[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यस कारणले गर्दा यी नेपालीहरुका अमेरीकी सपना आजिवन कारावासमा काट्दैछ
[VIEWED 12984 TIMES]
SAVE! for ease of future access.
Posted on 09-27-19 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिका। अधिकांश नेपालीको सपनाको देश। अमेरिका पुग्न जे गर्न पनि तयार समूह पनि छ यहाँ। अमेरिका पुग्ने सपना पूरा गर्न एक वर्ष लगाएर जोखिमपूर्ण रुपमा स्थल मार्गबाट जानेको संख्या पनि उत्तिकै छ। कोही उच्च शिक्षाका लागि पुगेर उतै बसे। अहिले डाइभर्सिटी भिसा ( डिभी) परेर हरेक वर्ष तीन हजार हाराहारी नेपाली अमेरिका पुगिरहेका छन्।

यसरी सपनाको पोको बोकेर अमेरिका पुग्ने नेपालीको संख्या दुई लाख नाघिसकेको छ। केहीले आफ्नो सपना पूरा पनि गरेका छन्। केही संघर्षरत छन्, सपनाको बिस्कुन उठाउन। तर केहीको सम्पन्नताकोे सपना भने अमेरिकी कारागारमा थन्किइरहेको छ, अपराधका कारण।

सन् २००७ भन्दा अगाडि नेपालीहरुको छिटफुट घटनासम्म भए पनि हत्याकै स्वरुप लिने गरिएका अधिकांश घटना भने सन २००८ देखि २०१९ बीचमा घटिरहेका छन्। दश वर्षको यो अवधिमा नै नेपालीहरु संलग्न आपराधिक घटनाको निरन्तर वृद्धि हुँदै गएको देखिन्छ।

कतिपय घरेलु हिंसाका घटना प्रहरीसम्म नपुगे पनि घरेलु हिंसाकै कारण अदालत र नेपाली दूतावासमा सम्बन्ध विच्छेदका मुद्दाहरु बढिरहेका छन्। कतिपय हिंस्रक घटनामा प्रहरीले श्रीमान् र श्रीमतीबीच भेटघाटमा नै प्रतिबन्ध लगाएको घटनासमेत छन्।

संख्यात्मक रुपमा नेपालीहरु जेल पुग्ने कम नै भए पनि जेल पर्नुको कारण हेर्ने हो भने अवस्था गम्भीर देखिन्छ। नेपाली पक्राउ परेका अधिकांश घटना यौन अपराधसँग जोडिएको छ। धर्मपुत्री बनाएर अमेरिका लगेको किशोरीलाई ७ सय पटक बलात्कार गरेको, किशोर–किशोरीमाथि यौन दुव्र्यवहार गरेको, बलात्कार, हत्या, ठगीका दर्जनौँ घटनामा जेल पर्ने नेपालीको संख्या बढ्दै जान थालेका छन्। कतिसम्म भने अमेरिका पुगेका एक नेपाली छुट्टी मनाउन अस्ट्रेलिया गएर उतै बलात्कार गरेर अमेरिका फर्किएका थिए। पछि उनलाई अस्ट्रेलियामै फिर्ता पठाइयो।

यौन अपराधमा चिकित्सक र व्यवसायीहरुसमेत जोडिएका छन्। सवारी दुर्घटनामा पक्राउ परेर जेल जाने नेपालीको संख्या पनि उस्तै छ। अनियन्त्रित रुपमा सवारी चलाउँदा दुर्घटना हुँदा अमेरिकी नियमअनुसार प्रहरीलाई खबर गरी दुर्घटनास्थलमै कुरेर बस्नुको साटो भाग्दा नेपाली जेल पुगेका छन्। हत्या, नक्कली विवाह, ठगीसँगै अवैध रुपमा अमेरिका प्रवेश गर्दासमेत नेपाली नागरिक अमेरिकी कारागारमा छन्।

तीन सय ३८ वर्ष जेल
अमेरिकामा जेल परेका नेपालीहरुको कथा जनकपुरका अजयकुमार देवको घटनाबाट सुरु गरौं।
अजय पेशाले साक्रामेन्टोस्थित खानेपानी संस्थानका इन्जिनियर थिए। उनी परिवारसाथ अमेरिकाको क्यालिफोर्निया राज्यको साक्रामेन्टोमा बसोबास गर्दै आएका थिए। दुई छोराका पिता रहेका उनी अमेरिकी नागरिक बनिसकेका थिए।

अजयकुमार देव
अपराधः बलात्कार, सजायः ३७८ बर्ष जेल।

छोरीको इच्छा पूरा गर्न उनी नेपाल आएको बेला १५ वर्षीया किशोरीलाई धर्मपुत्रीका रुपमा ग्रहण गर्छन्। उनले परिवारसँग परिचितकै छोरीलाई अमेरिका लैजाने भनेर छोरी स्वीकार गरेका थिए।

किशोरीको परिवारको सहमतिमा कानुनी प्रक्रिया पूरा गरेर धर्मपुत्री बनाएपछि उनले ती किशोरीलाई अमेरिका लैजान्छन् र शिक्षादीक्षाको जिम्मेवारी पूरा गर्छन्। पाँच वर्षपछि नसोचेको घटना हुन्छ।

उनीमाथि आफ्नै धर्मपुत्रीले बलात्कार गरेको आरोप लगाउँछिन्, त्यो पनि एक पटक या दुई पटक हैन। पाँच वर्षदेखि हरेक साता तीन पटकसम्म। पाँच वर्षमा बलात्कृत भएको गण्ना गर्दा सात सय पटक। र, यही मुद्दामा सन् २००९ मा क्यालिफोर्नियाकै स्थानीय जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ३ सय ७८ वर्षको जेल सजाय सुनाइसकेको छ।

किशोरीको बयान अनुसार बलात्कारको श्रृंखला किशोरी अमेरिका गएलगत्तै शुरु हुन्छ। आमा घरमा नभएको बेलामा उनले किशोरीको स्तन समात्ने, अश्लील चलचित्र देखाएर सोहीअनुसार गर्न लगाउँथे। पछि आमा घरमा नभएको बेलामा बलात्कारै गरे। किशोरीले अदालतमा दिएको बयान अनुसार नेपाल आउने क्रममा बैंककमा ट्रान्जिट परेको बेलामा उनले होटलमा समेत बलात्कार गरेका थिए। बलात्कारका कारण दुई पटक गर्भ बसेको र उनले गर्भपतन गराएको समेत बयानमा उल्लेख छ।

दिल बहादुर मगर
अपराधःहत्या, सजायः१५ बर्ष जेल

घटना गुपचुपै थियो। जसै किशोरी १८ वर्षकी भइन्, तव यो घटना सार्वजनिक भयो। उनी घर छाडेर अलग्गै बस्न थालेपछि देवको परिवारले उनको ब्याइफ्रेन्डका कारण परिवारसँग मनमुटाव भएको दाबी गर्छन्। जब किशोरी २० वर्षकी पुगिन्, उनले आफ्ना धर्म बाबुमाथि शारीरिक शोषणको आरोप लगाउँछिन्।

किशोरी २१ वर्षकी भएपछि उनले पाँच वर्षदेखि आफूमाथि हप्तामा तीन दिन बलात्कार हुने गरेको गम्भीर आरोप लगाउँछिन्। उनको दाबीअनुसार जब उनकी धर्म आमा सुत्थिन्, उनका धर्म बाबुले उनलाई बलात्कार गर्थे। किशोरीको दाबीअनुसार सन् १९९९ देखि २००५ सम्म लगातार उनीमाथि बलात्कार भएको थियो।

घटनामा किशोरी र अजय दुवैमाथि अनुसन्धान हुन्छ। किशोरी नेपाल आएपछि जन्ममितिको कानुनी विवादले उनी तत्काल अमेरिका फर्कन सक्दिनन्। उनी डेढ वर्ष नेपालमै अड्किन्छिन्। समस्या समाधान भएपछि उनी अमेरिका फर्किएलगत्तै कानुनी प्रक्रिया अगाडि बढ्छ। अनुसन्धानमा अजय दोषी देखिएको भन्दै अदालतमा मुद्दा पुग्छ र अजयलाई ३ सय ७८ वर्ष काराबासको फैसला हुन्छ।

अजय पत्नी पेगी देवले भने अजय निर्दोष रहेको दाबी गर्दै आएकी छन्। उनी निर्दोष रहेको भन्दै प्रदर्शनसमेत भएको थियो। उनको पक्षमा रहेकाहरुले भौतिक प्रमाण नभएको र घटनाको प्रत्यक्षदर्शीसमेत नरहेको भन्दै उनी निर्दोष रहेको दाबी गर्दै आएका छन्।

बलराम शिव
अपराधः बलत्कार, सजायः जेल

उनको पक्षधरहरुको तर्कअनुसार अजयले झुट पत्ता लगाउने लाई डिटेक्टर टेस्टमा सहभागी भएको र त्यसमा उनले झूटो बोलेको नदेखिएको, भौतिक प्रमाण र डिएनए नभएको, त्यो घटना अगाडि कुनै आपराधिक रेकर्डसमेत नभएको दाबी गर्ने गरेका छन्। किशोरीको बयान, उनको ल्यापटपबाट बरामद भएको अश्लील भिडियो लगायतलाई आधार मानेर अदालतले उनलाई दोषी ठहर गरेको देखिन्छ।

उनलाई लगाएको सजायमाथि पुनर्विचार गर्न स्थानीय नेपाली समुदायले धेरै पटक अपिल गरेको थियो। उनको फैसलाविरुद्ध परेको अपिलमा सुनुवाईको क्रममा पुरानै फैसला सदर भएपछि उनको पक्षमा रहेकाहरु निराश देखिन्छन्।

१० वर्षीयामाथि दुराचार
दुई महिनाअघि मात्रै ओहायोको सिनसिन्याटीमा एक १० वर्षीया बालिकालाई यौनजन्य क्रियाकलाप गरेको आरोपमा ३३ वर्षीय बालकृष्ण अधिकारी पक्राउ परे। उनीमाथि बलिकालाई आफ्नो मोबाइलमा अश्लील भिडियो देखाएर संवेदनशील अंगमा छोएको आरोप लागेको थियो।

प्रहरीका अनुसार, उनले स्थानीय फरेस्ट पार्क प्रहरीसमक्ष बालिकालाई फोनमा अश्लील चलचित्र देखाई स्पर्श गरेको स्वीकारेका छन्। उनीमाथि हिल काउन्टी अदालतमा मुद्दा दायर भइसकेको छ। उनीविरुद्ध १५ लाख अमेरिकी डलरको धरौटी माग भएको थियो।

बालकृष्ण अधिकारी
अपराधः याैन दुराचार, सजायः मुद्दा जारी

त्यस्तै ओरेगन राज्यमा उमेर नपुगेका नाबालिकाको बलात्कार गरेको आरोपमा २४ वर्षीय मकर क्षेत्री पक्राउ परे। श्रीमतीको आफन्त पर्ने नाबालिकालाई बलात्कार गरेको अभियोगमा उनलाई ओरेगन काउन्टी प्रहरीले पक्राउ गरेको  थियो।

विवाहित क्षेत्रीले बालिकामाथि तीन पटकभन्दा बढी यौन हिंसा गरेको प्रहरीले बताएको छ। उक्त समयमा बालिकाको आमा बिरामी भएकाले पिता पनि अस्पतालाम नै बस्नु परेकाले घरमा बालिका एक्लै रहेको बताइन्छ।
पहिला उनले बालिकालाई यौन सम्बन्धका लागि दबाब दिएको र अस्वीकार गरेपछि बलात्कार गरेको अभियोग लागेको थियो। किशोरीले प्रारम्भमा घटना चिकित्सकलाई बताएकी थिइन्। अपराध स्वीकारेका क्षेत्रीमाथि अदालतले पाँच वर्षको जेल सजाय सुनाएको थियो। क्षेत्री हाल मरमुथ काउन्टी जेलमा छन्।

यस्तै अर्को डरलाग्दो अपराधमा अमेरिका पुगेका नेपाली बलराम शिव पक्राउ परे। घटना भएको थियो चार महिनाअगाडि। उनले अपराध अमेरिकामा हैन, अस्ट्रेलियामा घटाएका थिए। अस्ट्रेलिया घुम्न गएको बेलामा उनले एक युवतीलाई टकिला खुवाएर बलात्कार गरेको आरोप लाग्यो। बलात्कारपछि उनी अमेरिका फर्किए। घटना खुलेपछि अस्ट्रेलियाले उनलाई आफ्नो देशमा सुपुर्दगी गर्न आग्रह ग¥यो र अमेरिकाले उनलाई अस्ट्रेलिया पठाइदियो। अहिले उनी अस्ट्रेलियाको जेलमा छन्।

पाँच महिनाअगाडि म्यासेच्युसेटस्थित ३७ वर्षीय चिकित्सक सुजन कायस्थ पक्राउ परे। उनी पक्राउको कारण थियो, बाल यौन दुराचार। सेन्ट लुक अस्पतालमा चिकित्सकको रुपमा कार्यरत कायस्थले १४ वर्षका बालकलाई पैसा र मदिरापान गराई यौनिक क्रियाकलापमा संलग्न गराएको आरोप लागेको थियो। प्रहरीले उनको घरबाट विभिन्न अश्लील चलचित्र बरामद गरेको छ। प्रहरीले उनीविरुद्ध सेक्स ट्राफिकिङ, बाल यौन दुराचारको आरोपमा धरौटीमा छाडेको छ। अनुसन्धान जारी छ।

सुजन कायस्थ
अपराधः याैन दुराचार, सजायः धराैटी

बाल यौन दुराचारकै आरोपमा न्यु हेम्पासायरस्थित कनकर्डमा ३६ वर्षीय दर्पण किरात राईलाई प्रहरीले पक्राउ गरेको थियो। राईबाट पीडित हुनेहरुको संख्या धेरै हुनसक्ने प्रहरीको आशंका छ। यस्तै सात वर्षअघि जर्जिया विश्वविद्यालयमा पिएचडी गर्दै गरेका गोविन्दबहादुर बस्नेतलाई पनि इन्टरनेट सेक्स चार्जको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

जर्जियास्थित पिच ट्रि प्रहरीका अनुसार अर्कै नामबाट इन्टरनेटमा जोडिएका अन्डर कभर प्रहरीलाई बस्नेतले विभिन्न अश्लील तस्बिर पठाउने एवं यौनिक कुराकानी गर्दे भेट्नको निम्ति राजी भएका थिए।

यसै वर्षको अगस्ट महिनामा यौन दुव्र्यवहारकै आरोपमा अमेरिकाको आइवाको डे मोइमा पक्राउ परेका निर्मल क्षेत्रीमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले ३३ वर्षीय क्षेत्रीलाई अगस्ट १५ का दिन पक्राउ गरेको थियो। प्रहरीका अनुसार क्षेत्रीले मद्यपानले मातिएका दुई युवतीलाई युवतीले उपलब्ध गराएको ठेगानाको सट्टा आफ्नै घर लगेर दुव्र्यवहार गरेका थिए।

चक्कुले हानेर प्रेमीको हत्या
सन् २०१७ मार्चमा पिटर्सबर्गस्थित २३ वर्षीया उर्मिला गुरुङले सामान्य विवादमा आफ्नै प्रेमी २६ वर्षीय भीम राईलाई धारिलो चक्कुले हानेर हत्या गरिन्। उनीहरु लिभिङ टुगेदर रिलेसनमा थिए।

पिटर्सबर्ग प्रहरीका अनुसार चक्कु प्रहारपश्चात उर्मिला स्वयंले प्रहरीलाई खबर गरेकी थिइन्। गुरुङले प्रहरीसामु आफैँले हत्या गरेको स्वीकारेकी थिइन्। प्रहरी घरमा पुग्दा राई रगताम्मे अवस्थामा भुइँमा ढलिरहेका थिए। उनलाई तत्काल हत्या अभियोगमा एलगेन काउन्टी हिरासतमा चलान गरियो।

सन् २०१५ को जुलाई ३ मा युटा राज्यको साल्क लेक सिटीमा ३८ वर्षीया बोधी सुब्बाको हत्यामा २८ वर्षीय दिलबहादुर मगर पक्राउ परेका थिए। हत्या गरिएको रात मगरले सुब्बाको घरमा अत्यधिक मदिरा पिएका थिए। उनले धारिलो हतियार प्रहार गरी सुब्बाको हत्या गरेको आरोपमा साल्ट लेक प्रहरीले पक्राउ गरेको थियो।

अत्यधिक रक्तश्रावका कारण सुब्बाको मृत्यु भएको थियो। अदालतमा मगरले हत्या गरिएको रात आफू नियन्त्रणभन्दा बाहिर भएकाले केही नसम्झे पनि हत्या कबुलेका थिए।

मान बहादुर गुरूङ
अपराधः ट्रककाे ठक्करपछि मृत्यु, सजायः जेल

केही दिनसम्म सुब्बाको अर्पाटमेन्टमा केही गतिविधि नभएपछि उनका आफन्तले प्रहरीलाई खबर गरेका थिए। प्रहरी अपार्टमेन्टमा पुग्दा बेडरुममा उनको शव फेला परेको थियो।

मगरलाई साल्क लेक जिल्ला अदालतले पहिलो दर्जाको अपराधअन्तर्गत १५ वर्षको कैद सजाय सुनाएको छ। अदालतमा सुब्बाका आफन्तले मगरमाथि हदैसम्मको सजाय हुनुपर्ने माग राखेका थिए। मगरलाई युटा राज्यको हिरासतमा राखिएको छ।

त्यस्तै सन २०१० मा नै क्यालिफोर्नियाको पाम स्प्रिङस्थित भूतपूर्व अमेरिकी सैनिक एवं व्यवसायी ७५ वर्षीय क्लिफ लम्बर्टको सङ्गठित रुपमा हत्या गरेको अभियोगमा कौशल अधिकारी पक्राउ परेका थिए। उनीमाथि प्रहरीले सङ्गठित ठगीको आरोपसमेत लगाएको छ। अधिकारीबाट ठगिनेको संख्या धेरै रहेको प्रहरीले आफ्नो रिपोर्टमा बताएको थियो। अधिकारीलाई हाल रिभर साइड काउन्टी जेलमा पठाइएको छ।

ठक्कर दिएर भाग्दा....
सन् २००८ मा पेन्सिलभेनियास्थित तीव्र गतिमा सवारी चलाउँदै एक मोटरसाइकल चालकलाई ठक्कर दिएको आरोपमा डा. शिवलाल आचार्यलाई पेन्सिलभेनिया प्रहरीले पक्राउ ग-यो। त्यतिखेर आचार्यले कालो रङको बिएमडब्लु चलाएका थिए।

मोटर साइकललाई ठक्कर दिएपश्चात् आचार्यले ओहायो र सिकागोको बोर्डरमा पर्ने नजिकैको जंगलमा लुक्ने प्रयास गरेको बेला प्रहरीले पक्राउ गरेको थियो। आचार्यको रिहाइका लागि स्थानीय नेपाली समुदायले पहल गरे पनि अभियान सफल भएन।

डा. शिवलाल आचार्य
अपराधः दुर्घटना, सजायः जेल (हिरासतमै आत्महत्या)

ठक्करले मोटरसाइकल चालक केथ ब्राउनको मृत्यु भएको थियो। उनीमाथि गाडीले हानेर मारेको आरोप लाग्यो। आचार्य अदालतको आदेशमा कारागार चलान भए। सिकागोस्थित सेन्ट जोसेफ अस्पतालमा चिकित्सक आचार्य पारिवारिक तनावमा भएको बताइएको थियो।

उनी एलगानी काउन्टीको हिरासतमा रहेकै बेला सन् २००८ डिसेम्बरमा झुण्डिएर आत्महत्या गरे। अमेरिकी सरकारले आचार्यको परिवारलाई क्षतिपूर्तिबापत दुई लाख अमेरिकी डलर दिएको थियो।

हिट एन्ड रनको अभियोगमा गत वर्ष ३६ वर्षीय मानबहादुर गुरुङसमेत पक्राउ परे। गुरुङले सन् २०१८ को डिसेम्बरमा २० वर्षीय विद्यार्थी एमजी निउवेलाई ठक्कर दिएपछि नियमानुसार रोकेर प्रहरीलाई खबर गर्नुपर्ने भए पनि खबर नगरी भागेका थिए।

पछि घाइते निउवेलाई प्रहरीले अस्पतालमा लगे पनि चिकित्सकले तत्काल मृत  घोषणा गरे। प्रहरीले गुरुङलाई पक्राउ ग-यो। उनले आफूले चलाएको ट्रकसँग केही ठोक्किएझैँ लागे पनि मृग ठोक्किएकोजस्तो लागेको तर सवारी अवरोध हुने भएकाले गाडी नरोकेको दाबी गरे।

तर प्रहरीले दुर्घटनालगत्तै घटनास्थलमा नगएको, नजिकैको स्थानीय प्रहरीलाई खबर नगरेको लगायतको आरोप लगायो गुरुङलाई र अदालतले धरौटीमा छुट्न नपाउने गरी जेल पठायो।

सन् २०१८ मा नै कारले हानेर खुट्टा छिनाइदिएको आरोपमा टेक्सासस्थित अस्टिन प्रहरीले १९ वर्षीय दीपक थापालाई पक्राउ गरेको थियो। उनलाई घटनास्थलमा एक प्रत्यक्षदर्शीले खिचेको फोटोको आधारमा पक्राउ गरेको थियो।

घटनाका पीडित बस स्टपमा बस कुरिरहेका थिए। त्यहीँ उनलाई थापाको कारले ठक्कर दिएको थियो। ठक्करपश्चात् थापाले चलाएको कार सडकबाट अनियन्त्रित हुँदै फोहोर भाँडो र बिजुलीको पोललाई ठक्कर दियो। उनी कारबाट निस्केर भाग्दै गर्दा प्रत्यक्षदर्शीले उनको तस्बिर लिएका थिए। पछि पक्राउ परे र अहिले हिरासतमा छन्।

नक्कली विवाहले फन्दामा
विवाहको लफडाले समेत अमेरिका पुगेका नेपाली जेल पर्ने गरेका छन्। स्थायी बसोबासको अनुमति पाउन नक्कली विवाहसमेत गर्न तयार हुँदा नेपाली जेल परेका छन्। यस्तै एक घटना हो, इलोभा श्रेष्ठको।

सन् २०१५ मा ६ महिनाको भिजिट भिसामा अमेरिका प्रवेश गरेका थिए उनी। अमेरिकामा स्थायी रुपमा बस्ने उपायको खोजीको क्रममा उनले एक वेबसाइटमा ग्रिन कार्ड चाहनेसँग आफू विवाह गर्न तयार रहेको एक विज्ञापन देख्छन्।

२९ वर्षीय अमेरिकी नागरिक मरिनो मुसेराले सो विज्ञापन गरेकी थिइन्। उनले ती युवतीलाई इमेलमार्फत सम्पर्क गर्छन् र नक्कली विवाहका लागि १३ हजार अमेरिकी डलर दिने सहमति हुन्छ। किस्तामा तिर्ने सहमतिअनुसार उनले तीन हजार अमेरिकी डलर तिर्छन्। दुवैले सर्तअनुसार विवाह गर्छन्।

तर ग्रिन कार्ड पाउन नक्कली विवाह गरेको पोल खुलेपछि क्यालिफोर्नियास्थित कपरटिनो  शहरबाट उनी पक्राउ पर्छन्। पक्राउसँगै स्थानीय अदालतले पाँच वर्षको जेल सजाय र २ लाख ५० हजार जरिवानाको फैसला सुनायो।

नेपालीले नेपालीलाई ठगे
हत्या मात्र होइन, ठगीका मामिलामा समेत नेपालीहरु कम देखिएका छैनन्। क्यालिफोर्निया राज्यमा ठगीको आरोपमा किशोर चौधरीलाई एक वर्षको काराबास सजाय भयो। उनीमाथि नेपाली नागरिकलाई नै ठगेको आरोप लागेको थियो। ९ जना नेपालीबाट २ लाख ६ हजार डलर ठगी गरेको पुष्टि भएपछि उनी जेल परेका थिए। उनी अहिले जेलमा सजाय भुक्तान गरिरहेका छन्।

ठगीकै आरोपमा सान होजेस्थित सन्तोष गिरीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले उनलाई कन्सलटेन्सीमार्पmत नक्कली एचवान बनाई रकम असुल गरेको आरोप लगाएको थियो।

लुकेर छिर्दा पनि जेल
यौन हिंसा, ठगीसँगै हत्याजस्ता आपराधिक घटनाबाहेक तेस्रो बाटो अर्थात् विभिन्न देश छिचोल्दै अमेरिका प्रवेश गर्ने क्रममा सीमा सुरक्षा बलको फन्दामा परी पक्राउ पर्ने नेपालीको संख्या पनि उत्तिकै छ।

सिमानामा पक्राउ गरेका सबैलाई सुरक्षा बलले अध्यागमन हिरासतमा नै पठाउने गर्छ। युएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस)का अनुसार, अमेरिकाका विभिन्न २९ वटा इमिग्रेसन जेलमा नेपाली छन्। जेल पर्नेहरुको संख्या थपिदै जाँदा र एउटा जेलबाट अर्को जेलमा सार्नुपर्ने अवस्था पनि आइरहने भएकाले कहिलेकाहीँ नेपालीहरु रहेको जेल संख्या थपिनसक्ने सम्भावना पनि रहन्छ भने कहिलेकाहीँ संख्यामा घटीबढी हुनसक्ने प्रहरीले जनाएको छ।


https://shukrabar.nagariknetwork.com/news/5222


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
Travelling to Nepal - TPS AP- PASSPORT
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
How long does Citizenship take?
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters