शौचालय बनाइदिन धेरै संघ-संस्थालाई अनुरोध गरे पनि कसैले वास्ता नगरेको गाउँलेको गुनासो छ । कति त चर्पी बनाइदिन्छु भनेर आश्वासन दिएर गए, तर फर्किएनन् । 'चर्पी बनाइदिन्छु भनेर गएका छन्, अझै आएका छैनन्,' स्थानीय उर्मिला चौधरीले भनिन्, 'कहिले आएर बनाइदेलान् र चर्पीमा दिसा गर्न पाइएला ।'
दिउँसो शौच गर्न जाँदा सबैले देख्ने भएकाले समस्या भएको उनले बताइन् । 'पुरुषले देख्लान् भन्ने लाज लागेर दिनभरि सहेर बस्छाँै, अँध्यारो भएपछि कसैले देख्दैन अनि जान्छौँ ।' भलुवाटोलका कुनै पनि घरमा शौचालय छैन । टोलमा ६५ घरका करिब पाँच सय छन् । त्यसमा आधाभन्दा बढी महिला छन् ।
भलुवाटोलका बासिन्दा शौचालयका लागि वर्षौंदेखि दौडधुप गरे पनि अहिलेसम्म कसैले आफ्नो कुरा नसुनेको गुनासो गर्छन् । शौचालय बनाउन नसकेर साह्रै समस्या भोग्नु परेको उनीहरूको भनाइ छ । शौचालय बनाइदिन पटक-पटक सरकारी तथा गैरसरकारी संघ-संस्थाका कार्यालय धाए पनि कुनै उपलब्धि हुन नसकेको स्थानीय तेतरी चौधरी बताउँछिन् ।
शौचालयको अभावले साह्रै समस्या परेको र गाउँमा कसैको पनि शौचालय नभएका कारण गाउँको बाटो र खाली जग्गामा फोहोर बढेको छ । विराटनगर रंगेली सडकसँगै छोएको भलुवाटोलका बासिन्दा बस्तीनजिकैको सडक डिलमा गएर दिसा गर्ने गर्छन्