caliber19
Replies to this thread:

More by caliber19
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

ThahaChaena

lutee_bahun
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 उपहार (कथा)

[Please view other pages to see the rest of the postings. Total posts: 49]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 28272 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 12-15-12 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     11       ?     Liked by
 

उपहार (कथा) भाग १ 
 
 
आज बेतोड्ले काम गरियो । कसम खाएर भन्नुपर्दा म ऊतिसारो काम ठग्ने मान्छे नि होइन तर हिंजो-आज मेरो काम गराइमा अलिकती स्वार्थ पनि लुकेको छ । एस्पाला क्रिश्मस अन्तै मनाउने कि भन्ने योजना तर्जुमा भाकोले छुट्टीको अर्जी हाल्याथें, तेस्कै कार्यन्वयनको लागी भे नि काम गरे जस्तो देखाउनै परो ! हरेक १५ मिनेट - आधी घण्टामा मार्ल्बोरो फुक्नु पर्ने यो ज्यानका खिल्लिहरुले, धेरै नै राहतको साश लिएका छन् क्यारे आजभोलि ! तर एती हुंदा हुंदै पनि बेला मौकामा फाट्ट-फुट्ट साझाको चौतारीमा कमेन्ट हान्न भ्याइहाल्थें म । आजको सेरोफेरो सतबिउमा केन्द्रित रह्यो; आफ्ना पितृ सम्झें, डांडा पारीका घाम-जुन सम्झें - मन कस्तो कस्तो भएर आयो । कुनै चाड-पर्व वा विशेष तिथी-मिती को बेलामा त सब्कुरा चट्याक चुटुक छोडेर नेपाल नै हान्निम् कि जस्तो लाग्छ मलाई तर देशको बारेमा अनलाइन खबर पढ्दा पढ्दै आफ से आफ नेल हत्कडीमा कैद हुनपुग्छु । 
 
 
हुन त यहाँबाट फर्किएका दाजुभाइ-दिदिबैनिले नेपालमा राम्रै गरिखाको सुसमाचारहरु एदाकदा सुन्न पाईन्छ, तेस्ले मन्मा हर्ष नि पैदा गर्छ; हौशला पनि । तर कथित परीबन्धले आफ्नो लाज छोप्दै हामी बुढाबुढी एतै खुम्चिराछम्; छोराछोरी एतै हुर्किंदैछन्, हामीले केही दु:ख सहीदिंदा भावी सन्ततीको त भविश्य सुनिश्चित होलाकी भन्ने तुक वा बेतुकको बैशाखीले खोच्याउंदै । अब यो सुनिश्चितताको अर्थ पाठक वर्गको आ-आफ्नै शब्दकोषलाई जिम्मा लाएं - पैसाको गणना, पेशाको तुलना, विध्याको आर्जन, विलाशिताको भोग वा सायद अरु केही । 
 
 
मेरो चिन्जानका एकजना मदिरे (प्राय मदिरापान कै क्रममा भेटघाट हुने) मित्र छन् यहाँ अर्को फ्ल्याटमा । आफ्नो आधी जसो पे चेक क्यासिनो तिरै बुझांछन् । 
आज नजुम हो । म झिंजो मान्दै भन्छु कहिलेकाँहीं week-end मा । 
लु न त क्वाटर ऊछालुम् । ऊनी पच्चिस पैशो रेडी पार्छन् । head आए जाने, tail आए नजाने शर्तमा सिक्का ऊछालिन्छ । 
tail आएको खण्डमा ऊन्को सदाझैं सत्वाणी जुञ्जिन्छ; राजा, अघी त ख्याल-ख्यालको भयो, अब "सांच्चै" को जोखाना हेरुम् ल । 
सुधाले मलाई 'राजा' भन्ने हुंदा ऊनिनी राजा नै भन्छन् र अन्तिममा "सांच्चै" को head आएसी घिच्याउंउंदै लान्छन् पनि । 
मैले यहाँ "सांच्चै" लाई किन जोड दिन खोजेको हुँ भने, हाम्रा राजनेताहरुले अहिले ठ्याक्कै तेस्तै चरितार्थ जग्जाहेर गर्दैछन्; राष्ट्रपतिले "सांच्चै" को चुनाव म्याद थप गर्दा नि ऊनिहरुले "सांच्चै" सहमती जुटाउन सकेनन् र फेरी पटक-पटक चिल्लो चाप्लो घस्दै पनि भनी राका छन् कि अब त राष्ट्रपतिले अन्तिम पटक "सांच्चै" को म्याद थपिदिए हामी "सांच्चै" को सहमती जुटाउंछौ ! 
 
 
रात रहे अग्राख् पलाउंछ भन्छन्, एही राजनैतीक खिचातानीको समिकरणले हाम्रा सर्व गुण सम्पन्न नेताजिहरुले के समाधान निकाल्लान् त्यो भोलीका दिनले देखाउला नै; अहिले चाहीं म अलिकती मपाइं व्याख्यान गरिहालुम है त । 
 
 
मेरो जन्म पुर्वाञ्चल, धरानको, लक्ष्मी चोकमा भएको रे; विधालयको अभिलेख र नगरपालिकाको ढड्डामा नि तेइ छ । तर, चुरोट फुक्ने बाहेक लक्ष्मी बाजेका कुनै पनि सत्गुण यो ज्यानमा छैन बरु जुंगाका रेखी बस्दै गर्दा ममा कता-कता दुर्बाशा ऋषीका लक्षणहरु देखिन थालेका थिए । राङा चोकमा कोदोको २-४ तोङ्बा लाएसी भोटेपुलका ब्रो हरुसँग कट्टी प्रदर्शनी समारोहमा सामेल भैहालिन्थ्यो प्राय: । धार्मिक आस्था नभएनी पञ्च कन्या र दन्तकालीतिर पुर्याउंथ्यो गुरु, देवी दर्शन र चिलिम मार्न; कहिलेकाइं ऊतै पनि र्याङ-ठ्याङ नमिल्ने - सानोतिनु धर्मयुद्ध सुरु भैहाल्थ्यो । मैले एकबाजी त बुढासुब्बाका एक ज्योतिष बालाई नि छोडिन, राम्रै लछार-पछार गरियो । आजभोलि निषेध गर्याछन् तर बुढासुब्बा बाको धनुष मानिने टुप्पा नभाको बांसमा ऊबेला नाम लेख्यो भने त्यो जोडीको पिरती अमर र अजर हुन्छ भन्ने विश्वास त्योबेला थियो, हामी नि लेख्थिम् । भुत्राको हुनु ! अर्कोचोटी जांदा फेरी अर्कै ठिटिको नाम लेख्नुपर्ने बाध्यता हुन्थ्यो ! 
 
 
एकचोटि सानीमाकी छोरी शौरभी धरान घुम्न आकी थि । मेरो मनाहिको बावजुद पनि शौरभीले ज्योतिष बालाई हात हेराइ । झुस्स दारी पालेका र कलेजी रंगको दौरा सुरुवाल, कालो इश्टकोट, प्याजी ढाकाको टोपी लाएका ज्योतिष बा हर्षित देखिए । निधारमा लामो पंहेलो टिका थियो, चन्दन हो कि बेसन हो मैले ठम्याउन सकिन, अगाडि फिंजाइ राखेको गेरु रंगको कपडामा केही वेद-पुराण-अगरबत्ती-रुद्राक्ष माला-फुल-प्रशादी आदी थिए ।  म साइडमा ऊभिएर कामना गर्दैथें, हे भगवान यिन्ले फेरी तेइ घिसापिटा डाइलग नभनुन् ! तर ज्योतिष बा आफैलाई साडे सातको दशा लाग्या रइछ त्यो दिन ! 
ओहो ! नानी त कस्ती भाग्यमानी, बत्तिस लक्षणले युक्त, जोडी पनि साह्रै राम्रो जुरेको छ, एही वर्ष लगन नि जुर्ला जस्तो छ, वहाँ बाबुको नि बिदेश योग छ है एइ बर्ष, अब डलर कमाउंदै सुखी जीवन बांच्ने दिन आउंदैछ यहाँहरुको___ 
ज्योतिष बाको अचुक भविश्यवाणी त छोरा-नाती सम्मै रेडिमेड थ्यो होला, मैले हात्को हेल्मेटले बजाइदी हालें । तेस्पछी त 'दाई के गर्नु भाको, छोड्दिनु न' भन्दै एकातिर शौरभी भावनात्मक रुपले कालो निलो हुनथाली, अर्कोतिर भौतिक रुपले नै ज्योतिष बा कालो निलो हुनथाले । 
 
 
छोरोले कर्म-काण्ड गर्ने पण्डितलाई कुट्यो भनेर पछी मेरी आमैले निराहार व्रत नि बस्नुभाथ्यो । खै ! मेरो पाप कती पखालियो, त्यो त चित्रगुप्त माठ्साब नै जानुन् । 
 
 
SLC पछी सँगैका थुप्रै साथीहरु 'गुर्खा' तिर लागे तर मैले त टराइ नि गरिन, बाबाको कथा झल्झली दिमागमा थियो । दौंतरिको लहै-लहै मा बाबाले नि 'गुर्खा' मा टराइ गर्नुभा रेछ, गल्ला वालाले "ओई बाजे, बाहुनको छोरो भएर नि फौजमा जान खोज्ने हो !" भन्दै झापारेर पठाइदे पछी बल्ल वहाँको पढाईप्रती मोह जागेको रे ! अब आफुले नि जबर्जस्ती मोह जगाउनु पर्ने भयो ! 
 
 
चताराको सेकुवा र भेडेटारको चिकेन चिल्ली संग घरेलु माल्पानी खांदै जसोतसो ISc सक्काइयो । कि त हात्तीसारमा बिटेक गर्ने कि पुर्वाञ्चलमा बिई गर्ने गुरुको र मेरो प्लान थियो तर घरबाट राजधानी खेदाइ छाडे । आफ्नै बलबुतोले हो कि भन्सुनले हो, तेस्मा शंकै छ तर केयु मा भर्ना चाइं पाइयो । 
 
 
सुरुको दिन intro मै बित्यो, थोर बहुत्का थोपडा र ठाउँ-ठेगाना नि दिलमा छापिए तर विश्व सुन्दरी भ्रम पाल्नेहरुले पहिलो भेटमै घांस किन हाल्थे र ? दोश्रो दिन नि आशिलो नजरले हामी पछाडितिर ढुकिराथिम्, एउटी बाला हामीतिरै सोझीईन्, देख्न त हिंजै देख्या हो तर तेत्तिसारो वास्ता गरिएनछ क्यारे । 
can i seat here ? सानो मिक्की माउससंगै २-४ वोटा चाबी झुण्ड्याएको आफ्नो रातो झोलाले मेरो देब्रेतिरको सिट इंगित गर्दै सोधिन् । 
yes, please. मैले नि एही भन्ने तर्खरमा थिएं तर गुरु अग्गु भईहाल्यो, भलै उ मेरो दाहिनेतिर बसेको थियो । धन्न प्रभु, कोही त टेम पास मिल्यो भनेर चित्त बुझाएं मैले । 
 
 
जिना नाम रहेछ ऊस्को, मतुवाली थरकी । बाबा इन्डियन आर्मी रे, जन्म र हुर्काइ ऊतै भएछ । टुटे फुटेको नेपाली बोल्थी, ऊसँग बात मार्दा कि हिन्दी कि त अंग्रेजिमा बोल्नुपर्ने भो । अंग्रेजिमा त हालत अलिक टाइट नै थ्यो आफ्नो त्योबेला तर दिलिप साब र स्वर्गिय राजेश खन्नाको फ्यान भएर होला, हिन्दी भाषा काम चलाऊ नै थियो मेरो; ऊस्को र मेरो दोस्ती जम्ला जस्तो भो । 
 
 
तेश्रो दिन पनि हामी ऊसैगरी नैन बिच्छ्याएर बसेकाथेम्, जिना कुनै पुरानो अंग्रेजी ऊपन्यास पढ्दैथी । हिंजो अस्ती नदेखेकी एक नव युवती हाम्रै तिर आइ, गुरुको सत्र पर्ला जस्तो छांट्कांट देखियो । कपाललाई खास्सै मेहनत नगरि डल्फिन जस्तो देखिने निलो कांटाले पछाडि च्यापेकी, स्क्रु जस्तो बटारिएको सुनको नथिया, सानो कालो टिकुली र कालै टप लाएकी त्यो मोरी त नभन्दै गुरुकै छेउमा पो गएर बसी ! मैले पछुतो नजरले एस्सो हेर्दा, गहुंगोरो वर्णकी - हिस्सी परेकी त्यो सुन्दरिको ओंठको चिपिष्टिकमा बल्ल मात्रै ध्यान गयो । गुरुलाई कुहिनो हान्दै डेस्कमुनिको ऊस्को खुट्टामा प्याट्ट लात्तो हिर्काएं, उ अब रत्नाकर डांकाबाट बाल्मिकी भैसक्याथ्यो, झोलाबाट प्रोग्रामिङको किताब निकालेर करीब ३ हप्ता पछी पढ्नुपर्ने एल्गोरिदम आजै पढ्न थाल्यो ! 
 
 
डिस्टर्ब गर्नु ऊपयुक्त छैन भन्ने निश्कर्ष निकालेर नाश्ता ब्रेकको घण्टी बज्नासाथ म एक्लै चमेना गृहतिर लागें, पछी-पछी दौडंदै जिना आइपुगी । ऊस्लाई पाश्चात्य साहित्यको खुबै राम्रो ज्ञान रहेछ, मेरो सामान्य ज्ञानमा पनि हल्का फुल्का गफ दिन भ्याउने खुराक भएकोले चना-तरकारी-समोशा-कोक र चिया सँगै हामी निकै बेर समालोचक भै टोपलिम् । 
 
 
क्लास सक्केपछी हामी बाहिर निक्लिन हतारिंदै थिम्, चुरोट तान्नु जो हतार थियो, रिया; विहानकी नव युवती, ले गुरुलाई रोकी । म बाहिर निस्केर सुर्य तान्दै गुरुलाई पर्खि बसें । 
don't you think its a bad thing ? जिना मसंगै बसेकी थि, ऊपदेश दिन थाली । 
may be, but who cares ? मैले फुर्‍र धुवां छोड्दै भनें । 
exactly. ऊस्ले आफ्नो मिक्की माउसवाला झोलाबाट कुनै बिदेशी ब्राण्डको चुरोट निकालेर पो तान्न थाली, म ट्वां परें ! 
you too smoke ?? 
sometime. 
 
क्या हो गुरु ? मछ्लीलाई त जाल नि हान्नु पर्याछैन, लौ समात् भनेर पानी बाइर आफै आउंदैछन् हं ! राती सुत्ने तर्खरमा मैले सोधें । 
किन ? रन आउट भएं भनेर डाहा लाग्यो ? 
क्रिजमा गएर त जो नि ऊम्मिन्छ बाबु, ब्याटिङ पो गर्न सक्नु पर्‍यो त ! 
छक्का ठोकिन्छ गुरु, हेर्दै जा न । 
लु है मेरो शुभकामना, धेरै जोस्सेर बोल्ड नभएस् फेरी । अनी किन रोकेकी रैछे नि रियाले, कतै आजै i love you त भनिन ? 
तेरो मुखमा .... (चल्तिको चक्किको नाम लियो) यार ! तर आज नोट मात्र मागेकी थि, ऊस्को २ दिन छुटेकोले । 
नोट त हाम्ले नि सार्याथिम् त बाबै, बाल्मिकीजी कै हेन् राइटिङ किन मन परेछ त ! 
कृष्णजीलाई पहिलेइ बुक देखेर होलानी ! खान्दानी सपना साकार होलाजस्तो छ त, बाउ लाउरे हुन नसके नि सशुरो बाउ लाउरे परेछन् । 
चुप्लाग् साले, just friend. 
२ दिन्मा जस्ट फ्रेन्ड, ४ दिन्मा बेस्ट फ्रेन्ड, १४ दिन्मा बेड फ्रेन्ड ! हजुर त प्रगतिशिल मान्छे, गरामा फाली कैले अड्क्या छ र ? 
खेत त ऊर्बर नै होला सायद तर खेती गर्ने नै मुड छैन, बुझिस् ? 
तेसोभे सिजनल खेतिपाती मात्रै हुने भो त ? 
त्यो नि मन छैन यार, यो बारी बांझै रला' जस्तो छ । 
नापियो, भोको बिरालोले कैले सम्म मुसा नखाने नाटक गर्दोरेछ - हेरुम्ला । 
 
 
बित्दो समयमा हामी चार जनाबिच प्रगाढ मित्रता झाङ्गिदै थियो, अरु तीन अनुहार पनि सर्कलमा समाहित भए; रुबी, शरु र जीवन । अब optional छान्ने वा alternate राख्ने पनि सौभाग्य प्राप्त भो - लड्का हामी तीन र लड्की ऊनिहरु चार भाकोले । तर धरोधर्म म तेतिन्जेल सम्म नि neutral नै थें, कहीं-कतै 'क्लिक' भईराथेन । कलेज छिर्नु अघी, इन्टर्भल वा घर फर्किने बेला; गेट बाहिरको सानो चिया पसलमा हामी एक-अर्कालाई कुरी बस्थेम्, रामेछापतिरका बुद्दी दाइको चिया पसल थ्यो त्यो । गुरु, म र जीवन गुट्खाको फांको हालेर सुर्य तान्दै कुर्थेम् भने जिना, रिया, रुबी र शरु भने देख्दै पिरो न पिरो होलाजस्तो त्यो रातो तितौरामा जुटेका भेटिन्थे - अनी जिनाको हात्मा ऊस्को बिदेशी ब्राण्ड नि हुन्थ्यो । 
जिना, wanna try this ? म कहिलेकाहीं सुर्य पास गर्न खोज्थें । 
no thanku, may be 'lil tough fo'me. 
अरे ! तुम्ने नेपालमा आएर सुर्य नही खाया तो कुछ नही खाया । जीवन हावा भर्थ्यो प्राय । 
देखेङ्गे यार, अभी क्युं गले पड् रहे हो ? जिनाको जवाफ हुन्थ्यो ।
 
 
म अलिक फरासिलो मिजासको थिएं, साथीभाइसामु जोक, कविता वा गीत गुनगुनाइ रन्थें । ऐले त stand-up आर्टिष्टका बकाइदा नाम-दाम सहित एल्बम निक्लिन्छ तर त्यो बेला गुमनाम आर्टिष्टका हिन्दी क्यारिकेचरका टेप निक्लिन्थे, मेरा जोकका खुराक तेही हुन्थे, अमिताभ बच्चनको 'नाम दिनानाथ चौहान ..' देखी हेमाजीको 'युं तो मुझे ज्यादा बात कर्नेकी आदत तो है नही ..' सम्म एउटै आर्टिस्टले भ्याएको हुन्थ्यो । गीत-संगीतको माम्लामा चाइं aerosmith र rolling-stone ले दिमाग कब्जा गरेकाथे । अनी कविताको हकमा चाइं, कैलेकांई चक्किहरु न बढी न कम भेर ठीक्क सन्तुलन्मा खाइयारैछ भने, मलाई आँफै फुर्थे । 
 
 
पाठ्यक्रम तन्काउनु पर्दा वा पिरेड सक्काउनुपर्दा; अब त गुरुजन पनि भन्नुहुन्थ्यो, 'ल एउटा इन्टर्नेट जोक भन त' ! 
कुरा के भाकोथ्यो भने म चुट्कुला सुनाउदै गर्दा, " .. फलानोले  त्यस्तो भनेसी ढिस्कानोले के भन्यो भनेर ब्याखा गर्दै जांदा .. ढिस्कानोले पनि एता ऊताको या हु कुरा गर्दै .. "  भन्दो रैछु, तेही "या हु" लाई लिएर गुरुजन भन्नुहुन्थ्यो, 'ल एउटा इन्टर्नेट जोक भन त' ! आफुसँग खुराक प्रसश्तै हुन्थ्यो, म नि गएर सुनाइदीहाल्थें । 
 
 
एक दिन कुन्नी के मुड चल्यो युवराज सरको, गीत गाउन भन्नुभो, मैले नि एत्तिकै गाइदिएं ... तुम अगर साथ देनेका वादा करो मै युंही मश्त नग्मे लुटाता रहुं ... । 
क्रमश: 
Last edited: 20-Dec-12 03:44 PM

 
Posted on 12-15-12 6:14 PM     [Snapshot: 48]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 क्यालिबर ब्रो को प्रस्तुति वाह बयान गर्ने शब्द कहीबाट पनि पाउदिन शब्द कोष नै रित्तियेजस्तो लाग्छ ल अर्को भाग को पर्खाइमा ..........
 
Posted on 12-19-12 11:14 AM     [Snapshot: 240]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 क्याली मित्र (काहिलादाई ) , घच्चीको लेख्यौ फेरी पनि. बास्तबिकतालै काल्पनिकतासंग संसय गरेर अगाडी बढेको मज्जा आयो पढेर . ल कर्मश पछिको लेख पढ्न लालायित छु. 
 
 - थाने 

 
Posted on 12-19-12 1:47 PM     [Snapshot: 285]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 काइला दाइ, पधेरो र चौतारी मा गफ चुटेर , कथा लेख्न ढिला भए जस्तो छ......घच्हिको गयो नि, अर्को भाग को पर्तिक्ष्या मा...
 
Posted on 12-19-12 2:11 PM     [Snapshot: 293]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भएन अर्को भाफ तु..... हाल्नु पर्यो

कहा आएर रोकेको भन्या - राखुम राखुम अर्को भाग चाडै राखुम

 
Posted on 12-19-12 4:24 PM     [Snapshot: 347]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 chado hai chado, arko bhag padhna hataar bhai sakyo. 
 
Posted on 12-20-12 4:09 PM     [Snapshot: 445]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 उपहार (कथा) भाग २ 
 
 
मैले नि एत्तिकै गाइदिएं ... तुम अगर साथ देनेका वादा करो मै युंही मश्त नग्मे लुटाता रहुं ... । 
 
 
यो गीतले कत्तिका मनमा घण्टी बजी सक्या रैछ, आफु भने - बेखबर ! जे होस् दिनहरु हंसी-मजाकमै बितिरहेका थिए, म तेसैमा चित्त बुझाईराको थिएं । अनी हाम्रो ब्याचमा अलिक नमुना प्राणीहरु नै जम्मा हुन पुगिएछ; कोही किताबमै आंखा गाढेर पिल्लर र भित्तोतीर ठोक्किंदै हिंड्थे, कोही एनालग क्यामेरा घांटिमा झुण्ड्याएर कुकुरको घुमेको पुच्छर पनि बडो उत्सुक्ताकासाथ फोटो खिच्दै हिंड्थे, कोही "भर्खर चार चोटि त भो" भन्दै भेटैपिच्छे भेटेजतीसँग हात मिलाउंदै हिंड्थे, कोही "c मा coding गरो' त" भनेर classwork द्या बेलां powerpoint मा पानको पात र pagemaker मा 'सुचना ! सुचना !! सुचना !!' बनाइ बस्थे । हामी भने microsoft ले certified गरेका भन्दानी अझ उच्च कोटिका मिस्त्री बन्ने धुन्मा हुन्थिम् । 
 
 
गुरुले र मैले एक-एकवोटा डेस्कटप किन्याथिम्, अलिक भाग्यमानी पुस्ता रइछम् हामी, १७ वोटा floppy ले OS हाल्नुपर्ने र command promt मा computer चलाऊनुपर्ने बाध्यता थेन, custom assemble गरिएका GUI डेस्क्टपहरु छ्याप्छ्याप्ती पाइन थाल्याथे । तर बांदर बेसी जान्ने भो भने आफ्नै कुन्नी केजाती च्याप्पिन्छ भन्थे, मतीको घैंटोमा बिर्को लाएसी इन्द्रेका बाउ चन्द्रेकोनी के लाग्छ र ? हप्तैजसो हामीले कुनै न कुनै नविन प्रगती हाशिल गरि रन्थिम्; कैले hard disk को jumper भांचिन्छ, कैले fan चुंडिन्छ, कैले RAM को slot कुच्चिन्छ, कैले processor को pin बांगिन्छ .. उपलब्धिहरु त कति-कती । पढाई र प्रोजेक्टको नाम लिनासाथ धन्न घरबाट पैसा पठाइदिहाल्नाले तई  हाम्रो अनुसन्धान अबिरल चलीराथ्यो । 
 
 
भेडा भेडासँग, बाख्रा बाख्रासँग भन्याझैं भगवानले नि कता-कताबाट ठ्याक्कै उस्तै-उस्तै मनुवाहरुलाई एकठाउंमा जुराइदिंदा रेछन् । हाम्रो ग्रुपमा सबैलाई लगभग सब्थोक चल्ने । सबका गोजिमा धेर-थोर द्रब्यको बास नि भईराख्ने अनी त जहाँ-जतिखेर-जे भन्यो; बास् .. सब रेडी ! ग्रुप मध्यमा हामी ३ जना पुलिङ्गहरु भ्याली बाहिरका थेम् भने शरु, रुबी, रिया र जिना रैथाने थिए । शरु अलिक टम ब्वाय टाइपकी थि, केटाहरुसँग जोल्टिंदै हिंड्नु र अलिक छाडा मानिने शब्दह्ररु बोल्नु उस्कालागी दाल-भात नै थियो । रुबी घरानीया खान्दानकी थि, उस्का हरेक साईनोपात पछी हजुर र वाक्य पछी बक्स्यो झुण्डिन्थे । हामी भने उस्लाई ट्युबलाइट भन्थिम्, अलिक सुस्त मनस्थितीकी जस्ती थि; उसँग जोक गर्नु बेकार जस्तै हुन्थ्यो, कैले बुझ्दै बुझ्थिन कैले धेरैपछी बुझ्थी । ग्रुपमा कौवाको फुल चोर्ने जस्ती रिया नै थि, सायद ब्यापारी बाउकी छोरी भएरनी होला । लुगाफाटो र श्रिङ्गार पटार पनि चिटिक्क कै हुन्थ्यो उस्को । जिनाको पुर्खेउली घर कास्कीतीरै भएनी बाबा रिटायर्ड भएसी भर्खर-भर्खरै मात्र काठमाडौं  झरेका रे । 
 
 
मेरा बाउ सरकारी कारीन्दा भैहाल्नुभो, गुरु डा. साबको सुपुत्र, जीवनको पिताजी चाइं नेताजी पर्नुभो; देशको लागि वा आफ्नो बैंक ब्यालेन्सका लागि नेताजीले के-कस्तो त्याग र बलिदान दिनुभाथ्यो - उबेला हाम्रो सरोकारको बिषय थिएन । 
 
 
भोली तिमेरुकोमा सिडी ल्याएर फिलिम हेर्ने ल ।
बिदामा केटीहरु प्लान तयार पार्थे, हाम्लाईनी दिन क्यारी काटौं भाबेला रमाईलै हुन्थ्यो । कैले काभ्रेको भाले, कैले गण्डकीका माछा, कैले सल्यानको खसी त कैले धरानको बंगुर भनिने मुख्य परीकार पाक्थ्यो । साइडमा आ-आफुले महारथ हाशिल गरेका विशेष व्यञ्जन नि हुन्थे; उसिनेको आलु र भिजाएर भुटेको केराउमा तिलको छोप हालेर हरियो खुर्सानी र मेथिले झानेको अचार म बनाउंथे, कालो नुन र गरम मशलाले सिजनिङ्ग गरेर गुरु स्प्यारेगस फ्राइ गर्थ्यो, मसिनो गरी काटेर डिप फ्राइ गरेको आलुको भुजुरी जीवनको जिम्मामा हुन्थ्यो, फल्फुल र कांचै खान मिल्ने तरकारीहरुलाई खुबै मेहेनतले काटिसकेपछी फेरी उस्तै मेहेनतले सजाएको स्यालाड जिना तयार पार्थी, च्याउ र बकुल्लाको ग्रेभिवाला तरकारी रियाले पकाउंथी, अदुवा-लसुन्-प्याजका टुक्राहरु राखेर रुबिले पोलेको टमाटर र पुदिनाको लेदो अचार तयार पार्थी, शरु अलिक अल्छि परेकिले उस्को डिउटी भात पकाउने मात्र हुन्थ्यो । गुरुलाई र मलाई त सुर्यविनायकको खोया बिर्को र जावलाखेलको सिलबन्दी नी चल्थ्यो तर जमघटको बेला जोनी वाकरकै जुगाड गरिन्थ्यो, जिना पनि VAT 69 बोकेर आउंथी । केटीबर्गहरु फेन्टा मिसाएर प्युंथे, हामी त imported माललाई local पानीले किन बिटुलो पार्ने भनेर निटै हान्दिन्थीम् । सांच्चै कमलो मन भएर हो कि दारुको करामतले हो त्यो त दैव जानुन्, सिनेमाका सेन्टी सिनहरु हेर्दै गर्दा केटीहरु प्राय: २-४ अश्रुथोपा तुर्क्याइहाल्थे; हामी कोठै थर्कने गरी हांस्थेम्, उनिहरु लजाउंदै गाजल नै पुछिने गरी आंशु पुछ्थे । 
ओेए ! एस्तो था भेत अघी नै बाल्टी दिन्थेंनी, मोजा धुनु थियो । कसैले जोक मार्थ्यो । 
एक पेगजती त रोएरै खेर गोहोला, लौ तेस्को शोधभर्ना गरुम् । उनिहरुको जवाफ हुन्थ्यो । एवं रितले चियर्सहरु जान्थे । 
 
 
बिदाका दिनहरु मात्र नभएर उबेला हाम्रा पढाईका दिनहरु पनि उत्तिकै रमाइला हुन्थे । कक्षामा पछाडी बसेर गर्ने खास्खुशले मात्र नपुगेर क्यान्टिनमा खाजा खांदै, बुद्दी दाइकोमा चिया-चुरोट तान्दै तथा छतमा चुइङगम पड्काउंदै पनि हामी नानाभांतिका गफमै जोत्तिरा'हुन्थीम् । गुरुबा नभाको बेला whiteboard मा गीतका अनेकन मुखडाहरु, शायरीहरु, कविताका पंक्तीहरु लेख्ने र फेरी तेस्कै दोहोरी खेल्ने क्रम पनि चल्थ्यो । जीवन र रुबी नजिकिंदै थे, हामी सबलाई दालमे कुछ काला है भन्ने लाग्थ्यो । खै ! जीवनले आफ्ना दिलका गुलाबहरु त्यो सुस्तेको बंजड कालाहारीमा कसरी फुलाम्ला भनेर कल्पेको थ्यो, जेहोस् केटोको हिम्मतलाई भने हामीले दात देकैथेम् ! हामीले कती पटक कुनै प्रसँग वा परिस्थितीलाई बंग्याएर छेड्खानी पनि गर्थिम् तर सदाझैं 'गैल भैंस पानीमे' हुन्थ्यो - ट्युबलाइटले बुझे त मार्दिनु ! जीवन उस्को simplicity मन पर्छ भन्थ्यो हामीसँग तर रुबीसँग त तिम्रा आंखा र ओंठ मन पर्छ भन्दो हो, तर म बाजी ठोकेरै भन्न सक्छु, बिचरोले जवाफमा मस्कारा र लिप्ष्टिकको ब्रान्ड र मुल्य सुन्नुपर्दो हो ! फाटिमर्नु थ्यो जीवनलाई ! 
 
 
उसैगरी गुरु र रियाको बिचमा पनि केही त पाक्दै छकी भन्ने शंका गर्थे ग्रुपमा । रिया त सिरियस नोटमै इन्कार गरिदिन्थी तर गुरु भने नौ ठाउंमा भांच्चीदै, होइन भन्थ्यो; तेसैले कम्सेकम वान साइडेड त होकी जस्तो लाग्थ्यो उनिहरुलाई । यो ज्यानलाई भने कता-कता जिनाले हिन्ट देजस्तो लाग्थ्यो ! तेस्को यकिन गर्ने कुनै शस्त्र र शास्त्र त केइथेन, उस्ले पनि खुलेर केइ भन्थिन, मैले त झन आफ्नो सेफ साइड कहिलेइ छोडिन । जिस्किंदा-जिस्किंदै भने कहिलेकाइं जिनाले फ्याट्ट भन्दिहाल्थी, "तिमी जस्तो पार्टनर पाउने त हर लड्किको ख्वाब हुन्छ । कहिले जाने हो त, सफेद घोडा चढेर बसन्तीलाई लिन ?" 
के गर्नु, बसन्तीलाई लिन जांदा गब्बर सिंहले फेरी ठाकुर बनाइदेलान् भन्ने डर ! म पनि जिस्किदिन्थें । 
तर अब कलासका अरुले पनि हाम्रो बारेमा कान ठाडो पार्न थालेका थिए, कहिलेकाँहीं गुरुबाहरुले पनि अप्रत्यक्ष किसिमले सटाएर मार्नु हुन्थ्यो । पढाईरहेको बेलामा जिना र म पछाडि खुसुर-फुसुर गरेको देख्नु भो भने हाम्रो नाम नलीईकनै गुरुबा भन्नुहुन्थ्यो, "family planning का  लागी टन्नै टाइम छ हो, अहिले त पढ्ने टाइम हो ।" हामी कुन्नी कोलाई भन्या हो जसरी बाल दिन्थिम्, एकछीन सतर्क भएजस्तो गरेनी अर्को क्षण त पारा फेरी उही हुन्थ्यो हाम्रो .. आफ्नो बानी काइं नजानी ! 
 
 
एकदिन ब्रेकको बेलामा म पछाडि 'हम जाएगा' को जोक भन्दैथिएं, ग्रुप बाहिरका नि ५-७ जना थिए, अगाडिपट्टी कोही पढ्दैथे, कोही टि-स्केलले केकेजाती कोर्दैथे, जिना whiteboard मा केही लेख्दैथी । 
एसपछी के हो थाहा छ कसैलाई ? उस्ले हामीतिर हेर्दै सोधी । हामी सबले whiteboard तिर हेरिम्, अरुलाई त था भोकी भएन कुन्नी तर मैले कहिं-कतै पढेकोथें, पुरै कविता याद नभएनी जिनाले लेखेका चार पंक्तिहरु P. B. Shelley को Mutability भन्ने कविता बाट थियो 
 
we rest - a dream has power to poison sleep 
we rise - one wandering thought pollutes the day; 
we feel - conceive or reason laugh or weep 
embrace fond woe, or cast our cares away. 
 
मलाई एसपछी त राम्रोसँग था छैन तर Shelley कै अर्को पोएम बाट लेख्दिन्छु । मैले अगाडि जांदै भनें, र उस्को हातबाट मार्कर लिएर Ode to the West Wind भन्ने कविताको अन्तिम चार हरफ लेखिदिएं 
 
ashes and sparks, my words among mankind 
be through my lips to unawakened earth 
the trumpet of a prophecy, oh wind 
if winter comes can spring be far behind ? 
 
oh, thanku sweetheart ! this is too good. उस्ले मुस्काउंदै भनी । तर उस्को 'मुस्कान' र 'thanking' मा भन्दा नि मेरो दिमाग 'sweetheart' मा गएर ठोक्कियो । 
अहं - अहं अब त खुल्लेआम नै ? गुरुले बास्यो । 
त्यो पनौती दिमागमा अरु त केइ आउंदैन है ? हिंड् जाउं बाइर । हातको मार्करले झटारो हान्दै मैले भनें । 
ओेए माम्पाखाहरु ! कोइ नजाव है तिमेरु, कबाबमा हड्डी किन बन्नु पर्‍यो ? .... जस्तो ! गुरु र जीवन उठ्नै लागेका थे शरुले सातो लिई । 
लौ त पानीमरुवा महोदयहरु, म त लागें को-को आउने हो आव है ! म बाहिर निक्लें, पछी-पछी जिना आई, हामी सिंढी ओर्लंदै गर्दा अरु ४  जना पनि लुखुर-लुखुर आइपुगे, रियाको के काम बांकी छ भनेर उ उतै बसीछ । 
 
 
अर्को दिन जिनाको व्यबहारमा निकै परिवर्तन दिखियो, देब्रे हत्केलामा ब्याण्डेज गरेकिथी, घरमा स्यालाड बनाउदा हात काटिछ । संधै बाख्राको पुच्छर खा' जस्तो चटर-पटर गर्ने केटी त त्यो दिन खै किन हो सारै शान्त र गम्भिर देखिन्थी । 'के भो, सञ्चो छैन कि' भनेर मैले र अरुलेनी थुप्रै पटक सोधिम् तर उस्ले केही भाको छैन भनेर आल्टाल गरी । मलाई लाग्यो सायद महिलाहरुको मासिक समस्याको कारणले गर्दा उस्को मुड डाउन भएको होला । पहिलो पटक होला सायद, उ चुरोट तान्न बाहिर पनि आइन, मैले नि कर गरिन । हामी सदाझैं आफ्नै धुनमा हाहा-हुहु गर्दै त्यो दिन बिताइम्, हामी अन्जान थिईम् तर एउटा डरलाग्दो भावी घटनाले हामीलाई पर्खि बसेको रहेछ । 
 
कोठातीर फर्कने बेलामा जिना आफैले मेरो ब्याग खोलेर अरुले नदेख्नेगरी एउटा नोटबुक हालिदीई र ब्याग बन्द गर्दै सानो स्वरमा भनी 'रुममा' । मैले संभावित कारणहरु अनुमान गरें, बाहिर आएर चिया-चुरोट पनि नखाइ छुट्टीईम्, घरबाट आज फोन गर्ने भन्याछन छिट्टै जानु छ भनेर मैले बाहाना बनाएं; अरुले त पत्याए तर गुरुले अचम्म मान्दै हेर्यो मात्रै, जिना फिस्स हांसी मात्रै । 
 
 
कोठामा पुग्नासाथ हत्त न पत्त ब्यागबाट जिनाको नोटबुक निकालेर हेरें, प्रेमपत्र भन्नु कि प्रेमपुस्तक भन्नु; रहेछ । हाम्रो भेट भए देखिको दास्तान लेखेकी रैछ । मलाई आफु त साधारण नाक-नक्सा भाकै हरिलन्ठु जस्तो लाग्थ्यो तर उस्लाई भने कैले मेरो ब्यक्तित्वले आकर्षित पार्दो रैछ, कैले मेरो ह्युमरले खुशी पार्दो रैछ, कैले मेरो साहित्यप्रतिको रुची र ज्ञानले अच्चम्मित पार्दो रैछ, कैले मेरो जातपात र धार्मिक धारणाले प्रभावित पार्दो रैछ, कैले मेरो सहयोगी भावनाले प्रेरित पार्दो रैछ अनी कैले मसँगै जुनी-जुनी बांच्ने उस्का अनेकन मिठा सपनाहरुले उसैलाई रोमाञ्चित पनि पार्दो रैछ । 
 
 
पत्र पढि सक्काएं, एकै साशमा तर हजारौं धड्कनहरुले छाती कम्पित पार्दै । तेस्पछी झनै उदेक लाग्दो कुरा थियो; हरेक पृष्‍ठमा २-४ शब्दहरु लेखेर करीब २० पृष्‍ठमा 'हमराज' को उही गीतका चार पंक्ती लेखिएको थियो जुन मैले पहिलो पटक कक्षामा गाएकोथिएं 
 
मैने खाबोंमे बर्षों तराशा जिसे तुम वही सँगमर्मरके तस्विर हो 
तुम ना सम्झो तुम्हारा मुकद्दर हुँ मै मै समझता हुँ तुम मेरी तकदिर हो 
तुम अगर मुझको अपना समझने लगो मै बहारोंकी महेफिल सजाता रहुं
तुम अगर साथ देनेका वादा करो मै युंही मश्त नग्मे लुटाता रहुं   
 
म सहजै अड्कल काट्न सक्थें; ति पंक्तिहरु हर्ष-उमंगले उन्मत्त भएर पक्कै लेखिएका थिएनन्, बरु निकै भावुकता र पिडाले लेखिएका थिए; ति पंक्तिहरु साधारण-सस्तो स्याहीले कोरेर पक्कै लेखिएका थिएनन्, बरु तातो र रातो रगतले लेखिएका थिए । "हेरन, हिंजो जल्दबाजीमा सब्जी चप गर्दा काटियो" विहानको उस्को त्यो वाक्य र ब्याण्डेज गरेको हात, अब एउटा सुइरो बनेर मेरो मुटुमा च्वास्स रोपियो ।  
 
 
जांगर चलेको बेला म कोठा बाहिर पुगेर चुरोट खान्थें तर त्यो दिन खाटमै बसेर सल्काएं । चुरोट क्रमश: घट्दै थियो, मेरो मथिंगलमा तर्कनाहरुक्को ओइरो बड्दै थियो । के कसैले कसैलाई यो हदसम्म प्रेम गर्छ र ? या यो प्रेम नै होइन, फगत आकर्षण हो, वा मुर्ख्याइं हो ? म उस्लाई के जवाफ दिउं ? उस्को प्रस्तावलाई स्विकार्ने अथवा इन्कार्ने के आधारहरु छन् मसँग ? यदी केही छन् नै भने पनि, ति आधारहरु पर्याप्त हुन् ? जायज हुन् ? मानविय संवेदनाहरुलाई सही-गलतको तराजुमा मापन गरिनु र सार्थकताको प्रयोजनमा निर्क्योल गरिनु उचित हो कि होइन ?  मैले आफ्नी भावी संगिनिको जुन तस्विर कोरेको छु, के त्यो तस्विर जिनाकै हो त ? 
 
 
म यि र एस्तै यावत सवालहरुलाई सुल्झ्याउने क्रममा, उल्झिंदै थिएं; गुरु फ्रेश भैवरी मेरो कोठाभित्र छिर्यो । 
क्या हो, आज त लब-बर्डहरु दुबै जना किन अप्सेट नि ? 
केइ होइन यार, अल्छि लाइराछ । 
ए ! अल्छि लागेपछी त घरबाट फोन पनि आउंदो रेछ, कस्तो अचम्म है ? गुरुले अघिको मेरो झुट समात्न खोज्यो । 
के अब गोरखापत्रमै छपाउनु पर्‍यो त, लु है मलाई अल्छि लाग्यो भनेर ? अप्रष्ट प्रतिप्रश्न गरें उल्टै उस्लाई । 
लु, जांसुकै छाप्नु पर्ने हो छाप्तै गर्, आफुलाई त अर्को घांडो आइलाग्या छ, computer बुटै भएन भन्या । 
के भो त फेरी ? हार्ड डिस्कै उडाइस् कि के हो ? 
डिस्क त नजानु पर्ने यार, बरु डाटा केबल बिग्रियोकी जस्तो ला'छ । तेरो लगुम् एकछिन, तं नचलाऊने भए ? 
लैजा खोलेर, त्यां ड्रअरभित्र booting file को हरियो floppy होला, त्यो नि लैजा न । 
हैन यो संधै खोलीरने ठांडोलाई पनि किन सप्पै screw कसेर राख्या हो ? गुरुले भुत्भुताउंदै chassis खोल्यो र data cable र floppy समातेर बाहिरियो । 
 
 
के गुरुलाई अघिको नोटबुक प्रसँग भन्नुपर्ने थियो ? उ बाहिरिना'साथ मेरो दिमागमा अर्को प्रश्न भित्रियो । हैन, केही सिमित कुराहरुलाई दोस्ती यारीको सिमारेखा भन्दा बाहिरै थन्क्याउंदा उपयुक्त हुन्छ कि जस्तो लाग्यो । फेरी, सायद; म भोली जिनालाई 'i love you too' पनि त भन्दिन होला ! हो, सायद; जिना समक्ष म उस्को प्रस्ताव स्विकार गर्न नसक्ने क्षमा चढाउने छु ! कारण ? सायद; हामी एक-अर्काका निम्ती बनेका होइनौ । प्रेम अन्धो हुन्छ भन्छन्, धेरै हदसम्म यो सत्यलाई म पनि आत्मसात गर्छु किनकी प्रेममा मानिसले जात-पात, धनी-गरिब, कुरुप-सुन्दर; केइ नि हेर्दैन । गधीपे दिल आया तो परी क्या चिज है, भन्छन् । तर त्यो दिल आउनुमा, त्यो अन्धोपनामा; कुनै पनि क्षण, कसैसँग पनि र कारण जेसुकै भए पनि - कुनै एक अलौकिक तत्व वा जादुले काम गर्नुपर्ने हुन्छ । अनी न मानिस धर्मका ठेकेदारहरुलाई चुनौती दिन पनि तम्सिन्छ, घर-परिवार र सिंगो समाजसँग एक्लै भिड्न पनि जोस्सिन्छ, र परीआएमा ज्यानै दिन पनि अघी सर्छ । सायद; तेही जादुले जिना मन्त्रमुग्ध भैसकेकिथी, तर म अछुतो थिएं । सायद; अब जिनाले चाहेर पनि त्यो जादुको प्रभावबाट उम्किनु जती असम्भव थियो, मैले चाहेर अब त्यो जादुको प्रभावलाई जबर्जस्ती अप्नाउनु पनी उतिनै गाह्रो थियो । र, यो ढोंगिपना म गर्न चाहन्नथें पनि । 
 
 
बिरालोको घांटिमा घण्टी कल्ले बांध्ने ? भन्या जस्तो, मुख्य समस्या आएर टुंगियो; जिनालाई के भनेर सम्झाउने ? no, i don't love you. मात्रै भन्ने मन मेरो फिटिक्कै थिएन । आखिर उ मेरो मिल्ने साथी थि, एसर्थमा जरुर मेरो माया र सहानुभुती उप्रती थियो, अनी कुनै जघन्य अपराध पनि त गरेकी होइन उस्ले कसैलाई प्रेम गरेर र मनको कुरा भनेर, तेस्कारण पनि उ hurt नहोस् भन्ने चाहन्थें म । हे प्रभु ! म के गरुं ? धरानतिर घम्सा-घम्सी हुंदा कि २-४ मुड्की बजाइन्थ्यो कि त २-४ मुड्की खाइन्थ्यो, केही क्षणमा जित-हारको टुंगो भैहाल्थ्यो । त्यो द्वन्द त साह्रै सजिलो लाग्यो अहिले सम्झेर ल्याउंदा ! अन्तरमनको द्वन्दमा बडा कठिन हुने रेछ, टुंगोमा पुग्न । 
 
 
अर्को दिन धरमर-धरमर भाको भारी मन बोकेर लागें म कलेजतीर । परबाटै देखें बुद्दी दाइकोमा जिना चुरोट तान्दै बसेकी ! मेरा पाइलाहरुको वजन गर्हौं भाको र चाल सुस्त भाको जस्तो एक्कासी भान भो । गुरुलाई सांच्चै नै चुरोट खाने मन थिएनकी, हाम्रो हिंजोको अप्सेट-पनाको केही गेस गर्याथ्यो कुन्नी, "मैले त भर्खरै मात्रै २टा तानेको, मुख तितो-तितो भैराछ, म त लागें है ।" भन्दै भित्रतीर हानियो, जिना उही हिंजो जस्तै फिस्स हांसी मात्र । 
ल दाई चिया । म एउटा सुर्य सल्काएर तेहीं अगाडि काठको बेन्चमा बस्दै भनें । देब्रेतिर फुर्‍र धुंवा फाल्दै जिनालाई पुलुक्क हेरें, उ ओंठ नखोलीकन मन्द-मन्द मुस्काउंदै मलाई नै क्वारक्वार्ती हेरिरहेकी रैछ ! लौ फसाद ! मेरो मुटु अब जोडजोडले धड्किन थाल्यो, साश पनि छातीभीत्रै कतै अड्क्या जस्तो भो । लौ जा त ! भन्ने सोचेर स्वाइं-स्वाइं ४ पपमै चुरोट सक्काएर फालें, टाउको भनन्न भा जस्तो भो, आज त खोइ !  चुरोट नि लाग्या जस्तो भो ! 
क्रमश:  
 

 
Posted on 12-20-12 4:36 PM     [Snapshot: 448]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 sarai ramro.....kahi katai kamjor pana chhaina, uttikai sabal ra salala bageko katha, arko bhag ko pratiksha ma. Caliber ko katha padhnai lai regular sajha ma aaune bhaye hai ma ta, pareko jo sukai le behoros. 
 
Posted on 12-20-12 4:51 PM     [Snapshot: 456]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो भाग पनि झक्कास गयो

एकदम इन्तिरेस्तिंग - अर्को भाग को प्रतीक्षा मा

 
Posted on 12-20-12 5:16 PM     [Snapshot: 482]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उत्तम प्रस्तुती, यो भाग नि एकै सासमा पढी सकाए | अर्को भाग चांडै आउने आश मा |

-फत्ते


 
Posted on 12-20-12 5:34 PM     [Snapshot: 493]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 36x36 जि, 
नाउ लिना नि गाह्रो बाइ यहाँको त ! प्रशंसाको लागि धन्यवाद । 
 
थाने, 
सुरुका ४ प्यारा र बिच्का एकाध घटनाक्रम बाहेक बांकी सबै पूर्णतया काल्पानिक नै हो, पात्र विशेषका नाम र काण्डहरु कोरा सम्योग मात्र हुनेछ; एदी कसैसँग मिल्न गएमा ! कथाको ३-४ वटा किसिम्का अन्त्यहरु दिमागमा छन् तर टुंग्याउंदा यथार्त होला कि काल्पनिक, तो ता म ऐलेइ एसै भन्न सक्दिन । 
 
बार्मासे, 
क्यार्नु बाबै ! कैलेकाइं यो बुढो मन्लाई नि चौतारीमा बात मार्न मन लाउंछ, पंधेरातिर सुन्तलिले नुहाउंदै गरेको हेर्न मन लाउंछ; तेत्ती त माफ दिनु पर्‍यो नि गांठे ! 
 
लरे माठ्साब, 
गिदिमा त सप्पै कथा रेडिमेड नै छ, माठ्साबलाई भाग-भाग गरेर कुराइ राख्ने धोको त यो ज्यानको नि होइन तर लेख्ने टेम जुराउनै हम्मे-हम्मे परेर मात्तै ! तैनी लागेपुगेको जोर जुलुम गरुम्ला । 
 
बाजे, 
तपाईंलाई विशेष धन्यवाद ! आमा पट्टिको न मामा पट्टिको मोरोले किन विशेष भन्यो भन्नुहोला; म त कथा पोष्ट्याएर हिंजैको प्रतिकृयाहरु बारे पनि केही लेख्न भ्याको थिन, ज्यानबाट त पढिवरी फेरी अर्को कमेन्ट नि आइसक्या रेछ - तेसैले ! एस्तो आंशु-पाठक पाएकोमा गद्गद छु है
म । 
 
फत्ते जि, 
यहाँलाई नि आभार, अर्को भाग भर्सक चांडै राख्ने टराइ गर्ने नै छु । 
 
साथै; itsbapres, hairybicep, durbarmarganepal लगाएत सबै पाठकलाई नि धन्यवाद । 

 
Posted on 12-20-12 7:24 PM     [Snapshot: 515]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 नशा न हो जिबन जति बाच्यो तेती  बाच्न मन लाग्ने 
कथा न हो calibre  को जति पढ्यो तेती पढिरहु   लाग्ने 

 
Posted on 12-21-12 9:21 AM     [Snapshot: 563]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 क्याली मित्र(कहिलादाई ),
तेही त भनेको मैले पनि केहि कहिँ बास्तबिकता र बाकी काल्पनिकतामा बुनिएको कथा भनेर.
 
स्कुल हुदाका दिनमा हाम्रा नि हालत जिनाको जस्तै थ्यो गाँठे , आज सम्म नि हातका कुनाकाप्चामा चिन्हहरु छन् पुराना खाटाहरु ..... त्यो स्टारलाइन डोटपेनले हातमा घाउ बनाउदै उसका नाम लेखेको, होस्टेलको पछाडी बसेर सपना साटेको, अनि उसले स्कुल छोडेर जाँदा त्यो नाम बिलेदले काटेको ..... 
 
साँधेको भगटे रहेछ जिन्दगि अलिकति खुर्सानी(पिडा) अलिकति तिलको छोप(पिसिएको पिल्सिएको थिचिएको) अलिकति दहि(कोमल)  अलिकति नून(स्वादिलो) अलिकति बेसर(रंगीन) अलिकति अमिलो(इमोशनले भरिएको)  अलिकति तातो तातो तेलमा फुराको मेथीले झ्वई परेको(मनका बिलौनाहरु झैँ ) अनि अलिकति चिनी (मीठो). पुरापुर ट्वाक्क टुक्का भएको मुखै रसाउने जिन्दगि , एउटा साँधेको भगते जस्तो, जति बाँच्यो तेती बाँचु बाँचु लाग्ने .
 
क्याली साथी ,दामी गो यो पाली नि ...... फेरी पनि अर्को भाग को पर्तिक्ष्यामा  

 
Posted on 12-21-12 9:51 AM     [Snapshot: 584]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 la arko bhag pani chadai padhna paye hunethiyo, aafnai love story jasto lagisakyo aafulai yaha. lol
 
Posted on 12-21-12 10:40 AM     [Snapshot: 602]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बल्ल आज हिउँ पर्र्या निहुँ मा भए नि पढ्न सकियो . बबाल ब्रो बबाल . आइ लभ यु भन्दिए हुन्छ. "जिना" कि दिल को मत तोड़ना...
 
शैली उत्तम, भाव भंगीमा उत्कृष्ठ , कथा जिवन्त. 

 
Posted on 12-21-12 6:01 PM     [Snapshot: 851]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 babbal gayo. 
 
Posted on 12-21-12 7:30 PM     [Snapshot: 873]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 उपहार (कथा) भाग ३ 
 
 
आज त खोइ !  चुरोट नि लाग्या जस्तो भो ! 
 
 
जिना, ब्रेकमा छतमा कुरा गरुम्ला ल । अलिक हिम्मत बटुलेर भनें, तर कुनै योजनाबद्द कथन थिएन यो मेरो, बातावरणलाई केही सहज पार्नुथ्यो तेसैले मात्र । 
अहिले नै भनन । कि जाने होर बाहिर कतै, एक दिन बंक मारेंगे तो क्या होगा ? आधीजती बचेँको चिया छेउतिर ह्वात्त फालेर उ मेरै छेउमा बस्न आइपुगी । 
हो नि, के नै हुन्छ र ? अंझ तेस्मा पनि तिमी जस्ती बहादुर केटीलाई ! स्यालाड बनाउदा काटियो होइन त त्यो ? मैले उस्को देब्रे हातको ब्याण्डेजतिर आंखाले ईशारा गरें । 
सब्को सामु कसरी भन्नु मैले ? मलाई लाज लाग्दैन कि के हो ? उ ओंठ लेप्र्याउंदै ठुस्के जस्तो गरी । 
एss ! jina the great लाई लजाउन पनि आउंछ र ? हजुरलाई त हात काटेर गीत लेख्न मात्रै आउंछ जस्तो लाग्याथ्यो त ! कांबाट आउंछ हं एस्तो चाइने-नचाइने काम गर्ने पागलपन ? रांची लाने बेला भाछ कि क्या हो ? मर्ने नै बिचार छ भने सिधै साइनाइड खाए भैहाल्योनी किन त्यो हातमा सानोतिनो काटिरनु ? चुरोट निकाल्दै मैले अलिक ठुलो स्वरमा भनें । 
लो करलो बात ! उल्टा चोर कोत्वालको डांटे ? तिम्ले त हो नि मलाई पागल बनाएको । मेरो हातको सुर्यको बट्टै उस्ले झप्टीई, एक खिल्ली निकालेर सल्काइ, लामो एक पप तानी, मेरै मुखतिर धुंवा छोड्दै "तैं मुले गल्ती गर्ने अझं तैं कड्किने" भन्ने आशयमा आंखा सन्काइ । मेरो रिस अब आश्चर्यमा परीणत भो, आज पहिलो पटक जिनाले सुर्य तानेकीथी, त्यो पनि कसैको अनुरोध बिना ! 
हेर, मलाई एस्तो फिल्मी कुराहरु आउंदैन र मन पनि पर्दैन । एस्तो बच्पना गर्नु गलत कुरा हो and you also know that. 
right now i know only one thing, my angry boy, and i love his anger, in fact his everything ! अहिले उ ओंठ खोलेर हांसेकी थि । तर मानिसको कहिलेकाइं केवल ओंठ मात्र हांस्दैन; उस्को आत्मा पनि हांसिरहेको हुन्छ, उस्को अंग-प्रत्यंग पनि हांसिरहेको हुन्छ, उस्को भाव-भंगी पनि हांसिरहेको हुन्छ - जिना अहिले त्यसरीनै हांसिरहेकी थि । मुहारमा कञ्चन ज्योति छाएर धप्प बलेको थियो, आंखाहरु सामान्य भन्दा केहीबेसी रसिला थिए - तर पर्याप्तता समेटिएर त्यहांभित्र केही कुरा घुमेझैं, केही कुरा नाचेझैं लाग्थ्यो उस्ले आंखाका नानीहरु एताउता चलाऊंदा, उस्का हरेक हाउभाउमा आज उन्माद चढेझैं थियो । हे दैव ! पहिलो बसन्तमा फुल्ने रहर गरेकी यो पालुवालाई म कसरी निमोठुं ? मेरो मनमा भुइंचालो जांदैथियो तर मुहारमा तेस्को प्रभावलाई रोकिरहेको थिएं । 
जिना, be serous यार । life is not a joke. म केही सिरियस मुद्रामा थिएं, उस्ले नि चालपाइछ क्यारे । 
you mean, its a no from your side ? उ अहिलेको-अहिलेइ ओईलाई । 
kind of, but we need to talk. मैले मुन्टो हल्लाउंदै उस्लाई हेरें, बिचरीका आंखा उदास थिए, मलाई नि कस्तो खल्लो लाग्यो । 
about what ? if its already done. पारी कतै टाढा हेर्दै अर्को लामो पप तानी । 
about us of course, i need to explain you. but its time for class i guess. मलाई अहिले बेलिबिस्तार लाउने मन नि थेन, टाइम नि थेन । 
alright lets go then. उस्ले मतिर नहेरी भनी । 
आ-आफ्नो झोला च्यापेर लागिम हामी, बाटोमा एकचोटी पुन: अनुरोध गरें उस्लाई ब्रेक टाइममा छतमा आउनलाई उस्ले 'हुन्छ' भन्ने पारामा टाउको हल्लाइ मात्र, केही बोलिन । 
 
 
कलासमा पनि खास्सै कुराकानी भएन । अरु त सदाझैं गफगाफमै ब्यस्त रहे, हामी दुई चुप्चाप; एकर्कासँग पनि कुरा भएन । एकपटक रियाले "हिरो, तिमी सेन्टी भाको त सुहाएन" लेखिएको चिट पास गरेकीथी, मैले केही जवाफ फर्काइन । "आज फेरी अल्छि लागेको हो ?" गुरुले नि एकपटक सोधेको थियो, मैले "हो" मात्रै भनें । मेरो देउता आज रिसा'छन् भन्ने उस्ले नि बुझेछ क्यारे तेस्पछी उसँग पनि कुरा भएन । आक्कल-झुक्कल म जिनालाई हेर्थें, उ मुहारमा बनावटी मुस्कान जम्मा पार्ने असफल प्रयास गर्थी र नजरहरु कहीं अन्तैतीर दौडाउंथी । बल्ल-तल्ल ब्रेकको घण्टी बज्यो । जिनाको ढाड्मा प्याट्ट हान्दै म निक्लिएं । 
ओ हिरो कता ? रियाले सोधेकी थि । म उनिहरुतिर हेर्दै नहेरी ढोकातिर जांदै दाहिने हातले कान्छी औंला देखाएर बाहिर निक्लें । पछी-पछी जिना आएजस्तो लागेर एसो घुमेर हेर्छु त रिया पो रैछे । हामी छतमा निक्लिने सिंढी चढ्दै कुरा गर्न थालिम । 
आज के भाछ तिम्लाई भनत ? अगाडि-अगाडी म थिएं पछाडिबाट मेरो दुबै पाखुरा समातेर मेरै साहाराले सिंढी उक्ल्या जस्तो रिया गर्दैथी । 
किन ? के भाको जस्तो देखेउ र ? म ठीक छु त । 
अरे मिस्टर मसँग झुट बोलेर के पाउंछौ, आलु ? 
अनी सांचो बोलें भने चाइं के पाउंछु नि, पिंडालु ? 
होइन, पेडा नै दिम्ला, पिंडालु त कोक्याउंछ । उस्ले हांस्दै भनी । 
भो तिम्रो बासी पेडा खानुपर्या छैन । तेल्ले नि पेट दुखाउंछ । 
हैन भन्या एकदम फ्रेश, म आफैले बनाएर दिम्ला । खुश ? 
तिम्रो बाबा त ब्यापारी भन्या हैन र ? अहिले त हलुवाइको छोरीको जस्तो पो कुरा गरेउ त ? मैले एती भनी सक्दा हामी छतमा आइसक्याथीम्, म मनमनै रिया किन आकीहोली, एस्को अहिल्लेइ तल जानुपर्ने कुनै काम पर्देनी हुने भनेर कामना गर्दैथें । तर झिनो आशा एउटा के थियो भने यो चुरोट नखाने भएकिले जिना आउनासाथ हामी तेही निउले बाहिर जाम्ला र भर्सक यो पछी नलाग्ली, तेतिन्जेल सम्म टाइम पास भएकै छ ! 
 
 
पेडा-सेडा खुवाउंदै गरौंला, अहिलेलाई यि यो लेउ । अनी अब सांच्चै भन खास कुरा के हो ? उस्ले गोजिबाट बबलगम निकालेर एउटा आफुले खाइ एउटा मलाई दिई । 
केही छैन हाउ त्यस्तो । भए म भन्दिनथें ? म अझैं पनि टार्ने प्रयासमा थिएं । 
केही misunderstanding भाको छ हो तिमीहरुको ? म झसङ्ङ भएं, खासमा उस्ले अड्कल काटेकी हो तर पहिलो तिर नै निशानामा हानी । 
छैन, तिम्लाई किन त्यस्तो लाग्यो र ? मैले केही बयान गर्नुभन्दा पहिले उस्को जानकारी बुझ्न चाहें । 
आज गुरु पनि नबोली बसेकाथिए कलासमा, तेइ भएर नि । तिमेरु दुई जनालाई एस्तो त कहिले देखेको थिईन । उस्ले मलिन स्वरमा भनी मानौ उ आफुलाई आज मेरो ठुलै दु:खमा सरीक गराइ रहेकीछे । ओहो बचियो बा ! केटीको तिर त निशानामा हैन, ठ्याक्कै उल्टो दिशातिर पो गैरा'रैछ, आफुलाई के-के न खुबै टांठी-बाठी भन्ठान्थी; खुच्चिङ ! मेरो मन दुई पललाई भएनी हांस्यो । तर लगत्तै मनमा औडाहा हुन पनि थालीसक्याथ्यो, जिनाले किन ढिला गरी भनेर । 
गुरु र मेरो बिचमा कहिलेइ त्यस्तो हुंदैन हो, आज उस्लाई नि कुरा गर्ने मुड थेनहोला । छतमा निक्लिने ढोकातीर हेर्दै मैले भनें । 
तिमीहरु दुबै जनाले एउटै केटी मन पराएछौ, by chance भनेनी ? हामी दुईबिच सब कुरो ठीक छ भन्नेमा ढुक्क भैसकेपछी अब रिया जोक गर्नथाली । 
के गर्नु काटेर आधी-आधी बांड्नु मिलेन क्यारे, कुर्बानी नै दिनुपर्ला । बेफ्वांकको प्रसँग भएकोले रत्तिभर दिमाग नखर्ची भनिदिएं मैले । 
ए, अनी कुर्बानी चाइं कल्ले दिन्छ नि, गुरुले कि तिम्ले ? 
गाई कि त्रिशुल गर्ने नि । 
हैन, केटीलाई नै रोज्न लाउनेनी । त्यो better option हुंदैन र ? 
किन ? केटाको माया चाइं माया नै होइन र ? जंगिंदै भने मैले, अलि-अली चिढ्-चिढ हुन थाल्याथ्यो अब मलाई । आफुलाई भने जिना कतीखेर आउली भन्ने भैराको बेलामा, यो भने तुक न बेतुकको कुरोलाई लम्बेतान खिचिरहेकी छे । 
ओहो तिम्रो रिस ! मैले त एती मात्र भन्न खोजेको हुंकी .. एदी त्यो केटी .. (दुबै हातले मेरो कम्मरलाई बेरेर गम्ल्याङ्ग अंगालो हाल्दै रहस्यपूर्ण भावमा मुस्काइ उ) .. म रहेछु भने, अनी के गर्छु तिमी !!?? 
उस्को एस्तो अप्रत्यासित ब्यबहारले एकछिन त म प्रतिकृया रहित, शुन्य भएं ! हं ! के गर्छे यो !! जोक गरेकी हो ? एसो उस्को आंखामा चिहाएं - होइन, केटी त सिरियस नै देखिन्छे त ! 
ह्याss खै छोड, के जिस्किरा ? मैले उस्को हात हटाउन खोज्दै भनें, सायद उस्को सिरियस-जोक नि हुनसक्छ भन्ठानेर । 
किन ? यहाँबाट कुदेर देखाम् ? उस्ले आफ्ना हातहरु अब त मेरो कम्मरबाट पिठ्युंमा पुर्याएर झन चपक्कै टांस्सिंदै सोध्छे ! आंखा अंझै पनि मेरा आंखाबाट हटेका छैनन्, अनी उही रहस्यमयी मुस्कान ! हे राम, यो श्राप हो कि बरदान हो ? कोइ रगतले चिट्ठी लेखेर पठाउंछन्, कोइ छतबाट हाम्फाल्छु भन्छन् ! 'इधर खाइ उधर खाइ, बिच्मे लट्के अर्जुन भाई' भन्या जस्तो आफुलाई भो ! 
रिया, प्लिज यो बारेमा हामी पछी discussion गरुम्ला नि, i need some time please, please. मैले दुबै हातले उस्को अनुहार समातेर माया गरेजस्तो देखाउंदै सम्झाउने प्रयास गरें, अंझ अर्की माया देखाउनु पर्ने त झुल्केकै थीइन ! 
ok dear, take your time. एती भन्दै अब त उस्ले मेरो गालामा चुप्प म्वाइ पनि खाइदी, भो त ? 
तल जुम्न, चुरोट खाउं-खाउं लाग्यो । जिना नआउने छांटकांट देखें मैले, अब त आइहाले पनि अर्को भांड्भैलो मच्चिने निश्चित थियो । 
हवस हजुर । उ फेरी जोल्टिन आइपुगी ! 
तिमी क्यान्टिनमा अर्डर गर्दै गरन ल, म चुरोट फुकेर आइहाल्छु । उबाट पिछा छुटाउनलाई बनें । 
के खाने ? छुट्टीने बेलामा सोधी । 
जे भए नि हुन्छ । आज दिमाग घुमिरहेको बेला खानु-प्युनुसँग त मतलव थेन झन स्वादको कुरो त बालै भो ! 
something special खानुपर्छ आज । उ उफ्रिंदै गै, म नि कलासतीर दौडें । 
 
 
जिना खै त ? चुरोट सक्याथ्यो मागुम्ला भनेको त । जिनालाई नदेखेपछी सोधें, कलासमा जीवन र रुबी मात्र रहेछन् । 
जिना त गईन त, मेरो चुरोट लैजाउन । जीवन ले भन्यो । 
होइन ठिकै छ म बाहिरै लिम्ला । मलाई लाग्यो जिना चुरोट खान बुद्दी दाइकोमा गएकीहोली । 
घर गइन भन्या ! 
केरे ? किन ? कतिबेला ? मैले आत्तिंदै सोधें । 
अघी केहीबेर अगाडि, साह्रै टाउको दुख्यो रे अनी हातको ड्रेसिङ नि गर्नु रहेछ । 
गुरु र शरु नि ? 
क्यान्टिनतीर सायद, हामी त खाएर आइसकिम् । खोइ अहिले बाहिर गएकी । 
जिनाले मलाई केही भनिन ? 
नाइ त । तिमी कां थियौ र ? 
माथि थिएं यार, ल गएं म नि क्यान्टिनतिर । 
 
 
क्यान्टिनतिर जांदै गर्दा मलाई भाउन्न हुनथाल्यो अब । एउटी ठुस्केर घर लागिछ, अर्की फुर्केर 'क्याण्डल डिनर' कुरिरहेकीछ ! अहिलेइ त शनिको ग्रहजाप गराउनु पर्ने बेला भैसक्यो झन यो तीनकुने पिरतिको पर्दाफाश भो भने, कुन चाइं कोटी हवन गराउनु पर्ने हो ? खाइ न पाइ छाला' टोपी लाई भन्या एही हो क्यारे ! औंशी अघिको जुन जस्तो अनुहार लिएर क्यान्टिन छिरें तर त्याहां त झलमल्ल चौधवीका चांद लागिरहेको थियो । भोक नलाएनी खानै पर्‍यो नत्र फेरी अर्को रडाको मच्चिने, बिच्मा २-४ चम्चा त जुलियट मैचाले आफैले 'प्यारले' खुवाइदिनु भो, त्यो त झन लट्ठिले किलेर भए नि खाइदिनै पर्ने भो । बडा जोड-जुलुम गर्दा पनि आधा भन्दा बेसी सकिएन, अब त बान्ता नै आउला जस्तो हुनथाल्यो । 
मलाई त पुग्यो, चिया खान जान्छु, तिमी खानेभए खांदै गर ल । मैले उठ्दै भनें । 
होइन म नि जाने ! पैसा तिमी देउ ल आजको । खांदै गरेको सब्थोक चट्याक-चुटुक छोडेर उ पनि रेडी भै । म वालेट निकालेर काउन्टरतीर जांदैथिएं "था छ, आफ्नो पहिलो खर्छ श्रीमानको भो भने शुभ हुन्छ रे" भनी रियाले । मलाई तेइ वालेटले आफ्नो खप्परमा बजाउं जस्तो भो । बाहिर चुरोट खान निस्किन्छु भनेको फेरी पछीपछी ! सायद श्रीमानको पहिलो खिल्ली श्रीमतीसङै खाएको पनि शुभ हुन्थ्यो कि कुन्नी ! 
आज अर्की बैनी आउनु भएननी ? बुद्दी दाइले चहराइ रहेको घाउमा एक पसर नुन-खुर्सानी छरे । म चुप्चाप चुरोट तानिरहें । गुरुले खोइ कताबाट हामीलाई देखेछ, उ पनि फुक्न आइपुग्यो । 
किन ? आज चुरोट मात्रै ? लु बुद्दी दाई तिन्टा चिया ल्याउनुस् । उसैले अर्डर गर्‍यो, म अझैं पनि चुप थिएं । 
हो हो, आज त गुलियो खानै पर्छ । रियाले थप्दै मतिर हेरी, गुरुले पनि के सोच्यो कुन्नी मैतिर हेर्यो, म त अघी देखी चुप नै थिएं ! चिया सक्किनै आंट्दा कलासको घण्टी पनि लाग्यो, गुरुले गोजिमा हात छिराउनै लागेको थियो, रियाले पुलुक्क मतिर हेरेर मुस्काइ, लौ ! फेरी एकबार शुभकार्य गर्नुपर्‍यो भनेर गुरुलाई रोक्दै आफैले पैसा तिरें । 
 
 
कलासमा अब रियाका चर्तिकलाहरु सुरु हुनथाले; लक्ष्मीमाताले जती धन ओइर्याएनी, ईन्द्रदेवले जती पानी वर्ष्याएनी - त्यो बरु कुनै कालघडिमा सिध्धिने-रोक्किने संभावना हुन्थ्योहोला तर 'श्रीमतीजी' का मुस्कानले किन पूर्ण विराम लाउंथे र ? अनी उस्तै उस्का ईशारा र आंखा सन्काइहरु । मलाई त अब हन्हनी ज्वरो आउला जस्तो पो हुनथाल्यो । कत्तिखेर कलास सक्केला र कोठामा पुग्नासाथ पुरै एक फाइल दन्काएर बंग्रङ्ग फाल्लिम्ला जस्तो हुनथाल्यो । कैलाशतीर गएर एक खुट्टे तपस्या गर्नु बरु अलिक सजिलो हुंदो होकी, त्यो दिनको कलास सक्काउन मलाई त्यो भन्दा नि गाह्रो लाग्नथाल्यो । 
 
 
जसोतसो पार लगाइयो त्यो दिनको नैया । गुरुबा र म संगसंगै निक्लिम कलासबाट । अरु सिंढीतीरै हुंदा म तल आइसक्याथें, तेइपनी केइ सिप लागेन । एस्सो पछाडि फर्केर हेर्छु त - रनर'प त ट्याक्कै फेरी 'श्रीमतीजी' नै ! अरुका बाउको के ताकत ? आज धेरै नै शुभकार्य गराउने संकल्प रहेछ वहाँको, गेटनिर आउनसाथ फर्माइस भो, "मलाई क्याडबरी किन्देउन" । जो माते भन्दै आदेश तामेल गरें । छुट्टीम भनेको पुन: उतैबाट हुकुम भो "तिमी चुरोट प्युंदैनौ ?" लौत भनेर त्यो नि फुकियो । अन्तिम सजाय घोषणा भो बल्लतल्ल, " मलाई धेरै नकुराउ है, take your time but do fast." तेस्मा नि मुन्टो हल्लाउंदै लागें म दशैंलाई किनेर ल्याको खसी जस्तै महसुश गर्दै । 
 
 
कोठामा पुग्नासाथ फ्यात्त झोला फालेर कपडा पनि नफेरी बचेँको रेड लेबल निकालें, पुरा बोतलमा करीब क्वाटर जती मात्र बांकी रैछ, drawer बाट एउटा फाइल नि निकालेर लागें गुरुको कोठातीर । 
ओए तंसंग जांड बच्याछ ? 
रैछ त तैंसँग ! उस्ले change गर्दै भन्यो । 
अलिक पुग्दैन कि भनेर नि । खोइ निकाल्न छ भने । 
पख् है त आधी जती छ कि ! उस्लेनी बचेँखुचेको निकाल्यो । 
तं नि खाने भए गिलास निकाल् । 
एक्लै खाएर मर्ने बिचार छ र साले ? उss फाइल नि बोक्या रैछ फेरी ! हैन तंलाई के भाछ आजभोली, केइ भन्दा नि भन्दैनस् । 
छोड् यार आज खाने मन छ । त्यो दिन खाना नि खान गैएनछ, औषधी र जांडै खाएर ढलिएछ । 
 
 
भोली बिहान संधै भन्दा अलिक छिट्टै पुगेर बुद्दी दाइकोमा जिनालाई कुरी बसें । अहं उ कतै देखा परीन, उस्को रेगुलर टाइममा पनि देखा परीन । आफ्नो खप्परै उस्तो, बरु रिया पो छिट्टै आइपुगी र बसी मेरो छेवैमा ! अब त्यहाँ कुरिबस्नु पनि बेकार छ भन्ने ठानेर कलासतीरै लागें । रियालाई एकछिन अल्मल्याएर पुगें म छतमा, कलास सुरुहुनु भन्दा अघी आइपोहाल्छेकी माथि भन्ने आशाले । कलासको घण्टी नि लाग्यो तर अहं उ माथि उक्लिन । कस्तो रिस हो त्यो ? हुन त जातैले पाएर पनि होला ! भन्ने सोच्दै म तल ओर्लिएं । अब ब्रेकमा कसरी जिनालाई रियाबाट अलग्याउने हो ? यो मेरोलागी आंखा बन्द गरेर सियोमा धागो छिराउनु जत्तिकै मुश्किल थियो तर, केही न केही तिक्डम त ननीकाली धरै पनि थिएन । म दिमागमा जोड दिंदै कलास भित्र छिरें, जिना त त्यां पनि छैने ! सिट रित्तो छ, ब्याग धरी छैन ! 
 
 
ब्रेक कुर्नु फेरी तेत्तिकै महाभारत भो । रियाले उत्तिकै इरिटेट गरिरही । शरुले बेला-बेला मलाई हेर्थी, मैले जिनालाई मिस गरेकोछु जस्तो लागेर होला । गुरुले एकचोटि बिस्तारै सोध्यो, "तंलाई केइ था छ किन नाआएकी ?" मैले नाइ भन्ने पारामा टाउको हल्लाएं । रुबी र जीवनलाई बालै थिएन क्यारे, आफ्नै सुरमा खास-खुस गरिरहे । 
 
 
ब्रेक हुनेबित्तिकै रियालाई, अर्डर गरिराख म चुरोट खाएर आउंछु भनेर बाहिर दौडें । चुरोट त बाहाना थियो, खासमा जिनालाई फोन गर्नुथियो । १०-१२ पटक सम्म डायल गरिरहें, घण्टी गैरहन्थ्यो तर उताबाट फोन नै उठेन । 
क्रमश:  
 
Last edited: 21-Dec-12 07:50 PM

 
Posted on 12-21-12 8:26 PM     [Snapshot: 886]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 TMS, 
प्रशंसाका मिठा पंक्तिका लागि धन्यवाद । म पनि तपाईंको पंखो हुँ, तपाईंहरु जस्तै बाटै सिकेर भर्खरै क,ख,ग,घ सुरु गर्दैछु । 
 
थाने, 
क्या राम्रो तुलना बाबै जिन्दगीको, वाह ! एस्तो राम्रो शब्द चयन र शब्द बगाउन सक्नेले, लेखुम न हाउ कभी कभार ! मलाई त कस्तो खुल्दुली हुनथाल्यो भन्या । 
 
बाजे, 
अर्को भाग त मैले राख्दें क्यारे तर कथा अलिक घुमेर आएको छ । खोइ ! तपाईंको story सँग कत्तिको मिल्छ ? होइन भने बंग्याइदिम्ला नि, सल्लाह-सुझाव पाएको खण्डमा । 
 
ठुल्दाइ, 
आभारी छु, हजुरले पढिदिनु भाको मा । मलाई त धुक्चुक भैराछ दाई, जिना पात्रलाई i love u भन्ने कि नभन्ने भनेर । हेरुम दाई, अरु सुझावहरु कस्तो आउंछ, तेसैले पनि कथा मोड्ने घुम्तिहरु १-२ वटा छोडेरै अघी बढेको छु । 
 
sukuchha, 
तपाईंलाई नि धन्यवाद र अन्य सम्पूर्ण पाठकहरुलाई पनि । 
 

 
Posted on 12-22-12 12:06 AM     [Snapshot: 907]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै राम्रो प्रस्तुति ...... अर्को भाग लौन छिट्टै पद्द्न पाइयोस !!!

 
Posted on 12-23-12 9:32 AM     [Snapshot: 1030]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Buzzer beater !
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters