Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 206007 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
Posted on 06-24-08 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐय्या, मार्यो कुम्ले पातकीले।

हुन त हानोस अईले, हिरोले कुट्नी त लास्टाँ हो नि।


 
Posted on 06-24-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अत्ती उत्कृष्ट रचना,
मास्टर्नी नानीले भने झै 'जबर्जस्त ग्रामिण परिवेशको  जिवन्त कथा' छ्। ब्यान गरी साध्य छैन तपाईंको श्रीजना सक्ती को,

धन्य हो सम्धी ज्यु ।


 
Posted on 06-24-08 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अगाडि पर्दा केही भन्न नसक्ने - मुख बात शब्द ननीस्कने"  यो जुवाडे लहरेलाई के गर्ने होला? अस्ती को जितौरी पनि देको छैन अझ कराउछ, तिमी जस्तो हो कि क्य हो  जो सग पनि छुच्चो मुख गर्न

माइला दाइ मैले त सच्चिकै आफैलाइ देखे त्यो दिपु पात्रमा। अत्ती उत्कृष्ट रचना, बिस्टे ले भन्नु भए जस्तै

Last edited: 24-Jun-08 12:40 PM

 
Posted on 06-24-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमेन्ट गर्ने सबैजना संग कुरा अहिले एकछिनमा गर्छु। पहिला अर्को भाग है त!

 

अर्को भाग-

 

सुकिलो सेतो लबेदा र सुरुवाल अनि दायाँ पट्टि कन्चटनिर फाटेको भए पनि सफा ढाकाटोपी लगाएर नेपे बुढा काँधमा एउटा पँहेलो तर पुरानो देखिने झोला बोकेर जजमानी गर्न तल गाउँतिर ओरालो झर्दै थिए! उनको निधारमा मिहिनेतसाथ लाइएको स्पश्ट पँहेलो टिका देख्न सकिन्थ्यो र पँहेलो टिकाको तल सानो रातो टिका पनि थियो। उनको मुखबाट कुनै श्लोकको अशुद्ध हरफहरु निस्कँदै थिए-

….दुर्गाक्षमा शिबरात्री स्वासोदा नमोस्तुते…”

बर्खा लागे देखि नै नेपे बुढालाई दुई कुराले सताएको थियो। एक त झरि परेर हो वा गाउँमा वैदिक कर्म कम भएर र चाडबाड त्यति नपरेर हो, गर्मि याम देखि नै उनको जजमानी पेशा स्वाटसुट्टै घटेको थियो। अर्को झरि पर्यो कि प्राय जसो उनको घुँडाले धर्म छाडिदिन्थ्यो र पाइला सार्नै नहुने बनाउँदथ्यो। तर अब भदौ लाग्न धेरै बाँकि थिएन र नागपन्चमि देखि चाडबाडको ओइरो लाग्ने सम्झेर बुढा अलिकता आशावादी थिए।

पोर त बिस रुप्पे दाममा पारेर मरे! चामलमा नि सपै पानी पोख्खेर बरबाद भा थो, एसपालि कति देलान कुन्नि?

मनमनै बोल्दै नेपे बुढाले आजको सराद्देको संभावित उपलब्धिबारे बिचार गर्न थाले।

माइलो अरपाट फर्क्या छ क्यार, अलि दख्खिना बढाउलान् कि त?

बुढा फेरि आशावादी बने।

बुढा ओरालो झर्दै थिए। दुवैपट्टि मकैबारि थियो र दुबै कान्लाका डिलमा मकै संगै बर्खे बोडि लगाइएको थियो। बुढाले हरिया कलिला बोडिका त्यान्द्रा देखेर एकछिन अडिएर दुई त्यान्द्रा बोडि चुँडे र खान थाले।

गज्जपको मिठो भइसकेछ!

बोडि चपाउँदै बुढा फेरि ओरालो झर्न थाले।

बुढा फेरि अडिए र एउटा झारको त्यान्द्रो चुँडे। दाँतले त्यान्द्रोको टुक्रा बनाए र बायाँ काँधमा झोला भिर्दै दायाँ हातले दाँतमा अड्केको बोडि कोट्ट्याउँदै फुउउगर्दै थुक्न थाले।

बुढा चौतारीमा पुग्दा दाँत कोट्ट्याएर सकिसकेका थिए।

सकेसम्म छिटो पुग्न मन त थियो बुढालाई तर घुँडा दुख्छ कि भनेर एकछिन चौतारीमा बिश्राम गर्ने निधो गरे, र धुलो टक्टक्याउँदै थ्याच्च बसेर सुस्केरा हाले। सुस्केरा हाले लगत्तै भने-

हरिशरणम!

बिश्राम गर्दा गर्दै बुढा फेरि कुनै श्लोक गुनगुनाउन थाले-

काकोचेश्टा बको ध्यानम, स्वान निद्रा गृहत्याग!

कुन्नि के सम्झेर बुढाले झोला खोले र भित्रबाट कर्मकान्डको पुस्तक, र भाँचिएर धागो बेरेको चश्मा निकाले। चश्मा लगाए पुस्तक हेर्दै नबुझिने स्वरमा लय मिलाएर एकछिन बर्बराउन थाले।

केहि मान्छे बोलेको जस्तो सुनेर बुढाले मुन्टो उठाए र नाकमै झर्न लागेको चश्माको माथिबाट पुलुक्क आवाजको दिशातिर हेरे।

बाजे नमस्कार!

गाले र नेप्चेले फर्सिले भरिएको डोको चौतारीमा बिसाउँदै एकैपटक बुढालाई नमस्ते गरे।

बुढा बोलेनन् र अपरिचीतलाई जसरि गाले र नेप्चेलाई नियालेर हेर्न थाले। फेरि तुरन्तै चिनेछन कि के हो मुसुक्क हाँसेर नमस्ते फर्काएर भने-

कता लायौ ठिटा हो? फर्सि बेच्न हिँडेऊ?

हो बाजे, खोलो नि घटो होला, फर्सि टिप्या ३ दिन भइसको तेसइ कुइएर जाला जस्तो भो, पारी बजारमा बेच्न जान ला!

नेप्चेले गह्रुङ्गो फर्सिको भारिले निम्त्याएको निधारको पसिना मैलो फाटेको ढाकाटोपीले पुछ्दै भन्यो र अलि सजिलोसंग बस्यो।

कति पारेऊ यो बर्ख फर्सि?

बुढाले उत्सुकता देखाए!

खै हाम्राँ त चिचिलाटै कुइएर गो धेरजसो, नेउचेकाँ चाइँ पर्या हो पर्या कुरो गर्दा!

गालेले पुलुक्क नेप्चेलाई हेर्दै फेरि बुढातिर फर्केर जवाफ दियो।

बाजे कता लाउन लाउनुभाहो कुन्नि?

नेप्चेले बुढालाई हेर्दै सोध्यो।

बुढाले दाहिले खुट्टा तन्काएर एक पटक सिधा बनाए, र अल्छि मानेको जस्तो गरेर भने-

तल गोताएँका सराद्दे छ भनेर बोला छन्, आफ्नो भ्याइनभ्याइ छ। काइँलो पुरेतलाई भन् भन्दा नि हइन गुरु हउरै आम्नु पर्च भनेर भने करै गरेर, तेइ भर जान ला!

गालेले सहमतीमा मुन्टो हल्लाएको जस्तो गरेर आफ्नो सोझो बानिको परिचय दियो। वास्तवमा उसले बुढाले भनेको कुरा यति मात्र बुझ्यो कि बुढा गोतामेकहाँ श्राद्धको लागि जाँदैछन्।

अनि बेल्का फर्कँदा उकालो उक्लिन सउनुहुन्छ त बाजे? फेरि सिदा दख्खिनाको पोको नि हुन्च बेल्का?

नेप्चेले सरसर्ति बुढालाई टाउको देखि खुट्टा सम्म हेर्दै प्रश्न गर्यो।

बुढाले नेप्चेलाई पुलुक्क हेरे र मुहारमा घमन्ड फिँजाउँदै भन्न थाले-

हेर् नेप्चे, सिदा दख्खिना लिन त छाडिसकियो कुरो अर्ने हो भन्देखुन। अब केलाई चाइयो र सिदा दख्खिना तइँ भन् त?

गालेले फेरि उसको दिमागमा कुरा घुसेको जसरि मुन्टो हल्लायो। नेप्चेले पनि बुढा संग सहमतिमा हल्का मुन्टो हल्लाउँदै भन्यो-

तेइ त बाजे, बाजे र बजै दुइजानालाई तेत्रो सम्पत्ति छ जाबो सिदा किन चाइनु!

बुढाको मुहारमा गर्वको हल्का लालि छायो।

कुरा सुन, नेप्चे गाले, हेरि यो जजमानि त म नभइ नहुने भर गर्या मात्रै हो, अब पइले देखिका चिनेजानेका मुन्छे, लौ गुरु हउर नै आम्नु पर्च भनेसि दया नि त गर्नु परो, कि कसो तइँ भन् त?

गालेले यसपटक पनि बुढाको कुरा बुझेको सहमतीमा मुन्टो हल्लायो।

नेप्चे उत्सुकताका साथ बुढालाई हेर्न थाल्यो।

बुढा ससर्किएर बोले-

दया हो पृथ्वीको अति चहकिलो पारसमणीभनेर भन्या छन लेउनाथ पउडेलले। दया गरनइ परो नि हो कि हैन तइँ भन् त?

हो बाजे हो गर्न पर्छ दयामया त। तो सिलोक त हामि के बुझ्थेम र तइ नि दया गर्न पर्छ भन्ने लाउछ बाजे हाम्लाई नि!

नेप्चेले गालेतिर सहमति खोज्दै हेर्यो।

गालेले गम्भिर मुद्रा बनाएर सहमतिमा फेरि टाउको हल्लायो।

बुढा आफ्नो कुरा सुन्ने मान्छे पाएर जोशिए।

त्रेतायुगमा सिरिकिस्नले पनि दया गरेर सारथि बनेका थिए! तेसइ सारथि भा हैनन भगवान किस्न!

बुढा सुरु भएको देखेर नेप्चेले पुलुक्क गालेलाई हेर्यो। गाले वाल्ल पर्यो।

बुढा फेरि चश्मा तह लाउँदै बोल्न मुख बाएको देखेर नेप्चेले हतार हतार भन्यो-

लौ बाजे, एकछिन थकइ मारम भनेर बस्या हुम के रे हामेरु, अब लाग्नु परो, नत्र रात पर्दा नि फर्सि डोकोको डोकोमै हुन्च, क्यार्नु!

लौ त नि, अब के भन्नु मइँले जाओ बेचेर आओ!

बुढाले लेग्रो तान्दै जवाफ दिए।

नेप्चे तुरन्तै उठ्यो, डोको बोक्न लाग्यो र गालेलाई डोको धकेल्दिने इशारा गर्यो। गालेले डोको धकेल्दियो। नेप्चे बुढालाई नमस्ते भनेर ओरालो तिर लाग्यो। गालेले सकिनसकि आफ्नो डोको उचाल्यो र बुढालाई दुइ हात जोडेर नमस्ते गर्यो र नेप्चेको पछि पछि ओरालो झर्यो।

 

बुढा एक्लै परे। कर्मकान्डको पुस्तक र चश्मा झोलाभित्र हुले। एकछिन केहि सोचे र पेट समाते। बुढालाई पेट काटेको अनुभव भयो। यता उता हेरे, र पिपलबोट पछाडि कान्ला तिरको झाडिमा बुढाको आँखा अडियो। केहि सोचेर बुढाले फेरि यता उता हेरे र सुरुवाल फुकाले। भित्र धर्का धर्का भएको लामो कट्टु लाएका थिए, लगभग घुँडा सम्म आउने। बुढाले सुरुवाल पट्टयाएर झोला संगै पिपलको बोटको फेदमा राखे र पेट समाउँदै पछाडि झाडिभित्र हराए!

 

-------

 

कुखुरा नकराइदिए हुन्थ्यो भन्दैथियो कुम्ले, तर कुखुरा कराएको करायै थियो। धन्न बाटोमा कोहि हिँडेका थिएनन्! कुम्लेले लाएको कमिज उलाई टाइट लाग्न थाल्यो। भुँडितिर कमिज भित्र भाले अटाउँदैनथ्यो, र काखिमा च्याप्न गाह्रो भैराखेको थियो।

कुम्लेले ककुखुराको मुख काखिले च्याप्प चाप्थ्यो र एकछिन हिँड्ना साथ भालेको मुख फुत्किन्थ्यो र भाले कराउँदथ्यो। एक पटक त भालेको चुच्चोले कुम्लेको काखि घोच्दा ऊ भुतुक्कै भएको थियो। एक त भाले कराएपछि कुम्ले कसैले सुनेको त छैन भन्दै यताउता हेर्न बाध्य हुन्थ्यो, अर्कोतिर खैनिको तलतलले, च्यापेको भाले फालेर भए पनि एक चिम्टि खैनि खाउँ खाउँ लाग्दै थियो उसलाई!

ऊ छिटो छिटो हिँड्दै थियो, र जति सक्दो चाँडो घर पुग्न चाहन्थ्यो। बाटोमा डाँडामा तेर्सो परेर गएको थियो र घुमाउरो थियो। एउटा मोडमा पुगेपछि कुम्लेले मान्छेहरु बोलेको सुन्यो र सतर्क भयो।

बिस्तारै मोडमा पुग्यो र लुकेर हेर्यो।

पर चौतारीमा गाले र नेप्चे भारि बिसाएर बसिराखेका थिए। नेपे बुढा दुईजना संग केहि बोल्दै थिए। नेपे बुढा चौतारीमा बोलेको पनि कुम्लेलाई पोहोर तल्लो गाउँमा पुराण सुन्या जस्तो लाग्दै थियो।

कुम्लेलाई फसाद पर्यो। बाटो चौतारी हुँदै नै जान्थ्यो र चौतारीमा नेपे बुढा थिए। कुम्लेले भाले चोरेको नेपे बुढाले थाहा पाउनु भनेको बिस्तारै सम्पूर्ण गाउँलेले थाहा पाउनु थियो। फेरि कोहि यहि बाटो हिँडिदिन पनि सक्छन्।

बुढालाई कहिँ नपाएर चौतारीमा गफ दिनु पर्या असत्ति पुरेत्!

कुम्लेले मनमनै नेपे बुढालाई गालि गर्यो। भाले च्यापि च्यापि टुक्रुक्क बस्यो। खैनिको तलतल नाइटै देखि उमडिएर लाग्दै थियो उसलाई। एक हातले भाले च्यापेर अर्को हातले भालेको मुख समात्दै कुम्ले कुरेर बस्न थाल्यो।

चौतारीबाट गुनगुनको आवाज आउन बन्द भयो।

कुम्लेले उभिएर आफ्नो जिउ मोडमा छेक्दै टाउको तन्काएर हेर्यो।

गाले र नेप्चे डोको बोकेर ओरालो झर्दै थिए।

कुम्लेको सास आयो। केहि बेर त्यत्तिकै तन्केर हेरिरह्यो। गाले र नेप्चे निकै तल पुगे।

कुम्लेले नेपे बुढाले सुरुवाल फुकाल्न लागेको देख्यो।

बेजेति बुडा, अब चौतारीमै टुक्रुक्क बस्ने होलान्!

कुम्लेलाई नेपे बुढाले सुरुवाल खोलेकोमा रिस उठ्यो। उसको बिचारमा बुढाले चौतारीलाई नै शौचालय बनाउने छन् र अझ केहि बेर त्यहिँ बिताउने छन्। जुन उसको लागि फाइदाको कुरा थिएन। यहि बिच कोहि आउन सक्थ्यो र उसले गरेको कान्ड थाहा पाउन सक्थ्यो। कुम्ले छट्पटाए जस्तो देखियो।

अचानक कुम्लेको मुहारमा खुसिका रेखाहरु देखिन थाले।

उसले नेपे बुढाले सुरुवाल र झोला एकातिर राखेर झाडितिर लागेको देख्यो।

एइ बेला फुत्केर चौतारी काट्न पर्छ, अनि त घर पुइहालियो नि!

बुढा झाडिमा हराउनासाथ मनमनै बोल्दै कुम्ले भाले काखिमा च्यापेर चौतारीतिर हुत्तियो।

कुम्ले चौतारि पुग्यो। बुढा झाडिभित्र कतै लुकेका थिए।

कुम्लेलाइ जति सक्दो चाँडो चौतारिबाट टाढा पुग्न मन लाग्यो। फटाफट हिँड्न थाल्यो।

अचानक भालेको मुख कुम्लेको काखिबाट फुत्कियो।

क् क् क्वाँक्ss!”

भाले कराइदियो।

कुम्लेले हत्त न पत्त भालेको मुख समात्यो र तत्कालै झाडि पछाडिबाट नेपे बुढाको स्वर सुन्यो।

असत्ति गाम्लेहरु पालेसि त घरैमा राख्नु नि तिनका मासुलाई, मजाले बाइर बस्न समेत दिँदैनन्!

कुम्ले एकछिन जड भएर उभिइराख्यो। दौडन मन भैरहेको थियो तर भालेको आवाज सुनेका नेपे बुढा दौडिएको आवाजमा झन सतर्क भएर उठ्न बेर थिएन र उठेमा कुम्लेको बिजोग निश्चित थियो।

निकै बेर सम्म बुढा निस्केनन्। कुम्ले ढुक्क भयो र जान तयार देखियो।

अचानक केहि सोच्यो र चौतारी तिरै आयो। उसलाई भालेको मुख बन्द गर्ने उपाय सुझ्यो।

बिस्तारै बायाँ काखिमा भाले च्यापेर दायाँ हातले भालेको मुख समात्दै नेपे बुढाले फुकालेर राखेको सुरुवाल नजिक आयो र बेआवाज कुखुरा च्यापेको काखिपट्टि बाट नै सुरुवाल पनि च्याप्यो र लतार्दै सतर्क भएर हिँड्न थाल्यो। बेला बेलामा झाडितिर हेर्दै बिस्तारै कुम्ले तल्लो मोडमा पुग्यो र छेकियो।

भालेको मुख सुरुवालले बाँधेपछि कुम्ले ढुक्क देखिन्थ्यो!!

Last edited: 24-Jun-08 04:29 PM

 
Posted on 06-24-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-24-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल लोल।

जिम्मालको सोच्ने र लेख्ने कलालाई पर्नाम गरे मैले।

भनेपछी सोझो कुम्ले त्यती सारो सोझो रेछ।

 

 


 
Posted on 06-24-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
 
khukhura ta chorne chorne huda huda, suruwal ni chorne... hahaha.. its too much.
 
Aba bhane hamro Nepchhe da ni hero hunubhayechha... la badhai chha party kahile ho?

 
Posted on 06-24-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब यो भन्दा असली सिन कुनै सिनेमा हेर्न पाईन्छ र भन्या? अबतारी बिर्खे माइला को बखान लाख जिब्रो भएको अबशेष नाग ले पनि गर्न सक्दैन, लौ जा, मैले नि उखान भन्दिएं।
 
 
Posted on 06-24-08 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kukhura chorera bhagyaa scene ma chai chankheko jasto image aayo mero aakhamaaa body builder kumle ko bhanda hehe...


 
Posted on 06-24-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम राम! अब चाँहि पापै लाग्ने भयो! गामका बरिष्ठ पन्नित हुन् नेपे बुढा! तिनको सुरुवाल नि झ्याप हानेको लेख्देसी अब मेरो के हुने हो कुन्नि! हा हा हा!! जिम्माल बा गज्जब छ! मलाई त नेपे बुढाले पछि कुन कुन श्लोकले मलाई गाली गर्ने हुन् भनेर पिर लागिसको।

अत्ति हसाँउने!!


 
Posted on 06-24-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा फटाह कुम्ले, कुखुरा त चोर्यो चोर्यो हुँदा हुँदा बुढो को सुराल समेत बाँकी राखेन।

लौ न पर्भु अब के हुने हो , साह्रै सुन्न मन लाईसको अर्को अध्याय पनि

 "अर्को खैनिको तलतलले च्यापेको भाले फालेर भए पनि एक चिम्टि खैनि खाउँ खाउँ लाग्दै थियो उसलाई!"--खैनी चुरोट को लत लाग्या लाई एस्तै हुन्छ नि।


 
Posted on 06-24-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठूल्दाई- धन्यवाद्! के गर्नु अब सतर्क हुन पर्यो, कुम्ले अझै गाउँमै छ रे!

सान्नानी- धन्यवाद्! त्यो तिम्रो काजु ख्वाएको भाले थुनेर राख है?

कुम्ले- हेहेहे धन्यवाद्! तिमीले नुहाएको देख्या थिएँ नि जमानामा त्यसैगरि हाहाहा।

चेली नानि- धन्यवाद्! के गर्नु त्यसै गरि खैनि फाल्छन सपैले!

लहरे- धेरै धेरै धन्यवाद्! त्यो कुखुरा खाने दाऊ होला तिम्रो, के हुन्छ तिम्रो हाम्लाई नि थाहा छ!

दिपीका नानु- धेरै धन्यवाद् छ लेखेकोकुरा धेरै मन परेकोमा। नआत्तिएउ, तिमीले ठिक गरेउ चुप लागेर बिचरि कति दुख पाएकि डबल पानी भर्नु पर्यो।

नेप्चे- धन्यवाद्!तिम्रो नि सुरु भयो कथा ल हेर अगि को भाग।

बसन्ति- धन्यवाद् बसन्ती! थुन्चे भनेको डोको जस्तै जस्तै हो। छपनी भनेको चौतारीमा बनाएको हुन्छ ढुङ्गाहरु छापेर।

पर्वते- धन्यवाद्! हिरो कि जिरो तिमि राति भागेपछि के भयो भन अनि थाहा हुन्छ।

माष्टरनी नानी- धेरै धेरै धन्यवाद्। अझ सकेसम्म लेख्ने जमर्कोमा छु तर समय बेइमानले साथ सधैँ दिन्छ कि दिँदैन थहा छैन।

हरितालिके- धन्यवाद्। बिजि भए नि कथा पढ्न भ्याएकोमा। हो हो हिरोले लास्ट फाइटमा देखाउँछ।

बिस्टे सम्धीज्यू- धेरै धेरै धन्यवाद्। जस्तो लाग्थ्यो त्यस्तै लेख्न खोज्या हो गाउँघरका कुराहरु।


अर्को भागको धन्यवाद ज्ञापन केहि पछि गर्नेछु। त्यतिन्जेल सम्मको लागि आज्ञा दिनुहोस, नमस्ते!

Last edited: 24-Jun-08 04:32 PM

 
Posted on 06-24-08 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग पनि गजब गयो ल, नेपे बुढो को सुरुवाल नै झ्याप पारेछ सोझो कुम्ले ले,
अब नेपे पण्डित कसरी जाने होला सराद्दे गर्न - लामो इजार भाको कट्टु लार, हाहा
जिम्बाल को त बखान गरी नसक्ने छ - सबै भाग एक से एक -

>>के हुन्छ तिम्रो हाम्लाई नि थाहा छ!<<

हेर बुढा - केही तल माथि भयो भने - बुझिहाल्यो होला हैन - जिम्बाल को नली खुट्टो को रक्षे गर प्रभु। के गर्ने रिस उठ्यो भने आँखा देख्दिन आफु।

कोइ कोइ ले छुच्चो मुख रे ल मलाई
अब एस्तो छुच्चो मुख के खोलाई भो र ल,
अब सन्यास लिनु परो - 


 
Posted on 06-24-08 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब छ लौ
हैन त्यस्तो क्व क्व गर्नी भालेलाई खुरुक्क ननिमोठेर के जिउदै लिएर हिंडेको होला कुम्ले ले? कतिबेला फेला पर्नी हो? चोर्निको हद हुन्छ नि सुरुवाल समेत् नछोड्नी
जिम्माल बा, राती भागे पछी त के हुनु नि भोली पल्ट हैन बाबा हैन भनेर सम्झाउदैमा दिन बित्यो नि तेही पनि अली अली ज्यान चाँही ददारेको ले शंका हुँदै छ नि

 साच्चै खेताअँ पानी मिलाम्न गएको हुम् के बिचरा भौते आफ्नै मान्छे हो कुरो मिलाइदिन पर्‍यो भनेर नित्यसै गाम्भरी हल्ला फिजियो


 
Posted on 06-24-08 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-24-08 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ए बुढा यता सुन त .... अब हाम्रो छेंडितिर खुकुराको खोर बनाम्न पर्यो बुझेउ। नत्र यो दशैं बिना कुखुरा बिताउन पर्ला। ब्यान ब्यान वां पून्टेदाइको घरबाट कुखुरा चोरी भो रे भनेर दाइ लामो लट्ठी बोकि सिंह है गज्रेर सबको घर खोज-तलाश गर्दैछन। मलाइ नी कम्ता चित्त दुख्या हैन, त्यस्तो दुख: गरि गरि हुर्कको भाले, दाइ भाउजुले यो दशैंमा काटुंला अनि हाम्लाइ नि एुता सांप्रा दिउंला भन्नुभा थ्यो।  हैन ए बुढा, तिमिले त त्यो कुम्लेलाइ सारै सोझो भन्थेउ त, पधेरां नि उस्कै बाउको जस्तो गर्दो रैछ।बिचरी दीपुलाइ कम्ता थर्काको हैन। मलाइ त त्यस्को हेराइ पट्टकै मन् पर्दैन।"


लोल् लोल् लोल्। कत्ति हांस्नु अब। हरीको नाक बाट रगत चुहेको सिन, कुम्लेले प्याच्च खैनि थुकेको सिन, नेपे दाइको नाकमै झर्न लागेको चश्माको माथिबाट पुलुक्क हेरेको द्रिश्य, नेप्चे भाइले डोको भरि फर्सि बोकेको सिन,  हा हा हा......... दामि छ। अब हिरो अथवा हीरोइन हुने पालो कस्को रे??


 

Last edited: 24-Jun-08 07:38 PM

 
Posted on 06-24-08 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले ब्रो ले त गुल्शन ग्रोबर र शक्ति कपुरलाइ पनि फ्लप गर्ने रैछ नि त।

 


 
Posted on 06-24-08 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा अत्ति के!

चेली, दिपिका डराएर त्यस्तो छ, सान्नानीलाई म चंखे जस्तो लाग्यो रे! क्रेजीलाई म शक्ति कपुर र गुल्शन ग्रोबर भन्दा नि खतरा लाग्यो रे! हुँदा हुँदा नेप्ची भाउजुले सुद्ध म जस्तो सोझो देवरलाई त्यस्तो भन्ने? हा हा हा!

हरिले अलि झेली गर्न खोजेर मात्रै हो। नत्र उ र म जस्तो मिल्ने साथी त कोइ नि छैनन् यो सन्साराँ। त्यस्को रिसमा बिचरी दिपु र नेप्ची भाउजु परे नि। हा हा हा!

कुखुरो नि चोरेको हैन है मैले। पून्टे दाईको आगनमा भेट्टाएको। यसो प्व-- प्व-- मात्रै गरेको त पछि पछि आयो। माया लाएर आयो बिचरा भालेको अनि लिएर हिने नि।  सोझो मान्छे परियो भालेको धरि मुया लाग्ने आफुँलाई!

अब के गर्ने त? भाले कराको कराई गर्छ, नेपे दाईले सुरुवाल सङ्गै रुमाल वा टालो पनि राखेको भए हाम्लाई के को सुरुवालै उढाउने मन हुन्थ्यो र? टालोले काम चलाइहाल्थेम् नि। के गर्ने? आफ्नो ब्यवस्था गर्नु त पर्यो नि!


 
Posted on 06-24-08 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, हाम्रो पनि नाम आएछ त कथा मा। बल्ल रमाइलो भयो।  

कुम्ले दाई, कुखुरो सम्म त ठिकै थ्यो, तर सुरुवाल पनि?   

फर्सी को भारी ले आज त साह्रै थाकियो। अब बाँकी गन्थन भोली है त।


 
Posted on 06-24-08 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले ब्रो कुखुरो त चोरियेछ अब कहिले हो त काट्ने लौ सङै काट्नु पर्छ है, अनी पकाउने जिम्मा चै जिम्मालको है।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters