मान्छेलाई मान्छे नठानेर, जातमात्र देख्ने नराधमहरूमा समर्पित:
विज्ञान भन्छ, सुक्ष्म एककोषीय जीवको विकास हो मानव
धर्म भन्छ, सबै परमेश्वरका उत्कृष्ट सिर्जना हुन मानव
पाखण्डी अनि दिमगमा दूर्गन्ध बोकेका केही भन्छन्:
जात, नाक र नक्साका खेलौना हुन मानव
आह्रिस, डाह र घृणा बोकेका यी हुन दानव ।
हुनत,
कर्ममा रमाउनेले जात खोज्नु पर्दैन
आँफैमा सफलता हुन्छ भन्नेले
वैमनस्यतामा उन्नति रोज्नु पर्दैन
किनभने,
कायरहरू, गाली गरेर ताली कमाउन खोज्छन
अरूलाई लडाउँदा, आँफु उठेको आडम्बर रोज्छन्
हैनभने,
यिनले बुझ्नु पर्ने हो , सम्मान दिएर सम्मान लिने हो
अरुको अस्तित्वमा स्वयं पनि अस्तित्वमान हुने हो
तर,
अहिले घृणाको प्रलापमा रमाउने दिन आएका छन्
त्यसैले निर्लज्ज बकिने अनापसनापमा यी रमाएका छन्
हुनसक्छ,
दोबाटाको नेवारसाहूले बेचेको कात्रोमा
बाहुन बाजेको लपेटिएको लासमा
अनि लाहूरेदाइले परदेशबाट ल्याएको
सापटी पैसामा , मर्दा र पर्दाका अत्तोहरू
सम्बोधन भएको , बुझ्न चाहन्नन्
नेपाली जीवनको अन्तरसम्बन्धमा
बाँचेको यो युगीन सन्धानलाई
यी परदेशमा पढेका स्वयंधन्यहरूले
छिनाल्ने कसम नै खाएका छन्
र त,
जात, भाषा र नाक र सम्प्रदायका
विषालु लयमा रक्तिम गीत गाएका छन् ।