स्वतन्त्रताका नाममा गणराज्यको माग गर्दै संघर्षमा होमिन्छौं, गोलीले भुट्टिन्छौं, कुट्टिन्छौं र छुट्टिन्छौं पनि, खेलौना न हौं।
दूधभात सेलाउन लाग्या बेला। केटाकेटीले जिद्दी गर्दै बिलौना गर्या बेला। हामी तिनलाई भुलाउन खेलौना देखाउने गर्छौं। कुनै अमेरिकन खेलौना। कुनै ब्रिटीस खेलौना। कुनै चाइनिज, भारतीय, जपनिज यस्तै यस्तै खेलौनाहरू देखाएपछि त केटाकेटी शान्त हुन्छन्।
खेलौनासँग रंगिदै दंग पर्छन्। सेलाइसक्या दूध भात पनि खप्ला-खुप्लुक्क खान्छन्। केटाकेटीलाई खेलौनासँगै खेलाउने बानी परेका हामी, आफू पनि अरुका हातले खेलाइने गरेको सायदै पत्तो पाइरहेका छौं। साँच्चै नै हामी हर पल दोस्रो पक्षद्वारा पेलिने र ठेलिने गर्छौँ। लछारिन्छौं, पछारिन्छौं अनि माथि उक्लने नाममा बजारिन्छौं पनि। गरिब मुलुकका अति गरिब जनता हामी साँच्चै नै अरुका खेलौना भएका छौं। नहाँस्नुस् एक पटक सोच्नुहोस्। कठपुतली, भाँडाकुटी यी सब हाम्रा पर्यायवाची नाम भएका छन्।
हामी धेरै त नेताहरूबाट खेलिने गर्छौं। हामी बीचकै नेताहरू जसका हामी गुडिया हौं। माध्यम हौं। हाम्रा काँधका सिँढी बनाएर उनीहरू चढ्ने गर्छन् सत्तासम्म। हाम्रा आवाजका शक्ति बोकेर उनीहरू कुर्लिने गर्छन् सदनमा।
कहिले हाम्रा पाइलाहरू धकेल्ने गर्छन्। कहिले भने बचनको डोरोले बाँध्ने गर्छन्। हामी लोभको भकारी लिएर उनीहरूका इसारामा नाच्ने गछौं। मात्र कठपुतली हौं हामी। धकेलिने, बाँधिने, टुट्ने र फुट्ने कामका लागि बनाइएका अरुका निम्ति।
घरि फलानो र ढिस्कानो पार्टी भन्दै कुर्लिन्छौं हामी। घरि निर्णायक आन्दोलन भन्दै सडक ओर्लने गर्छौँ। स्वतन्त्रताका नाममा गणराज्यको माग गर्दै संघर्षमा होमिन्छौं, गोलीले भुट्टिन्छौं, कुट्टिन्छौं र छुट्टिन्छौं पनि।
हामीलाई तिमीहरू सिंह हौं गर्ज भनेर फुर्काइन्छ। हामी मख्ख पर्दै सडक ओर्लेर गजक्क फुलेर गर्जने गर्छौँ। हाम्रो गर्जाइसँगै नेताहरूको गर्जो टर्ने गर्छ। पुनः तिमीहरू बिरालाहरू हौं भनेर हाम्रो कान फुकिन्छ। हामी म्याउँ म्याउँ गर्दै सडकबाट फर्कने गर्छौं, आफ्नै अँध्यारा खोपीहरूमा। खेलौना न हौ।
कानुन पनि हामीलाई मात्र लाग्छ। जसको नाम बैंकको कालो सूचिमा हुन्छ, उनै काला काला गाडी चढ्छन्। जो चिप्ला कुरा गर्छन्, उनैका चिल्ला कार हुन्छन्। हाम्रा त काम पनि खस्रा, खाना पनि खस्रा। त्यसैले हाम्रा निम्ति मात्र खस्रा कानुन बनेका छन्।
बैंकको सानो ऋणमा साँवाको व्याज, व्याजको स्याज र स्याजको प्याज थुप्रिदा हाम्रा घर खेत लिलाम हुन्छन्। साना साना अपराधमा हामीलाई दण्डित गर्न अग्ला अग्ला जेलहरू बनाइएका छन्। तर ठूला ठूला अपराधीहरू। देशद्रोहीहरू। हामीमाथि गोली बर्साउनेहरू। हामीलाई हर दिन तर्साउनेहरूका निम्ति न कुनै जेल बनेको छ, न कुनै नेल बनेको छ। यिनका अघि मल्लिक, रायमाझी आयोगहरूले त घुँडा टेके भने हाम्रो के नै लाग्छ र? ती कानुनभन्दा माथि छन्। राजा हटे। तर यी रजौटाहरूले यहाँ राज्य गर्नेछन् यो देशमा, हामीलाई खेलौना बनाएर।
यो देशै यस्तै छ। कोही यहाँ हिरो हिरोइन बन्ने नाममा नांगिन्छन्। कोही यहाँ विदेशिने नाममा नांगिन्छन्। चर्को मूल्य वृद्धि खप्न नसकेर ढाडैसँग बांगिन्छन्। सर्टिफिकेटका खातहरू जम्मा गरेर बेरोजगारीको सञ्जालसँगै झांङिन्छन् यहाँ कोही। सबै खेलौना बनेका छन्, बनाइएका छन्।
खेलौना पनि साइज साइजका छन्। टाइप टाइपका छन्। रंग रंगका छन्। क्याम्पसमा रडभाला बोक्ने र प्रतिपक्षलाई ढुंगाले ठोक्ने खेलौना। जाँजरकोट पखलाले मर्ने खेलौना। डुँडेझारी बस्तीमा बसाई सर्ने खेलौना। सिंहदरबार घेर्न सडक झर्ने खेलौना। अनि थरि थरिका बाहानामा बन्द आयोजना गर्ने खेलौना। साँच्चै अचम्मैका छन् यी खेलौनाहरू।
विभिन्न पक्षहरूबाट खेलाइने गर्छन्। विदेशी रिमोट कन्ट्रोलरबाट चल्ने खेलौनाहरू पनि छन् यहाँ कोही। दिल्ली गर्ज्यो भने, ह्वाइटहाउस कुर्ल्यो भने उनीहरूका निधारमा पसिना उर्लिन्छन्। कुर्ची हल्लिन्छन्। तिनका पसिनाका भलले हामी सबैलाई डुबाउन पनि सक्छ। यी देशभित्रका ठूला खेलौना पनि नयाँ खेलौना बनाउन माहिर छन्। मध्यम शिक्षित खेलौनाहरू यिनै ठूला खेलौनाबाट खेलिने गर्दछन्। मध्यम शिक्षितहरू पनि अशिक्षित खेलौनाहरूलाई प्रशिक्षित गर्न तल्लीन देखिन्छन्।
मानौं यहाँ खेलौना बनेर खेलिने र खेलौना बनाएर खेलाइनेहरूको ठूलो सञ्जाल छ। लहरो तान्दा पहरो गर्जिन सक्छ। पहरो गर्जिदा टहरो भत्कन सक्छ। तपाइँ लहरोमा झुण्डिनुभा'को हुन सक्छ। टहरोमा लुकिरहेको हुन सक्नुहुन्छ।
यस्ता कुराले ङिंच्च हाँस्न सक्नुहुन्छ। नाक खुम्च्याउँदै ओठ लेप्य्राउँन सक्नुहुन्छ। ठाडो आक्षेप भन्दै दिक्क मान्न सक्नुहुन्छ। या, पत्यार लागेझै गरी मुन्टो हल्लाउन सक्नुहुन्छ। खेलौना न हौँ हामी। म यो लेख्ने खेलौना। तपाई यो पढ्ने खेलौना।