सुर न ताल को डाएरी - Sajha Mobile
SAJHA MOBILE
सुर न ताल को डाएरी
Posts 48 · Viewed 33532 · Go to Last Post
SurNaTal
· Snapshot
Like · Likedby · 3

गाउँ फर्कने दिन - १

२०५९ - ६ - २१।
भोजपुर।

 

ट्याङ ट्याङ, ट्याङ ट्याङ, ट्याङ ट्याङ, ............

सपना होकी। तन्द्रा हो कि। साच्चिकै हो कि। निमेसभरमा मस्तिस्कमा वास्तविकता ब्युझियो, तेही Alarm Clock त हो। त्यो स्कुल को घन्टी लागे जस्तो आवाज भएको घडी किनेथें, अलिक कम इरिटेशन होला भनेर। तैपनी आजकाल मलाई सबै भन्दा घ्रिणा लाग्ने केही छ भने त्यो तेही Alarm Clock नै हो। अफसोस, सबै भन्दा नभै नहुने केही छ भने पनि त्यो तेही Alarm Clock नै हो। त्यो छात्राबासको बसाइले सुत्ने उठ्ने समय सबै गोलमाल गरिदियो। आजकाल छिटो सुते पनि ढिलो सुते पनि घरमाथि घाम नपुगेसम्म ब्युझिनै गाह्रो छ। बल्ल तल्ल भेटेको मास्टरी। एक बिहानै पुग्नु पर्छ। ६ बजे त कक्षा सूरु नै भई सक्छ। फेरी त्यो ट्याम्पु वालाहरु मान्छे नभरिउन जेल हिंड्ने हैनन। ४ बजे नउठे भ्याउने हैन।

ए साच्ची आज त क्लास जान लागेको हैन नि। मन हलुंगो भयो। जुरुक्क उठें। ठोका खोलेर मस्तला लागें। भान्सामा भाउजु चिया नास्ता तिर लागि सक्नु भएछ। छतमा गएं। बिहान निक्कै जाडो हुन थालीसकेछ। हुस्सुले पुरा शहर ढाकेछ। केही पो देखिदैन त। यस्तोमा प्लेन पनि कसरी उड्ला। मन अलिक भारि भो। पोलिथिन ट्यांकिको धारो खोलेँ। कस्तो चिसो पानी। आ, नुहाउदिन। पछी जिउ उस्तै भई हाल्छ। आँफैलाई बाहाना मिलाए, ननुहाउने। मुख फटाफट धोएं र तल दौडिएं।

"आच्छु, कस्तो जाडो, चिया पाक्यो भाउजु।"
"सेलाउन लागिसक्यो। कस्तो खुस मुड हो, घर जाने भने पछि त। गाउमा कोही छ कि कसो?", भाउजु मुसुक्क हास्नु भो।
"हो नि त। बुवा आमा, दाजु भाउजु, दिदी-बहिनी, सबै त हुनुहुन्छ", चिया समाए, कुरो बिचैमा छोडेर भर्यांग तिर लागें।

भुइतलामा मेरो सानो कोठा छ। सानो टेबलमा कम्प्युटर मनिटर। भित्ता पट्टी सानो खाट। कुर्शिको काम खाटैले गर्छ। कुर्शी राख्नलाई कोठामा ठाउँ पनि त छैन। टेबलको छेउमा मेरो सबै भन्दा मन पर्ने बस्तु छ। सानो क्यासेट प्लेयर। बेलुका २-४ वटा मन पर्ने गीत नसुनी निद्रा लाग्दैन। हुन त त्यो कम्प्युटर बाटै सुने पनि हुने हो। तर क्यासेटसंग जुना साईनो जोडीएको छ, बाल्यकाल देखी, त्यो अरु केहीले पुरा गर्दैन। भित्तातिर बिद्यालय र कलेजमा जितेका खेलकुदका कपहरु लहरै छन। मेडलहरु कांटी ठोकेर टेबल माथि भित्तामा झुन्ड्याएको छु। सिरानेको पारीपट्टी भित्तामा मेघा पोखरेलको ठुलो वाल पेपर टासेको छु, किन किन तिनी मलाई मन पर्छिन। मेरी सोल्टिनी जस्ताइ। दाँया तिर हिमालयन रेन्ज झुन्डिएको छ। एक महिनालाई म मेरो यो सानो संसारलाई छाडेर गाउँ जादैछु, सम्पूर्ण आफ्नो संसर तर्फ।

समयले एक फन्को अरु मार्यो, अत्यन्तै दर्दनाक काहानीहरु/ईतिहासहरु बनाएर, मेरो राष्ट्रको र एउटा नयाँ बडादशैंले मेरा बेफुर्सदिहरुलाई कस्सेर धक्का मार्यो। म मेरा दैनिकिहरुलाई पूर्ण रुपले परिवर्तन गरेर, सम्पूर्ण नाम र उपनामका लेपनहरु फुकालेर एउटा सानोभाइ मात्र बांकी भएको छु, अबका ३-४ हप्ताहरु, जस्लाई म मेरो पहाडमा बिताउने छु, आमा-बुवा, दाजु भाउजु र बहिनी संग; आँगन, दलान र बलेसी संग। यही दशै एउटा आउंछ र जीवनमा अलिकता अपनत्व/आत्मियता छरेर जान्छ। नत्र त जीवन एउटा स्वचालित यन्त्र न हो। यही एउटा उत्सब जो बांकी छ, तेस्लाई पनि देशको बिषम परिस्थितीले कुठाराघात गरिरहेछ। घर जान कत्तिको सुरक्षित छ भन्ने छलफलहरुलाई सिरानी मुनी घुसारेर म निस्की रहेछु - मेरा आकांक्षाहरुलाइ उद्वेलित गर्न - मेरो रातोमाटोले पोतेको चुलो र मझेरी संग, राडी ओछ्यायको ओछ्यान संग, र टुकी बालेका रातहरु संग।

आज लगाउने भनेर हिजै छुट्याएको लुगा टेबल बाट उठाएं। पट्याएका धर्साहरु श्पस्ठ देखिक्दैछन। सर्टमा पनि, पाइन्टमा पनि। उहिले उहिले गाउभरिमा एउटामात्र इस्त्री हुँदा कती जागर लाग्थ्यो। सिरानघरबाट इस्त्री ल्यायो, कोइला फुक्यो, ततायो, लगायो, पुर्याउन गयो। आजकाल कोठामै बिजुलिवाला इस्त्री छ। तर जागर छैन। आsss, कस्लाई देखाउनु छर। पुन: आँफैलाई बाहाना मिलाएं र त्यो खुज्मुजिएको पाइन्ट र सर्ट उसै घुसारें। आफ्नो कोठामा कहिल्यै ऐना भएन। शायद जरुरी ठानिन। कपाल हिजो नै मुडुलै हुने गरी कटाएको थिएं। हातले यसो मिलाएं। टाउकोको देब्रे तिर सिउदो पर्ने गरी।

"प्वाँ प्वाँ प्वाँ प्वाँ प्वाँ प्वाँ"
बा अ ञ २८१४ चिच्यायो। दाजु कहिले उठेर तयार भईवरी मोटारसाइकलमा पुगी सक्नु भएछ। फटाफट गोल्डस्टारको तुना कसें, हिजै मिलाएर राखेको कलेज ब्याग पछाडि भिरें र "भाउजु गएं है" भन्दै दौडिएं।
"तेरो प्लेन ८ बजे हैन?", दाजुले पक्का गर्नुभो।
"हो", भन्दै पछाडि चडें।

शहर चक्रपथ बाहिर पनि निक्कै बिकास भई सक्यो। दाँया बाँया भर्खर बनेका वा बनीरहेका घरहरु लहरै थपिदैछन। सानोभर्यांग ननीस्कुन्जेल उकडफाकड छ बाटो। चक्रपथमा दाजु बाँया लाग्नु भो, बनस्थली तिर। अब यो चक्रपथ नछोडी गए भईगो, मन मनै नक्सा बनाएं। दाँया बाँया त्यो लहरे पिपल हो कि के का ठुला ठुला रुखहरुले छ्याप्प छोपेका छन, रिङ रोडलाई। बनस्थली चोक। ठेलागाडा र त्यो स-साना काठका छाप्रे पसलहरु खुल्न थालीसकेका छन। बिहानी कक्षाका विद्यार्थीहरु निला, हरिया, कलेजी, थरिथरीका युनिफर्ममा हतार हतार यता उता गरिरहेछन। साच्ची दसैं बिदा त सूरु भएकै छैन नि। मैले पो त मुस्किलले २ दिन अघाडी छुट्टी पाएथें। धेरैजस्तो तेही बनस्थली स्कुलका होलान। राम्रो स्कुल भन्थे, आफुले पढ्न पाएको होइन केरे। के भो त, गाउंमै पढेपनी प्रतिस्पर्धा गरिरहेकै छु। मन वाद बिवाद गरिरहेछ। बालाजु चोक आइपुगेछ। मेरो दिमागको नक्साले काम गरेन। दाजुलाई उपत्यकाका गल्ली गल्ली याद छन। यो छोटो बाटो हुनुपर्छ। बिष्णुमतीको पुल तरेर उता लागेपछी म कता जादैछु थाहा भएन। दाँयाँतिर पसुपती डेन्टल हस्पिटल हो के के लेखेको थियो, दाँया बाँया लहरै घरहरु, एस्तो बाक्लो बस्ती रहेछ, म कहिल्यै नआइपुगेको होकी, आएर पनि मेसो नपाको होकी। त्यो दाँयाको खै के शाहीत्तिक समाज हैन। य हो त, नयाँ बजार पो रहेछ। मोदनाथ शिक्षा मन्त्री थे क्यारे। कती ७ बर्शै भो कि कसो, त्यो युवा सेवा कोशको पुरस्कार थाप्न आथें यहाँ, पहिलो पटक। दाजुले नै छोडिदिनु भाथ्यो।

दाजुले गियर चेन्ज गर्नु भयो, ४ बाट ३ अनी २। त्यो उकालोमा मोटारसाइकल पछाडिनै जाला जस्तो गरिराछ। १ मा नराखी भएन। सरस्वती क्याम्पस कट्यो, अस्कल आयो। धेरै कर्णधारहरुको कलेज। तर बिडम्बना आजकल प्रायस: टायरको थुवाँले रुमल्लिरहन्छ यो कलेज। बिहानै भएर पनि होला, आज केही तल माथि रहेनछ। राजदरवारको त्यो पश्चिम पर्खाल छेउमा पुगेर दाजु दाँयाँ लाग्नु भो। दाँया-बायाँ अलेली पैदाल यात्रीहरु देखिन्छन। कानेटोपिहरुमा। आज निक्कै नै जाडो हो। बल्ल पो ज्याकेटको चेन लगाउने होस आयो। घर जाने उमंगमा बेहोसी बढीरहेछ। आच्ची, ऊ तिनी केटीको सर्टमा चराले बिस्ट्याइ दियो। बिचरा। अस्कल गैराकी जस्ति छन, खैरो खैरो पाइन्ट देख्छु। त्यो सिक्षा मन्त्रालयको पर्खाल छेउको बाटो हिड्यो भने जहिले बिस्ट्याइ खाइन्छ। के जाती चरा हुन कुनी यिनिहरु, टाउको तल झुन्ड्यायर ति पात बेगरका रुखहरुमा सर्बत्र झुन्डिरहेछन।

त्यो ठमेल जाने चोकबाट दाजु बायाँ लाग्नु भो। म आँफैमा हराइरहेछु। साच्चि त मैले केही पनि किनिनछु घर लानलाई। कस्तो उल्लु म। बाटोमा केही पाईन्छ कि। फेरी ढिला पनि हुन लाग्यो। सोच्दै थें दाजु जैनेपाल हल बाट दाँयाँ लाग्नु भो। यो बाटो अलिक तल पुग्यो भने कृष्ण पाउरोटी पुग्छ हैन? ए हो रहेछ। एकछिन दाजुलाई रोक्न लगाएं। यो पाउरोटी पनि गाउँमा त कस्तो चिजको बस्तु पो हुन्छ त। मैले पहिलो पटका यही आएर खाएथें। सुरु सुरुमा त अचाक्ली मिठो लाग्ने। मिठ्ठाइहरु पनि प्रसस्तै रहेछन, कृष्ण पाउरोटीको पसलमा, बेसै भो। अनी दाजु त्यो अमेरिकन सेन्टर हुँदै कालो पुल हो कि रातो पुल तिर ओरालो झर्नु भो। कुन चाँही कालो पुल कुन चाँहीं रातो, मलाई कहिल्यै याद भएन। पुल आउनु अगाडिनै दाजु दाँयातिर लाग्नु भो। किन रहेछ, यो फेरी कता हो? ए मैतिदेभी मन्दिर पो त। सिर झुकाएं। चोक आयो। ए गूद्पाक किन्ने भनेर पो त यता तिर आउनु भा रहेछ। र पुरानो बानेश्वर चोक बाट देब्रे, बत्तिस पुतली हुँदै गौसाला चोक, अनी त्यहाँबाट दाँयाँ लागेर तिलगंगा हुँदै पुगियो हावाइ मैदान। त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल।

...............................
Last edited: 29-Feb-08 04:34 PM
Load Previous
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
यो गन्थन पनि रमाइलो लाग्यो। तर गाउ नपुग्दै "अस्तु" पो आयो त।
pjna007
· Snapshot
Like · Liked by · 0
yatra ma pahad parbat himal khola jharana nadi heyran paiyela bhaney lageyko theyo ---kathakar ley bacha, kasti ramri kti, haru hereyra baseypachi hami chahi k garneyhola                                                         
fucheketo
· Snapshot
Like · Liked by · 0
उनी जो आउछिन, अहिलेकी abstract उनी जब वास्तबिक जीवनको अमिट क्यानभासमा पोतिन्छिन, उनी एउटा चित्र मात्र त हैनन नि। भावनाभित्र अनगिन्ती उद्वेगहरु संगालेर, अनेकन सपनाहरु संगालेर र अलावा जस्तो सुकै परिस्थितीमा पनि रथ तानिरहने एउटा द्रिढ संकल्प शाहीत त्यो बिशालतम फड्को मार्नेछिन, उनि, मेरो सामु आइपुग्न। अझ यसो भनौं त्यो चौतारीसम्म पुग्न जहाँ म पनि पुग्ने छु र आपस्तमा शहयात्रा सुरु हुन्छ।" यति राम्रो लाग्योखोई कति भन्ने दाइ  ,यी लाईनहरुमा धेरै बेर अल्झीरहेँ ,तर दाइ म त अझै होला भनेको त !
somewhereondearth
· Snapshot
Like · Liked by · 0
किन दाई हजुर का हरेक भावना मा मलाई नै पोखिदिएको जस्तो लाग्छ । मेरै भावना, मेरै अवलोकन, मेरै अन्तरद्वन्द , मेरै उठाव  अनि मलाई लाई नै पोतिदिनु भएको लाग्छ , यि चौडा साझा का पेज हरु मा ।
हजुर लेखाई सिधै मेरो मन मा पुग्छ । सधै हजुर लेखिरहनु अनि म पढिरहुं जस्तो लाग्छ ।

धन्यबाद दाई ।
SurNaTal
· Snapshot
Like · Liked by · 0

Repeated!

Last edited: 16-Jun-08 05:10 PM
SurNaTal
· Snapshot
Like · Liked by · 0
मीठा शब्दहरुको लागि नेप्चे, प्रेरणा, फुच्चे भाई र सोमे भाईलाई मुरी मुरी धन्यवाद।
SurNaTal
· Snapshot
Like · Liked by · 0
 

सुर न ताल को डाएरी
२-१-२००४
...............  

अर्को एउटा महिना सुरु भयो - मेरा बिरानीहरुलाई एक महिना कम गरेर; मेरा लागि छुट्याआइएका दिनहरुलाई एक महिना कम गरेर।

किन जहिले पानी हतार - यो छिट्टो होस्; त्यो चिट्टो होस्। यो दिन आओस त्यो दिन आओस! आखिर जे सुकै दिन आओस जीवन त निख्रिदै नै जाने न हो। किन मान्छे बर्तमानमा जीवन मन पराउदैन? कि भुत प्यारो, कि भबिस्याको पर्खाइ! किन म आज संग रमाउदिन? किन अनबरत भोलिको पर्खाइ? के जीवन भोलिहरु पल्टाउदै जादा फेरी आज फेला पार्न सक्छ? के जीवन भबिस्यहरु छिचोल्दै जादा बर्तमान भेट्टाउन सक्छ? असम्भव!

तै पानी किन म आजहरुलाई छिट्टो छिट्टो लखेट्न चाहन्छु? यो राम्रो लक्षण हैन - कि प्रत्यक आजहरु नरमाइला लागुन। र त्यसमा तिमी छौ - जो मलाई जहिले पनि भोलिको प्रतिक्षा गर्न उत्प्रेरित गर्छौ। तिमी को हौ कि प्रत्यक पल म तिम्रा आशाहरुमा बिताइदिउं? म प्रत्यक पल तिमी सम्मुख हुने भोलिका आशाहरुमा बिताइदिउं? मेरो रोश छ तिमीसंग/ आँफैसंग कि किन वर्तमानलाई निन्याउरो पाउँछु - सदैव।

हो यिनै निन्याउरापनहरुमा एउटा महिना बित्यो र तिमी मेरो अलिकता नगिच बनिदिएउ। पक्कै पनि अरु महिनाहरु बित्लान, बर्षहरु बित्लान र दुरिहरु समाप्त होलान। कदाचित यस्तो नहोस् - त्यो पल पानी म भोलिका पिडाहरुमा असमन्जस बिताइदिउँ।

........

SurNaTal
· Snapshot
Like · Liked by · 0

सुर न ताल को डाएरी

१८ नोबेम्बर, २००४।

म कहिल्यै पनि लेखक हैन। तर आजकाल झनै बढी अलेखक बनिरहेछु। म कहिल्यै पनि जेहेन्दार विद्यार्थी बन्न सकिन। थिइन। तर अचेल झनै अजेहेन्दार बनिरहेछु। म संग मेरो संसार छैन। जो संग/जहाँ तिता-मिठा दु:ख-सुखका भलाकुसरिहरु हुन सकोस। मसंग मेरो संसार छैन। जहाँ यताउता बिचरण गरेर मनमोहकता बटुल्न सकियोस। र आखिर केही नभएरै पनि; तन सुन्य, मन सुन्य, संसार सुन्य, काम काज सुन्य, राम रमाइलो सुन्य भएरै पनि दिन बितिरहने रहेछ। मलाई एउटा अनुसन्धान गर्न मन लागिरहेछ - आखिर दिनमा २४ घण्टा नै किन हुन्छ; वा के साच्चिकै प्रत्यक दिन २४ घण्टा कै हारा हारिमा हुन्छन? वा समय के हो, घण्टा भनेको कती हो, मिनेट र सेकेन्ड भनेको कती? के समय प्रिथ्भी को रफ्तार संग टासिएको छ कि मनको रफ्तारसंग गासिएको? सबै दिनहरु उत्तिकै लामा हुन्छन भने किन मलाई लागिरहन्छ कुनै दिनहरु बिकराल तन्किएका त कोही सुलुत्त चिप्लिएका? मलाई लेखा जोखा गर्न इच्छा छ कि आखिर के गरेर म मेरा अमुल्य टुक्राहरु चोइट्याइरहेछु, जीवनयात्राका, आजीवन। के यो निर्जिव मेसिनको १७ इन्च लामो पर्दा नै सम्पूर्ण जीवन हो? के गूगल, याहु, र नेपाल न्युज नै सम्पूर्ण संसार हुन? धन्य ब्याडमिन्टन प्रतिको मेरो मोहलाई - जस्ले म जिवितै छु र भौतिक संसारमा - कम्प्युटर नभएको सांच्चिको संसारमा पनि मेरो अस्थित्व छ भन्ने दर्साइदिन्छ। प्रत्यक सांझ। कंक्रिटका कोर्टहरुमा। नत्र त मेरो अस्थित्व केवल भर्चुवल मात्रै न हो। उठ्यो स्विच थिच्यो। दिनभर उही १७ इन्च भित्रका रंगी बेरंगी द्रिस्यहरु मा अल्मल्लियो। राती आँखा लोलाउन थालेपछी स्विच थिच्यो। पल्टियो। बस।

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

 

मिती- आज

डियर डायरी,

हुन त अलार्ममा उठ्न मलाई मन लाग्दैन तै पनि हरेक हप्ता पाँचै दिन अलार्ममा उठ्न म बाध्य हुन्छु। कुनै चर्को र तिखो झिररुपि स्वर   मेरो कानबाट पसेर मगजमा कतै सल्बलाउँछ र मेरो निद्रा हराउँछ। सधैँ झैँ म यन्त्रवत् उठेँ आज पनि र रेस्टरुम गएँ!यहि एक बेला हो जब संसारका सबै कुराहरु मनमा खेल्छन्। पेट चाहिँ सफा भएछ बल्ल आज आएर लामो सप्ताहन्तको बिजोग खानाले खतमै बनाइसकेको थियो। ट्वाइलेट पेपर सकिएको थियो हिजो बेलुका ल्याउन बिर्सिएछ!फसाद पर्यो!

तातो पानीले नुहाउने बानि लागेपछि गर्मि न सर्मि सिधै जिउमा तातो पानी हाल्यो र नुहायो। कहिले काहि बिहानदेखि बेलुका सम्म आफू मेशिन जस्तो लाग्छ। नुहाउँदा पनि मेशिन। उहि शरीर उहि माड्ने तरिका उहि हात नपर्ने ढाडको भाग। खालि त्यहि भागमा मात्र चिलाउँछ दिक्क लाग्ने।

सेभ गर्न पनि अल्छि लाग्छ बेकारको टेन्शन, हप्तामा एक पटक गर्न पाए हुन्थ्यो। अफिसमा चिटिक्क पर्न पर्यो नि फेरि। नयाँ ब्लेड त छ तर फेर्न अल्छि लाग्यो, घोटि घोटि बोधो भैसकेको ब्लेडले दाह्री खौरिएँ।

ब्रेकफास्ट सम्झियो कि घाँटिमा कतै कुनै भल्भ लागेको जस्तो हुन्छ;बन्द! एक ग्लास पानी पिएँ, घाँटि देखि तल आन्द्रा सम्म चिसो बनाउँदै गयो। फ्रिज खोलेँ, अन्डा, पाउरोटी,बटर,दुध यावत चिजहरु थिए, सधैँ झैँ केहि खान मन लागेन। चिसो दुध अलिकता भाँडोबाट नै मुखमा हालेँ!

उहि अफिस, उहि अभिवादन, उहि कुर्सी र उहि कम्प्यूटरको निरस स्क्रिन!बसेँ र समाचारहरु पढेँ। कहिलेकाहि समाचार रमाइलो लाग्छ र धेरै जसो बेकारमा पढिन्छ तर पढिन्छ। आउना साथ काम झ्याप्प थाल्न कहिले सकिएन। साझा खोलेँ,फररर आँखाले चौतारी खोज्यो। चौतारी पनि कहिलेकाहिँ बेकार लाग्छ, उहि जदौ, उहि नमस्कार र पँहेला आइकनहरु। कथा लेख्न थाल्या, अस्तिन एक दुई हरफ लेख्दै राख्दै गरेको खेस्रा लेख्न खोजेँ, तालु टल्काउँदै बोस आयो। केहि बेर काम गरे जस्तो गरेँ, केहि पोस्टहरु गरेँ साझामा। साझामा पोस्ट पनि यन्त्रवत हुन थाल्या जस्तो लाग्छ। पेट पो पोल्न थाल्यो। ब्रेकफास्ट खाइन्न एकछिन पछि पेट पोल्दै भोकको आभाष हुन्छ।

भात खाएसि मजाले ढल्केर सुत्न पाए नि हुने नि कहिले पाइन्न। यो अपिस जाने दिन नै लन्च खाएसि किन सुत्न मन लाग्ने होला? सप्ताहन्तमा नि मन त लाग्दो हो तर कुन स्थितीमा कहाँ के खाइन्छ थाहा हुँदैन। दिक्क लाग्ने, सप्ताहन्तले र आराम दियोस न, झन थकाउने!

सुन्तलेले पुरानो डायरीको पाना फर्काएछ, मजाको लाग्यो! पढ्दै जाँदा आफ्नै डायरी सम्झेर दिक्क लाग्यो। के हुने होला र डायरीमा। के के न होला भन्या हैन? यि लेखेँ त आजको कुरा!यसो केहि भए नि लेख्न हन्थ्यो, केहि छैन उहि पुरानो चिरपरीचीत मन्डेन लाईफ!हैन यो खल्लो लाईफलाई स्पाइस अप कसरि गर्ने हो?साला फेरि भोक लाग्न थालि सक्यो। भुँडि त घटाइयो जसले जे भने नि बल्ल बल्ल। बेलुकातिर यसो घुम्न जान पर्ला। भुँडि घटेर राम्रो भएको सम्झियो कि बेलुका चिटिक्क परेर घुम्न जान मन लाग्छ। भोक लाग्यो झन! केइ खान पर्छ अफिस सकिएपछि। बेलुका साझा हेरिएला कि नहेरिएला थाहा छैन। आफ्नो कम्प्यूटर पनि सत्ययुगको छ,हप्तामा ६ दिन बिरामी हुन्छ एक दिन ठिक हुन्छ! अर्को किन्न मात्र पर्छ त्यसलाई सिधै डम्पस्टरमा लगेर पहिला एक पटक भुईँमा बजारेर फाल्ने हो!

ह्या दिन बाँकि नै छ म नि सुन्तलेको लहलहैमा लागेर दिउँसै डायरी लेखिरा। ऊ बाहिर कोहि हिँडेको जस्तो लाग्यो, बोस फेरि यता मर्न लाग्यो जस्तो छ।

chyangre
· Snapshot
Like · Liked by · 0

wow, great reading. wanna talk and say 'big job' if i had have your number!

 

Krishna

chyangre, Bhojpur

chyangre
· Snapshot
Like · Liked by · 0

wow, great reading. wanna talk and say 'big job' if i had have your number!

 

Krishna

chyangre, Bhojpur

SurNaTal
· Snapshot
Like · Liked by · 0

सुर न ताल को डाएरी

बबरमहल, २०५१ - ४- २५

शहरको कोलाहल सुन्य लाग्छ,
सगरमाथाको उचाइ नगन्य लाग्छ,
यत्रतत्र बस्तिहरु उजाड उजाड लाग्छ,
जिन्दगी तेसै तेसै वाक्क लाग्छ।

बेलीको वासना नमिठो लाग्छ,
कोइलीको कुहु कुहु बेसुर लाग्छ,
प्रेयसीको प्यार निरस लाग्छ,
जिन्दगी तेसै तेसै पट्यार लाग्छ।

बिपना मासुम सपना झैं लाग्छ,
यथार्थ कोमल कल्पना झैं लाग्छ,
विश्वाश किन किन बिकराल लाग्छ,
जिन्दगी तेसै तेसै बिवस लाग्छ।

सुन्दर महल पाटी झै लाग्छ,
मानिष आँफैमा हराए झैं लाग्छ,
संसार बेसुर बिचित्र लाग्छ। 
जिन्दगी तेसै तेसै थोत्रिए झैं लाग्छ।  

Last edited: 25-Jul-08 03:18 PM
justareader
· Snapshot
Like · Liked by · 0

सुर न ताल ज्यु,

मेरो मनको कबिता लेख्नु भए जस्तो लग्छ।

मलाइ पनि त्यस्तै लाग्छ।

लब नपरीकन ट्र्याजिडी पर्या जस्तो लाग्छ,
हिजो खाएको जाँड आज लाग्या जस्तो लाग्छ,
खाना टन्न खाए पनि भोक लाग्या जस्तो लाग्छ,
बिहानै उठेदेखि अर्को बिहान नभए सम्म निद्रा मात्र लाग्छ।

लौ अब के गर्ने हो?

यसरी डायरी अधुरै पारेर गायब हुनु भएन नि साथी। थप्नु पर्‍यो क्या!

SurNaTal
· Snapshot
Like · Liked by · 0

ओ हो

पढ्ने मात्रै मान्छे (justareader) आएर धमाका दिएर जानु भएको रहेछ। म बेबकुफ आजकाल बेफुर्सदिको बोराहरुले बेरिएको छु। अब पढ्ने मात्रै मान्छे ले मुखै फोरेर सोधे पछी केही त लेख्नु पर्ने हो, कहिले पो हो कुन्नी। फेरी उता पढ्न पनि भ्याएको छैन, ताती का ताती कथाहरु के के जाती कुन्ज रे, सम्भन्ध ॐ बन्ध, स्रिन्खला रे, के रे, कु रे। न पढ्न भ्याइयो न लेख्न, आजकाल त के भो के यो।

लु एक्दुइ दिन्मा फर्कन्छु कि भन्ने कुरा जाहेर गर्दै तपाईं जि लाई मुरी मुरी धन्यवाद। 

SurNaTal
· Snapshot
Like · Liked by · 1

म ब्याजको अन्तहिन पर्खाइमा सावाँहरु खर्चिरहेछु।

Oct 9, 2003  

सानै देखि प्राथमिक स्कुलमा घोक्न थालियो, 'दुई-दुना-चार' देखी 'सत्र-दुना-चौतिस' सम्म। राम्रा अंकहरु आए। माद्यामिक बिद्यालयमा अरु धेरै घोकियो, 'अर्घाखाँची-सन्धिखर्क' देखी 'जिम्बाब्बे-हरारे' सम्म। राम्रा स्रेणीहरु मिले। तथाकथित सफलताहरु। क्याम्पस गएं, घोकें। संगै बसेर घोक्ने दौतरिहरु भिन्न थिए। ठाउँ भिन्न थियो। पहिले सानो कोठा, गाउंको, टुकिको उज्यालो, कहिलेकाही दाई नहुँदा लाल्टिन। अहिले ठुलो कोठा, शहरको, बिजुली बत्त्तीको उज्यालो। घोकाइ आझै ससक्त बन्यो, राम्रा भनिएका अंक तालिकाहरु थपिए। धेरै प्रबेस पारीक्ष्याहरुमा घोकें, पाटन क्याम्पस देखी पुल्चोक हुँदै पिपल्स सम्म। छनौट तालिकामा अग्र पंतिमा नाम्हरु देखिए। विश्वाबिद्यालयमा पुन: घोकें। घोक्ने तरिका फरक भयो होला। प्रक्रिती फरक भयो होला। बिषयबस्तु फरक भए होलान। तर काम उही थियो। घोक्नु।

यी प्रत्यक घोकाइहरुमा मैले मेरा बर्सौं सम्मका अमुल्य समयहरु खर्च गरें, मेरो बाबाका बर्शौं सम्मका पसिनाहरु पनि। आखिर के पाएं? म जहाँ छु - के मैले मेरो बाबाको दैनिकिमा अलिकता पनि परिवर्तन दिलाउन सकें? यि मेरा भनिएका सफलताहरुले के अलिकती पनि मेरो गाउँ र मेरो घरको जीवनचर्यामा परिवर्तन धकेल्न सके? आखिर यि घोक्नुहरुका उपलब्धिहरु के? के म नघोक्नेहरु भन्दा एक औंश पनि बुध्धिमान भएं?

अबत अझ बढेमानको घोकाइ सुरु गरेको छु। बिदेशमा। के यो बिदेशी घोकाइले कुनै जादु गरिदेला? के आफ्ना सम्पूर्ण जवानीहरु खर्चेर स्वदेशमा घोक्दा नमिलेको कुनै अद्भुउत सफलता यो अंग्रेजी मिसिएको घोकाइले बोलाइदेला? के मेरा घोक्नु प्रतिका लगानिहरुको प्रतिफल नजिकिदैछ? मलाई विश्वाश छैन। यि म जे गरिरहेछु, जसरी घोक्नुमा लगानी गरिरहेछु, मेरो अ-मुल्य जीवनका अतुलनिय टुक्राहरु खर्च मात्रा गरिरहेछु, फेरी कहिल्यै उकास्न नसक्ने गरी। मलाई विश्वाश छैन, कुनै पनि हालतमा म मेरा अ-मुल्य लगानिहरुका ब्याज मात्रै पनि फर्काउन सक्ने छु।

अर्थशास्त्र भए 'sensitivity analysis' गर्थें होला, 'break-even' गर्थें होला, सावाँहरु, ब्याजहरु र नाफा-घाटाहरुमा घोत्लेर मात्रै निर्णय गर्थें होला, लगानिको। तर यो जीवन हो। काठमान्डौ हेटौंडा सुरुंगमार्ग हैन। त्यसैले म ब्याजको अन्त्यहिन पर्खाइमा सावाँहरु खर्चिरहेछु, निरन्तर- निरन्तर।              

somewhereondearth
· Snapshot
Like · Liked by · 0
चसक्क पार्नु भयो नि दाई । कोट्टयाईहाल्नु भयो । अझ थप्नु हुन्छ भन्ने छ ।

-somewhereondearth
SurNaTal
· Snapshot 5827
Like · Liked by · 0

Was going through my postings in Sajha and found this old thread. Had a small write-up lately, and wanted to share on this thread. Thanks all for being here.

 

And many thanks to Some bhai for the nice comment you made about two years ago.  

 

सन्कल्प 

-----------------

न मैले कतै सपना बुने 

न मैले कही बिपना भुले 

तै पनि जीवन उदासी हुने 

खै कुन बिरानो गीत यो सुने! 



निस्छल जीवन सुसाएकै थियो 

टुकी कै उज्यालो प्रसस्त थियो 

तिमी हिउदको घामझै अस्तायौ

पुरानो जीवन कहाँ खोजु भयो! 


बर्षा ठाने हरियाली दिने 

खहरे रहेछ उर्लिएर जाने 

घरबारी अब बगर सरी भो 

कहाँ कसरी फोगटा बिराउने?


न मैले कतै अबिश्वास रोपे 

न मैले कही ढोका यो थुने

तिमीनै थियौ लीलामी हुने 

निरस अब म किन रुने?



--------

फोगटा - खेत वा बारीका स-साना गराहरु; सानो टुक्रा खेत वा बारी। 

बिराउनु - सामान्य अर्थ त गल्ती गर्नु नै हो। तर यस्तो अर्थमा पनि प्रयोग हुन्छ - जङल वा घास भएको जमिनलाई खेत वा बारीमा परीणत गर्नु। 


Rahuldai
· Snapshot 5950
Like · Liked by · 0

वाह ! वाह ! सुर न ताल जी,


 यो कबितामा सूर पनि छ ताल पनि छ । कबिता होस् त यस्तो, मखुला ??

ThahaChaena
· Snapshot 9293
Like · Liked by · 0
 साझा को गर्भ बाट.....
दामी कविता......नयाँ शब्द नि सिके २ वटा .....सुरनताल जी....धन्याबाद......

- थाने
fucheketo
· Snapshot 9525
Like · Liked by · 0
I miss this legend of Sajha..Surnatal dai..if you still visit sajha...Time to come back..
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 430
· Posts 1 · Viewed 129
· Posts 13 · Viewed 2052
· Posts 1 · Viewed 96
· Posts 1 · Viewed 86
· Posts 4 · Viewed 896
· Posts 1 · Viewed 179
· Posts 1 · Viewed 168
· Posts 1 · Viewed 411
· Posts 3 · Viewed 4659



Your Banner Here
Travel Partners
Travel House Nepal