[Show all top banners]

chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मुग्लान भास्सिँदाका सम्झनाहरु

[Please view other pages to see the rest of the postings. Total posts: 159]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 82782 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 08-22-08 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


पछील्ला केही दिनहरु अत्यन्त ब्यस्तताका साथ बितेका थिए। टिकट, पैसा आदिको काम, किनमेल र नातागोता अनि साथीभाईसँगको बिदाइ भेटघाट आदिले प्रशस्त समय खाएको थियो। २०५० भाद्र ६ अर्थात् १९९३ को अगस्ट २२ मेरो नेपाल बसाइको अन्तिम दिन थियो। आईतवार परेकोले बुवा आमा दुबै जनाको अफिस छुट्टी थियो। बिहानीको खाना खाए पछि बुवालाई सपरिवार फोटो खिचाउन मन लागेछ। सपरिवार भनेको बुवा, आमा र म। किनमेल पनि सिद्ध्याउँ अनि प्रोफेसनललाई नै फोटो खिचाउँ भनेर नयाँ सडकतिर लागियो। चार पाङ्ग्रे थिएन हाम्रो। सपरिवार कतै जानु पर्‍यो भने म चाँही मेरो साईकलमा (जसलाई मैले ग्लोबल एक्स्प्रेस भनी नामाकरण गरेको थिएँ, स्कुल पढ्दा रानीपोखरी र पानीपोखरी बीचको अन्तर्महासागरीय बाटो तय गर्नु पर्ने भएकोले अनि अरु बेला त्यसैमा जहाँ पनि जाने भएकोले), बुवा र आमा चाँही मोटरसाईकलमा जानु पर्थ्यो। बुवा एकदम सचेत चालक तर म चाँही आँखै नहेरी कुदाउने भएकोले समयको त्यति धेरै अन्तर हुँदैन थियो एकै समयमा निस्किए पनि। जे होस्, फोटो कन्सर्नमा तीनै जनाको सामूहिक फोटो खिचाएर बाँकी किनमेल अलिअलि गरेर घर फर्कियौं। फेरि सानोतिनो फोटो सेसन चल्यो। कुनै बुवासँग, कुनै आमासँग, अनि ग्लोबल एक्स्प्रेस सहितको एउटा अनि कुकुरसँग एउटा। साँझमा सुटकेस पोको पार्ने काम भयो। बुवा आमासँग केही गम्भिर केही ठट्यौला अनि केही सामान्य कुराकानी भए।

सामान्यतया मेरो निंद्रा कुम्भकर्ण मार्काकै भए ता पनि त्यो रात भने अनिंदो रह्यो। मनमा अनेक कुराहरु खेलिरहेका थिए।  उत्साहित थिएँ नयाँ ठाउँमा नयाँ जीवन शुरु हुन लागेको भनेर। डर पनि लागिरहेको थियो, परिवारबाट टाढा अनि नितान्त भिन्न ठाउँमा एक्लै सर्दाको ट्रान्जिसन् कस्तो हुने हो, त्यहाँ पढाईमा सफल हुन सक्ने हो कि होइन, त्यहाँको बाताबरणमा घुलमिल हुन सक्ने हो कि होइन आदि आदि कुराहरुको। बल्ल बल्ल अलिअलि सुतियो। भोलिपल्ट बिहान पनि यताउती केही गरुँ कि भन्यो, फोन अनि घरमा मान्छेहरु आउने क्रम पनि बाक्लै थियो। घरैबाट एअरपोर्ट जानेको पनि ठुलै जत्था बन्यो।

हाम्रो घर मूल बाटो भन्दा केही भित्र भएकोले एउटा ट्याक्सी बाहिरबाट खोजेर ल्याउनु पर्‍यो। त्यसैमा हामी ३ जना र अर्को एक जना चढ्यौं। अरु कोही आफ्नै सुरमा एअरपोर्टतिर लागे भने कोही आफ्नो बाटो लागे। सिमसिम पानी परीरहेको थियो। कुपन्डोलतिरको बाटोमा खाल्डा खुल्डी धेरै भएकोले हिलाम्य थियो। कुपन्डोलबाट ट्याक्सी उत्तरतिर मोडियो, बागमतीको पुल तरेर थापाथली हुँदै माइतिघरसम्म। सोच्दै थिएँ, दैनिक जसो हिंड्ने गरेका यी बाटाहरुमा अब फेरि कहिले आइने हो भनेर। केही बेरमै नयाँ बानेश्वर, तीनकुने, सिनामंगल हुँदै बिमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलको अगाडि रोकियो। पानी पर्न पनि रोकिएको रहिछ।  

सामान बोकिदिन खोज्नेहरुलाई पर्दैन पर्दैन भन्दै भित्र पसियो। बुवालाई पनि भित्र जान दियो, "पहिलो चोटि बिदेश जान लागेको छोरा, अलमल्लिएला कि भनेर" भन्दै प्रहरीसँग अनुरोध गरेपछी। आँफै नसक्ने त होइन, तैपनि। लस एन्जलससम्म सुट्केस चेक गर्न मिल्यो, त्यहाँको भन्सार क्लेअर गरेर फेरि आन्तरिक उडानलाई चेक गर्नु पर्ने रहेछ। बैंककसम्मको लागि झ्यालकै सिट मागें। बोर्डिङ पास चाँही बैंककबाट फेरि लिन पर्ने रहेछ।

यात्रुहरु त्यहाँबाट भित्रैबाट माथि जान पाँउथे। दोस्रो तलामा अध्यागमन तर्फ छिर्ने ढोका र त्यो भन्दा माथिल्लो तल्लामा एउटा रेस्टुराँ अनि कौसी थियो। गैर यात्रुहरुले चाँही टिकेट काटेर बाहिरैबाट माथि जान पाउँथे। १९९९को ईण्डियन एअरलाइन्सको बिमान अपहरण पश्चात् ती सुबिधा बन्द गरिए। कौसिमा झन्डै एक दर्जन जतिकै भीड जमिसकेको रहिछ। अब त्यही त हो नि, राम्रोसँग बस्, पढ्, केटी चाँही नेपालकै बिहे गर आदि भन्ने प्रश्स्तै थिए। हामीलाई पनि त्यतै तान भन्नेहरु पनि थिए। फेरि फोटो सेसन शुरु भयो। त्यसै बीच थाइ एयरवेजको बिमान अवतरण गर्‍यो।

क्रमश:          

         

     
                
                     

 

 
Posted on 03-12-09 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झन्डै तीन महिना कथा फेरि अघि बढाउन नसकेकोमा क्षमा चाहन्छु।

भोजन पश्चात केही बेर गफगाफ गरी हामी सबैजना निस्कियौं। ती दुइलाई उनीहरुको विश्वबिद्यालयको कुनै ठाउँमा छोडेर रामेले हामीलाई पनि कलेजमा छोडिदियो। अघि भेटेका केही नयाँ तथा पुराना बिदेशी साथीहरुसँग फेरि भेट भयो। एक चोटि घरमा खबर गर्नु त पर्‍यो। पुरानो एक जना साथीले "फोन सेन्टर" मा लगिदियो। लामो दूरी तथा अन्तरराष्ट्रिय कल गर्न कार्ड लिनु पर्ने रहेछ। कार्ड पनि फारम भरेर बुझाएको भोलिपल्ट लिन मिल्ने अनि फोन गरेको बिल चाँही मासिक रुपमा पठाउने रहेछन्। नेपाल फोन गरेको प्रति मिनट झन्डै ३ डलर लाग्ने रहेछ। झसङै भएँ त्यो सुन्दा त। हुन त नेपालबाट अमेरिका फोन गर्दा पनि १५० रुपैंया जति पर्थ्यो अनि त्यतिबेलाको बिनिमय दर १ डलरको रु ५० जति थियो। एक मन त भोलिपल्टसम्म कुरेर फोन गरौं कि जस्तो पनि लाग्यो। फेरि भोलिपल्टको पनि रातिसम्म कुर्न पर्‍यो, नेपाली समय अनुसार त घर छोडेको पाँचौ दिन हुने रहेछ। बरु अहिले फ्याक्स पठाइदिन्छु पीर भैरहेको होला भनेर सकुशल आइपुगेको र एक जना नेपालीले बैंकको खाता खोल्न सहयोग गरेको आदि लेखेको दुई चार लाइनको फ्याक्स बुवाको अफिसमा पठाइदिएँ। सामान नआएको चाँही भन्न मन लागेन। ४-५ डलर कति पर्‍यो त्यति पठाएको पनि। फोन कार्डको लागि फारम भरेर फर्किएँ।

केही समय साथीहरुसँग गफ गरे पछि साँझको खाना खान "स्न्याक बार" तिर जाने निर्णय भयो। अपशोच, उपरोक्त स्थान जहाँबाट निशुल्क भोजनको लागि हामीलाई भौचर थमाइएको थियो, बन्द भैसकेको रहेछ। धेरै ढिलो पनि भएको त होइन, त्यस्तै ७ बजेको थियो कि साँझको। दिउँसो टन्न भात खाएको हुनाले मलाई त्यही बेला त त्यति भोक लागेको थिएन, तैपनि अलि पछि भोक लाग्ने त निश्चित नै थियो।  अरु साथीहरुले चाँही स्न्याक बारमै लन्च खाएका रहेछन्, "कस्ता मुलाहरु, दिउँसो खान गएको बेलामा बेलुका कति बजे बन्द हुन्छ भनेर हेर्नुपर्छ नि" भन्ने सोचें। छेवैको डाउनटाउन, जुन नौबिसे बजार भन्दा ठुलो थिएन होला, एक चक्कर घुमौं अनि जे भेट्टिन्छ खाउँ भन्ने सहमति भयो। रामेले पिज्जा मिठो पाउने ठाउँ छ पनि भनेको थियो त्यहीं नै तर तत्काल ठाउँको नाम सम्झिन सकिनँ। म भने त्यही ठाउँ भेट्टाउने आशामा थिएँ। हिंड्दै जाँदा केही नपाएको खन्डमा बाङ्लादेशीले आफूसँग घरबाट ल्याएको केही खानेकुरा भएको र त्यही बाँडीचुँडी खाउँला भनी प्रस्ताव राख्यो।

केही बेर हिंडेपछि रामेले भनेकै ठाउँमा पुगिएछ। साइनबोर्ड देखेर नाम सम्झिएँ।  एक एक जना नेपाली, बाङ्लादेशी, मलेसियाली र इथियोपियालीको अन्तरास्ट्रीय टोलीले उपरोक्त भोजनालयमा प्रवेश गर्‍यो। इटली बसेको मलेसियालीले केही युरोपेली ढाँचा भएको प्रतिकृया गर्‍यो।  खानेकुराको अर्डर काउन्टरमै गरेर पैसा तिर्नु पर्ने अनि खानेकुरा चाँही उनीहरुले नै टेबलमा ल्याइदिनेरहेछन्। एउटा ठुलो पिज्जा अनि एक एक वटा पेय पदार्थ मगाउने अनि खर्च बराबर बाँड्ने भनेर मलेसियालीले प्रस्ताव राख्यो। कुरो ठीकै लाग्यो, किन एउटैले त्यत्रो सबै तिर्नु। बिदेश घुमेको अलिअलि अनुभवी ऊ नै थियो, हामी बाँकी त कुवाका भ्यागुता जस्ता थियौं।

पिज्जा त मगाउने भैयो तर के टपिङ भन्ने अन्यौल भयो। त्यो बङगाली सुंगुर नखाने म गाई नखाने। अन्तत: च्याउ, प्याज, अलिभ आदि हालेको शाकाहारी पिज्जा खाने निर्णय भयो। प्रतिब्यक्ती त्यस्तै ४ डलर जति पर्‍यो क्यारे। पेय पदार्थ (सबैले कोक नै मगाए क्यारे) चाँही त्यही बेला दिए अनि साथै एउटा नम्बर भएको प्लास्टिकको टुक्रा। अरु ग्राहकले जस्तै हामीले पनि देखिने गरी प्लास्टिकको टुक्रो टेबलमा राख्यौं। खानेकुरा आएपछी उठाएर लाग्दा रहेछन् त्यसलाई।

प्लास्टिकको बिर्को भएको कागजको ठुलो कपमा "पाइप" (यहाँ स्ट्र भनिन्छ भनेर पछि मात्रै थाहा भयो)को कागज झिकेर घुसाएपछि मात्रै थाहा भयो कि कपमा पेय पदार्थ भन्दा धेरै बरफ नै हुँदो रहेछ भनेर। केही बेरमा खानेकुरा आयो। एक एक वटा स्लाइस आ आफ्नो प्लेटमा हाल्यौं। मलेसियालीले टेबलमै राखिएका सिसिहरुबाट अलिअलि धूलो पदार्थ (पार्मेसान चिज भनेर पछि थाहा भयो) अनि खुर्सानीका गेडाहरु खन्यायो। हामीले पनि त्यही नक्कल गर्यौं। खुर्सानी देखेर मख्ख पर्दै बङ्गालीले टन्नै खन्याएको थियो, पीरो भने अलिकती पनि नभएकोले केही निराश भयो। दोस्रो स्लाइस खाँदा भने त्यति धेरै हालेन। खाएर निस्किंदा बेलुकीको ८ बजेको हुँदो हो, बल्ल बल्ल घाम अस्ताउला जस्तो देखिएको थियो। टन्न पेट लिएर हामी छात्रावासतिर लाग्यौं। लबीमा छिर्दा मेरो सुटकेस आएको थाहा भयो। खुशी हुँदै सुटकेस लिएर कोठामा गएँ। दिनभरी लगाएको बैंकक लेखेको टीसर्ट फुकालें। बिहानीको अनुभवलाई नियाल्दै निर्णय गरें कि त्यो टीसर्ट मलाई जतिसुकै प्यारो लागेको भए पनि सबैजनासँग परिचय नहुन्जेल फेरि लगाउँदिन, ताकी थाइल्यान्डबाट आएको हो भनेर कसैले फेरि नसोधुन्।

सुटकेस खोल्यो, फेरि घरकै सम्झना। बुवा आमाले मिलाएर प्याक गरेको लुगाफाटा लगायतका अरु सामानमा आँखा गयो। तीनै सामानमा केही थोपा आँशु झर्ला जस्तो भयो तर जसोतसो आफूलाई सम्हालें। घरैबाट ल्याएको लिरिल साबुनले नुहाएर सफा लुगा लगाएर पूर्व योजना मुताबिक साथीहरुलाई भेट्न लबीमा झरें।

क्रमश:        

 

 
Posted on 03-12-09 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" प्लास्टिकको बिर्को भएको कागजको ठुलो कपमा "पाइप" (यहाँ स्ट्र भनिन्छ भनेर पछि मात्रै थाहा भयो)को कागज झिकेर घुसाएपछि मात्रै थाहा भयो कि कपमा पेय पदार्थ भन्दा धेरै बरफ नै हुँदो रहेछ भनेर। "


nepal ma hoonda coke kinesi ek haat sisi ko maath tira dhulo puchhera "ye sawuji pipe lyawu ta eta" bhanera paral jasto lootey khosta bhitra chhirawunda banako ho hagi!! bhanya jasto laagthyo


 


chipley lay live dindai cha hai bettod sanga..jawose jawose aru pani


 
Posted on 03-12-09 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपिस देखी घर पुगेर लुगा नै नफुकली एकै साँसमा पढें, कमेन्ट लेख्नी बेला बाहिर जान पर्‍यो। फर्स्टको घर बाट छुटेको पढ्दा आफ्नै जस्तो लाग्यो, मन भारी भयो, तर सार्है रमाइलो लाग्यो, अनी डर पनि, महिनौं सम्म नि कथा अगाडि नबध्नी रेछ, अब अर्को भागको प्रतिक्ष्या कसरी गर्नी पो भो बै

अनी उइलेको ऐले सम्म क्या ब'बाल याद भा बै, आफुलाई त अस्ती भक्खर आको नि याद छैन, माने चिप्ले तिम्रा स्मरण सक्तिलाई। धन्न प्रभो, अब छिटो अगाडि बढुम है

 
Posted on 03-13-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जीरा, नभन्दै कस्तो फितलो हुन्छ नि नेपालको "पाइप्।" अनि बिर्कोको लाइनर झिकेर हेर्न नबिर्स है, कतै मोटरसाइकल अथवा रङ्गिन टि.भी पुरस्कार त परेको छैन?
पूरे, अमूल्य समय खर्चेर एकै साथ पढिदिएकोमा धन्यवाद। झन्डै ७ महिना अघि लेख्न शुरु गरेको, पछि आएर अघि बढाउन सकिएन। तर आजै अर्को भाग थप्ने प्रयासमा छु।
यो कथा खुल्न पनि निकै बेर पर्खिनु पर्ने हुन थालेछ, झन्डै डेढ दुई मिनट जती। अरु पाठकहरुलाई पनि त्यस्तै भएको छ?        

 
Posted on 03-13-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Samjhana ta dhamilo hunchha mero ta , chipleko ta samjhana ta koshiko paani jasto sanglo chha , sappai kanthai chha je hosh maannu parchha...........
 
Posted on 03-13-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले लाइभ त एकदम सिधा प्रसारण हेरे  जस्तै छ मित्र ! लेखन शैली साझामा पढेको अरु कथाहरु भन्दा बेग्लै तर पनि उत्कृष्ट !


तर तीन तीन महिनाको ग्याप अली बढी भयो है सर !


अरु भाग पनि लेखुम न चाडै !


 
Posted on 03-13-09 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लिरिल साबुन को संझना ताजा गराइ दियो चिप्ले ब्रो ले। मैले पनि जिन्दगी को धेरै समय लिरिल साबुनको स्पर्श मै बित्यो। अम्रिकामा पनि पाईन्छ रे तर महँगो  भाकोले किनिदैन।



चिप्ले ब्रो को संझना शक्ती लाई मानें। सूक्ष्म बिष्लेषण।


फेरी संझना भन्ने को पर्‍यो भने र न सोध्नु नि ?
 


 
Posted on 03-13-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले गुरु धेरै पछी कथा जोडेछौ,फेरी एक्चोटी पुराना याद हरु ताजा भए,रमाइलो लाग्यो।
हुन त मैले पैले नै भनी सके तिम्रो स्मरण शक्ती को बारेमा। गजब छ साथी स्मरण सक्ती अनी प्रेजेन्टेसन।
अब अर्को पाटो कैले त असार सम्म त आउँला नि


लौ एस्तो नि हुन्छ हर्के पछी कमेन्ट हानेर ढुक्क भर एक घण्टा पछी हेर्छु त एरर आई रा राइछ। ल फेरी टासे अगिको


 
Posted on 03-13-09 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भोलिपल्ट बिहान उठेर लबीमा गएँ। बांग्लादेशी बन्धु त लुङी लगाएर टि.भी हेर्दै रहेछन्। ब्रेकफास्ट खान जाने होइन भनेर सोधें। कोठामा आइज, अलिअलि बांग्लादेशी खानेकुरा खाउँ भन्यो उसले। चाखिहालूँ न त भनेर म पनि लागें। अलिकति भुजिया (जसलाई चानाचुर भन्दा रहेछन्) र बर्फी ल्याएको रहेछ। अलिकति भुजियाको पीरोलाई बर्फीले मारेर निस्किएँ। त्यो दिन अरु नयाँ साथीहरुसँग पनि चिनजान भयो।

पछील्ला दुई चार दिनमा कलेज परीसर तथा बिद्यार्थी एवम कर्मचारीहरुसँग बिस्तारै परिचित् हुँदै गएँ। आउँदा आउँदै राखिएको छात्रावास "अपर क्लास डोर्म" अर्थात स्नातक तहको दोस्रो तथा पछील्ला बर्षमा पढ्ने बिद्यार्थीहरुको लागि रहेछ। हामीलाई फ्रेशम्यान डोर्म अर्थात प्रथम बर्षमा अध्ययन गर्नेहरुका लागि छुट्ट्याइएको छात्रावासमा सारीयो। अलि पुरानो खालको अनि एसी नभएको भवन रहेछ त्यो। रूममेट चाँही पेन्सल्भेनियाको परेछ। बाबु कालो बर्णको अनि आमा चाँही स्विडेनका रहेछन्। उसको कपाल कैलो तर छाला कालो थियो।

पढाई शुरु हुन अघिका दुई चार दिन "ओरिएन्टेसन" अर्थात् कलेजसित परिचित हुने औपचारिक कार्यक्रमहरुले बिते। कुनै काम एक्लै, कुनै सानो समूह तथा कुनै चाँही ठूला समूहमा हुन्थे।  आफ्नो शैक्षिक सल्लाहकारलाई भेट्ने, कक्षाहरुको दर्ता गर्ने, पैसा तिर्ने देखि लिएर कलेजको टुर लिने जस्ता कामहरु भए। मेरो काम चाँही पुस्तकालयको सर्कुलेसन डेस्क अर्थात किताब चेक आउट गर्ने र फिर्ता लिने ठाउँमा परेछ। अरु धेरै जसो हेरिकन म भाग्यमानी नै रहेछु। कतिलाई त क्याफेटेरियामा काम दिइएको थियो भने कतिको भागमा janitorial काम पनि परेको थियो। ओरिएन्टेसनमा रमाइलो गर्ने खालका कृयाकलापहरु पनि थिए। एउटा खेलमा त वाक्य पिच्छे एक एक टुक्रा टोइलेट पेपर च्यात्दै आफ्नो परिचय दिनु पर्ने थियो। के केटाकेटी खेल जस्तो अनि किन खेर फाल्ने त्यत्रो पेपर। हरेक ब्यक्तिले आफ्नो परिचय दिने क्रममा कम्तीमा ४-५ चोटिलाइ पुग्ने कागज नाश गरे होलान्। अर्को कृयाकलाप थियो पहाड चढ्ने। मैले न त हिमालय पर्वतको आशा गरेको थिएँ नत शिवपुरीकै। चुरे पहाड जति होला भन्ने मेरो अनुमान थियो। के हुन्थ्यो, स्वयम्भूको डाँडो चढे जति पनि थिएन त्यो त। त्यसमा पनि ठाडो र अप्ठेरो भाग भने टुप्पो पुग्ने बेलामा मात्रै थियो। फेदीबाट चुलीमा पुग्न २०-२५ मिनट लाग्यो होला। सहजै बाटो भए पनि धेरैलाई उकालो चढ्न गार्है परेको देखिन्थ्यो। गाडीबाट दुई पाइला हिंड्नु छैन, के सक्नु त।

नेपालको नाम सुनेका अमेरिकी पनि एकदमै थोरै रहेछन्। कहाँबाट आएको भन्दा नेपाल भन्यो, उनीहरु ट्वाल्ल। नेपाल भनेको देश हो? भारतको भाग हो? आदि सोध्ने प्रशस्तै हुन्थे। अझ कतिले त सीधै भारतको कुन ठाउँबाट आएको भनेर पनि सोध्थे। कसैले भने इटलीको नेपल्स भन्ठान्थे। नाम सुनेकाहरु भने उत्साहित हुन्थे "ख्याट्मान्डु, हिमलय, माउन्ट एभरेष्ट" आदि भन्दै। नेपालको बारे अरुलाई थाहा हुने भनेको त्यति नै रहेछ। काठमाडौं थाहा हुनेलाई पोखरा र चितवन जस्ता लोकप्रीय पर्यटकीय गन्तब्यहरुको नाम थाहा होला कि भनेको हुँदो रहेनछ। सगरमाथा र हिमालयको नाम सुनेकालाई पनि कंचनजंघा र मकालु जस्ता विश्वका उच्च १० पर्वतको नाम थाहा हुँदो रहेनछ। अमेरिकी मात्र होइन, भारत, चीन लगायत नजिकैका मुलुकका मान्छेलाई पनि नेपालको बारे त्त्यो भन्दा बढी खासै थाहा रहेनछ। खास गरी अमेरिकीहरु सोध्थे, सगरमाथा चढेको छस्, तेरो घरबाट सगरमाथा देखिन्छ वा कति टाढा छ भनेर। मैले बुझाउँथे, सगरमाथा सजिलै चढ्न सकिन्न अहिले सम्म केही सय जतिले मात्रै चढेका होलान्, घरबाट सगरमाथा १०० माइलको दूरीमा होला अनि सगरमाथा नदेखिए पनि अन्य केही प्रमुख हिमाली श्रींखलाहरु देखिन्छ आदि भनेर। 

"पहाड" अथवा नेपालको लागि थुम्को नै भनूँ न चढ्ने क्रममा पनि धेरैले प्रश्न गरेका थिए, तेरो देशमा यस्ता पहाड छन् कि छैनन् भनेर। केही दिनको अमेरिका बसाइको अनुभव पश्चात उक्त प्रश्न कुनै आश्चर्यको बिषय भने हुन छोडिसकेको थियो। हामीकहाँ सगरमाथा लगायत विश्वकै उच्च पर्वतहरु छन् र देशको अधिकांश भाग पहाडी नै छ भनेर मैले बुझाउँथे। हुन त सगरमाथाको देश भनेर जतिसुकै गौरब गरे पनि सगरमाथा देख्ने र देखेर पनि चिन्ने नेपाली त कमै छन्। मैले पनि त्यति बेलासम्म जम्मा एक चोटि सगरमाथा देखेको थिएँ र त्यो पनि प्रस्टसँग होइन। बिराटनगरबाट काठमाडौं उड्ने क्रममा हाम्रा एक छिमेकी र बुवाको मिल्ने साथीसँग संयोगबस परिएको थियो। ऊहाँले नै बिमानको झ्यालबाट "cloud को volcano निस्किएको जस्तो देखिने black peak" भनी चिनाउनुभएको थियो, र अरु केही प्रमुख हिमालहरु पनि।

साथीहरुमा अधिकांश बिदेशीहरुसँगै बढी घुलमिल भइयो। आफूसँग भएका कागजका टुक्रामा आफ्नो नाम, देश, डोर्मको एक्स्टेन्सन नम्बर आदि साटासाट गरिन्थ्यो। साथै आ-आफ्नो भाषामा "मेरो नाम यो हो" भनेर पनि लेखिन्थ्यो। त्यस्तै गरी अभिबादन गर्ने, धन्यवाद दिने आदि पनि सिकिन्थ्यो एक अर्कासँग। कलेजले बिशेष कार्यक्रम अन्तर्गत नेपाल र भारतमा शरणार्थी जीवन बिताइरहेका तिब्बतीहरुलाई पनि भर्ना गरेको थियो। एक जना नेपाली छात्रा पनि थिइन्। त्यसैले नेपाली बोल्न भने बेला बेलामा पाइन्थ्यो। नेपाली नबोल्ने तिब्बतीहरुले पनि नेपाली गीत भने मनपराउँदा रहेछन्। खास गरी उनीहरुले डेनीका गीतहरु जस्तै चिसो चिसो हावामा, कान्छीलाई घुमाउने काठमाडौं शहर, अनि चलचित्र साइनोको सुन कथा एउटा गीत आदि मनपराउने रहेछन्। नेपाली कहिलेकाहीं बोल्न पाए पनि धेरै जस्तो त अङ्रेजी बोल्न पर्ने छँदै थियो र अप्ठेरो त्यसैले पार्थ्यो। आफूले त नेपाली माध्यमबाटै एस.एल.सी दिएको थिएँ। आइ एस्सीमा मात्रै हो अङ्रेजी माध्यम प्रयोग गरेको। त्यसैले अङ्रेजी भाषा धेरै प्रयोग गर्ने मौका मिलेको थिएन। जति लेख्थें प्राय: शुद्ध व्याकरण र हिज्जेमै लेख्थें तर लामो लेख्ने र बोल्ने अनुभवका साथै शब्दावली अत्यन्त सीमित थियो। सही शब्द नजानेर कति कुरा ब्यक्त गर्न गार्हो हुन्थ्यो, त्यसमाथि यहाँका रैथानेले मेरो एक्सेन्ट नबुझ्ने मैले उनीहरुको slang नबुझ्ने।

अर्को समस्या थियो युनिटहरुको। न त फरेन्हाइटमा तापक्रम नाप्ने बानी थियो (ज्वरो बाहेक) न त माइलमा दूरी नाप्ने बानी थियो। त्यसै गरी तौल र तरल पदार्थको परिमाण् पनि पाउन्ड र ग्यालनमा नाप्ने बानी थिएन। हरेक कुरा मेट्रिकमा बदलेर अनुमान लाउनु पर्थ्यो।

सबै विद्यार्थीहरुको गाडी थिएन, आफू नयाँ भएकोले गाडी भएका पनि धेरैलाई चिनिएको थिएन। लुगाफाटा र सीमित मन्जन, साबून आदि बाहेक ब्यक्तिगत प्रयोजनका खासै सामान थिएनन्। एक जना बिद्यार्थीले हामी केहीलाई वाल्मार्ट लगे। कागज, कलम, लुगा धुने डिटरजेन्ट लगायतका सामान किनियो। छात्रावासले डस्ना, खोल र रुमाल उपलब्ध गराए पनि ओड्ने, तकिया आदि आँफै किन्नुपर्थ्यो। जे देख्यो, त्यसको भाउ ५० ले गुनेर नेपाली रुपैंयामा बदल्थें अनि जे पनि महँगो लाग्थ्यो। बाङ्लादेशीले त क्याल्कुलेटर नै बोकेर लगेको थियो अनि हरेक सामानको भाउ टाकामा बदल्थ्यो। सकेसम्म सस्तो सामान नै छानें मैले पनि। तैपनि पैसा त गयो निकै नै, खास गरी रुपैंयामा बदल्दा। जे होस्, केही दिनमा अलिअलि सेटल भए जस्तो भयो र ओरिएन्टेसनका केही दिन पश्चात पढाई पनि शुरु हुने बेला भयो।

क्रमश:                                       

 

 
Posted on 03-13-09 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चिप्लु हजुरले त धेरै भाग थपिसक्नु भएको रहेछ। अब आज बेलुका बसेर पढ्छु है। मजा आउने भयो।
 
Posted on 03-13-09 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले कता चिप्लिए भनेको त टाइप हान्दै बसेको रहेछ। सरल र सरस लेखाइ। एक एक चिजको क्रमबद्ध बर्णन ।


नेपाल बारे धेरै लाई धेरै थाहा नहुने। थोरै लाई थोरै थाहा हुने। कहिले कही लाग्थ्यो, हामीलाई भने दुनियाँ को थाहा हुने अरुलाई किन नहुने होला। नेपालीको बानी हुंदो हो कि अरुको चियो गर्ने?


एक जना डाक्टर साहेब हुनु हुन्छ, शायद अम्रिका मै हुनु हुन्छ होला। एन शर्मा । आन्ध्र प्रदेशको गन्तुर भन्ने ठाउंमा मेडिसिन पढ्नु भाको। त्यतातिरका आन्ध्रेहरुले समेत नेपाल को नाम नसुनेको रहेछ। नेपाल कहाँ पर्छ भनेर सोधेर हैरान हुनु भएछ। लौ जा त भनेर नेपाल सात समुद्रपार पर्छ, जान आउन लाई नै ७ जहाज चेन्ज गर्नु पर्छ भन्दे छ। अनी त ती आन्ध्रेहरुले सबैले यो त धेरै टाढा को बिदेशी भन्दै चाकडी बजाउन आउन थाले रे।


 
Posted on 03-13-09 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्के र ठुल्दाइ: दुबै जनालाई सोधूँ है सम्झना भनेको को भनेर।   
रिट्ठे, धन्यवाद। ग्याप त बिबिध कारणले धेरै नै भयो, त्यसको लागि क्षमा चाहन्छु। तर भनिन्छ नि प्रतीक्षाको फल मीठो हुन्छ भनेर, मखुला? प्रतीक्षा भनेको को भनेर नसोध नि फेरि।
बिष्टे, असार लाग्दा त धान रोप्ने चटारो हुन्छ, त्यसैले त्यो भन्दा अघि नै सिद्ध्याउने लक्ष राखेको छु। कहिलेकाहीं त दिक्कै पार्छ है एररहरु आएर पनि।
दीपू, लौ तिमीलाई त मजा आउने भयो मलाई चाँही बोर गरिदियौ। पाहूनाको अर्को भाग आएको भन्ठानेर खोलेको त पाठक प्रतिकृयाको जवाफ दिएकी रहिछौ। छिट्टै अघि बढाउ है त आफ्नो कथालाई पनि।       

 
Posted on 03-13-09 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, तपाईंले अर्को घटना सम्झाइदिनुभयो। यो चाँही मेरो ठुलोबुवाले भन्नुभएको। ग्रेहाउन्ड बसमा कहाँ जाँदा हो, सँगै बस्ने यात्रुसँग भएको कुराकानी।


सहयात्री: Where are you from?

ठुलोबुवा: Nepal.

सहयात्री: What state is that?

ठुलोबुवा: Alabama.

सहयात्री: Must be a small town, never heard of it before.

 
Posted on 03-17-09 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले गुरु अघिल्लो भाग को कमेन्ट हालेर अब २-३ महिना पढ्न नपाउने भो भन्ठान्या त उत्तिनै खेर हालिसकेछौ।
लेखन सैली एकदमै राम्रो छ्,सुक्ष्म चिज हरु को क्रमबद्ध बर्णन गजप को छ सरल अनी सलल बगेको। अहिले पढ्दा एत्ती रमाइलो लाग्छ अब भोली पर्सी छोरा छोरीलाई सुनाउदा कती रमाइलो लाग्ने होला।
अनी ठुल्दाइ को डाक्टर को गफ र चिप्ले को ठुल्बुवा को कुरा सुनेर मजा आयो। लोल लोल।
 
Posted on 03-17-09 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले सम्झना भनेको मैले एक तर्फी मन पराको केटी हो क्या , पुरानो घाऊ बल्जिन्छ सम्झ्यो भने , हा हा जोकिङ है ।


हो भन्या पहिला पहिला आफ्नो नाम भन्ननी गाह्रो हुन्थ्यो , अब हर्क भन्न पनि एच फोर होम , अ फर एप्पल, र फर रोज , के फर काइट भन्नु पर्ने आफ्नो नाम भन्ननी बज्जे गोरे हरुलाई तीन मिनट लाग्ने नबुजेर हैरान । कसैले ह्यारी भन्ने कसैले के भन्ने वाक्कइ लगाउनेनी हो।


लेख्दै गरौ , ब्रैन को मेमोरी कार्ड त दह्रो छनी हो हाम्रो चिप्ले सोम को मान्नु पर्छ जे होश।


 
Posted on 03-17-09 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Giga Bytes मात्र भन्ठान्या थिए Tera Bytes नै रहेछ चिप्ले को RAM त !


ब्रो अरु पनि लेखौ है चाडै तर


 
Posted on 03-17-09 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हेर्दा हेर्दै पढाइ पनि शुरु हुन थाल्यो।  चारवटा कक्षाहरुमा दर्ता गरेको थिएँ मैले तर आफूले पढ्न चाहेको बिषयको भने एउटै मात्र। आइ एस्सी गर्दा नेपाल परिचय पढ्नु पर्‍यो भनेर कत्रो रिस उठेको थियो। यहाँ त झन् आफ्नो बिषयका भन्दा बढी अरु कुरा नै पढ्नु पर्ने। मैले लिएका कक्षाहरुमा आफ्नो बिषयका अलावा स्टोरिज (जुन सबैका लागि अनिवार्य थियो), एसियन आर्ट्स (आर्ट्स तर्फको माग पूरा गर्न) र भौतिक शास्त्र (बिज्ञान तर्फको लागि) थिए।  शैक्षिक सल्लाहकारसँग समन्वय गरी ती कक्षाहरुमा दर्ता गरेको थिएँ। अरु दुई कक्षा त आफ्नो रोजाइले लिएको होइन तर भौतिक शास्त्र चाँही आइ एस्सी गरिसकेकोले दोहोर्याएकै जस्तो होला, सजिलै होला भनेर लिएँ।

हरेक कक्षाको प्रारम्भमा प्राध्यापकहरुले आफ्नो चिनारी दिनुका साथै बिद्यार्थीहरुलाई पनि आफ्नो छोटो परिचय दिन लगाउँथे। नेपालमा त कक्षामा छिर्ना साथ पढाईकै कुरा सीधा थाल्थे, कतिचोटि त शिक्षक वा प्राध्यापकको नाम समेत थाहा हुन्नथ्यो केही समयसम्म। अनि बिस्त्रित सिलेबस पनि बाँड्दा रहेछन्। सिलेबस हेरेपछि त्यहाँको शिक्षण प्रणाली देखि एकदमै प्रभावित भएँ। नेपालको कलेजमा जस्तो बर्षभरिको पढाई एउटा परीक्षाले मुल्याङ्कन गरिंदो रहेनछ। अन्तिम परीक्षा लगायत गृहकार्य, बीच बीचमा हुने परीक्षा, कक्षामा गरिने अन्तरकृया आदि बिबिध कुराहरुको आधारमा फाईनल ग्रेड निर्धारण गरिने रहेछ। पास गर्न ६०% चाहिने र ए ल्याउन ९०% चहिने कुराले चाँही अलि डर लागेको थियो। नेपालमा गणित बाहेक अरु बिषयमा ९०% कटाउनु भनेको असम्भव प्राय: नै हुन्थ्यो। त्यसमाथि नेपालीमा त ६० कटाउने पनि कमै हुन्थे।

हप्ताको तीन दिन बिहान ८ बजे स्टोरिजको कक्षा हुन्थ्यो। साहित्य, कथा आदिका पुस्तक पढेर त्यसै बारेमा छलफल गर्नु अनि लेख्नु पर्थ्यो। मलाई सबैभन्दा गार्हो त्यही कक्षामा भएको थियो। न अङ्रेजी धेरै बोल्ने अनुभव थियो न त लेख्ने नै। लेख्न पर्ने पनि कम्प्युटरबाट जबकी मैले कहिले कम्प्युटर छोएको थिइनँ। कम्प्युटरको बारे यति थाहा थियो कि टि.भी जस्तो भागलाई मनिटर अनि टाईप गर्नेलाई चाँही किबोर्ड भनिन्छ भनेर। धन्न म मात्रै रहेनछु कम्प्युटरको ज्ञान नभएको मान्छे। प्राध्यापकले वर्ड प्रोसेसर चलाउने एक घन्टे आधारभूत कक्षाको ब्यवस्था गरेका रहेछन्। ९ इन्चको मनिटर भएको म्याकिन्टोश क्लासिकमा माईक्रोसफ्ट वोर्क्सको वर्ड प्रोसेसर चलाऊनु नै मेरो कम्प्युटरसँगको पहिलो अनुभव थियो। नयाँ फाइल खोल्ने, टाईप गर्ने, अर्को लाइनमा जान रिटर्न कि हान्ने, कपि र पेस्ट अनि डिलिट गर्ने, अक्षरको स्वरुप बदल्ने, स्पेल चेक गर्ने,
फ्लपी डिस्कमा सेभ गर्ने आदि कुरा सिकियो। कक्षामा पनि छलफलको क्रममा अरुले जस्तो फरर् कहाँ बोल्न सक्नु, टुटेफुटेको अङ्रेजीमा जसोतसो अलिअलि बोल्थें।

हेर्दाहेर्दै पहिलो गृहकार्य बुझाउने समय भयो र त्यसैको लागि कम्प्युटर सेन्टर गएँ। फ्लपी डिस्क छिराएर वर्ड प्रोसेसर खोली टाईप गर्न थालें। बल्ल बल्ल एक पाना जति लेखेको थिएँ होला। त्यही बेला एकजना मित्र भेट भयो, जूनियर तह अर्थात तेस्रो बर्षको। वाक्यहरु बीच दुइवटा स्पेस राख्नु पर्ने भन्ने सम्झाए। केही बेर पछि एउटा समस्या आइपर्‍यो, ठ्याक्कै के हो त बिर्सिएँ। छेवैमा एक जना वाकम्यान सुन्दै के के चलिरहेका थिए कम्प्युटरमा। मलाई लाग्यो कि उनले संगीत सम्बन्धी केही काम गरिरहेका होलान्, पक्कै पनि कम्प्युटर राम्रो जान्ने होलान् भनेर। सोधेको त केही थाहा छैन भने। त्यहाँको "कन्सल्टेन्ट" (जसले ल्याबको कामको जिम्मा लिएको हुन्थ्यो) पनि अरुलाई सहयोग गर्न ब्यस्त थिए। धन्न नजिकै बसेको अर्कोले सजिलै समाधान गरिदियो। त्यस्तो ठुलो केही भएको रहेनछ। पछि पो बोध भयो त त्यो मूला गीत सुन्दै यत्तिकै के के चलिरहेको रहेछ भनेर। आफू कम्प्युटर चलाउन नजान्ने, अर्को मूर्खलाई एक्स्पर्ट सम्झिएर आँफै मूर्ख भएको रहेछु। केही हप्ता पछि त्यस्तै सानोतिनो कुरामा मैले नै सहयोग गर्नु परेको थियो उसलाई।

जे होस् पहिलो गृहकार्य जसोतसो सक्काएर प्राध्यापकलाई बुझाएँ। मलाई लागेको थियो, शायद सबैभन्दा खत्तम काम मेरै होला भनेर। कक्षाको अन्तमा आफूलाई गार्हो भएको कुरा अवगत गरें, प्राध्यापकले दिउँसोको समय दिएर आफ्नो कार्यालयमा भेट्न बोलाए। भेट्दा शुरुमा त ब्यक्तिगत गफगाफकै कुरा भए ५-१० मिनट जति त। त्यसपछि मैले बुझाएको गृहकार्य निकाले र सबैभन्दा पहिले मेरै जाँचेको कुरा बताए। लेखाइ सरल र भाषागत त्रुटी खासै नभएको, अनि औसत भन्दा राम्रो ग्रेड आएको भने पछि केही ढुक्क भएँ। एउटा अर्को कागजले नाम छोप्दै अरु केही बिद्यार्थीको गृह कार्यमा भएका हिज्जे र व्याकरणका त्रुटिहरु समेत् देखाउँदै अमेरिकी बिद्यार्थीहरुले आफ्नै भाषा भएर पनि त्रुटिपूर्ण लेख्ने गरेको दुखेसो प्रकट गरे। साथै मलाई ट्युटरिङ्ग कक्षामा भर्ना हुनुको अतिरिक्त अरु सहयोग चाहिए उनलाई संपर्क गर्न नहिच्किचाउन समेत आग्रह गरे। आभार भएँ उनको सहयोगीपनाले। ट्युटरिङ्ग कक्षाले मलाई धेरै सहयोग गर्‍यो, र उनको कक्षामा फाईनल ग्रेड राम्रै पनि आयो।

आफ्नो बिषयका प्राध्यापक ब्रिद्ध थिए र उनको बोलाई (चर्को रैथाने एक्सेन्ट) बुझ्न धेरैलाई गार्हो पर्थ्यो। भौतिक शास्त्रका प्राध्यापक लिबियाका थिए। अरबी लवजमा सँधै भन्थे, रिद इत थ्री ताइम्स। दोन्त फर्गेत तो द्रो अ फ्री बदी दाँयाग्राम। एसियान आर्ट्सका प्राध्यापक चाँही ताईवानका थिए। उनको "क्रास"मा हिन्दू, बौद्ध र ईस्लाम धर्मसँग सम्बन्धित बास्तुकलाका साथै चिनिया तथा जापानी चित्रकला तथा हस्तकलाका बारे पनि पढ्नु पर्थ्यो। त्यतिबेला पो बुझ्न थालें त खास गरी हिन्दू मन्दिरहरुमा भएका कुँदिएका मूर्ती तथा कलाकृतिका बारे। नेपालमा ईतिहास पढ्दा त फलानो राजाले यो बनाए र ऊ बनाए भनेरै रटिन्थ्यो। कलाहरु बुझाउनुको साटो कुन राजाको पालोमा के बन्यो भन्ने कुरामै जोड दिइन्थ्यो। त्यस्तै गरी चिनियाँ कला अन्तर्गत उड्ने घोडा अर्थात् "फ्राइङ" होर्सको बारे पनि पढ्नु परेको थियो।

क्रमश:               

                                            

                                        

 
Posted on 03-18-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिष्टे, हर्के र रिट्ठे, पढेर केही प्रतिकृया लेखिदिएकोमा धन्यवाद। भ्याए देखि भरेसम्ममा अर्को भाग थप्नेछु।  

 
Posted on 03-18-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजोको वचनानुसार एक सास ले पढें। मनाउं आँफै आम्रिकि शिक्षा प्रणालिमा घुलिए छु।


चिप्ले त बडा पढन्चे पो निस्के बाइ। जसले मह काढ्छ उसले हात चाट्छ भनेको सहि रहेछ , मखुला?


 
Posted on 03-18-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले दाई।  मैले हिजो देखी पढ्न  बसेको  बल्ल आज  सके,
दाई ,म  तपाईं को    स्मरण शक्ती को    कदर गर्छु । लेख  एक्दम  रमाइलो छ !!!



 
<<<<सुटकेस खोल्यो, फेरि घरकै सम्झना। बुवा आमाले मिलाएर प्याक गरेको लुगाफाटा लगायतका अरु सामानमा आँखा गयो। तीनै सामानमा केही थोपा आँशु झर्ला जस्तो भयो तर जसोतसो आफूलाई सम्हालें। >>>>>>


माथिको  हरफ  सँग  मेरो पनि    मेल खायो, र   मैले पनि  आफु यहाँ  आउँदा  को  सम्झना  गरे !!1




 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters