........दीप पँधेराको सिमेन्टको खुट्किला जस्तो डिलमा माथिल्लो डिलमा थ्याच्च बसेको थियो र तल्लो डिलपट्टि खुट्टा झारेको थियो। उसको खुट्टाले तल्लो डिल नभेटेकोले होला झुन्डिएका दुई खुट्टामा झनै झुन्डिएका दुई चप्पल हाँसो उठ्दो देखिन्थे। एउटा चप्पलले भर्खरै पँधेराको डिलमा उक्लँदा धर्म छाडेको थियो, अर्थात चप्पलको तना भर्खरै छिनेको थियो। डिलमा बसेर दीपले टाउको नघुमाइकन हल्का आँखामात्र घुमाएर धारो तिर हेर्यो।
शबु आफैँमा खुम्चिएर बसेकि थिइन् र उनका हत्केला धारोमा फिँजिएका थिए। धारोबाट बहेको अनवरत, शीतल पानिको दवावले उनका सुडौल हत्केलालाई अलिकता तल धकेल्थे र उनको हातको बलले हत्केला फेरि अलिकता माथि आउँदथ्यो।
दीप शबुको हात हल्लिएको हेर्दै थियो।
हातमा पानी पर्दा हल्का छिटाहरु, केहि मोटा र केहि पातला छिटाहरुले शबुले ओढेको पेटिकोटलाई झन आकर्षक बनाएका थिए। रातो कपडामा पानीले भिजेको ठाउँ लालिगुराँस जस्ता गाढा देखिन्थे र तत्काल शरीरमा टाँसिएर शबुको शरीरमा चिसो लहर छोडेर जान्थे। टाँसिएपछिको त्यो भागको रंग दीपलाई अद्वितिय आकर्षक लागे!
दीप आएको देख्ने बित्तिकै शबु एक किसिमले जड भएकि थिइन्। उनका आँखा, धारोले तल भुइँमा बनाएको खाल्डोमा थिए जसबाट धाराको पानी पर्नासाथ त्यसमा रहेको पानी उम्लिए जसरि बाहिर निस्कन्थे र बहेर जान्थे, उनका मनमा निस्केका तरंगहरु जस्तै!
दीपले हतार गरेर डिल उक्लँदा उसको चप्पल चुँडिएर उछिट्टिएको शबुले देखेकि थिइन् र तत्लाकै दीपले हतार हतार चप्पल टिपेर डिल उक्लँदा ऊ झन्डै लडेको थियो।
यो देख्नासाथ शबुका अधरमा एक अत्यन्तै झिनो तर अत्यन्तै मोहक मुस्कान निस्केको थियो र उनको मनले मनमनै भनेको थियो-
“भद्रगोले मान्छे!”
यतिबेला शबुको मुहारको सुन्दरता देखेको भए दीप शायद आनन्दले बेहोश हुन्थ्यो होला!.........
प्रतिक्षा गर्नुहोस!!!