खस
खस (KHAS)/ Khasiyas/ Khasas आर्य समुहको एक जातीय समुदाय हो, जसले नेपालको पहाडी भूभागको सबैभन्दा बढी जनसंख्या ओगटेको छ । यो जातीका अन्य नामहरू पर्वते, गोर्खाली र नेपाली हुन् । यो जाती तत्कालिन बिशाल नेपाल --- हाल भारतमा पर्ने हिमाञ्चल प्रदेश तथा उतराखंड का साथै सुदुर तथा मध्य पश्चिम नेपालको कर्णाली क्षेत्रमा प्राग एतिहासिक कालखण्ड देखी बसोबास गरेको हो । त्यहाँबाट खसहरू नेपालको पूर्वी भागमा फैलदै गए र हाल नेपालको प्रायः सबैजसो ठाउँमा बसोबास गर्न पुगेका छन् । अहिले खस जातीहरूको मुख्य स्थान भनेको तत्कालिन बिशाल नेपालमा मा पर्ने भु-भाग -- पुर्व मा आसम देखि पश्चिममा काश्मिर् सम्म ----हिमाञ्चल प्रदेश तथा उतराखंड, नेपाल, सिक्किम, दार्जीलिङ, भुटान, आसमर बर्माको पहाडी क्षेत्र आदि पर्दछन् । खस जाती का मुख्य हांगा
को हुन् खस ?
मानव सभ्यताको इतिहास आज पनि गम्भीर खोज र अनुसन्धानको विषय नै बनिरहेको छ। इतिहासविदहरुको अथक मेहनत, खोज र अनुसन्धानले केही तथ्यहरूलाई हाम्रा अगाडि ल्याएको छ। ती तथ्यहरू नै आज हाम्रो अतितलाई हेर्न, बुझ्ने र विश्लेषण गर्ने ऐना जस्ता भएका छन्। प्राज्ञिक मानव समुदायको चिया गफमा प्रायः यो भनाई एउटा कहावतका रूपमा लिने गरिन्छ। “जसले इतिहास जान्दैन, त्यसले वर्तमान बुझ्दैन। जसले वर्तमान नै बुझ्दैन त्यसले भविष्य जान्दैन।” यसले मानव जातिको व्यवहारिक जीवनमा समेत इतिहासले ठूलो प्रभाव पार्दछ भन्ने बताउँछ तर वास्तविकता यो छ कि इतिहासको बुझाई भविष्यको बुझाई वा आँकलन भन्दा कठिन छ।
मानव जातिको इतिहासमा पृथ्वीमा मानवको उत्पत्ति भएपछिको एउटा लामो काल आउँछ। इतिहासविद्हरूले त्यसलाई करिब दश लाख वर्षको अवधिको काल मानेका छन् (१) आदिम कालको लामो अवधिमा पृथ्वीमा रहेका मानवका बीचमा कुनै जातीय विभाजन थिएन। राज्य र त्यसका सीमाहरू पनि थिएनन्। मानव जाति छोटा–छोटा गण, गोत्र, कविला अवस्थामा रहन्थे। (२) मानव जातिको विकास असाध्यै ढिलो गतिमा अगाडि बढेको देखिन्छ। (३) पुरात्वविद्हरूले मानव जातिले प्रयोग गरेका उपकरणहरूको सामग्रीलाई हेरेर युगहरूको विभाजन गरेका छन्। ती हुन्– पाषण युग, कास्य युग र लोह युग। यो विभाजनलाई पर्याप्त मानिदैन किनभने इतिहासको सबभन्दा लामो युग नै आदिम युग थियो। (४) पुरातत्वविद्हरूले आजको मानव सभ्यतालाई नै छक्क पार्ने केही प्राचीन मानव सभ्यताको इतिहास पत्ता लगाएका छन्। जस्तो मिश्रको सभ्यता, मया सभ्यता, इगियन सभ्यता, सिन्धु सभ्यता, होवाङ्हो नदीको सभ्यता, ग्रीक, टाइग्रिस र युफ्रेटिक सभ्यता आदि पर्दछन्। ग्रीकबाट त आजको विश्वनै ऋणी छ। मिस्र विश्वको सबभन्दा प्राचीन सभ्यताको केन्द्र मानिन्छ। (५) यिनै मानव सभ्यताको विकासक्रमसँगै राज्य, साम्राज्य र जातिहरूको अस्तित्व तथा विकास भएको पाइन्छ। यही राज्य, साम्राज्य र जातिहरूको विकास क्रममा प्राचीन बेबिलोनियाको कक्साइट साम्राज्यको पनि ठूलो महत्व रहेको छ। कस वा कक्साइट खस जातिकै प्राचीन नाम हुन्। (६) पश्चिम एसियाको मानव समाजको विकासमा यो जाति लडाकु, बुद्धिमान, चतुर र बिजेता जातिको रूपमा परिचित भइसकेको थियो। लगभग २९०० ई.पू.मा सुयोग्य सुमेरियोबाट आएको एउटा कविला जातिको स्थापित गरेको सभ्यतामा एकजना हम्बुरावी भन्ने राजा थिए। यो १००० वर्ष ई.पू. को कुरा हो। त्यतिबेलाको प्रचलित हम्बुरावी कानूनमा “जस्तालाई त्यस्तै खुनको बदला खुन” (७) भन्ने विधानमा आधारित न्यायप्रणाली थियो। यिनै हम्बुरानीका उत्तराधिकारी समसुलुनाले खस आक्रमणबाट जोगिन विशाल किल्ला बनाएका थिए। खसहरूको आक्रमण जारी रह्यो। सन् १७०० ई.पू.देखि ११५५ सम्म कसहरूले त्यही बेबिलोनियामा विजय प्राप्त गरेका थिए। ई.पू. १७०० देखि ११५५ सम्म कसहरूले त्यही बेविलोनियामा शासन गरे भन्ने ऐतिहासिक तथ्यहरू पाइन्छन्। यो जाति राज्य संचालनको लामो अनुभवी र विधानमा समाजलाई परिचालन गर्न खोज्ने दक्षिण पश्चिम एसियाको पहिलो जाति मानिन्छ। खासस्तान, बडाखसान, हिन्दकुस, काशगर, कश्मिर खसाला, खसमण्डल, खसान आदि। भौगोलिक नामले खस समुदायका पूर्व प्रयाणका पद चिन्ह दर्शाउँछन्।
खसहरू आर्य भए पनि वैदिक आर्य होइनन्। (८) यिनीहरू इसापूर्व प्रथम शताब्दीतिर भारत वर्षमा--बिशाल नेपाल-- प्रवेश गरेका थिए र इसाको पाँचौं शताब्दीतिर पश्चिम नेपालमा प्रवेश गर्न थालेका थिए। (९) यो तथ्यले नेपालमा अहिले बाक्ला बाक्ला तथा अन्य जातिहरूसित घुलमिल भई बाक्लै बस्तीमा रहेका आर्य खसहरू (बाहुन, क्षेत्री, ठकुरी, सन्यासी, आर्य दलित) बाह्रौ शताब्दीमा मात्र नेपाल आएका जाति हुन्। यहाँका रैथाने जाति होइनन् भन्ने कतिपयको तर्कले इतिहासका यी तथ्य प्रमाणहरूसित मेल खाँदैनन्। बाह्रौं शताब्दीको प्रारम्भतिर त नागराजले सिञ्जालाई (जुम्ला) खस साम्राज्यको राजधानी बनाइसकेका थिए। (१०) पश्चिम नेपालको सिञ्जालाई खस साम्राज्यको राजधानी बनाएर यो जातिले पन्ध्रौं शताब्दीको आरम्भसम्म करिब ३०० वर्ष शासन गरेको कुरा इतिहास बोल्दछ। नागराज क्राचल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल आदि खस राजाहरूले पश्चिम नेपालमा साम्राज्य कायम गरेका थिए।
पृथ्वी मल्लको राज्यकाल (वि.सं. १३९५–१४४५) खस साम्राज्यको इतिहासमा उत्कर्ष र अवसानको दोसाध मानिएको छ। (११) पृथ्वी मल्लको अन्तिम समयतिर विखण्डित हुन थालेको खस साम्राज्य मलाय वर्माको राज्यकाल (वि.सं. १४३५–४६) पछि बिलायो। (१२) यसरी ई.पू. प्रथम शताब्दीतिर बेविलोनिया हुँदै पश्चिम एसियामा विस्तार हँदाहुदै भारत वर्ष छिरेका र इसाको पाँचौं शताब्दीतिर कास्मिरबाट पहाडको कछाडै–कछाडै कुमाउँ,गढवाल हुंदै पश्चिम नेपाल छिरेका खसहरूको साम्राज्य विलाए तापनि नेपालमा हजारौं वर्ष पुरानो रैथाने अस्तित्व खस जातिको पनि छ। खस साम्राज्यका सरकारी दर्जा तथा कर्णाली प्रदेशका गाउँहरूबाट खस जातिका थरहरू उत्पत्ति भएका छन्।
सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरु
जस्तैः अधिकारी – दराको हाकिम
कार्की – राजस्व अधिकृत
भट्ट – राज पुरोहित वा धर्माधिकारी
भण्डारी – राजकीय कोषको प्रमुख
लेखक – लेखक
महतरा – ग्राम प्रमुख
रोकाया – महतराको सहयोगी
थापा – सैनिक दर्जा
खड्का – सैनिक दर्जा
राना – सैनिक दर्जा
बुढा – सैनिक दर्जा
बुढाथोकी – सैनिक दर्जा
कर्णाली प्रदेशका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरु
धिता- धिताल, पाण्डुसेरा- पाण्डे, सिञ्जा- सिंजापति, चैडिलागाउँ -चौलागाई, प्याकुरी- प्याकुरेल, सिम्खाडा- सिम्खडा,
तिमिल्सैन- तिमिल्सिना, तिम्सिना,घमिराउँ- घिमिरे, देवकोट- देवकोटा, ढुङ्ग्रानी- ढुङ्गाना, ढाँकु- ढकाल, बजगाउँ- बजगाई, रिमा- रिमाल, स्वाँरा- स्वार, घोडासैन- घोडासैनी, पुरासैन- पुडासैनी, धमाली- धमला, दर्ना- दर्नाल, कुइका- कुइकेल, चाल्सा- चालिसे, बारला- बराल,
रेगम- रेग्मी, सोत- सोती, खार- खरेल, खराल, सुवाडा- सुबेडा, सुवेदी, बयाना- बनियाँ, बानियाँ
जमकट्टी- जमरकट्टेल, छाती- छन्त्याल, कुँडी- कुड्याल, बेलकाटे- केलकाटिया, खातिवाडा- खाती
गाजरी- गजुरेल
डोटेखेला- डोटेल, निरौली- निरौला, ओझाना- ओझा, बोगटान- बोगटी, मुडभरा- मुडभरी
खनाया- खनाल, कालैगाउँ- कल्यान, खत्याड- खतिवडा
लामाछान्नी- लामिछाने, बाँस्कोट- बास्कोटा, बाँस्तोली- बास्तोला, सातला- सत्याल, लुयाटी- लुईटेल, चापागाउँ- चापागाईं, नेपा- नेपाल, रिजु- रिजाल, पोखर- पोखरेल, लम्सु- लम्साल, लम्जी- लम्जेल, दह- दाहाल, दहाल, गैह्रा- गैह्रे, भूर्ति- भूर्तेल, पराजुल- पराजुली, कोइराली- कोइराला, दवाडा- दवाडी, कट्टील- कट्टेल, भुषाकोट- भुषाल, सुइय- सुञेल, वड- वडाल, मोडासैन- मरासैनी, मरासिनी, गुरगाउँ- गुरागाईं
खिटि्कसैन- खिर्सिने, भुतौ- भुर्तेल, राँचु- रुचाल, गेला- गेलाल, वञ्जाडा- वञ्जाडे, बाँझकोट- बाझकोटा
सर्पुकोट- सापकोटा
रजौरा- रजौरिया
मजगैयाँ आदि खस साम्राज्यमा प्राप्त दर्जा र गाउँहरूको नाउँबाट नेपालका खसहरूको थर निर्धारण भएको परिदृष्यमा खसहरू यहाँका आदिबासी र पुराना रैथाने हुन् भन्ने कुरामा कुनै विवाद गर्ने आधार देखिंदैन। पुराणहरूमा नेपालाई जम्मुद्दिप भनिएको छ। नेपाल प्राचिनकालबाटै भारतीय आर्य ऋषिमुनिहरूको तपोभूमि तथा खस राजाहरूको विहार गर्ने स्थानका रूपमा प्रचलित छ यो आधारबाट हेर्दा त खस जाति यहाँको अनादीवासी जस्तो देखिन्छ। तर खोजकै विषय छ किराँत राजाले कुरूक्षेत्रको लडाईमा भाग लिएको भन्ने श्रुतीले पनि नेपाल भूमिमा खस प्रवेश नयाँ हो भन्ने आधार देखाउँदैनन्। महाभारतका एकजना पात्र दुर्योधनले आफू खस भएकोमा गौरव गर्दथे। पाण्डवहरू विराटनगरमा विराट राजा कहाँ १ वर्ष गुप्तबास बसेका थिए। बिराटनगर विराट राजाका नामले नै विराटनगर नाम रेहको हो भन्ने श्रुती पनि छ। खस जाति भनेका बाहुन, क्षेत्री, ठकुरी हुन् जस्तै पाण्डे, शाही, थापा, बस्नेत, विष्ट, कुँवर (१३) आदि सम्पूर्ण त्यसमा पर्दछन्। वर्तमान कुमाउँ मण्डल खस मा (कस्साइट) बताइने पश्चिम इसियाई पर्वतीय जातिको विशाल लिला क्षेत्रको पूर्वी भाग थियो। (१४) अरबीमा कस्मियन सागरलाई बहरै कस्सर भनिन्छ। जसको अर्थ कस्सहरूको सागर भन्ने हुन्छ। यस्तै कस्स जातिको उपनिवेश कस्सीर कलान्तरमा काश्मिर बन्न गयो। बैदिक साहित्यमा यो जातिलाई कास भनिन्थ्यो। असुरहरूसित रक्तमिश्रण भएपछि यो जातिलाई ब्राम्य भन्न थालियो। रामायण महाभारत लगायतका हिन्दू पुराणहरूमा यो जातिलाई खस या खश भनिएको छ। मनुस्मृतिमा खस जातिलाई धर्मच्यूत मानिएको छ। कुमाउँमा राजपुत कालमा आप्रवासी जातिहरूले खसहरूको संसार र भाषा खस कुरालाई आत्मसाथ गरे। उन्नाइसौं शताब्दीको आरम्भमा ब्रिटिस शासकहरूले कुमाउँ, गढवालको आधा भन्दा धेरै जनसंख्यालाई खस या खसिया मुलुक नामाङ्कन गरे। (१५)
इतिहासमा एउटा प्रभावशाली जातिका रूपमा रहेका खसजातिको बारेमा आधुनिक इतिहास ग्रन्थमा केही उल्लेख पाईदैन। यहाँसम्म कि खस कुरा खस शब्द, शब्दकोषबाट पनि लोप हुंदै गएको थियो। (१६) यसबाट के देखिन्छ भने यो जति आफ्नो भाषा, संस्कृति, संस्कार र जातीयतामा त्यति कट्टर भएको पाईंदैन। यो जतिले हिन्दूकरणसँगै एउटा परिवेशमा बर्णाश्रम धर्म अपनायो तर त्यसलाई पनि अहिले क्रमशः छोड्दै गएको पाइन्छ। यसको निवास्थान कहाँ हो? यी आज कहाँका रैथाने मानिन्छन् त? भन्ने प्रश्नमा हिन्दी शब्दकोशले दिएको व्याख्या अनुसार यो गढवालको उत्तरको प्रदेशको निवासी नेपाल आदि देशमा रहने वाला ब्राम्य क्षेत्री जाति (१७) भन्ने उल्लेख छ। यसबाट कुमाउँ गढवाल र नेपालको विशेषत: पहाडी भाग, पर्वतहरूको काख खस जातिको मातृभूमि या निवासभूमि हो भन्ने प्रष्ट हुन्छ। धर्म, साम्प्रदाय, संस्कृति आदिमा त्यति कट्टर नभएको यो जाति नेपाल प्रवेश गरेपछि बौद्धकरण हुन र यहाँका जनजातिहरूको सस्कृतिसँग घुलमिल भई जनजातिका कैयौं संस्कृतिलाई अबलम्बन गर्न त्यति कठिनाइ रहेन। अहिले इतिहासको एउटा परिवेशमा खस जातिले अबलम्बन गरेको वर्णाश्रम धर्मलाई समयको गतिसँगै तिब्र गतिमा परित्याग गर्दै गएको पनि देखिन्छ। नेपाली खस भारतवर्षमा प्रवेश गरेपछि बैदिक आर्यहरूसँग सम्पर्क हुन जाँदा खस आर्यहरू पनि वर्ण व्यवस्थातर्फ आकर्षित भए। प्राचीन खसहरू ब्राम्हण बन्ने प्रकृया प्राचिन पौराणिक कालमा मात्र सीमित भयो। मध्यकालमा सत्तामा पुगेका खसहरू ठकुरी बने। खसहरू तागाधारी क्षेत्री बन्ने चलन कायमै छ। तागाधारीमा परिवर्तित नभएका मतवाली क्षेत्री वा पावइ खस भन्निछन्। खस आगमन पहिले भारतीय मेदानी भागबाट आएका ब्रामण र राजपुत आ–आफ्ना समकक्षीसँग घुलमेल भएर बसेका हुन्। (१८)
खस आगमन पहिले पश्चिम नेपाल टुक्रा–टुक्रामा विभाजित थियो। अहिलको सेती–महाकाली अञ्चल कुमाउँका शासकका अधिनमा थिए। मगरातमा मगर मुखियाको शासन थियो। गण्डकी प्रदेशको उत्तरी भागमा गुरूङ जातिका कविला राज्यहरू थिए। कुमाउँ, गढवाल र नेपालको पश्चिम भागमा जुम्लामा रहेका खसहरूको मध्य तथा पूर्वी पहाडी नेपालतिरको प्रवेशले खस भाषा, खस सभ्यता खस साम्राज्यलाई नै नेपालभरी विस्तार गर्यो। जुम्लाको सिञ्जालाई राजधानी बनाइ त्यहाँबाट फैलिएका खसहरू (बाहुन, ठकुरी, क्षेत्री र शुद्र) लाई जुम्ली तथा कुमाउँलाई राज्य बनाएर बसेका र त्यहाँबाट पश्चिम नेपाल हुंदै मध्य तथा पूर्वतिर छिरेका खसहरूलाई कुमाई खस भन्ने प्रचलन अहिले पनि छ। जस्तै उदाहरणका लागि पर्साइ, सिटौला, ओली, कुमाई हुन्। भने रिजाल, भण्डारी, पण्डित, थापा, खड्का आदि जुम्ली हुन्। खसहरूको आगमनले नेपालमा रहेको कविला जनजातीय राज्य कब्जासँगै खस भाषा र खस संस्कृतिलाई विस्तारै स्थापित गराएको देखिन्छ।
सन्दर्भ सामग्री
१. प्रो.अ.ज. मानफ्रेद संक्षिप्त विश्व इतिहास, प्रथम भाग, प्रगति प्रकाशन मस्को, १९८० पृष्ठ ११ २. ऐ. ..... ३. राहुल साँकृत्यान, मानव समाज, लोक भारती प्रकाशन, इलाहावाद–१ अठवाँ संस्करण – १९९३ , पृष्ठ ११ ४. प्रो.अ.ज. मानफ्रेद माथि उल्लेखित पाद टिप्पणी पृष्ठ – ऐ. ५. एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, संसारका इतिहास युरोसिया पब्लिसिङ हाउस प्रा.लि. रामनगर, नइदिल्ली, प्रथम संस्करण १९६६, पृष्ठ २६ ६. प्रा.डा.सूर्यमणि अधिकारी, खस साम्राज्यको इतिहास, भूँडीपूराण प्रकाशन, काठमाडौं प्रथम संस्करण, २०६१, पृष्ठ १९५ ७. एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, माथि उल्लेखित पाद टिप्पणी, पृष्ठ ४६,४७ ८. प्रा. डा. सूर्यमणि अधिकारी, माथि उल्लेखित पाद टिप्पणी ९. ऐ. ...... १०. ऐ. ...... ११. ऐ. ...... १२. ऐ. ...... १३. यमुनादत्त वैष्णव, 'अशोक' कुमाउँका इतिहास 'खस(कस्साइट) जातिके परिप्रेक्ष्य मे', मोर्डन बुक स्टोर्स, नैनीताल, २६३००१ १९७७ पृष्ठ १८३ १४. ऐ. ... प्रस्तावना (निवेदन) १५. ऐ. ...... १६. ऐ. ...... १७. ऐ. ...... १८. प्रा.डा. सूर्यमणि अधिकारी, माथि उल्लेखित पाद टिप्पणी, पृष्ठ १९६