Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 205776 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
Posted on 06-20-08 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ माने प्रभु जिम्माल बा । एत्रो प्रतिभा कहाँ लुकाएर राख्नु भा थ्यो ? धमाकेदार टेली फिलिम हेर्या जस्तो लाग्यो । ठुल्दाइ त दामी 

 
Posted on 06-20-08 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'माष्टरनी नानी- हाँसम हाँसम, अब हउरलाई रुवाने जमर्कोमा छु, सके सम्म हासम्!'

'मास्टरनि नानी, हजुरको खेदो खन्नै बाँकि छ!'

 

जिम्माल बा,

 हउरले मुलाई  मुया अरेर त्यसो भन्नु भा'कि धम्काउनु भा हँ? 

त्यसो हो भने चै म नि शुरु अरुम्लानि  'कथा बिर्खे माइलाको तर ब्यथा नलिखुट्टोको'

  दिपू  लौ तिमी  डराएकी ? :)  ------- बनेर आऊ त  पहिले

नेप्चे भाइ हिरो त खै तर दिपूको मामा हुने चै पक्का भओ-


 
Posted on 06-23-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माने माने माने
हजुर को बेजोड् लेखाइ,कल्पनाशिलता अनी सिनेमा हेरेजस्तो प्रस्तुती लाई मेरो सास्टाङ्ग दन्ड्वत
 हिजो सम्म हजुर को पंखा थिए आज देखी AC भये,

 आँफै ले आँफैलाई प्रोमोशन गर्दे को


 
Posted on 06-23-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेरणा, धन्यवाद बयान स्पष्ट देखेकोमा। यो कथाको रुपमा भन्दा पनि मनोरंजनात्मक रुपमा गाउँघरको जीवन यसो कोरेको मात्र हो। बिस्तारै लेख्दै जाँदा साहित्यिक बयान र घटनाक्रमले कथाको रुप लिन पनि सक्छ।

किरेजी, के रे?? म खतरा कथाकार रे ! लेख्ने बानि कहिलेकाहिँ हो! पढ्ने बानि चाहिँ धेरै हो! तिम्रो कथाको पंखा हो म त!
खास बोल्दाखेरि संवादमा, गाउँघरमा बोलिने ठेट शब्दहरु राख्दा,बयान गर्दा पनि त्यस्तै शब्द राख्न पुगिएछ कहिलेकाहिँ।
ससर्किएर - भनेको उत्सुकताका साथ, जोशिएर भन्न खोजेको।
लाइथाज- लाइथाज केहि छैन भन्नाले सबै भद्रगोल छ, मिलाउनु पर्ने धेरै छ भन्न खोजेको।
कछाड- भनेको धोति जस्तै वा तौलिया जस्तै कम्मरमा बेर्ने कपडा हो।

नेप्चे- हेरि अब हिरो कसलाइ बनाउने भनेर सोचिरा' त हो, सबै भन्दा ह्यान्सी तिमी परेऊ के गरम के गरम भो!

एक्ले- धन्यवाद! अब के लुका'र राख्नु नि यस्तै गफ चौतारीमा गर्दै गा हो उहिले देखि के को प्रतिभा भन्नु। धेरै राम्रो लागेकोले अझ थप्ने जाँगर चल्यो!:)

माष्टरनी नानी, लौ के भन्या किन धम्क्याउने नि हउरलाई मैले? हस हजुर लेख्नोस नलिखुट्टाको कथा व्यग्रताका साथ प्रतिक्षा गर्ने छु!

बसन्ती- धेरै धन्यवाद्! लोल!! पंखा बाट एसि मा प्रमोशन भा' रे?? हे हे हे धेरै चिसो लाग्ला नि!

 


अर्को पाटो छिटै थप्छु!
धन्यवाद्


 
Posted on 06-23-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज कुनै भाग थप्न सकिएन शायद बेलुका सम्ममा सकिन्छ कि।

केहि आउने भागहरुको केहि अंशहरु दिन लाग्या हे हे हे

 

---------

........... पुन्टेबुढाले निकै बेर निहुरिराखेकी जुरेलीलाई एकटकले हेरे, र धोबिनीलाई हेर्दे भने-

फालहालेर टाप कसि हाल्यो नि मुरदार चिन्नै पाइएन!

नचिने के भो त, यो बाइफालेले भन्छे कुन लबस्तरोसित लठारिएर बस्या थि भनेर! ओइ! डंकिनी! खुरुक्क भन् त, बैँशले कुत्कुत्याएर कुन चइनि मुरदार संग सल्किस तँ?

जुरेली केहि बोलिनन् केवल भुइँ हेरेर बसिन्।

पुन्टे बुढाले हातले इशारा गरेर धोबिनीलाई चुप लाग्न भने।

अगाडि बढे, जुरेली संगै खाटमा बसे र यसो टाउको ढल्काएर जुरेलीको अनुहार हेर्दै बोले-

नहुनु भैसक्यो क्यारे जुरेली, अब क्यार्न घोसे मुन्टो लाम्छेस त नि? को हो भन् न अब, दिल्लाई क्यार्न सकस दिन्छेस ए?

जुरेलीले बुढातिर नहेरिकन भुईँमै नजर दिँदै अपेक्षा गरे विपरीत ढुक्क स्वरमा भनिन्-

तेस्तो केइ नि छइन, पर्वते दाई हुन, बारिमा भल छिरो भनेर तर लाउन आ रेछन, झ्यालाटि उब्बेर कुरा गर्या हो मइँले!”.......

 

-------

 

......गाग्री भित्र लानु पर्ने थियो तर थकाइले हो कि के ले हो नेप्चिले बाहिर पिँढिमै गाग्रि बिसाइन्। एक पटक बोझ हटेकोमा लामो सुस्केरा हालिन् र निधारको पसिना पुछिन्। भैँसि एकोहोरो कराएको कराएइ थियो।

कति कराउन सक्छस ए काल? पख कुँडो लेराम्छु अनि हसुर्लास!

यति भन्दै बिहान अँगेनामा राखेको कुँडो लिएर आऊने बिचारमा नेप्चि भित्र जान ढोकातिर लागिन् र अनायाशै केहि सम्झेर टक्क अडिइन, फेरि बाहिरपट्टि नै आइन् र बर्बराउन थालिन्-

हरे शिब शिब, आज भैँसी दुहेकै छैन! एसबेला भैसको, अब पइला कुँडो ख्वाउनु कि दुहुनु?

एकछिन किर्कर्तव्यबिमुढ भएर त्यत्तिकै टोलाइन र एकैछिनमा कुँडो खुवाउने मनसायले भित्र छिरिन्।

धुवाँ भरिएको रहेछ। केहि बेर गहिरो सुख्खा खोकि खोकिन् र अँगेना तिर बढिन्।

आगो बलेको पनि थिएन र निभेको पनि थिएन, त्यसैले दाउरा बाट पिरो धुवाँ पुत्ताइराखेको थियो।

नेप्चिको नजर अँगेनाबाट बाहिर रहेको चिसो कुँडेमा पुग्यो, उनको पारा चढेर आकाशमा पुग्यो!.......

----------

 

........बिहान झिसमिसे उज्यालो हुँदा सम्म बिस्टे बुडा धेरै पटक रोए, धेरै पटक आहत भए र धेरै पटक छटपटाए। भउते भित्ताको अडेस लाएर पल्टेको थियो भने बुढा भउतेको सामुन्ने पिर्कामा टुक्रुक्क बसेर आफ्ना दुवै कुहिना घुँडामा टेकाएर दुबै हत्केलाले च्यापु समातेर घोत्लिराखेका थिए। रातभरिमा धेरै पटक भउतेले बुढालाई सम्झाएता पनि भउते आफैँ पनि अलिकता त्रसित थियो। ११ वर्षकी कलिली बच्चि राति घरबाट हराएकि, साधारण कुरा थिएन; भउते पनि नानाथरी सोच्न बाध्य भएको थियो! बिहान नभैकन कतै खोज्न जाने कुरै थिएन त्यसैले दुवैजनाले चुपचाप त्यहिँ अँध्यारोमा रात काटेका थिए!

के भयो होला मेरि नातिनीलाई? हे पर्भु पिर पनि मै बुडोलाई धेरै दिएउ!

कामेको स्वरमा लगभग रुँदै बिस्टे बुढा बोल्दै थिए!

धेर पिर नगर्नुस बुडा, केइ तलमाथि नि भाछइन, भोक लाएर कतै गा थि होलिन् कसैले घरमा राख्या होला, ब्यान हुन लायो अब खोज्न जाम बरु!

भउते बुढालाई सम्झाउने तरिकाले भन्दै थियो; या शायद आफू नै आश्वस्त्व हुन खोज्दै थियो।........

------------

 

............रिट्ठेलाई सम्पूर्ण ब्रम्हान्ड घुमेको जस्तो लाग्दै थियो। टाउकोभित्र कतै तिखो दुखाई थियो र तिघ्राका मासुहरु गलेका थिए! बिउँझिए पनि उसलाई आँखा खोल्न मन लागिरहेको थिएन। छातिमा पनि कतै भित्र  पिडा महसुर गर्दै थियो। बिस्तारै आँखा खोल्यो, झलमल्ल बिहानको उज्यालोमा मक्किएको दलिन उसको आँखा अगाडि आयो। टाउकोको दुखाई झन तीव्र भयो। उसले गिदी हल्लिएको अनुमान गर्यो।

धोक्न नि बेसरि धोकेछु डरको सुरमा!

मनमनै बोल्दै जिऊ तन्कायो!

हर्के र दीप नि पसारिराका होलान्! कति बजो कुन्नि?

यति भन्दै बिस्तारै दुखाइले मुख बिगार्दै पल्याक पुलुक दायाँ बायाँ हेर्यो।

कोठामा ऊ मात्रै थियो र बाहिर कतै कुकुर भुकेको र केटाकेटिहरु कराएको कल्याङमल्याङ आवाज आइरहेको थियो।

एक पटक जिऊ मजाले तन्कायो र हिजो रातीको बारेमा सोच्न थाल्यो।

अचानक उसले हिजोको कमाई सोच्यो र जुरुक्क उठेर पटुकातिर हात र नजर एकै पटक बढायो। पटुकाको गाँठो खुलेको थियो र उसका सबै पैसा गायब थिए।............

-----------------

 

................“ल यो बिचको खार देखा सक्छस भने?

कुम्लेले भुइँभरि छरिएको एक रुपियाँको डबलहरु मध्ये एउटालाई देखाउँदै ढ्याक हान्न लागेको हरिलाई हेरेर भन्यो र, दाहिने हातको चोर औँला मुखमा भित्र सम्म कोच्यो र औँला अंकुशेपारेर ओठमा च्यापेको खैनि निकालेर हात झड्कालेर फाल्यो अनि पिच्च खैनीको थुक थुक्यो।

धेर नचम्कि मुरदार तँ, आज टाट भइस तँ, मैले देखिसकेँ!

हातमा ढ्याक लिएर कुम्ले भन्दा अलि पर जिउ बङ्ग्याएर उभिएको हरिले कुम्लेले देखाएको पैसा ताकेर ढ्याक हान्यो।

ठ्याम्मै भनेको पैसामा ढ्याक लाग्यो।

 रमाएर दौडँदै पैसा भएको ठाउँमा आयो र सबै डबलहरु बटुलेर खल्तिमा हुल्यो र दाँत देखाउँदै भन्यो-

देखिस त! ल कति थाप्छस थाप, तेरा कौडि नसकि त के छोड्थेँ आज!

 

कुम्लेले एक पटक मुख नमिठो बनाउँदै हरिलाई हेर्यो। शायद खोपि जितेकोमा अलिकता रिस, जलन र घृणा उब्जिएको हेराई थियो त्यो। फेरि लगत्तै खल्तिबाट केहि डबलहरु निकाल्यो र भन्यो-

तेरा जस्ता आज पैसा भ भोलि टाट हुने मुन्छे हैनम हामि! कति जित्दोरेछस हेरम हाम्पनि, ल हान अर्को खाल!”.................

-------

 


 
Posted on 06-23-08 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा जिम्माल बा! भनेपछि मेरो नेगेटिभ रोल छ? दा----मी!!

चुटिन्छ हरितालिकेलाई बबा---ल चुटिन्छ!  THE END हुनेबेलामा हिरोको चुटाई खाएपनि सिनेमाको सुरुदेखि लास्ट सम्म हरितालिकेलाई चुटिन्छ!! :पि

ल लेखम् ब्रो लेखम्!!


 
Posted on 06-23-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'ट्रेलर' नै यती दामी छ कथा को त कुरै नगरे भओ
देखेउ त केटा हो म जस्तो सोझो मान्छेलाई त्यसइ हुने नहुने भनेका
लौ लौ जिम्माल बा छिटो लेख्न पर्‍यो 
 
Posted on 06-23-08 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन तेत्तिकै सोझो पल्टेको पर्बते ब्रो। बिराम नगरेत आरामले बसेको भए भइ हाल्थो नि, किन अंखै नदेख्ने गरी रिठ्ठेको टाउकोमा हाम्फाल्दै भाग्नु पर्ने नि। कुरा गर्‍यो कुरैको दु:ख।  
 
Posted on 06-24-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को भाग!

 

ल यो बिचको खार देखा सक्छस भने?

कुम्लेले भुइँभरि छरिएको एक रुपियाँको डबलहरु मध्ये एउटालाई देखाउँदै ढ्याक हान्न लागेको हरिलाई हेरेर भन्यो र, दाहिने हातको चोर औँला मुखमा भित्र सम्म कोच्यो र औँला अंकुशेपारेर ओठमा च्यापेको खैनि निकालेर हात झड्कालेर फाल्यो अनि पिच्च खैनीको थुक थुक्यो।

धेर नचम्कि मुरदार तँ, आज टाट भइस तँ, मैले देखिसकेँ!

हातमा ढ्याक लिएर कुम्ले भन्दा अलि पर जिउ बङ्ग्याएर उभिएको हरिले कुम्लेले देखाएको पैसा ताकेर ढ्याक हान्यो।

ठ्याम्मै भनेको पैसामा ढ्याक लाग्यो।

 रमाएर दौडँदै पैसा भएको ठाउँमा आयो र सबै डबलहरु बटुलेर खल्तिमा हुल्यो र दाँत देखाउँदै भन्यो-

देखिस त! ल कति थाप्छस थाप, तेरा कौडि नसकि त के छोड्थेँ आज!

 

कुम्लेले एक पटक मुख नमिठो बनाउँदै हरिलाई हेर्यो। शायद खोपि जितेकोमा अलिकता रिस, जलन र घृणा उब्जिएको हेराई थियो त्यो। फेरि लगत्तै खल्तिबाट केहि डबलहरु निकाल्यो र भन्यो-

तेरा जस्ता आज पैसा भ भोलि टाट हुने मुन्छे हैनम हामि! कति जित्दोरेछस हेरम हाम्पनि, ल हान् अर्को खाल!

 

कुम्ले खेल्नलाई जोशिएको देखेर हरि खुसि भयो; आज उसको बिहान देखि दाऊ लागिरहेको थियो र अलिकता उचाल्ने बित्तिकै पैसा हार्नलाई कुम्ले तयार थियो।

हे परमेस्सोरि सइ रुप्पे जति बनाम्न पाए ठूलीलाई जरी हाल्या चोलो किन्दिन हुन्तो!

हरी मनमनै भगवानको प्रार्थना गर्न थाल्यो!

ल पन्ध्र डबल हुर्याम्छु!

यिनिहरु एउटाले डबलहरु फाल्ने र अर्कोले तोकिएको ठाउँबाट ढ्याक हानेर भनेको डबललाई हान्ने गर्थे। भनेको डबलाई लाग्यो भने सम्पूर्ण डबल हान्नेको हुन्थ्यो र फेरि एक पटक हान्न पर्दथ्यो। नलागेमा हान्नेले जति डबल छरिएका छन त्यति नै रुपियाँ बुझाउनु पर्दथ्यो र अर्कोको डबल हान्ने पालो आउँदथ्यो। एउटा डबललाई लागेर अर्कोलाई छोएमा हान्नेले हार्दथ्यो।

हुर्याम्न त हामि सइ रुप्पे नै हुर्याम्छन नि बोलेर मात्रै हुने भ पैसो नि फाल् मुरदार!

हरीले ढ्याक समाउँदै कुम्लेलाई उकास्यो।

कुम्लेले पन्ध्रवटा डबल अलि पर उभिएर एकठाउँमा फाल्यो।

दुईवटा डबल लगभग लगभग जोडिएर बसे।

कुम्लेको मुहार केहि हँसिलो भयो।

नजिकैका डबल मध्ये एउटालाई औँलाले देखाउँदै कुम्लेले भन्यो-

हेरि यो हान्। यो हान्न सकिस भने चैते दसइँ सम्म खोपि नै खेलिन ल मइँले!

हरिले केहि नबोलेर आँखा चिम्सो पारेर हात सिधा पारेर ढ्याक सोझ्याउँदै डबललाई हेर्यो।

अलिकता झुक्यो र कलात्मक तरिकाले ढ्याक फाल्यो!

परो परो परो ठ्याक्कै पर्यो!

डबल फाल्ने बित्तिकै हरि उत्सुकताका साथ पैसा बटुल्न गयो।

इइइइइ परो! तो माथ्लो डबललाई छुसुक्क छोएर गो, लु पन्द्र रुप्पे गन् त ह्याँ खनखन्ती?

कुम्लेले हरिले बटुल्न लागेको पैसालाई टुक्रुक्क बसेर दुबै बाहुलीले छोप्दै भन्यो।

हरि झस्कियो। निहुरिएर कुम्लेले छोपेको पैसा सोहोर्न खोज्दै करायो-

एउटा डबललाई मात्रइ ट्याक्क पारेर छोएर गा छ तेरा आँखा फुट्या थे कि के हो?

कुम्लेले अझै पैसा छोप्दै झन ठुलो स्वरमा मुख बिगारेर हरीलाई हेर्दै करायो-

इइइssss छोयो एउडा डबललाई मात्रै! मास्त्यारको डबलमा ट्वाङ्ग गरेर ढ्याक गुड्या बिर्सिस पातकी?

ss तँ हारेँ भनेर रोएको बज्जे छेरुवा? रोइँ भन् न रोइँ छोडदिन्छु जाबो पन्द्र रुप्पे! हारेर रुँदोरेछ लबस्तरो!

हरि तिलमिलाएर बोल्यो!

कुम्लेलाई आफ्नो स्वाभिमानमा प्रहार भएको महशुस भयो।

को रोयो? बढि हुन्छस?? हारेर रोइन्नन्। याँ नभा कुरो भा छैन भन्या हुम! तेरा सत्तेनास हुने ढ्याक ठाममा पार्न परो नि जित्नलाई!

कल्लाई बडि भो भनिस ए छ्याकिको पोइ? खोज्या हो? आफेँ हार्छ आफै छेर्छ!

हरि कुम्लेलाई खाउँला जस्तो गरेर हेर्दै करायो।

कुम्लेलाई अब असह्य भयो।

कसको पोइ रे ए जन्डिसे??? तइँले म सित जोरि खोज्ने??? ल आइज मुरदार तँलाई चिलायो जस्तो छ! म यो पइसो बटुल्छु त्याँसि पन्द्र रुप्पे दाम खनखन्ति गनेर ले मलाई! यो पइसो छोइस् भने नि बाउको बे देखाइदिन्छु मर्न नसक्या हुतिहारा!

हरि केहि कुम्लेको बोलिले र केहि जितेको पैसा नपाएको झोकले हुत्तिएर पैसा छोप्न गयो। भुइँमा पैसा छरिएको ठाउँमा दुबैजनाको हात पुग्यो र चल्न थाल्यो। केहि डबल धुलोमा पुरिए, केहि छरिए। दुबैजना पैसा टिप्न संघर्ष गर्न थाले। हरिले कुम्लेको कुममा धक्का दियो, टुक्रुक्क बसेको कुम्ले बायाँ ढल्यो धुलोमा। हरि धुलो पन्छाउँदै पैसा संगाल्न थाल्यो। कुम्लेको पारा चढ्यो। कुम्ले उठ्यो र एक मुड्कि पैसा बटुल्दै गरेको हरिको आँखा मुनिको डिलमा कसेर हान्यो; प्वाच्च! आवाजका साथ टुक्रुक्कै बसेको हरि पनि लड्खडाएर पल्टियो।

तेरो बाउलाई हात हालिस् ज्यानमारा? अब तेरा हात ठुनुक्क नपारि छाड्दिन म!

यति भन्दै हरि उठेर कुम्लेलाई मुड्कि र लात्ति हिर्काउन थाल्यो।

बलियो कुम्लेले केहि छेकेर र केहि छेकेर हरिको प्रहार बाट बच्ने कोशिस गर्न थाल्यो। हरि जति मुड्कि ताक्दै हिर्काउन खोज्थ्यो त्यति नै कुम्लेले दुबै हात क्रस पारेर अनुहार छेकिदिँदा हातमा मात्र लाग्थ्यो।

अचानक कुम्लेले दायाँखुट्टाको पबलियो प्रहार हरिको खुट्टाहरु बिचमा गर्यो। हरि कराउनै नसक्ने गरेर तड्पियो र अलिकता झुकेर आफ्ना दुबै हात कम्मर मुनि राख्दै खुम्चियो पिडाले। कुम्लेले अझ छाडेन, मुड्कि मजाले बाँधेर झुकेको हरिको मुखमा चार-पाँच बलियो प्रहार पनि गर्यो। हरिको नाकबाट रगत आउन थाल्यो र रगत बग्दै तल चुहिन थाल्यो। हरि पिडाले टुक्रुक्क बस्यो। कुम्ले अब केहि शान्त देखिन्थ्यो।

देखिस् त? म संग जोरि खोज्ने भा हैन तँ हुतिहारा!

यति भन्दै दायाँ बायाँ हेर्यो। पर डिलपट्टि केहि केटाकेटि अनुहारमा डर र आश्चर्य भरेर टुलुटुलु झगडा हेरिराखेका रहेछन्। कुम्लेले केटाकेटिहरुलाई आँखा तर्यो। केटाकेटिहरु डराएर त्यहाँबाट दौडेर भागे। कुम्ले हाँस्यो।

छरिएको पैसा सबै बटुलेर खल्तिमा हाल्यो र जिऊको धुलो टक्टक्यायो। पिडाले छट्पटाउँदै भुईँमै थ्याच्च बसेको हरिलाई हेर्दै खल्तिबाट खैनिको पाउच निकाल्यो र हत्केलामा झार्न थाल्यो। शायद पाउचमा खैनि थोरै बाँकि थियो राम्रो संग झरेन। केहि रिसका साथ पाउच च्यात्यो र औँलाले पाउचको भित्र पट्टि पुछेर खैनि जम्मा पार्दै पहिला बायाँ हत्केलामा सार्यो र दायाँ औँलाले च्याप्दै मुखभित्र हुल्यो। हरि तिरै हेरेर एक पटक प्याच्च थुक्यो र कैले साउको पसल तिर लाग्यो।

कुम्ले पँधेरामा पुग्यो।

नेप्चि र दीपु कुरा गर्दै गाग्रि भर्दै थिए। धुलाम्मे कुम्ले पँधेरातिर हान्निएको देखेर दिपु अलिकता डराएको जस्तो भइन् र पँधेराको डिलमा पुगिन्। नेप्चि अलिकता पर सरिन्। कुम्ले पानीको धारो नजिकै आयो। दिपुको गाग्रि भरिँदै थियो।

कुम्लेले एकछिन नेप्चितिर हेर्यो, केहिबेर दिपु तिर हेर्यो र अलि कड्किएको स्वरमा भन्यो-

कसको गाग्रि यो?

कुम्लेको नमिठो हेराइबाट अगि नै अलिकता आत्तिएकी दिपुले केवल ओठ मात्र चलाएर भनिन्-

.. मेरो!

मुख धुन परो, गाग्रि सार् उता एकछिन्!

दिपुलाई फेरि एकपटक आँखा गाडेर हेर्दै कुम्लेले भन्यो।

हस्!

डर मिसिएको स्वरमा बोल्दै दिपु गाग्रि सार्न अगाडि आइन्।

कुम्ले दिपु भएकै तिरबाट लगभग गाग्रिमा टाँसिएर उभिएको थियो! दिपुलाई अप्ठ्यारो भयो।

अलि नजिक आएर त्यत्तिकै उभिइन्, शायद सोच्दै थिइन् कुम्ले अलि पर हट्ने छ।

कुम्ले जहिँको तहिँ उभिएर दिपुले गाग्रि सार्ने प्रतिक्षा गर्न थाल्यो।

दिपु घुमेर अर्को पट्टि गइन् र केहि हतार गर्दै झुकेर गाग्रि सार्न लागिन्।

कुम्ले दिपुले गाग्रि सारेको हेर्दै थियो। धारातिर हेर्दै गरेकि नेप्चि असहाय भावले माथि बाटोतिर हेर्न थालिन्।

दिपुले जसोतसो गाग्रि अलि पर सारिन्।

कुम्लेले पँधेरामा सिधै निहुरिएर टाउको जोत्यो।

पानीले कपालको धुलो पखाल्दै थियो। धारो बाट टाउको हटाएर कुम्लेले यता उता हेर्यो। पँधेरा सिमेन्टको थियो र धारो भन्दा अलिकता माथि शायद साबुन राख्न एउटा खोपिल्टो बनाइएको थियो। त्यहाँ साबुन त थिएन तर पहिले राखेको साबुनले गर्दा होला खोपिल्टाको भुइँमा साबुन लागेको थियो। कुम्लेले भिजेको हात खोपिल्टामा मजाले दल्यो र त्यहि हातले कपाल मिच्न थाल्यो। दिपुले पुलुक्क नेप्चिलाई हेरिन्। नेप्चिले फेरि बाटोतिर हेरिन्।

कपाल पखालिसकेपछि धारोमै मुख लगाएर घुटुघुटु टन्न पानी खायो कुम्लेले।

पानी खाइसकेपछि हात खुट्टा पखाल्यो। यो सबै गर्दा पानीका कयौँ छिटाहरु दिपुको गाग्रिमा परेको हेर्दै दिपु उदास भैराखेकि थिइन्।

कुम्ले धाराबाट हट्यो।

पाइन्टको पछाडिको खल्तिबाट काइँयो निकाल्यो र चिसो कपाल कोर्दै सिमेन्टले बनेको धाराको डिलमा बस्यो। काइँयोमा जमेको मयल ले कुम्लेले भर्खरै पखालेको कपाल कोर्दा कपालमा बुट्टा भरे जस्तो देखियो।

दिपुले गाग्रिको सबै पानी पोखेर गाग्रि पखाल्न थालिन्।

कुम्ले शायद बिश्राम गर्दै थियो।

दिपुले गाग्रि फेरि भर्न थालिन् र पुलुक्क कुम्ले बसेतिर हेरिन्। कुम्लेले उसैलाई हेरिराखेको रहेछ। आत्तिएर फेरि गाग्रितिर हेर्न थालिन्। पँधेराको पानि पित्तले गाग्रिमा भरिइराखेको थियो। दिपु हेर्दै थिइन्। गाग्रि भरिएर पानी गाग्रि हुँदै बाहिर बग्न थाल्यो तर दिपु शायद केहि सोच्दै हेरिराखेकि थिइन्।

गाग्रि भरियो दिपु!

नेप्चिले बिस्तारै दिपुको तंद्रा भंग गरिदिइन्।

दिपु एक पटक झस्केको जस्तो गरेर गाग्रि धाराबाट बाहिर सारिन् र चुलि भरिएको पानी अलिकता पोखेर गाग्रि कम्मरमा बोकेर नेप्चिलाई जाने इशारा गर्दै हिँडिन्।

नेप्चि आफ्नो गाग्रि पखाल्न थालिन्।

पँधेराबाट मोडिनेबेलामा दिपुले पुलुक्क एकपटक कुम्ले भएतिर हेरिन्। कुम्ले उसैलाई घुर्दै थियो र शायद नया खैनिको पाउच खोल्नमा व्यस्त थियो। दिपुका पाइला सकेसम्म छिटोछिटो चल्न थाले।

 

दिपु आँखाबाट ओझेल भैसकेपछि कुम्लेले कपाल छाम्यो। चिसै थियो। बसेको ठाउँबाट उठ्यो र गाग्रि भरिने प्रतिक्षा गर्दै गरेकि नेप्चितिर एक उपेक्षित नजर दिँदै फेरि बाटो लाग्यो।

अलिकता उकालो हिँडेपछि चौतारी पुग्यो र थ्याच्च छपनिमा बस्यो। चराहरु कराउँदैथिए। घाम बिस्तारै माथि जाँदै थियो। पर कतै भाले बासेको र कसैले कसैलाई लामो स्वरले बोलाएको सुनिन्थ्यो। कतै कुनै चराको एकोहोरो आवाज आइरहेको थियो। पर कतैबाट रेडियो बजेको पनि सुनिन्थ्यो; शायद पुन्टेबुढाको घरमा रेडियो बज्दै थियो।

चौतारीबाट तेर्सो अगाडि बढेमा अलि पर पुन्टे बुढाको घर थियो गाउँबाट अलि पर एक्लो घर भन्न पनि सकिन्थ्यो। त्यसको विपरित तेर्सो बढेमा कैले साउको पसल आउँथ्यो र त्यहि दिशामा अझ पर ठुल्दाईको घर र गाउँका अरु घरहरु। यस मानेमा गाउँका धेरै जसो घरहरु यहि कुनामा पर्दथे।

कुम्लेले निकै बेर पुन्टे बुढाको घरतिर हेर्यो र केहि सोचे जस्तो गरेर त्यतैतिर पाइला बढायो। रेडियोको आवाज नजिक आउँदै थियो।

घर पछाडि करेसामा पुग्यो। रेडियोमा कुनै बिज्ञापन आउँदै थियो। यो बाहेक अरु चकमन्न थियो, नजिकै कतै कोहि बोलेको आवाज आएको थिएन। ऊ बिस्तारै अगाडि आँगनमा आयो। कुखुराहरु चर्दै थिए, गोठमा भैँसि उग्राउँदै थियो। रेडियोको आवाज आँगनमा ठुलो सुनियो। उसके घरतिर हेर्यो। माथि बार्दलीमा भित्तामा रेडियो झुन्ड्याइएको थियो र कुनै स्वदेश गान बज्दै थियो। कुम्लेलाई गित मन परेन। अचानक भित्रबाट खस्याक खुसुकको आवाज आयो। कुम्ले तुरन्तै करेसापट्टि छेकिएर उभियो।

उसलाई पुन्टे बुढा बाहिर निस्कँदैछन जस्तो लाग्यो। छेकिएरै हेर्यो; भाउजु रहिछिन्। आँखामा गाजल लगाएर, रातो सफा धागो बाटेकि बुढि, सुकिलो धोति लगाएर एउटा कुम्लो जस्तो बोकेर बाहिर निस्किइन्।

बुढि कता अन्मरिन लाइछिन ब्यान ब्यानै?

कुम्लेले मनमनै आफैँलाई प्रश्न गर्यो।

बुढि आँगनबाट यतै पट्टि आउन थालिन्। कुम्ले करेसामा अझै पछाडिपट्टि गयो।

बुढि अघि कुम्ले आएको बाटो लागिन्।

बुढि पर पुगेको कुम्लेले हेरिराख्यो। आँखाबाट ओझेल भएपछि कुम्ले फेरि आँगन तिर गयो।

दायाँ बायाँ हेर्यो र कतै केहि आवाज सुन्ने प्रयास गर्यो। रेडियोमा मोतिबिन्दु क्याम्पको सुचना आइरहेको थियो। ढोकामा पालिस उप्किएको थोत्रो ताल्चा लगाइएको रहेछ।

भैँसि अझै उग्राउँदै थियो। कुखुराहरु चर्दै थिए।

एउटा गजबको रातो भाले कहिले भैँसिको गोबर खाल्डोतिर गएर केहि खोतल्थ्यो र कहिले अगाडि आँगनको डिलमा आएर बस्दथ्यो।

अइले देखुन हो र एल्लाइ आँखा ला मइँले!

मनमनै बोल्यो र यता उता हेर्यो।

पर तुलसीको मठनिर एउटा थुन्चे घोप्ट्याएर राखिएको रहेछ।

उसले थुन्चे उचाल्यो।

प्व प्व प्व…” भाले तिर हेर्दै मुखबाट मसिनो आवाज निकाल्यो र दायाँबायाँ हेर्यो।

रेडियोमा बिहान नौ बजेको समाचार आउँदै थियो।

चर्दै गरेको भाले कुम्लेको बिशेष आवाजले टक्क अडियो र फुट् फुट् टाउको घुमाउँदै यताउता हेर्न थाल्यो।

प्व प्व प्व…”

कुम्लेले फेरि आवाज लगायो। भाले डराउँदै कुम्ले तिर आएको जस्तो गर्यो। कुम्ले प्रतिक्षा गर्न थाल्यो। भाले अझै अगाडि आयो।

भाले सशंकित देखिन्थ्यो। कुम्ले तयार देखिन्थ्यो। भैँसि अझ उग्राउँदै थियो।

कुम्लेले भाले केहि अगाडि आएर फेरि फर्कने तयारीमा देख्यो। कुम्ले झम्टिएर अगाडि दौडियो र थुन्चे घ्वाप्प पारेर भाले माथि पार्यो। पहिलो प्रयासमै भाले थुन्चे भित्र थुनियो। भाले क्वाक क्वाक गर्दै कराउन थाल्यो। अरु चरिराखेका कुखुराहरु आत्तिएर यताउता भागे। कुम्ले दौडेको, थुन्चेले भुइँमा हानेको आवाज र भाले कराएको आवाजले गर्दा होला, भैँसि उग्राउन छाडेर एक पटक करायो।

कुम्लेले दायाँ बायाँ हेर्यो। रेडियोको आवाज मात्र एकोहोरो थियो।

कुम्ले टुक्रुक्क बस्यो र बिस्तारै बायाँ हातले थुन्चेको मुख समातेर अलिकता उचाल्यो र दायाँ हात छिराएर भाले समात्यो। भाले फेरि करायो र फड्फडायो। कुम्लेले बायाँ हात पनि छिराएर भाले अझ जोड संग समाउँदै थुन्चे हुत्तयाइदियो।

भाले फड्फडाउँदै कराउँदै थियो। कुम्लेले भालेको पखेटा खप्ट्याइदियो।

अब भाले कराएको थिएन, शायद विवश थियो। भालेको दुबै खुट्टा जोडेर अलिकता बटारेको जस्तो गर्दै कुम्लेले दायाँ हातले खुट्टा समात्यो र भालेलाई बगलिमा छोपेर बाटो लाग्यो। खैनि खाने मन भैराखेको थियो उसलाई तर दुबै हात भाले लुकाउन प्रयोग भएकोले उसले खैनि खाने इच्छा त्याग्यो र पल्याकपुलुक दायाँ बायाँ हेर्दै हिँड्न थाल्यो!

 


 
Posted on 06-24-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

लोल बिर्खे बा लोल।


अस्ती हाम्रा नि २ वटा कुखुरा चोरी भए , कुम्ल्या सन्तान को पो काम रहेछ। रिट्ठे भन्दा सोझो भनेर फलाक्दै हिड्छ। अब ,मैले नि शहरआँ गएर सि सि टिवी क्यामेरा भन्ने किनेर ल्याउछु, रंगे हात रेड ह्यान्ड न समाती भा छैन।


 
Posted on 06-24-08 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा कुम्ले र हरीको झगडा। कस्तो ठ्याक्कै मिलाको डिटेल लौन कसरी आएको होला जिम्माल बालाई। दिपुको नि entry भएछ ल रमाइलो हुने भो।

कुम्ले र हरी, ग्वाचेहरुले त मेरो हजुरबाको नि कुखुरा चोर्थे, काजु ख्वाएर राखेको मीठो हुन्छ भन्थे। 


 
Posted on 06-24-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा जिम्माल बा! लोल! कत्ति हाँस्नु हौ!!

हे भगवान! बिचरी दिपु! लोल! किन तर्सिनु पर्थ्यो र हामी जस्तो सोझो मान्छे सङ त्यसरी! लोल नेप्ची भाउजु बाटो हेर्‍या हेर्‍यै रे! हा हा हा!! ठ्याक्कै मिलाउनु भयो यार जिम्माल बाले गाउँले परिवेश! यस्तै त हुन्छ नि गाउँतिर!

लोल! साबुन नभेटेर त्यो साबुन राखेकै खोपिल्टो दलेर कपाल नुहाएको रे मैले हा हा हा!! अनि चट्ट पाइन्टबाट काइयो निकालेर कपाल कोरेको!! लोल!

हरितालिकेलाई पो के भयो पछि? बबाल कथा लेख्ने यार हाम्रो जिम्माल बा ले!!

पून्टे दाईको कुखुरा झ्याप!!


 
Posted on 06-24-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले त कस्तो सोझो भन्देखिन - एस्तो सोझो पो रैछ -
हरी ले ब'बाल भेटेछ - सोझो कुम्ले सँग निहुँ खोज्ने भाको
अनी कुम्ले मैले मसला तयार पार राख्या छु, पनि पनि तातिसक्यो,
एला पनि छ - कर्याक कुरुक पार्ने होकी - कस्तो खान मुन लाछ मलाई त,

फेरी दिपिका को सात्तो लिएछ कुम्ले ले - लोल जिम्बाल लोल


 
Posted on 06-24-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आब्बुई नि त!! कुम्लेब्रो त कस्तो बदमास हो !!!

आनि बिहान उज्यालो नि नभई ढ्याक खेल्न जाने?

" दाहिने हातको चोर औँला मुखमा भित्र सम्म कोच्यो र औँला अंकुशेपारेर ओठमा च्यापेको खैनि निकालेर हात झड्कालेर फाल्यो अनि पिच्च खैनीको थुक थुक्यो।" छ्ऽऽऽऽऽऽया

 


 
Posted on 06-24-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ्रे कुम्ले दाई किन त्यसरी हेरेको मलाई?
सात्तो उडेर कस्तो आपत, उता नेप्ची भाउजु पनि डराउनु भयो, खाली आँखा त बाटो तिरै ओछ्यौने
मेरो गाग्री भरी त्यो महिलो कपालको फोहर पार्दिने हो त्यसरी, आफु अल्लारे बिहान बिहान ढ्याक खेल्न गको छ अझ अर्कालाई खाउला जसरी हेर्ने
 
Posted on 06-24-08 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भने सि यो भाग चाइ झगडा, पधेरो अनी कुखुरो बिशेष परेछ। कुम्लेदाइ ले हरी लाई नाकै फुट्ने गरी चाइ अली कुट्न नहुने थ्यो। दिपु को नि entry भएछ। आफ्नो पालो कहिले आउने होला कुन्नी?
 
Posted on 06-24-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sojho kumle ko sabai pol khulyo  lol

jimmal ba ati  daami gayo. kasto ek ek scene milai milai.. filim banayo bhane superduper hit.

thunche bhanya doko ho? ani chapani?

la lekhau lekhau . keep it coming ali faster.


 
Posted on 06-24-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>मेरो गाग्री भरी त्यो महिलो कपालको फोहर पार्दिने हो त्यसरी, आफु अल्लारे बिहान बिहान ढ्याक खेल्न गको छ अझ अर्कालाई खाउला जसरी हेर्ने<<

अगाडि पर्दा केही भन्न नसक्ने - मुख बात शब्द ननीस्कने अनी -
भन्नोस नि कसरी - सात्तो उडेको बेला यस्तै हुन्छ होला है,

अनी कुम्ले ब्रो आज राती सकाउनु पर्छ है त्यो भाले त - म
गंगा जल लिएर आउछु - जित्या पैसो छ आफुसँग - 

 

 


 
Posted on 06-24-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कुम्ले त बबाल डाकु पो रहेछ, हेर है सुध्रिने मौका यही हो नत्र हिरोको हातबाट कुटाइ भेटौला
 
Posted on 06-24-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा,

 खैनी खाने तरिका,  ढ्याक हान्ने तरिका, कपाल कोर्ने तरिका,   चोरी गर्ने तरिका , पिट्ने तरिका, पानी भर्ने तरिका,  पानी भरि सके पछि गाग्री लिने तरिका  --- कति मात्रै   जानेओ हउरले   के भन्च गालबले स्वस्तानि सुनाउदा  आम्थ्यो के रे  'हजार जिब्रो भएका-- वर्णण गर्न नसकेको म मेले के सक्नु' -  ‍‍‍---- त्यस्तै हउरको बयान पनि  गरि नसक्नु  रहेछ ।

 यति जबर्जस्त ग्रामिण परिवेशको  जिवन्त कथा --- म त मेरै गाउमै पुगे जस्तो लाउच बाबै  ---   सबै पात्रहरुलाई मैले भेटि सकेकीम अस्तो  लाउच के   -- :)


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters