मागिराख्या छन्, हामी उपेक्षित उत्पीडित भयौं, त्यसैले अर्कैखालको संघीयता चाहियो भनिराख्या छन्। अंग्रेजी उखान छ नि- जुत्ताले कहाँ दुखाएको छ भन्ने त जुत्ता लगाउने मान्छेलाई थाहा हुन्छ। हामीलाई थाहा छ, हाम्रो दुःख। त्यो नबुझिदिनाले संविधान नबनेको हो। बाहुन क्षत्री छँदैछन्, तिनीहरुले अलिअलि राई, लिम्बू, नेवार भएर पनि सोचिदिने हो भने कुरो ठ्याक्क मिल्छ।

तर तपाईं त माथिल्लो वर्गको नेवार!
म त माथिल्लो वर्गको होइन।

जोशी भनेको त माथिल्लै वर्ग हो नि। 
थर त माथिल्लै वर्गको होला। म आफैंको आर्थिक अवस्था माथिल्लो तहको त छैन नि।

बाहुन क्षत्रीको पनि त्यस्तै हुन सक्छ नि? 
त्यो त छ। त्यहाँ पनि उच्च र निम्न वर्ग हुन सक्छ।

म जोशी हुँ भन्ने भावना तपाईंमा कत्तिको छ?
थरले त म जोशी नै हुँ नि। नेवार हुँ। त्यत्ति गर्वचाहिँ आउँदैन - म जान्ने हुँ भन्ने। तर अरुले पनि राई, लिम्बू आदि भएर सोचिदिनुपर्‍यो। उनीहरुले कति दुःख पाइरहेका छन् भनेर। ६२/६३ को जनआन्दोलनले जुन कुरा खोजेको थियो, त्यही उनीहरु मागिराखेका छन्। दुःख पाइरहेका छौं। हामी शोषित पीडित भयौं। हाम्रो पनि पहिचान होस् भनेर मागेका हुन् । नेवारले पनि मागेका छन्।

नेवारले कहाँ दुःख पाए? दरबारका पदहरुमा उनीहरु नै हुन्थे। 
किन दुःख पाएनन्? २०२२ सालमा एक भाषाको नीति लगाइयो। नेवार भाषा जसलाई हामी नेपाल भाषा भन्छौं, त्यसले पनि प्रजातन्त्र ल्याउन सात सालमा फुकेकै थियो। विराटनगरदेखि काठमाडौंसम्म त्यही थियो। त्यही भएर रेडियोमा अरु बेला जे गरे पनि पाँच मिनेट त नेवार भाषालाई ठाउँ दिएको छ। त्यही भाषालाई २२ सालमा आएर एक भाषाको नीतिमा मिल्काइदिने काम भयो।

साँस्कृतिक नीति निर्माणमा त तपाईंको भूमिका पनि थियो नि?
थियो। तर जातिगत हिसाबले त म नेवार हुँ नि। त्यसरी रेडियोबाट काट्दा हाम्रो त अपमान भयो नि। मर्यादापूर्वक पाँच मिनेट भए पनि दिइरहेको भाषालाई अचानक आजदेखि लौ बन्द भन्दिँदा कत्रो चोट पर्‍यो होला भन्नूस् न।

त्यही त, तपाईं आफैं योजना बनाउने र निर्णय गर्ने ठाउँमा हुनुहुन्थ्यो नि त?
सकेको त गरिहालें नि मैले। गाईजात्रा महोत्सव चलाइदिएँ। नाटक महोत्सव चलाइदिएँ। साहित्य भेला पनि गरें। त्यो बेला राजतन्त्र थियो। राजाविरुद्ध जाने कल्पना पनि थिएन, ताकत पनि थिएन। हामीले त्यहाँसम्म त गरेनौं। एकेडेमी भनेकै राजा महेन्द्रले भाषा साहित्यका लागि आफ्नो देशमा केही गरौं भन्ने सोचले खोलेको संस्था हो। उहाँको आफ्नै निगरानीमा चल्थ्यो यो। राजतन्त्रको बेला त्यो सोच ठीकै थियो।

राजा वीरेन्द्रका बेला तपाईंको सक्रियता अझै बढ्यो। त्यो बेलाका समाजको प्रवृत्ति कस्तो थियो?
लिबरल थियो। कडिकडाउ थिएन। वीरेन्द्रको सोच पनि राम्रै थियो। डोरबहादुर बिष्टले पिपुल्स अफ नेपाल लेखे। त्यो बेलासम्म कसैलाई त्यस्तो लेख्ने सोचाई आएको थिएन। सबैको जाति, संस्कृति अलग भए पनि नेपाली हौं भन्ने धारणा थियो। साझा संस्कृतिको कुरा थियो त्यो। युवराजधिराजको हैसियतमा वीरेन्द्र जापान जाँदा उनका गुरु नारायणप्रसादलाई साथ लगे। त्यही बेला पिपुल्स अफ नेपाल हात परेपछि उनमा सोच बदलियो। सबैका आफ्ना आफ्ना भाषालाई अध्ययन गराउन उनी तयार भए। विभिन्न भाषालाई नेपालीमा अनुवाद गरेर पर्यायवाची अर्थ दिने शब्दकोश बनाउन उनले योजना बनाए। राष्ट्रिय र भाषाको एकताका लागि यो महŒवपूर्ण कदम थियो। जापानबाट फर्केर महेन्द्रलाई भनेपछि मूर्त रुप लियो। सुरुमा सूर्यविक्रम ज्ञवालीलाई जिम्मा दिइएको थियो। उहाँले सक्नुभएन। कार्यकाल पनि सकियो। त्यसपछि मलाई बोलाएर संयोजकको जिम्मा दिइयो। युवराजधिराजको प्लान थियो, राष्ट्रका लागि नभई नहुने। प्रेरणाको स्रोतचाहिँ बिष्टको त्यही किताब थियो। त्यसपछि हरेकका भाषाले मान्यता पाए। सुरुमा १४ भाषामाथि काम भयो।

यति धेरै भाषा संस्कृति भएको देशमा अहिले तनाव किन उत्पन्न भयो?
नेपालमा धार्मिक सहिष्णुता छ। तपाईं बाहुन, म नेवार। मेरो संस्कृतिमा दखल गर्नुहुन्न। पूजाआजा गर्न पाएकै छु। त्यो समन्वय भावना छ। तपाईं हिन्दु होला, बुद्धका मूर्ति अगाडि पुग्दा एक प्रकारको आनन्दको भावना आउँछ। स्वयम्भू त जानुहुन्छ। बुद्ध नेपालका हुन्। यिनले शान्तिको सन्देश दिए। आर्यसत्यको भावना फिँजाए भन्ने भावना आउँछ। धार्मिक समन्वय र सहिष्णुताका कारण एक प्रकारको ढुक्क छ। जातीय स्वतन्त्रता पनि छ।

अहिले असन्तुलन आएको झैं देखिन्छ!
अहिले त मान्छे जान्ने भए नि त। धर्मनिरपेक्षता आएको छ। स्वतन्त्रता पाएका छन् सबैले। सबैका विचार स्वतन्त्र छन्।

धार्मिक सहिष्णुता भएको समाजमा धर्मनिरपेक्षताले झन् सजिलो बनाउनुपर्ने होइन?
त्यसको फिलोसफीले अझै मान्यता पायो। तपाईं टीका लगाउनुहुन्छ। गणेशथान मन्दिर घुम्नुहुन्छ। दसैंतिहार मान्नुहुन्छ। तपाईंको छोरो धर्मनिरपेक्ष समाजमा क्रिश्चियन भयो भने ऊ टीका लगाउँदैन। उसलाई दसैंतिहार केही चाहिँदैन। पूजाआजा चाहिन्न। आफ्नै क्राइस्ट चाहिन्छ। मेल नखाने हुन्छ। तपाईं हामी आर्यघाट लगेर मूर्दा पोल्छौं। उनीहरु गाड्ने भन्छन्। कुरो भनेको यो हो। संस्कृतिले गर्दाचाहिँ एउटा संस्कृति र अर्को संस्कृतिका बीचमा बेमेल आयो। त्यसले झगडा हुने भयो। अहिले ४०-५० वटा चर्च छन् यहीँ। अब के गर्ने? उनीहरु हाम्रा चाडबाड केही नमान्ने। आयातीत संस्कृतिले फसाद पर्‍यो। रोक्न पनि सकिन्न, के गर्ने? ऐन कानुनले धर्म परिवर्तन गर्न पाइन्छ भन्छ, त्यसैले रोक्न पनि सकिन्न।

अहिलेको राजनीतिमा पनि संस्कृतिबीचकै बेमेल प्रतिविम्बित भएको हो त?
त्यस्तै देखिन्छ। पहिलेको जस्तो स्वच्छ विचारले देश बनाउने भन्ने विचार अहिले देखिन्न। जनादेश पालन गर्नुपर्ने हो। राष्ट्रपतिले झगडा नगर, मिलेर सहमतिको सरकार बनाउ भने पनि मिल्नै सक्दैनन्। दलहरुका आ-आफ्नै विचार होलान्। ती सही पनि होलान्। तर मैले गल्ती गरें भनेर आत्मालेाचना गर्ने संस्कार देखिँदैन। हामी मिलौं भन्ने भावना नै आउँदैन।

नेपाली समाज अभिभावकवादी छ हगि?
कस्तो अभिभावकवादी?

कहिले राजा चाहिने, कहिले राष्ट्रपति। 
राजा नभएर त के भो र? जम्मै काम राष्ट्रपतिले गरिराखेका छन्। एउटा गयो, अर्कोले रिप्लेस गर्‍यो।

अरु समाजमा पनि राष्ट्रपति वा राजा हुन्छन्। तर शासन गर्नका लागि नियम कानुन हुन्छ। शासकको भूमिका पनि संविधानले नै निर्धारण गरेको हुन्छ। यहाँचाहिँ कानुन भए होस्, नभए नहोस् भन्ने धारणा देखियो होइन?

साँस्कृतिक एकताका सूत्रहरु ठम्याउने मान्छे भएन। म एकेडेमीमा सहप्राज्ञ हुँदैगरी सिँजा उपत्यका गएको थिएँ। नेपाली भाषाको व्युत्पत्ति थलो हो त्यो। म काम गर्न जाँदा एकेडेमीले निक्कै आक्षेप लगाएको थियो- त्यस्तो दुर्गम क्षेत्रमा गएर काम गर्नलाई तिमी सर्वज्ञ हौ र? हामीले त गर्न सकेका छैनौं भनेर। सिँजा खोला उपत्यकामा गएर त्यस्तो असम्भव काम पनि गर्न हुन्छ र भन्ने गर्थे मलाई। म नेवारको छोरो भएर पनि नेपाली हाम्रो राष्ट्रभाषा र लिंगुआ फ्रान्का (सबै भाषीलाई जोड्ने सम्पर्क भाषा) दुवै भएकाले त्यो भाषाको व्युत्पत्ति थलोबारे अनुसन्धान गर्नु कुन आपत्तिको कुरा भयो र! भाषाविज्ञ त होइन म, तर प्रस्ताव र योजना दुवै मेरो हो नि त। त्यसैले म गर्छु भनेको थिएँ। त्यसपछि ...ल हुन्छ त' भनेर समर्थन भयो। गृह मन्त्रालय गएर साँस्कृतिक मानवशास्त्री चाहिएको सुनाएँ। विर्तामोडको पञ्चायत प्रशिक्षण केन्द्रका बिहारीकृष्ण श्रेष्ठ खटाइदिनूस् भनें। त्रिभुवन विश्वविद्यालय गएर चुडामणि बन्धुलाई काजमा लिएर गएको हुँ। इतिहास नभई के संस्कृति हुन्छ भनी लागियो। मैले पढ्न त न कल्चर पढें, न एन्थ्रोपोलोजी नै। तर त्यही कामले आज मलाई मान्छेहरु संस्कृतिविद् भन्छन्। वास्तवमा कान्छा र कान्छीका प्रेमगीत गाउनुमात्रै संस्कृति होइन। नेपाली पोशाक लगाउनुमात्रै संस्कृति होइन। संस्कृति भनेको त मान्छेका आचार विचार नीति दर्शन यावत् कुराको समष्टि पो हो। यो नै हाम्रो जीवनशैली पनि हो भनेर पाँचवटा भोल्युम ल्यायौं। सिँजा खोलाबाट मात्रै पाँचवटा भोल्युम निस्कनु भनेको उपलब्धि हो। मेची-महाकाली सबैतिर लाभ हुन्छ भनेरै यो विचार ल्याएको हो। किताब छापिएपछि जुम्ला त पुरै जुुर्मुरायो। मैले दाबी गर्नु त हुँदैन। तर त्यही पाँच वटा भोल्युम ल्याएपछि हामी यति उपेक्षित भएका रहेछांै भनेर जनताले थाहा पाए। नेता केन्द्रमा गएपछि जनतालाई बिर्सने कारण त यो रहेछ भनी जनताले बुझे। यस्तैगरी सबै जिल्लाका नेताले गाउँघरको अवस्थिति, संस्कृति, जाति र राष्ट्रिय संस्कृतिको रुपमा एकताबद्ध भएर सचेतनाको अभियान जारी रहन्छन्।

राष्ट्रिय एकतामाथि खतरा छ भन्ने अनुभूति हुन्छ?
कत्ति पनि खतरा छैन। एउटा गज्जबको नेता आइदिएको भए सबै ठिक भइसक्थ्यो। नेतृत्व नभएरै बिग्रेको हो। .ऊ पनि नेता, ऊ पनि नेता भयो। अरु त अरु, १० वर्ष युद्ध लडेकाहरुले राजतन्त्र हटाएर गणतन्त्र ल्याए। अरुले जे भने पनि गरेको तिनैले हो। १० वर्ष उनीहरु थिए, जसको टाउको काटेर ल्याए यति पुरस्कार दिइनेछ भनी राज्यले घोषणा गरेको थियो। उनीहरु त आज प्रधानमन्त्री र भूपू प्रधानमन्त्री भएर बसेका छन् नि त। त्यो पार्टी फुट्नुहुन्थ्यो त? आफ्नै पार्टीलाई आफ्नै मान्छेले आफैं बन्चरो हानेका छन्। यो पार्टी भएन रे। बाबुराम भएन रे। उनीहरु नै कराइराखेका छन्। सद्बुद्धि आउनुपर्दैन? व्यक्ति खराब हो भने त बाबुरामलाई आफ्नै पार्टीले पदबाट हटाएर त्यसको सट्टामा आफू जान सकिन्छ नि त। तर पदलोलुपताले बिगार्‍यो। सबलाई प्रधानमन्त्री, मन्त्री हुनुपर्ने।

त्यसो भए साँस्कृतिक एकता खल्बलिँदैन...
खल्बलिँदैन। राम्रो नेता भए देश बनिहाल्छ।

नेताहरुले राष्ट्रियता खतरामा छ भनेर किन भन्ने गरेका होलान् त?
उनीहरुको दाउपेच छ नि त। आफू कसरी सत्तामा पुग्न सकिन्छ भन्ने छ। भारतलाई दोष दिन्छन् कहिले, कहिले अमेरिकालाई। अरुलाई नानाथरीका दोष दिन्छन्। दोष त आफूमै छ।

त्यसो भए जातीय युद्ध हुन्छ भन्ने चर्चा पनि गलत हो?
जातीय युद्ध पनि हुँदैन।

अनेकखालका ङ्यारङुर सुनिन्छ देशमा?
खै मलाई धेरै थाहा छैन। हाम्रो नेवारमै पनि त्यस्तो छैन।

तपाईं नेवार नेपाली कि नेपाली नेवार?
जातले त म नेवार हुँ।

तै पनि जवाफ दिनूस् न। पहिले के?
दुवै हो। जन्मले नेवार हुँ। मेचीदेखि महाकालीसम्म नेवार मात्रै भएर गएँ भने त हुँदै हुँदैन नि।

जवाफै दिनुभएन... 
नेपाली हुनुमा मलाई गौरव छ। नेपाली नभई म नेवार हँु, मगर हँु, गुरुङ हुँ भनी कसैले भन्यो भने हाम्रो पहिचान हुँदैन। संसारमै नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय गीत आदि भनेर नेपालको शान आउँछ। नेेपाली भएर जति गर्न सकिन्छ, नेवार भएर त्यति गर्न सकिँदैन। नेपालको राष्ट्रिय शान मान नेवार, मगर, राई मात्रै भएर राख्न सकिन्न। यसको मतलब नेवारले आफ्नो संस्कृति बिर्सेर नेपालको मात्रै कुरा गर्ने भनेकोचाहिँ होइन।

त्यो त हामीले पनि भनेको होइन। 
(हाँसो।)

मधेसीहरुको कुरा पनि छ नि?
उनीहरुको आफ्नै दृष्टिकोण छ। हाम्रो आफ्नो छ। दे आर भेरी नियर टु इन्डिया। हामी त्यति नजिक छैनौं।

पहाडीले उनीहरुलाई हेपेको त हो नि?
त्यहाँ गल्ती भयो। उनीहरु पनि नेपाली हुन् भनेर पहिले सम्झनुपर्थ्यो। उनीहरुलाई आउनै गाह्रो थियो। राजा भनेर त्यत्तिकै मानिराख्या मात्रै हुन्। त्यो बेला थिचोमिचो भयो। पछि उनीहरु पनि प्रबुद्ध हुँदै गए। थाहा पाउँदै गए। यही बेला हो हामीले अधिकार खोज्ने, आन्दोलन गर्ने भनेर जुर्मुराउँदै गए। त्यो बेला दबाएको हो। यहाँ पनि नेवारभित्रै एक अर्कालाई हेप्ने गिज्याउने चलन छ। गोरखाको नेवार आएर मसँग बोल्न डराउँछ किनकि उसलाई गाउँले नेवार भनेर गिज्याइन्छ। यसको बोली पनि राम्रो छैन, भाषा पनि गतिलो छैन भनेर गिज्याइन्छ। अब त्यो सोचाई हट्दै गइरहेको छ।

वयोवृद्ध नागरिक अगुवाका हिसाबले देश कता जानुपर्छ भन्ने लाग्छ तपाईंलाई?

राजा फर्काएर ल्याउनुपर्छ भन्नेहरु एकथरि छन् यहाँ। पार्टीहरु पनि लागिराख्या छन्। चुनावले निर्धारण गर्ने कुरा हो यो। यत्तिकै चलिरह्यो भने देश त बिग्र्रन्छ। गतिलो नेतृत्वले अधिनायकवाद नलादी यो देश बन्दैन। तर त्यो डिक्टेरसिप बेनिभोलेन्ट (उदार) खालको हुनुपर्छ। रामराज्यको सार बुझेको लिडरसिप चाहिन्छ देशमा। कम्बोडियाजस्तो होइन। नेपाल र नेपालीका लागि केही गर्छु भन्नेखालको नेतृत्व चाहियो। त्यस्तो आएन भने देश सम्हाल्नै सकिन्न।

यो त अतिवादीखालको समाधान भएन र?
लोकतन्त्रको मर्म बुझेको तानाशाह चाहिन्छ। त्यसो गरे कुरो बिग्रन पाउँदैन।

जस्तोसुकै स्वरुपमा भए पनि तानाशाही र लोकतन्त्र एक ठाउँ रहन सक्छन्?
त्यही भएर त बेनिभोलेन्ट भन्दैछु त म। स्वार्थी, परिवारवाद र नातावादमा विश्वास गर्ने तानाशाह होइन, देशका लागि केही गर्छु भन्नेखालको तानाशाह चाहिन्छ।

राणाकाल, पञ्चायतकालको तुलनामा लोकतन्त्रको अभ्यास छोटो अवधिको छ। लोकतन्त्र वयस्क हुन नपाएकाले राम्रो नतिजा आइनराखेको हुनसक्छ। किन यति चाँडै हताश हुनुभएको?
दुनियाँमा यस्ता अनुभव धेरै भइसकेका छन्। नेपालको मात्रै अनुभव जरुरी हुँदैन। अरुले सय वर्षमा गरेको काम हामी दस वर्षमा गरेरै जाऔं। त्यसरी पनि कुरा गर्न सकिन्छ। यहाँ त गर्न सक्ने काम पनि भएको छैन। आफ्नो हातमा पावर आएपछि गर्नसक्ने काम पनि भएको छैन।

तपाईंले भनेजस्तो सम्भावित उदार शासक नेपालमा कोही देख्नुभएको छ?
जो पनि हुनसक्छ। बेनिभोलेन्टचाहिँ हुनुपर्‍यो। जंगबहादुर राणाका कमजोरी होलान् तर नयाँ मुलुक भनेर चार जिल्ला फर्काएको त उनैले हो नि। भीमसेन थापाको जति तारिफ गरे पनि उनको पालामा त नेपालको भूभाग खोसिएको हो। बट् इट् वाज जंगबहादुर। जंगबहादुरले अंग्रेजहरुलाई भने- 'तपार्ईंहरुलाई त मैले मद्दत गरें। मेरा भारदारहरु जसले ढिँडो र कोदो खान पनि पाउँदैनन्, त्यति दुःख छ। तपाईं अलिकति उब्जाउ हुने जग्गा दिन सक्नुहुन्न यतिबेला?' अनि नयाँ मुलुक पाएको हो। वास्तवमा काम गरेको जंगबहादुरले धेरै हो। नत्र आज कहाँ बाँके, बर्दिया, कैलाली र कन्चनपुर हुन पाउँथ्यो हाम्रो? त्यस्तो चाहियो। नेताको क्वालिटी जंगबहादुरमा थियो।

जंगबहादुर चाहियो?
एक अर्थमा हो पनि। जंगबहादुर कति खराब थियो, त्यो अर्कै कुरा हो। तर उनको अडान र नेताको क्षमता गजबको थियो।

अब को होला त जंगबहादुर? प्रचण्ड, बाबुराम, झलनाथ खनाल, सुशील कोइराला? 
जो पनि हुनसक्छ। राजा पनि हुन सक्छ। बेनिभोलेन्ट हुनुपर्‍यो। रामराज्य भनेको त्यही त हो नि।

राजा फेरि फर्काउने उसो भए?
हुन सक्छ नि। उदार राजा हुन सक्दैन?

राजा त बेनिभोलेन्ट हुँदै/हुँदैन नि। 
किन हुन सक्दैन? महेन्द्रको उदाहरण दिँदैछु म। जुन राजाले हुन त मेरो जागिर पनि खोसिदिए पञ्चायतकालमा। पुराताŒिवक विभागको निर्देशक थिएँ म। एकै प्रहारमा मेरो जागिर खत्तम गरिदिए। कत्रो हाहाकार भो त्यतिखेर। बिग्रेको पार्टीको जीर्णोद्धार गर्न महेन्द्रलाई बोलाएको थिएँ । त्यो बेला उनले हाम्रो देशको भूभागबाट अर्को ठाउँ जान विदेशीको भूभाग भएर जानुपर्छ, वीरगन्जको मान्छे बुटवल जान पनि इन्डिया पुग्नुपर्ने भयो भनेर बोले। बाटै नभएकाले नेपालीको भाग्यरेखा बनाउने पूर्वदेखि पश्चिमसम्म हाइवे बनाऔं भनेर सहायताको आग्रह गरे। राजा इन्जिनियर थिएनन् तर उनले बोलेपछि राजमार्ग बन्यो।

भिजन थियो हगि?
भिजन थियो। त्यसले काम दियो। त्यसरी काम गर्नुपर्‍यो। त्यस्तो खुबी भएको मान्छे चाहियो। जस्तो कि कीर्तिनिधि बिष्टको कुरा गरौं। उनका कति कमजोरी होलान् तर प्रधानमन्त्री भएपछि भारतीय मिसनलाई जावलाखेलबाट हटाउने काम गरे। सीमामा चिनियाँको सैनिक मिसनका चेकपोस्ट थिए। इट् वाज कीर्तिनिधि बिष्ट, जसलाई मैले आज पनि कुरा गर्छु।

तर आज त अन्तर्राष्ट्रिय परिस्थिति बदलियो। यस्तो बेला अझै तपाईं जंगबहादुर खोज्दै?

जंगबहादुर? तपार्इं मान्छेको कुरा छोडिदिनूस् न। उसको पोलिसी उसको आँट संकल्प। त्यो भए के चाहियो? हो, आजको नेतामा त्यस्तो संकल्प चाहियो। आज त्यस्तो छैन। राष्ट्रका लागि उनले गरेर देखाए। शासकहरुले पनि डराएर दिए। अहिले मागेका भए इन्डियनहरुले दिन्थे? नेपालका लागि सम्पत्ति भो नि त्यो त। त्यसैले बेनेभोलेन्ट लिडरसिप चाहियो।

तपाईंको यो वक्तव्यले राष्ट्रपति रामवरण यादवलाई आत्मबल प्राप्त होला हगि?हिजो बोलाएका थिए मलाई। म त यहीँ बसेको थिएँ । थाहा पनि थिएन। एक जना आए। श्रीओम हुँ भन्थे, गोरखापत्रमा काम गर्छु भन्थे। सुरसुधाले खोजेको थियो, फोन गर्न नपाएर यहाँ आएको हुँ। राष्ट्रपति भवनमा पुगिदिनुपर्‍यो भने। मैले क्षेत्रपाटीमा इन्द्रजात्राबारे बोल्न बोलाएका छन् भनी टारें। जान सक्दिनँ भनी क्षमा मागें। फेरि एकछिनपछि फोन गरेर जसरी भए पनि आउनुपर्‍यो, नत्र मेरो इज्जत जाने भो राष्ट्रपति भवनमा भनेपछि मैले दुई बजे जसरी भए पनि क्ष्ेात्रपाटी पुग्नुपर्छ भने। क्षेत्रपाटी पुर्‍याउने जिम्मा मेरो भनेर गाडी मिलाएपछि म गएँ। भवनको ढोकामा राखिएको लिस्टमा मेरो नाम थिएन। नाम नभई भित्र नपठाउने। मलाईचाहिँ नामविनै लगियो। भित्र पुग्दा भारतीय राजदूत जयन्तप्रसाद बसिरहेका रहेछन्। मलाई देखेपछि सँगै बसूँ भनेर बोलाइहाले। उनी पाटन घुम्न आउँदा गाइड गरेको थिएँ। पत्नी र छोरी पनि आएका थिए त्यो बेला। त्यहाँ बसेपछि सेक्युरिटीले पछाडि बस्नूस्, यो राजदूतको पंक्ति हो भन्यो। म उठें, पछाडि गएर बसें। जयन्तचाहिँ यो मान्छे लेखक, संस्कृतिविद् हो भनेर कुरा गर्न खोज्दैथिए। सेक्युरिटीले नदिएपछि उनी मप्रति सहानुभूति राखिरहेका थिए। कस्तो कस्तो लाग्यो क्यारे उनलाई। म त्यहाँ बसें। प्रकाशको छोरा, उसको नाम बिर्सें, सुशीला एकेडेमीका नाउँमा पर्यटन दिवसको उपलक्ष्यमा कार्यक्रम देखाए। मलाई त्यसपछि दुई शब्द बोल्न लगाइयो। राष्ट्रपति र राजदूत त्यहर्ीँ थिए। मैले बोलें। राष्ट्रपतिले तपार्इंको के रियाक्सन छ भनी सोधे। राष्ट्रपतिले पनि बोलाउन त बोलाएको हो। अस्ति वनस्थलीमा पनि मेरोबारेमा बोलेका थिए। म्युजियमबारे उनले बोलेका कुरामा मेरो पनि सहमति छ भनी बोले। 


 
Posted on 09-30-12 8:09 PM     [Snapshot: 191]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 नेपाली हुनुमा मलाई गौरव छ। नेपाली नभई म नेवार हँु, मगर हँु, गुरुङ हुँ भनी कसैले भन्यो भने हाम्रो पहिचान हुँदैन। संसारमै नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय गीत आदि भनेर नेपालको शान आउँछ। नेेपाली भएर जति गर्न सकिन्छ, नेवार भएर त्यति गर्न सकिँदैन। नेपालको राष्ट्रिय शान मान नेवार, मगर, राई मात्रै भएर राख्न सकिन्न। यसको मतलब नेवारले आफ्नो संस्कृति बिर्सेर नेपालको मात्रै कुरा गर्ने भनेकोचाहिँ होइन।
 
Posted on 10-01-12 9:30 AM     [Snapshot: 348]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कसैले नेपाली नभई आफ्नो जात मात्रै ठुलो भनेर भनेका छैनन्, बरु सकिर्ण सोच भएकाहरुले जात र संस्कृतिको कुरा निकाल्ने बितिक्कै खोक्रो राष्ट्रबाद र खोक्रो गौरब को कुराकुरा निकाल्न थाल्छन | मलाई सबै भन्दा पहिला आफु हुर्केको ठाउँ र आफुले पहिले बोलेको भाषा प्यारो लाग्छ | के म हुर्केको ठाउँ नेपाल भित्र पर्दैन कि? कि मेरो भाषा नेपाल भित्र को भाषाहरु भित्र पर्दैन? बरु जसले यो खोक्रो राष्ट्रबाद र गौरबको कुरा गरेर हिडेका छन्, उनिहरुले न आफु जन्मेको गाउको नै बिकाशमा योगदान पुरयाएका छन् न त आफु जन्मेको संस्कृति जोगाउन नै | केवल मिठो भाषण दिएर र खोक्रो राष्ट्रबाद र गौरबको कुरा गरेर नेपालको उभो लाग्दैन |
 
कुनै नेपाली ले अमेरिका को नागरिकता लिए पछी उसलाई नेपाली अमेरिकन भनिन्छ नि हैन? के नेपालको संस्कृति को रक्षा गर्दा, अमेरिकाको रास्त्रियता खतरामा पर्छ?
 
म भन्छु नेपालको मान केवल नेवार, मगर र राई भएर मात्रै राख्न सकिन्छ किनकि त्यो नेपाल भन्ने देश को नागरिक हो त्यो नेवार, मगर र राई देश को नागरिक हैन | आफुलाई नेवार, मगर र राई भन्यो भन्दैमा तेस्ले नेपाली भन्न छोडेको छैनन्, बरु खोक्रो राष्ट्रवादको बहुलत्थिपन मा रमीएर देशको बलात्कार गर्दै हिड्नेहरुले मिथ्या भ्रम चलाउदै हिडछन् 
 
- के नेपाली हुन सबैले तीज र दशैं नै मानेर हिड्नु पर्छ?
- किन तीजको बेलामा मात्रै नेपाली मेडिया ले बढी coverage दिन्छ, र अरु चाड पर्ब हरुलाई भित्रि पाटो मा सानो समाचार बनाउछ?
- किन अहिले सम्म माथिका विद्वान लाई राष्ट्रले केहि पनि सम्मान दिन नसकेको?
- भ्रस्ट र चोर नेता हरु (जुन सुकै जात को भए पनि) ले चाही भत्ता वा गाडी सुबिधा पाउने, तर माथिका वृद्दा लाई राष्ट्र ले अहिले सम्म केहि दिएको छैनन्, र उनको मृत्यु पर्खेर बसेको छ, गोहीको आँसु खसाल्न को लागि 
- अभि सुबेदी जस्ता हरुले किन फेरी यो विद्वान को खिल्ली उडाउदै उनको उच्चारनको खिल्ली उदाउदै लेख्छन ?

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
TPS FEDERAL NOTICE
बिहे गर्न अगाडी प्रियांकाले आफ्ना शुभेक्छुकहरुलाई यसरी आफ्नो पोल्ने धुंवादार शरीर (smoking hot body) देखाईन
How to Apply for International Drivers Permit in Nepal?
6 ÷ 2(2 + 1)=
बिहेमा नै प्याजको उपहार दिएपछि ...
आफू सवारी गाडि चालक साथीले रक्सी सेवन गरी महिलाको ज्यान गएको बारे नायिका पारमिता राज्य लक्ष्मी राणाले मुख खोलिन
अनभिज्ञ तिमी
रामकृष्णको बिचल्ली, ८ करोडको ऋण अनि divorce
Advance parole reason
Asylum case got terminated because of TPS
is it good to marry girl who are already in US or go back to Nepal and do arrange marriage?
थुतुनो र मुतुनो ठिक ठाउँमा भएन भने life damage !!!
स्वस्ती
अब नसुध्रि शुख - आस्था राउतले डण्ठे भन्दै गालि नगरेको भए कसैले सुन्थेन ....
Length of stay in US for parents after Greencard approval
This beautiful Traditional Hindu Wedding of Trusha & Neil: have your Pinterest dreams come to life
काइदाका फाइदा .. .. प्रचण्डलाइ
Presidential rights to assassination rights?
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters