[Show all top banners]

Raam Raam

More by Raam Raam
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 गुनासो
[VIEWED 2958 TIMES]
SAVE! for ease of future access.
Posted on 01-14-17 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

गुनासो

मेरो इन्टेन्सन गलत होइन, हुँदै होइन । जोसुकैले जेसुकै भनोस् ।

सूर्यलाई जतिखेर पनि फेसबुकमै रमाइरहेको देखेर मलाई यो फेसबुक सौताभन्दा कम त लाग्थेन । अनि सौतासँग को नजिक हुन चाहन्छ ? त्यसैले मैले आफूलाई फेसबुकसँग कहिल्यै जोडिनँ ।

बिहे गरेको १०–११ वर्षपछि यसै पनि वैवाहिक जीवन मनोटोनस त भई नै हाल्छ– चाहे त्यो प्रेम विवाह नै किन नहोस् ।

मैले सूर्यको मप्रतिको बहुलट्ठीपन देखेकी थिएँ । माया देखेकी थिएँ । चाहना देखेकी थिएँ । निकै वर्षदेखि उपेक्षा र अरुचि पनि देख्दैछु । मप्रति उसको पागलपन देखेर कायल भएकी थिएँ । मेरो अन्तै बिहे भए आत्महत्या गर्ने उसको धम्कीसँग डराएर म आफ्नो बिहेभन्दा दुई दिनअघि ऊसँग भागेकी थिएँ । म हिँडेपछि परिवारले ठूलो बेइज्जतिको सामना गर्‍यो । उनीहरूले आजीवन मेरो मुख नहेर्ने निर्णय लिए । र, यो निर्णय आज पनि कायमै छ ।

त्यतिबेला मलाई पटक्कै पछुतो लागेन । अहँ लाग्दै लागेन ! न मलाई बाबाको बेइज्जतिले असर गर्‍यो, न आमाको रुवाबासीले । न दाइहरूको धम्की र फकाइले । केवल सूर्यलाई पाएर धन्य भएकी थिएँ म ।

हुन पनि सूर्यका लागि फूल थिएँ म, जून थिएँ । आकाश र धरती थिएँ । साँझ र बिहान थिएँ । वर्षात् र इन्द्रेणी थिएँ । उसका लागि म त्यो सब थिएँ, जो समग्रतामा सौन्दर्यको प्रतीक हुन्छ । त्यसैले पनि मलाई दुनियाँको पटक्कै पर्वाह थिएन ।

तर, आवेगमा गरिने निर्णय दिगो हुँदैनन् । दूध उम्लिएर पोखिएझैँ सूर्यको माया जुन वेगका साथ उम्लियो, त्यही वेगसँग सतहबाट ओर्लियो ।

एक वर्षमै अघायो ऊ मेरो प्रशंसा गरेर, अँगालोमा बाँधेर, चुमेर, मलाई बाइकमा यता र त्यता घुमाएर, अरूले गरेको मेरो प्रशंसामा छाती फुलाएर, गर्व गरेर । उसको माया जुन सतहमा पुगेर स्थिर भएथ्यो, मेरो माया त्यही सतहदेखि उम्लिँदो थियो ऊप्रति । मलाई ऊबिना दुनियाँ बाँच्नेलायक नै लाग्थेन ।

सूर्य कान्छो छोरो थियो घरको । त्यसैले जतिसुकै रिसाए पनि परिवारले ऊ र मलाई घरमा भित्र्यायो । तर, सूर्यलाई जस्तै मलाई अपनाउन सकेन । उनीहरू परे काठमाडौँका टिपिकल नेवार अनि म पूर्वतिरबाट बसाइँ सरेकी बाहुनकी छोरी । उनीहरूलाई लाग्थ्यो– मैले उनीहरूको सीधासादा छोरोलाई पैसा र रूपको सहाराले बरालेँ, बिगारेँ । सूर्यको पछाडि उनीहरू हाकाहाकी मेरो चरित्रमाथि औँला उठाउँथे । तर, म उनीहरूको कुराले जति दुःखी भए पनि सूर्यसँग केही भन्थिनँ । यो परिवार जे-जस्तो भए पनि सूर्यको थियो । अनि सूर्य मेरो । यही विश्वासमा मैले लगभग दुई वर्ष सूर्यको घरमा सबैको सुनेँ, सहेँ ।

दुई वर्षपछि सूर्यलाई अस्ट्रेलिया आउने मौका जुर्‍यो । राम्रो सम्भावना भएको बैंकको राम्रो पोस्टको जागिर छोडेर सूर्य अझै राम्रो भविष्यको आश बोकेर स्टुडेन्ट भिसामा अस्ट्रेलिया आयो । म उसको पछि लागेँ । कसैले खासै कोसिस पनि गरेन मलाई रोक्ने । अँ बरु सूर्य नै राजी थिएन मलाई सँगै ल्याउन । तर, अस्ट्रेलियाका साथीहरूले ‘एक्लैले पढ्न र काम गर्न गाह्रो हुन्छ, स्वास्नी लिएर आइज’ भनेपछि ऊ मलाई साथै लैजान राजी भयो ।

लगभग वर्ष दिन लाग्यो हामीलाई अस्ट्रेलियामा व्यवस्थित हुन ।

सूर्यले राम्रो युनिभर्सिटी रोजेको थियो मास्टर्स गर्न । फि उत्पात महँगो थियो । घरको कान्छो, पुलपुलिएर हुर्केको सूर्यलाई पढाइ र कामको तारतम्य मिलाउन हम्मे पर्यो । यस्तो बेला मैले अघि सरेर उसलाई ढुक्कसँग पढ्न लगाएँ, उसको फिस र अरू खर्चको जिम्मेवारी लिएँ ।

कस्ता-कस्ता पढेलेखेकाले त आफ्नो लाइन र स्तरको काम नपाउने यो ठाउँमा मजस्तो ब्याचलर नसकी कलेज छोडेकीले के काम पाउँथेँ र !

केयररको ट्रेनिङ लिएर नर्सिङ होमहरूमा काम सुरु गरेँ । काम निकै गाह्रो हुन्थ्यो तर सूर्यको सजिलोका लागि म जिउज्यानले काममा लागिपरेँ । सूर्य युनिभर्सिटी जान्थ्यो, असाइनमेन्ट गर्थ्यो, साथीहरूसँग ह्याङ्आउट गर्थ्यो । म काम गर्थें । सूर्यलाई माया गर्थें । बस ! मेरो दुनियाँमा आफ्नो काम र सूर्यबाहेक अरू केही, कोही थिएन । मेरा साथीहरू थिएनन् । मेरो ज्ञान एकदमै सीमित थियो ।

सूर्यको मायाको रङ जति-जति खुइलिँदै गयो, उति–उति मलाई मेरो परिवार याद आउँदै गयो । आफूले गरेका गल्ती अक्षम्य लाग्दै गए । बाबाको बेइज्जती सम्झेर मन पोल्यो । आमाको आँसु सम्झेर अन्तरआत्मा भिज्यो । चारवटा दाजुहरूको पुलपुलाइ र माया सम्झेर जीवन खल्लो लाग्यो । घरको सम्पन्नता, नोकरचाकरको सेवा–टहल सम्झेर यहाँको जीवन झनै कष्टकर लाग्यो । तर, मैले सूर्यलाई केही भन्न सकिनँ । बरु एकदिन सुटुक्क घरमा फोन गरेँ । बाबाले फोन उठाउनुभयो । निकैबेर म केही बोल्न सकिनँ । तर, बाबाले धेरैपटक ‘हेलो ! हेलो !’ भनिरहेपछि मन थाम्न सकिनँ । आँसुले भिजेको, अवरुद्ध कण्ठले भनेँ, "बाबा ! म आर्या !"

जवाफ अनअपेक्षित थिएन ।

"को आर्या ?" उहाँको तटस्थ स्वर मानौँ मेरो छातीमा दह्रो मुक्का बनेर ठोक्कियो, "म कुनै आर्यालाई चिन्दिनँ । कृपया फेरि यहाँ फोन नगर्नुहोला ।"

उहाँले फोन काटिदिनुभयो । म त्यसै लायक थिएँ, मलाई थाहा थियो तर पनि म निकैबेर फोन छातीमा टाँसेर रोएँ त्यो दिन ।

 

०००

 

५ वर्ष दिनरात नभनी काम गरेरै बित्यो ।

हामी पहिले ‘रेसिडेन्ट’, त्यसपछि ‘सिटिजन’ भयौँ । सूर्यले राम्रो कम्पनीमा ठूलो पोस्टमा काम पायो ।

हामीले बिस्तारै घरबार जोड्यौँ, सम्पत्ति जोड्यौँ । सूर्यले आफ्ना दाइ र दिदीहरूको खुब मद्दत गर्‍यो । उसको परिवारका कोही न कोही आइरहन्थे यहाँ । घर खासै खाली हुन्थेन । सूर्य त्यही बेला बोलेको सुनिन्थ्यो, जब उसको परिवारका कोही यहाँ हुन्थे या ऊ साथीहरूसँग बियर पिएर चिलआउट गर्थ्यो । नत्र त मैले केही भनेँ भने, कुनै कुरा गरेँ भनेँ ऊ सधैं एउटै चिज भन्थ्यो, "अफिसमा कामको, प्रेसर घरमा तिम्रो । कमअन आर्या, गिभ मी सम स्पेस ।"

एउटै ओछ्यानमा महिनौँ कुनै अपरिचितझैँ सुत्थ्यो ऊ मसँग । अँगालो हाल्दा पनि 'आ’म सो टायर्ड' भनेर अझै पर सर्ने सूर्यले कस्तो 'स्पेस’ चाहन्थ्यो, मैले बुझ्नै सकिनँ ।

वर्षों यसैगरी बित्यो ।

हाम्रा बालबच्चा भएनन् । डक्टरले सूर्यबाट बच्चा नहुने बताएपछि मैले अडप्सन सजेस्ट गरेँ तर सूर्यले सुन्न पनि चाहेन । उसका आमा र भाउजूले मलाई किचकिच गरिरहे । मबाट बच्चा नभए बेलैमा अर्को बिहे गर्ने सल्लाह दिइरहे उसलाई । तर, उसले चुपचाप सुनिरह्यो । मैले पनि केही भन्न चाहिनँ । यत्रा वर्ष चुप रहेरै बित्यो, अब बोलेर के फाइदा ?

यी बितेका वर्षमा मेरो एउटै उपलब्धि थियो, मैले कनिकुथी 'ब्याचलर इन नर्सिङ' सकेर हस्पिटलमा काम सुरु गरेकी थिएँ । सूर्य त सधैँ भन्थ्यो, "काम छोड, घरै बस । के जरुरी छ ? मैले कमाइरा’छु नि ।"

यो काम पनि छाडिदिए मैले कसरी काट्थेँ दिन ? शून्य घर, शून्य काख र शून्य जीवन । यत्रतत्र शून्यतामा यही बिरामीहरूबीच बितेका केही घण्टा सजिला हुन्थे मेरा । यो पनि छोडिदिए कसरी बाँच्ने म ?

एकदिन साँझ कामबाट फर्किएँ । फ्रेस भएर चिप्सको प्याकेट लिई ल्यापटप खोलेँ । शुक्रबार भएकोले सूर्य साथीहरूसँग ह्याङआउटमा रमाइरहेको थियो । उसको घर आउने ठेगान थिएन । ऊ नहुँदा मलाई एक्लै बसेर खान मन लाग्थेन ।

एउटा मेरै नामकी अपरिचितको मेल मेरो प्रतीक्षामा थियो । डिलिट गरौँ कि खोलेर हेरौँ भन्ने दोधारबीच मैले मेल खोलेँ ।

 

डियर फुपू !

 आर्या ! मेरो ड्याड याने कि तपाईंको माहिलो दाइको एकमात्र सन्तान  मेरो नाम पढेर तपाईंलाई लागिसक्यो होलातपाई आज पनि हाम्रो परिवारको मुटुबाट पुछिनुभएको छैन  बस नाटक गरिरहेछन् सबै तपाईंलाई बिर्सिएको तपाईंले जस्तै  यतिबेला  अस्ट्रेलिया घुम्न आएकी छु  ममड्याड अमेरिकामा सेटल हुनुभएको   हजुरबुबा हजुरआमा अहिले अमेरिकामै हुनुहुन्छ 

फुपू तपाईंलाई एकपटक भेट्न चाहन्छु  बडो मुस्किलले मैले तपाईंको इमेल आईडी पत्ता लगाएर यो मेल पठाएकीछु  प्लिज मलाई निराश नपार्नुहोला !  भोलि बिहान ११ बजे ओपेरा हाउसमा कुरिरहनेछु  मेरो यहाँको मोबाइलनम्बर यसैमुनि लेखिदिएकी छु 

हजुरकी अर्की आर्या !

 

मेल सकिँदासम्म मेरो आँखाबाट सानोतिनो झरी दर्किसकेको थियो । यो मजाकै थियो भने पनि यसले मलाई नराम्रोसँग झकझक्यायो । सूर्यको उपेक्षाले ढुंगा बनिसकेको मेरो मुटुलाई वर्षौंपछि हल्लाइदियो यसले ।

सूर्यले घर पस्नेबित्तिक्कै भन्यो, "हामी अहिल्यै स्नोई माउन्टेन जान लागेको । प्याकअप योर स्टफ्स !"

मैले घडी हेरेँ । ९ बज्नै लागेको थियो ।

"सो ह्वाट ? बिस्तारै ड्राइभ गर्दै बाटोमा मस्ती गर्दै बिहान पुगौँला !" उसले मेरो आशय बुझेझैँ गरी भन्यो, "लङ् विकेन्ड हो । सोमबार साँझसम्म फर्के भैहाल्छ । हरी अप !"

ऊ आफ्नो सामान प्याक गर्न तम्सियो । अहिलेसम्म उत्साहित र उत्तेजित मेरो मन अचानक बरफ भयो । कति उत्साहले म उसलाई कुरिरहेकी थिएँ । वर्षौंपछिको यो खुसी ऊसँग बाँडेर फेरि एकपटक बाँच्न चाहन्थेँ म उसको साथमा । तर, सूर्यलाई त म जीवित थिएँ या वर्षौं पहिले लाश भइसकेकी थिएँ भन्ने पर्वाह नै थिएन ।

"अझै उभिरा’छ्यौ ? सामान प्याक गर भनेको, साथीहरू बाहिर कुरिरा’छन्...!"

"सूर्य ! मलाई तिमीसँग केही भन्नु छ, मेरो द...।"

"डोन्ट स्टार्ट इट नाउ," सधैँझैँ उसले सुन्न चाहेन, "कमअन, हरी अप !"

मेरो आँखामा आँसु भरियो, "म कहीँ जान्न सूर्य ! तिमी जाऊ !" मैले निर्णयात्मक स्वरमा भनिदिएँ, "मेरो लागि तिमीसँग पाँच मिनेट समय छैन भने मसँग पनि घण्टौं छैन तिम्रा वाहियात साथीहरूसँग बिताउन ।"

उसले आश्चर्यपूर्वक हेर्यो मलाई । उसले मेरो यस्तो रूप पहिलोपटक देखेको थियो ।

"यु नो ह्वाट ? आ’म सिक एन्ड टायर्ड विथ यु एन्ड योर मुड़ !" ऊ खुट्टा बजार्दै, फन्फनिँदै बाहिर निस्कियो । म रातभरि सुत्न सकिनँ ।

झगडा नहुनु, मारपिट नहुनु, असहमति नहुनुलाई यदि सफल र सुखी वैवाहिक जीवन मानिन्थ्यो भने हाम्रो वैवाहिक जीवन पर्फेक्ट थियो । खुसी र सुखी थियो तर यो सुख र खुसीमा केवल सूर्यको एकलौटी अधिकार थियो । मेरो कुनै हिस्सा थिएन ।

के सबैको वैवाहिक जीवन यस्तै हुन्छ ? या सूर्यमात्रै यस्तो लाग्ने हो, जो जीवनसाथीको साथमा बाहेक बाँकी अरु सबै खुसी हुन, रमाउन जान्दथ्यो ? या फेरि कमी मैमा थियो, जो म उसलाई आफ्नो आसपासमा खुसी राख्नै जान्दिनथें ?

बिहान म सबेरै ओपेरा हाउस पुगेँ ।

निकै बेर कुरेपछि ऊ आई । उसको साथमा एउटा नेपाली केटा थियो । त्यसलाई उसले आफ्नो ब्वाइफ्रेन्ड भनेर परिचय गराई ।

म केही हिचकिचाएँ तर ऊ मलाई अँगालो हालेर निर्धक्क रोई । साथमा म पनि । हाम्रो रुवाबासीले विचलित उसको ब्वाइफ्रेन्डको पनि आँखा ओभानो रहेन ।

मैले उनीहरूलाई घरमा ल्याएँ । भदैलाई देखेर मेरो दाजुको न्यास्रो मेटियो । छ या सात वर्षकी हुँदी हो ऊ मैले घर छोड्दा । तर, त्यसबेला उसको नाम अर्कै थियो । पछि उसैले भनी– अमेरिका पुगेर उसका बाउ–आमाले उसलाई मेरो नाम दिएका थिए । सुनेर म खुब रोएँ । दुरुस्तै बाउजस्ती थिई ऊ । बोलाइ, हँसाइ सबै उस्तै थियो । रातिको खाना खाएर उसको ब्वाइफ्रेन्ड भोलि आउने आश्वासनका साथ फर्कियो ।

हामी फुपू–भदै रुँदै–हाँस्दै, सुन्दै–सुनाउँदै रातभरि जागै बस्यौँ । रातभरिमा उसले सैयौँ पटक मेरो रुपको प्रसंसा गरी । मलाई अँगाली अनि उसका बाउ–आमा, ठूलो बाउ–ठूली आमा, काका–काकीले मलाई पटक्कै नबिर्सिएको, खाली हजुरबुबाको डरले मसँग सम्पर्क नगरेको कुरा सुनाई । मलाई सबै परिवारको फोटो देखाई । म फोटो हेरेर धुरुधुरु रोएँ । कति ठूलो मूल्य चुकाएको थिएँ मैले सूर्यलाई पाउन तर पनि कहाँ पाउन सकेँथेँ मैले उसलाई ?

कुरैकुरामा उसले मेरो फेसबुक आईडी सोधी । मैले छैन भनेको सुनेर तीनछक परी । त्यसपछि उसले मलाई फेसबुकको चिनारी बताई, महिमा सुनाई र मलाई अकाउन्ट खोल्न आग्रह के- जबर्जस्ती गरी । मेरो कुनै उत्साह नदेखेपछि उसैले मेरो लागि अकाउन्ट खोलिदिई । नाम परिवर्तन गरेर श्रेया राखी । मैले विरोध गरेँ । उसले मलाई सम्झाई, "फुपू ! तपाईं त ड्याडले भनेभन्दा सोझी र सीधा हुनुहुँदोरहेछ । तपार्इंलाई त अझै दुनियाँदारी आउदैन रै’छ । हेर्नुस् ! मैले तपाईंको आधा नाम चेन्ज गरेकी छु । उमेर लेख्नै पर्दैन । काम नर्सिङ नै लेखिदिएकी छु । अँ एउटा बासस्थानचाहिँ अमेरिकाको म बसेको सहर नै लेखिदिएकी छु । यसमा केको गिल्टी फिल ?"

"अनि मेरो फोटोले सत्य भन्दैन कि क्या हो ?" मैले भनेँ, "किन यो सब झन्झट आर्या ?"

"यसकारण कि तपाईं सही आईडीमा सत्य लेख्न सक्नुहुन्न । फ्रस्टेसन निकाल्न सक्नुहुन्न । तपाईंको हस्बेन्डको गतिविधिमाथि नजर राख्न सक्नुहुन्न ।"

"मलाई राख्नुछैन मेरो हस्बेन्डको गतिविधिमाथि नजर," मैले उत्तेजित हुँदै उसको कुरा काटेँ, "अनि कसले भन्यो म फ्रस्टेडेड छु भनेर ?"

उसले मेरो अनुहार आफ्नो दुई हत्केलाले मायाले समाती अनि भनी, "फुपू ! मेरी यति राम्री, यति गुणी फुपू ! तपाईको यो रित्तो आँखा, रित्तो घर, रित्तो जीवनले सबै कुरा भनिरहेछ । तपाईंले या अरु कसैले कहाँ केही भनिरहनुपर्छ ?" उसको स्वर रुँघियो ।

'म खुसी छु' भन्दाभन्दै मेरो आँसु छचल्कियो ।

"फुपू ! घर, परिवार, सहर र जिन्दगी छोडेको बदलामा मानिस तपाईंजस्तै खुसी हुन्छन् भने मलाई गर्नु नै छैन कसैलाई माया, हुनै छैन खुसी, तपाईं जस्तो ।" ऊ रोई । साथमा म पनि रोएँ ।

अन्त्यमा मेरो फेसबुकको प्रोफाइल पिक्चरका लागि आफ्नै फोटोलाई फोटोसपबाट अझ आकर्षक बनाएर राखिदिई । मलाई अमेरिका घुम्न बोलाउने, आफ्ना आमा–बाउलाई मनाएर मलाई उनीहरूसँग भेटाउने प्रतिबद्धता व्यक्त गरी । मभन्दा झन्डै आधा उमेर सानी तर मभन्दा कैयौँ गुणा बढ़ी जान्ने, सुन्ने र दुनियाँदारी बुझेकी मेरी भदै मलाई जिन्दगी सहेर, सुनेर सताइएर र दिएर मात्र होइन, आफ्नो जिन्दगी पूरा हक र अधिकारका साथ लडेर, लिएर बाँच्ने सल्लाह दिँदै मसँग बिदा भई ।

सूर्य त फुर्सद भयो कि फेसबुकमा झुन्डिहाल्थ्यो । च्याटमा व्यस्त, मस्त हुन्थ्यो । म परैबाट उसको अनुहारको मुस्कान हेर्थें अनि कल्पन्थेँ– यो मुस्कान, जसलाई जोगाउने चाहनामा मैले आफ्नो सबै सर्वश्व दाउमा लगाइदिएँ, त्यो किन मेरो हुन सकेन ? मेरा लागि हुन सकेन ? कहाँ चुकेँ म ? कहाँ गल्ती गरेँ मैले ?

म नजिक जान्थेँ । ऊ ल्यापटप अर्कोतिर फर्काउँथ्यो । उसको ओठको मोहक मुस्कान पुछिन्थ्यो । ऊ निधारमा गाँठो पारेर मलाई हेर्थ्यो । मलाई गिल्टी फिल हुन्थ्यो– मेरो कारणले उसको मुस्कान पुछिएकोमा, मुड अफ भएकोमा । म फेरि उसको नजिक जान्नथेँ ।

तर, अब म पनि फेसबुकमा अलमलिन थालेँ ।

पहिले बाध्यतावश, अहिले खुसी–खु्सी । घण्टौं कुरा गर्थ्यौँ हामी फुपू–भदै फुर्सद हुँदा । ऊ मलाई दुनियाँभरिका कुरा सुनाउँथी, सेयर गर्थी । पहिलोपटक मैले दुनियाँ देखेँ, जानेँ, अर्की आर्याको आँखाले । उसको र फेसबुकको मद्दतले मैले जानेँ- दुनियाँ कहाँबाट कहाँ पुगिसकेछ ।

मैले पनि आफ्ना सोचहरू फेसबुकमा राख्न थालेँ । साथीको संख्या बढ्दै गयो । मेरो विचारसँग सहमति राख्नेहरू थपिँदै गए । मप्रति चासो देखाउने पनि थुप्रै भेटिए । तर, म कसैसँग कुरा गर्थिनँ ।

कहिलेकाहीँ जब म वालमा आफ्ना असन्तोष र एक्लोपनको छटपटी खन्याउँथेँ, एउटा केटा (जो उसको प्रोफाइलमा लेखिएको उमेरअनुसार मभन्दा ४–५ वर्ष सानो थियो) बडो चाख लिएर पढ्थ्यो र कुनै पाकोले झैँ कमेन्ट गर्थ्यो । पहिले त मैले खासै मतलब गरिनँ तर बिस्तारैबिस्तारै उसको स्टाटस, कमेन्टले मेरो ध्यान तान्न थाल्यो । ऊ अमेरिकामा मेडिकलको स्टुडेन्ट थियो । उसको नाम आदित्य थियो । उसको परिवार वर्षौंदेखि त्यतै थियो ।

अर्को दुई वर्ष सूर्यसँग अपरिचितझैँ बसेरै बित्यो ।

यी दुई वर्षमा मेरी भदैले आफ्नो बाचा पूरा गरेर देखाई ।

मेरो माहिलो दाइ र भाउजूसँग कुरा भयो । खुब रुवाबासी चल्यो । अन्त्यमा उनीहरूले मलाई अमेरिका आउने निम्तो दिए । तर, मैले सूर्यलाई केही भनिनँ ।

मलाई पनि ल्यापटपमा टाँसिएको देखेर ऊ केही असहज देखिन्थ्यो तर केही भन्थेन । केही दिनदेखि ऊ मेरो फ्रेन्ड्स लिस्टमा थियो अनि मसँग च्याटमा नजिकिने कोसिसमा थियो । म भने हिचकिचाइरहेकी थिएँ ऊसँग नजिकिन ।

एकदिन उसले लेख्यो, "यु आर सो ब्युटीफुल !"

"हाउ डु यु नो ?" मैले सोधेँ ।

"फोटो हेरेर !"

"फोटो हेरेर के थाहा हुन्छ ?"

जवाफमा उसले आकाश–पाताल जोडेर, फूल–बुट्टा भरेर लम्बेतान शब्दहरू खर्चियो मेरो तारिफमा । यो मेरो पुरानो सूर्यसँगको भेटघाट थियो । कस्तो अचम्म ? एउटै घरको छतमुनि वर्षौंदेखि मसगँ अपरिचितजस्तै बाँचिरहेको ऊ मसँग अन्तरंग बन्ने कोसिसमा थियो फेसबुकमा ।

त्यो दिन मसँग अलि घनिष्ट हुँदै गएको मेरो फेसबुकको साथी आदित्यले सोध्यो, "तिम्रो रुचि केमा छ ?"

केहीबेर लाग्यो मलाई उसको प्रश्न बुझ्न । उसले दोहोर्‍याएर सोधेपछि मैले सम्झें- सूर्यको हात थामेर घर छोडेदेखि मेरो रुचि ऊबाहेक अन्त कतै थिएन । सूर्यको चाहना र कामनामा रंगिएर मैले मेरो रुचि केमा थियो भन्ने पनि बिर्सिसकेथें ।

मैले हतार–हतार यही प्रश्न सूर्यलाई सोधेँ । जवाफ अपेक्षित थियो, "नयाँ नयाँ साथी बनाउनु । साथीहरूसँग चिलआउट गर्नु ।"

मैले सोधेँ, "म्यारिड ?"

उसले भन्यो, "अनफर्चुनेटली, एस । लङ् टाइम ब्याक, ह्वेन आई वाज टु यङ, परिवारको जबर्जस्तीमा । कुनै अन्डरस्टाइन्डिङ नै छैन । अनपढ गँवार ।"

मेरो मन नराम्रोसँग दुख्यो । अरू जे भए पनि मेरो सूर्यले झुटो बोल्छ भन्ने मलाई विश्वास थिएन ।

"त्यसो भए किन अझै सँगै छौ त ?" मैले आँसु पुछ्दै लेखेँ ।

"के गर्छे त्यसले मबिना ? केही गर्ने सामर्थ्य छैन । माइतीको पाल्ने हैसियत छैन । बाध्यता छ मेरो ।"

उसका एकएक शब्दले मेरो अन्तरआत्मामा घाउ बनाए । मेरो अहमलार्इ घाइते पारे उसका ती शब्दले ।

"के गर्छौ त ? जीवन यसै बिताउँछौ ?" मैले लेखेँ ।

"हेरौँ । सहन सकुन्जेल सहन्छु । सहन शक्तिले सीमा नाघेका दिन जीविका चल्ने पैसा दिएर काठमाडौँमा घर किनेर उतै राखिदिन्छु ।"

म निक्कै बेर निःशब्द भएँ । उसले मेराबारेमा नानाथरी लेखिरह्यो । कहाँसम्म भने मलाई अस्ट्रेलिया घुम्न आउन निम्तोसमेत दिइरह्यो । टिकट पठाइदिने प्रमिस गरिरह्यो । म चुपचाप अफलाइन भइदिएँ ।

म बिरामी भएको बहाना गरेर घरमै बसेँ केही दिन ।

'जँचाउन जाऊ' भन्नेबाहेक उसले अरू कुनै चासो देखाएन । तर, मेरो फेसबुके साथीले मेरो बिसन्चोको बारेमा सुनेर खुब चासो देखायो । के भएको सोध्यो, डक्टर देखाएको/नदेखाएको सोध्यो । र अन्त्यमा, अर्को सहरबाट मलाई भेट्न आउने कुरा सुनायो । अचानक मलाई भाउन्न भयो । मैले सूर्यसँगको सारा रिस र आक्रोश ऊमाथि पोखेँ ।

"लावारिस सोचेको छौ मलाई ? थाहा छ म को हुँ ? मेरो उमेर के हो ? कस्तो छु म यथार्थमा ? एउटा फोटो देखेको भरमा, अलिकति कुरा गरेको भरमा, साथी मानेर दुःख–सुख बाँडेको भरमा तिमीले कसरी सोच्यौ म यति इजिली अभाइलेबल हुन्छु भन्ने ? के सोच्छौ तिमी स्वास्नीमान्छेलाई ? बियरको बोतल ? बेडसिट ? या डस्टबिन ? यदि स्वास्नी मान्छेको मतलब थाहा छैन भने ल्यापटप बन्द गर ! बाहिर छौ भने घर जाऊ । घरमा छौ भने कोठा बाहिर निस्क र पहिला तिम्रो आँखासामु जो पर्छ, आमा, दिदी या बहिनी, उसका लुगा फुकालेर नांगो बनाऊ अनि नियालेर हेर त्यो शरीरलाई, किनभने त्यो पनि स्वास्नीमान्छे हो । त्यसपछि पनि तिमीभित्र पौरुषत्व बाँकी रहन्छ भने आएर मसँग कुरा गर । आ’ल कम ह्वेरेवर यु कल मी...।"

केही दिन लाग्यो मलाई निर्णय गर्न । कामबाट अढाई महिनाको छुट्टी लिएँ । वकिलसँग मिलेर डिभोर्सका लागि छलफल गरेँ ।

पहिले सोचेँ- जुन मान्छे मेरो हुन सकेन, उसको सम्पत्ति मलाई के काम ? तर फेरि सम्झेँ, सूर्यको परिवारमा बिताएका कष्टकर दुई वर्ष । अस्ट्रेलियामा सूर्यको महँगो फिस जुटाउनका लागि र उसले राम्रो जब नपाउन्जेल कठोर संघर्ष गरेर बिताएका तीन वर्ष । अनि मलाई लाग्यो- उसको सम्पत्तिमा मेरो पनि बराबर हक लाग्छ । मेरो एक्लोपनको क्षतिपूर्ति नै सही ।

त्यो रात सूर्य फेसबुकमा कसैसँग च्याटमा व्यस्त मुस्कुराइरहँदा म ऊसामु गएर उभिएँ । आज पनि सधैँझैं उसको मुस्कान पुछियो । उसले ल्यापटप फोल्ड गर्‍यो र निधारमा गाँठो पारेर मलाई हेर्‍यो ।

"आ’म गोइङ टु गिभ यु डिभोर्स कज..."

"नट नाउ आर्या ! कान्ट यु सी आ’म बिजी ? यु..." अचानक उसलाई स्मरण भयो मैले भर्खरै के भनेँ । उसको अनुहारको रङ फेरियो । उसले ल्यापटप अलिपर धकल्यो अनि आवेगपूर्ण स्वरमा सोध्यो, "ह्वाट डिड यु जस्ट से ?"

"म तिमीसँग सम्बन्ध–बिच्छेद गर्न जाँदैछु सूर्य !" मैले उस्तै तटस्थ स्वरमा भनें, "मैले लयरसँग कुरा गरिसकेकी छु । तिमी पनि कुरा गर । सकभर सहमति र सहजतासाथ अलग होऊँ । त्यही बेस हुन्छ ।"

"रात–बिरात के मजाक हो यो ?" ऊ करायो ।

"मजाक त तिमीले मेरो अस्तित्वलाई बनाइदियौ सूर्य !" म ऊभन्दा चर्को स्वरमा कराएँ, "तिमीबाहेक मैले जीवनमा अर्को कोही, केही चाहिनँ । घर–परिवार, जात, समाज, इज्जत सब छोडिदिएँ तिमीलाई पाउन । तर, मेरो भागमा संघर्ष, एक्लोपन, उपेक्षा र रित्तोपनबाहेक कहिल्यै केही परेन । जब मलाई तिम्रो साथमा पनि यसरी एक्लिएरै बाँच्नु छ भने म तिमीभन्दा बेग्लै आफ्नै तरिकाले किन बाँच्न सक्तिनँ ?"

मेरो स्वरको गम्भीरता र आक्रोश देखेर पहिलोपटक उसको अनुहारको रङ उडेको देखेँ मैले । ऊ मेरो नजिक सऱ्यो । मेरो हात थाम्यो अनि कम्पित स्वरमा भन्यो, "आई लभ यु बेबी !"

थाहा छैन कति युगपछि सुनेथेँ यी चार शब्द उसको मुखबाट, मैले सम्झिन सकिनँ । जबकि सुरुका दिनमा ऊ सयौँ–हजारौँपटक दोहोऱ्याइरहन्थ्यो यी शब्द । अनि उसले दोहोऱ्याएपिच्छे बेगसँग हलन्थ्यो मेरो यो कमजोर मुटु । तर, अहिले यतिबेला यो पटक्कै हल्लिएन, थर्थराएन । शायद यसले पनि बिर्सिसकेको थियो यी शब्दको असर, सूर्यले जस्तै । मैले उसको आँखामा केही खोजेझैँ गरी हेरेँ । उसले आँखा झुकायो ।

"के गर्न सक्छौ तिमी मेरा लागि ?" मैले सोधेँ ।

"जे पनि गर्न सक्छु बेबी ! तिमी भनेर त हेर ।" उसले फेरि मेरो हात समात्यो ।

"१८–१९ वर्षको उमेरमा आफ्ना बाबु–दाजुको इज्जतमाथि टेक्दै, घरमा जग्गे गाडिएपछि अगाडि–पछाडि कतै नहेरी तिम्रो हात थामेर मैले घर छोडेजस्तै गरी तिमी सक्छौ आफ्नो घरपरिवार छोड्न मेरो लागि ?" मेरो आँसु छचल्कियो ।

"आर्या !" उसको स्वर मलिन भयो । उसले मेरो हात छोड्यो ।

"त्यतिबेला सारै सानी थिएँ । दुनियाँदारी बुझेकी थिइनँ । त्यसैले मेरो यो दशा भयो । तर, अब बार्गेन गर्न चाहन्छु । भन के गर्न सक्छौ तिमी ? मेरो कोख र काखमा सन्तान दिन सक्छौ ? या परिवारको अगाडि आफ्नो असमर्थता भन्न सक्छौ ? जाँड, रक्सी, चुरोट छोड्न सक्छौ ? यी साथी सर्कल छोड्न सक्छौ ? यो फेसबुक अकाउन्ट सदाका लागि बन्द गर्न सक्छौ ? भन के-के गर्न सक्छौ तिमी मेरो लागि ?"

उसले टाउको झुकायो ।

"अरू छोड, यस्तो कुनै एउटा चीज भन, जुन बितेका यी वर्षहरूमा तिमीले मेरा लागि गर्‍यौ, केवल मेरा लागि !"  मैले बिस्तारै भनेँ ।

ऊ अझै केही बोलेन । म बाहिर निस्किएँ ।

ठूलै बबाल गर्‍यो सूर्यले डिभोर्सको मुद्दामा । उसका बाउआमा बोलायो सम्झाइबुझाइ गर्न । माफी माग्यो, हात जोड्यो तर मेरो मन पग्लेन । उसले लेखेका लाइनहरू मेरो आँखाबाट पुछिएन । अन्ततः हामी अलग भयौँ । उसका बाउ–आमा, दाइ–दिदीले कडा विरोध गर्दा गर्दै उसले घर–सम्पत्तिमा बराबरीको हिस्सा दियो मलाई ।

अस्ट्रेलिया छोड्नुअघि मैले आर्यालाई खबर गर्न फेसबुक खोलेँ । इनबक्समा थुप्रै म्यासेजको साथ आदित्यको म्यासेज पनि थियो । उसले लेखेको थियो, "एउटै चस्माले सबैलाई हेर्न छोड । बुझेँ- तिमीले चोट खाएकी छौ, यसको मतलब अरूलाई पनि दुखाउनैपर्छ भन्ने छैन । हिम्मत छ भने आएर भेट । मलाई एउटा मौका देऊ तिमीलाई बुझाउने । स्वास्नीमान्छेको अर्थ, अधिकार र स्थान के छ मेरो मन र जीवनमा । डक्टर हुँ । मैले चोट दिन होइन, निको पर्न जानेको छु । हुन सक्छ भने विश्वास गर !"

मैले धेरै पटक उसको म्यासेज पढेँ तर जवाफ लेखिनँ ।

अर्को दिन म अमेरिकाका लागि उडेँ । तर, उड्नुअघि मैले सूर्य र मेरोबीचमा भएको च्याटको लिङ्क सूर्यलाई पठाइदिएँ ।

एयरपोर्टमा दाजु–भाउजू मात्र होइन, बाबा–आमा पनि मलाई लिन आउनु भएको थियो । मलाई लाग्यो– म फेरि जीवित भएँ ।

 

तीन वर्षपछि...

मैले आफ्नो पूरा नाम र परिचय खुलाएर नयाँ फेसबुक अकाउन्ट खोलेँ ।

आदित्य, म र मेरा जुम्ल्याहा छोराहरूको फोटो प्रोफाइलमा राखेँ र स्टाटसमा लेखेँ, "जीवनमा लिनु र दिनु बराबरी भएन भने सम्बन्धको ब्यालेन्स बिग्रिन्छ । चाहे त्यो माया होस् वा अरू कुनै कुरा । लिनेले हक मानेर लिन्छ र बिर्सन्छ, दिनेले दिइरहन्छ तर काउन्ट गरिरहन्छ । जब यो क्रम हदभन्दा बाहिर जान्छ, तब सम्बन्धले अर्को निकास खोज्छ ।"

म दिँदादिँदा रित्तिएको थिएँ, आज लिएर र पाएर सम्पूर्ण भएकी छु । हिजो भए पनि आज जिन्दगीसँग कुनै गुनासो छैन ।

http://baahrakhari.com/news-details/15205/2017-01-14#.WHmNlax3Mp8.twitter


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters