Baburam ra Maobadi Bhakta haru le yeslai k bhanchhan aba?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  उज्जन हत्याकाण्डमा सभासद् ढुंगेल किन मुछिए ? MONDAY, 17 OCTOBER 2011 09:58 नागरिक     1 2 3 4 5   (0 votes, average 0 out of 5) उज्जनकुमार श्रेष्ठ। विनिता दाहाल, काठमाडौं, असोज ३०- धान कुट्ने मिलमा आउजाउ गर्दागर्दै देखभेट भएका उज्जनकुमार श्रेष्ठ र रेनुका पौडेलको केही समयमै गहिरो प्रेम बस्यो। हँसिलो अनुहार, अग्लो र खँदिलो ज्यान भएका श्रेष्ठसँग रेनुका आफ्नो जीवन खुसीखुसी बित्नेमा ढुक्क थिइन्। श्रेष्ठ थरकै पहिलो पत्नी घरमा हुँदाहुँदै रेनुकालाई नभित्र्याई उज्जन रहन सकेनन्। रेनुका आफ्नो प्रेमलाई घरले नस्विकार्नेमा पक्का थिइन्। त्यसैले, माइतीलाई थाहै नदिई पोकोपुन्तुरो बोकेर उज्जनकी दोस्रो पत्नीका रूपमा जिन्दगी बिताउन उनी तयार भइन्।     दोस्रो बुहारी भए पनि रेनुकाले घरका सबै सदस्यको मन जितेकी थिइन्। तर, आठ महिनापछि माइतीतर्फबाट 'प्रेम विवाहकै कारण' यस्तो घटना भयो, जसले उनको घरका तीनजनालाई मृत्युको मुखमा मात्र पुर्‍याएन, आज १३ वर्षपछि पनि त्यसको घाउ झन्झन् बल्झँदै छ। ....   पहिलो शोक २०५५ असार १०।  ओखलढुंगा-७, तार्केबारी। बिहान ३ बजे। उज्जन मस्त निद्रामै थिए। घरमा काम गर्ने दुईजना भरिया थीरबहादुर खत्री र रामबहादुर श्रेष्ठले उनलाई छिटो उठ्न भने। गाउँमा हाट लाग्ने दिन आउँदै थियो। उनीहरू त्यसलाई चाहिने सामान किन्न जाने तयारीमा थिए। तर, उज्जनलाई उठाउन एक घन्टा लाग्यो। 'अहिल्यै नहिँड्ने भए हामी जाँदैनौं,' भरियाहरूले अड्डी कसेपछि उज्जन आँखा मिच्दै उठे। साढे चार बजे टर्च बालेर तीनैजना लिखे खोलाको तिरैतिर धोबीडाँडा बजारतिर लागे।  घरबाट झन्डै ४५ मिनेट ओरालो झरेपछि खहरेखोला आइपुग्यो। परबाट आएको टर्चको प्रकाश आँखैमा परेपछि उज्जन झस्किए। दायाँबायाँ हेरे। खेतको गरामाथि केही हुल मानिस ढुंगाको आडमा लुकेर बसेको देखे।  'तिमीहरू भाग,' ढुंगापछाडिबाट आवाज आयो। उज्जनसँग आएका दुई भरिया अलि पछाडि सरे। हुलमा थिए रेनुकाका दाजु डोरबहादुर र थलबहादुर, बालकृष्ण ढुंगेल, पुष्कर गौतम र अरू केही सहयोगी। उज्जनको हंसले ठाउँ छाड्यो। उनले केही सोच्नै भ्याएका थिएनन्, टाउकोमा गोली पड्कियो। उनी रन्थनिँदै तल्लो खेतमा झरे। आलीका ससाना ढुंगा उनको रगतले रगताम्मे भयो। उनको त्यहीँ प्राण गयो। सबै मिलेर उज्जनको लास कोसीमा बगाइदिए। घटना भएको एक महिनापछि दुई भरियाले अदालतमा बयान दिए : 'रेनुकाका दाइ र बालकृष्ण ढुंगेलले उज्जनलाई मार्ने योजनाअनुसार हामीलाई उज्यालो नहुँदै खोलाको तिरैतिर ल्याउनू भनेका थिए। हामीले त्यसै गर्‍यौं। पुष्करले टर्च बाले। बालकृष्णले गोली हाने।' यही बयानका आधारमा सर्वोच्चले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको फैसला गर्‍यो। सुरुदेखि नै प्रहरीको नजरमा फरार मानिएका पुष्कर घटनापछि भागेर काठमाडौं आए। उनलाई मतियार भनिए पनि 'फरार रहेकाले पक्राउ परेपछि जुनसुकै बेला चल्ने गरी' उनको मुद्दा जिल्ला अदालतमै मुल्तबी राखियो। अझै त्यो ओखलढुंगा जिल्ला अदालतमा मुल्तबीमै छ।  घटनापछिको एक दशक पुष्कर खुलेआम काठमाडौंमा 'स्तम्भकार'का रूपमा पत्रकारिता गरेर बसे, तर प्रहरीले उनलाई पक्राउ गरेन। २०६४ सालतिर उच्च शिक्षाका लागि बेलायतमा राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्ध पढ्न गए। करिब एक वर्षअघि उनी काठमाडौं आएका थिए, तैपनि पक्राउ परेनन्। अहिले भारतको नयाँदिल्लीमा बस्छन्। घटनालगत्तै थुना परेका रेनुकाका दाइ र भरियाहरू जिल्ला अदालतको फैसलापछि सजाय भोगेर थुनामुक्त भए। 'मेरो भाइ (उज्जन) को लास अझै भेटिएको छैन।'  १३ वर्षदेखि न्यायको लडाइँ लडिरहेकी उज्जनकी दिदी सावित्री श्रेष्ठले आइतबार बिहान राजधानीको लाजिम्पाटस्थित घरमा उनको निर्मम हत्या सम्झँदै नागरिकसँग भनिन्, 'हामीले लास देख्दै नदेखी प्रहरीको आदेशमा काजकिरिया गर्‍यौं।'  ... दोस्रो शोक उज्जनको हत्यालगत्तै माओवादीले प्रहरीमा उजुरी नगर्न धम्की दिएको थियो। तर, भाइको हत्याले रन्थनिएका दाजु गणेशकुमारले प्रहरीमा जाहेरी दिए। त्यसैलाई निहुँ बनाएर हत्यामा मुछिएका ढुंगेलले गणेशलाई पनि मार्ने धम्की दिँदै भाषण गर्दै हिँडेको सावित्रीले बताइन्। माओवादीको खुलेआम धम्की सुरु भएपछि सावित्रीले दाइ गणेशलाई काठमाडौं बोलाइन्। एउटा भाइ भर्खरै गुमाएकी उनलाई दाजु पनि गुम्ला भन्ने पिर थियो। बहिनीको सुझावअनुसार गणेश खेतीपातीको चटारो श्रीमती र छोरीको जिम्मा लगाएर काठमाडौं आए। पछि श्रीमती बिरामी परिन्। सावित्रीले उनलाई पनि उपचार गर्न काठमाडौं ल्याइन्। वृद्ध आमाबाबु र छोराछोरीमात्रै भएको घरमा गणेशकुमार चार वर्षपछि २०५९ मंसिरमा फर्के, धान भिœयाउन। उनी अझै ढुंगेलको निसानाभित्रै थिए।   २०५९, मंसिर ६ गते। दिउँसो गणेशकुमारकी छोरी रन्जनामात्रै घरमा थिइन्। ६ जना केटा घरभित्र छिरे। गणेशबारे सोधखोज गरे। छोरीले 'बा खेतमा छन्' भन्दै खेततिर इसारा गरिन्। रन्जनाले देखाएबमोजिम उनीहरू खेतमा गए, तर खेतालाहरूको हुलमा गणेशकुमारलाई चिन्न सकेनन्। उनीहरू फेरि घर फर्किए। 'हामीले भेटेनौं, तिमी नै लगेर देखाइदेऊ,' उनीहरूको आसयबाट अन्जान १४ वर्षकी रन्जना बाटो देखाउन अघि सरिन्। उनले खेतमा पुगेर खेतालाहरूको हुलमा बुवालाई चिनाउनुमात्र के थियो, आँखै अगाडि गोली पड्कियो। बुवा खेतमै ढले। रगतपच्छे लास देखेर रन्जना त्यहीँ बेहोस भइन्। घटनालगत्तै जेठा दाइले गणेशकुमारलाई मार्नेविरुद्ध किटानी जाहेरी दिँदा पनि प्रहरीले अझै मुद्दा दर्ता गरेको छैन। यता हत्याराहरूलाई बाटो देखाउँदै खेतसम्म पुर्‍याएकोमा रन्जना आफूलाई नै 'दोषी' ठान्न थालिन्। उनको मन भित्रभित्रै खिइँदै गयो। 'मैले ठाउँ नदेखाइदिएको भए बुवालाई केही हुँदैन थियो,' उनी सधैं सावित्रीसँग यही भन्दै छट्पटाउँथिन्, 'त्यस्तो थाहा भएको भए म तिनीहरूलाई डाँडापारीको खेत देखाइदिन्थेँ।' उनको पीडा देखेर सावित्रीले काठमाडौं नै ल्याइन्। 'काठमाडौं आएपछि पनि सधैं बुवा भएकै ठाउँमा जान्छु भन्थी,' सावित्रीले सम्भि्कन्। उनका अनुसार ढुंगेलले नै गणेशकुमारलाई गोली हान्न लगाएको सर्वत्र चर्चा थियो। पहिले उनैले मार्ने धम्की दिएकाले सबैको शंका उनीमाथि गयो। तर, पुष्टि गर्ने आधार थिएन। 'पुष्टि भए पनि के गर्ने? सर्वोच्चले त्यत्रो फैसला गर्दा त मेरो भाइका हत्यारा (बालकृष्ण ढुंगेल) खुलेआम सभासद् भएर हिँडिरहेको छ,' उनले आक्रोश पोखिन्, 'पुष्कर त झनै काठमाडौंमै डुली हिँड्दा पनि प्रहरीले पक्राउ गरेन। मुद्दा अझै जिल्ला अदालतमा अलपत्र छ।' उज्जनको हत्यामा टर्च बालेर गोली हान् भन्ने पुष्करलाई उनले एक वर्षअघि काठमाडौंको चक्रपथमा देखेकी थिइन्। त्यतिबेला 'प्रहरीलाई भनेर मुद्दा अगाडि बढाउन सकिन्छ' भन्ने उनलाई थाहा थिएन। उनी अब पुष्करविरुद्धको मुद्दा पनि अघि बढाउने सोचमा छिन्। 'मेरा भाइका सबै आरोपीले सजाय पाऊन्। त्यसपछि मात्रै हामी न्यायको सास फेर्न सक्छौं,' उनले भनिन्। .... तेस्रो शोक उज्जन र गणेशकुमारको हत्यारालाई सजाय दिलाउन सावित्री लगायत परिवारका सबै प्रहरीसँग भिडिरहेका थिए, यसैबीच अपराधबोधले रन्जना झन्झन् गल्दै गइन्। त्यही वर्ष उनी एसएसलीमा फेल भइन्। मन बहलाउन सावित्रीले रन्जनालाई जिरीको प्राविधिक स्कुलमा पढ्न पठाइन्। त्यहाँ पास भएर आए पनि बुवासँगको वियोगको पीडाले उनलाई छोडेन। र, अपराधबोधबाट छुट्कारा पाउन २०६३ मा आफ्नै गलामा पासो लगाएर आत्महत्या गरिन्। एकपछि अर्को वियोगले गाँजेपछि ओखलढुंगामा रहेका आमाले छिनछिनमा होस गुमाउन थालिन्। माओवादीबाट तारन्तार आइरहेको धम्कीले उनीहरूलाई गाउँमै बसिरहने वातावरण पनि भएन।  उज्जनका वृद्ध आमाबा दुवै काठमाडौं झरे।  'आमा खाटमै बेहोसजस्तो भइरहने,' सावित्रीले गहभरि आँसु पार्दै भनिन्, 'घरको भान्छाबाटै दाइलाई गोली हानेको ठाउँ देखिन्थ्यो। त्यही सहन नसकेजस्तो लागेर हामीले सबै परिवारलाई काठमाडौं झिकायौं।'  अहिले ८१ वर्षीय बुवा र ७८ वर्षीया आमा आफ्नो थातथलो छाडेर काठमाडौंमा छोराहरूको वियोगमा छट्पटाइरहेका छन्। गाउँमा भएका कपडा पसल, अन्न र तेल पेल्ने मिल, जग्गा सबै माओवादीले कब्जा गरिसके। घरको छानो बम पड्काएर उडाइदिए।  पाँच वर्षदेखि परिवारको कोही त्यहाँ जान सकेको छैन। .... उज्जनकै हत्या गणेशकुमार र रन्जनाको मृत्युको कारण बन्यो। गोली पड्काउने बालकृष्ण ढुंगेल नै भएको ठहर गर्दै ओखलढुंगा जिल्ला अदालतले २०६१ वैशाख २८ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनायो। तर, करिब आठ वर्ष जेल बसेपछि बालकृष्णलाई पुनरावेदन अदालत राजविराजले २०६३ असार ११ मा सफाइ दियो। त्यतिञ्जेल पुर्पक्षका लागि थुनामा रहेका ढुंगेल थुनामुक्त भएलगत्तै माओवादी पार्टीमा सक्रिय भएर लागे। संविधानसभा चुनाव आउँदासम्म उनले उज्जन र त्यसपछि गणेशकुमारको हत्या र उनीहरूको घरजग्गा कब्जालाई आधार बनाएर भाषण गर्दै हिँडेको सावित्रीले बताइन्। 'डरधम्कीकै बलमा ढुंगेलले ओखलढुंगा क्षेत्र नम्बर २ बाट (प्रत्यक्षमा) चुनाव जिते,' उनको प्रश्न छ, 'यही हो विधिको शासन?' सेनाको जागिर छाडेर बसिरहेका ढुंगेल उज्जनको हत्यालगत्तै माओवादीमा प्रवेश गरेको सावित्रीको भनाइ छ। तल्लो जातसँग रेनुकाले बिहे गरेको व्यक्तिगत रिसिबीले उज्जनको हत्या गरिएको थियो। तर, ढुंगेल यसलाई राजनीतिक मुद्दाको खोल ओडाएर चोखिन खोजेका छन्। पार्टीले पनि उनलाई चोख्याउने गरी सार्वजनिक अभिव्यक्ति दिइरहेको छ। 'यो घटनामा मेरो कुनै संलग्नता छैन। शान्ति र संविधान भाँड्न खोज्ने डलर खेती गर्दै हिँडेकाहरूले रचेको खेल हो यो,' उनले आइतबार नागरिकसँग भने, 'विशुद्ध राजनीतिक घटनालाई प्रेम विवाहको नाटक गर्दै सामाजिक अपराधीकरण गरेर माओवादी पार्टीलाई बदनाम गर्न खोजिएको छ।'  उनले घटनाका मुख्य योजनाकार पुष्कर भए पनि आफूलाई फसाउन खोजेको बताए। 'म अनाहक उज्जनकै हत्या अभियोगमा ८ वर्ष जेल बसेँ। त्यतिबेला प्रहरीले दिएको यातनाले अहिले मेरो दाहिने मिर्गौला काम नगर्ने भएको छ,' उनले भने, 'त्यही मुद्दामा एक दिन पनि थुनामा नपरेको पुष्कर काठमाडौंमा खुलेआम हिँड्दा पनि कसैले पक्राउ गरेन। साँच्चै हत्यारालाई थुन्ने हो भने पुष्करको मुद्दा जिल्ला अदालतबाट ब्युँताउनुपर्छ।' .... सर्वोच्चले जिल्लाको फैसला २०६६ पुस १९ गते सदर गरे पनि त्यो गुपचुपै रह्यो। फैसलाको पूर्णपाठ आएपछि मात्र सावित्रीका परिवारले यसको जानकारी पाए।  'पूरै माओवादी पार्टी र उसैले नेतृत्व गरेको अहिलेको सरकार ढुंगेललाई उन्मुक्ति दिने अभियानमा लागेको छ,' सावित्री गुनासो गर्छिन्। बाबुराम भट्टराई प्रधानमन्त्री भएकै दिन सावित्रीले मनमनै सोचेकी थिइन्, 'आशाको दियो अब माओवादी नेताहरूले निभाउनेछन्। बालकृष्ण ढुंगेललाई आममाफी दिने निर्णय गर्छन्।' उनले ढुंगेलमाथि भएको फैसला 'कार्यान्वयन गराउनू' भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालकहाँ हारगुहार गरेकी थिइन्। 'उहाँहरूले 'हामीलाई पनि बालकृष्णको मुद्दामा जसरी भए पनि आममाफी दिन माओवादीले धम्की दिएको छ' भनेर लाचारी देखाउनुभयो,' उनले भनिन्, 'अब माओवादीकै सरकार हुँदा के नै गर्लान् र?' आफ्ना भाइका हत्यारा ढुंगेल खुलेआम सभासद् भएर हिँडिरहेको भन्दै उनले सर्वोच्च अदालतमा फैसला कार्यान्वयनको माग गर्दै रिट हालिन्। रिटको सुनुवाइ गर्दै सर्वोच्चले ढुंगेलको फैसला कार्यान्वयन गर्न कुनै रोकतोक नभएको फैसला सुनायो। त्यसपछि झन् ढुंगेललाई आममाफी दिने कुरा माओवादीभित्र चर्कियो।  दसैंको पूर्णिमाको दिन प्रधानमन्त्री भट्टराई उपस्थित चियापान कार्यक्रममा सावित्री पनि पुगेकी थिइन्। तर उनले प्रधानमन्त्रीसँग भेटेर कुरा गर्न चाहिनन्।  'के निरर्थक प्रयास गरिरहनू?' उनले भनिन्, 'माओवादीको आसय मैले बुझिसकेँ।' अब उनको एउटै आस छ, राष्ट्रपति। यही विषय लिएर राष्ट्रपतिलाई भेट्दा सकारात्मक जवाफ पाएको सावित्रीले बताइन्। तर, मन्त्रिपरिषद्ले नै निर्णय गरेपछि राष्ट्रपतिले केही गर्न नसक्ने कुरा सुनेपछि उनी फेरि झस्किएकी छन्। यसबीच उनले धेरै माओवादी धम्की भोगिसकिन्। ढुंगेलकै दबाबका कारण वर्षौंदेखि मुद्दा हेरिरहेका उनका वकिलहरूले पनि हात झिकिसके। तर उनी थाकेकी छैनन्। 'शोकलाई शक्तिमा बदलेर डाँडापारिका घाम भएका बाबुआमाले प्रत्येक दिन भोगेको मानसिक पीडाका लागि लडिरहन्छु,' उनको प्रण छ। 'धेरै गरे मलाई पनि मार्लान्। परिवारका तीनजना मरिसके, अब मलाई मर्न डर छैन। हत्याराले नेपालबाट सफाइ पाए भने म अन्तर्राष्ट्रिय अदालत गुहार्छु।

collegefootballrocks · Oct 17, 2011 12:37 AM · 16,945 views

6 Replies

Height of impunity, as long as these bastards are in power there will be no rule of law, coz they are sardar of all criminals. It disgusts me..

kanchu! · Oct 17, 2011 7:55 AM

 Sad very sad. May god bless all.

राछस · Oct 17, 2011 12:29 PM

One of the sad situation of so many........I dont know how long will  Nepalese be treated like animal by so called "Netas". God ,someone gotta shoot those bastards and give justice  to the helpless...

sanju.baba · Oct 17, 2011 9:05 PM

Gosh, I hope someone will shot these 2 bastards on the middle of street in Kathmandu and set an example. God bless the remainings of that family.

kakakul · Oct 17, 2011 10:24 PM

Damn!!!!!

goddamn · Oct 18, 2011 1:04 AM

indeed a sad story!! god bless u all.

gurkha's · Oct 18, 2011 12:40 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion