यो मेरो मौलिक रचना हैन। यो कथा मैले लेखेको हैन, देखेको हो। यो कथा मैले रोजेको हैन, भोगेको हो। यो मैले लेख्न चाहेको कथा पनि हैन, आएको कथा हो।
एउटा ज्यामी (रामकिस्ने वा रामकिशन वा रामप्यारी वा रामदुलारी कुनै एक नाम दिनुस्।) कामबाट छुटेर घर फर्किरहेछ। उ लखतरान छ दिनभरिको कामपछि। अक्सर उ एक्लै हुन्छ घर फर्किँदा। एउटा घना जंगलको बाटो हुँदै फर्किनुपर्छ उसले। उसै त जंगल, झन अचेल हिंस्रक जन्तुहरु थपिएका छन् रे! त्यसैले उ सधैं सकेसम्म उज्यालैमा त्यो जंगल काटिसक्छ जसरी भएपनि।
तर आज कामबाट निस्कन साह्रै ढिला भएछ। उ डराई-डराई हिडिरहेछ, सासै रोकेर हिडिरहेछ। कतैबाट बाघ-भालु निक्लेला र झम्टेला भन्ने डरले उ त्यसै पनि अधमरो भईसकेको छ।
उसको डर साकार उभिन्छ अचानक उसको अघिल्तिर! संसार हल्लाउने गर्जन सुन्छ उ र देख्छ दुईटा बल्डेंग्रा आँखाले उसलाई ताकिरहेछन्! विशाल वाघ उसको बाटो छेकेर उभिएको छ।
अब रामकिस्नेले के नै गर्नसक्छ र अरु? उ आफैंलाई बिर्सेर कुद्न थाल्छ। उ यसरी कुद्छ कि (अचम्म छ, कस्तो शक्ति आउँदो रहेछ मान्छेमा, आपत परेपछि!) गर्जिँदै दौडिरहेको वाघले पनि उस्लाई भेट्न सक्दैन।
यसरी घना जंगलमा बाघसंग छलिन वेपर्वाह दौडिदा-दौडिदै अचानक स्वर्ग देख्छ उस्ले। जंगलको बीचमा कतै एउटा सानो झुप्रो छ! कतै केहि नसोची उ सोझै झुप्रोभित्र पस्छ र ढोका लगाउँछ। बाहिर पिँढीमा आएर बाघ घुरेको सुन्छ रामकिस्नेले, तर अब आफू बाँचेकोमा ढुक्क भइसकेको छ उ अब!
झुप्रोमा जन्मेर, झुप्रोमा हुर्केर, झुप्रैमा बूढो हुन आँटेको रामकिस्ने यो झुप्रोसंगपनि परिचितनै छ भने हुन्छ। मेरो मतलब झुप्रोमा कहाँ के छ भनेर उ अँध्यारैमा पनि ठम्याउन सक्छ। ढोकाको एकापट्टि छामछुम पारेपछि उसले खोपा भेट्छ। टुकी छ त्यहाँ। आफूसंग बाँकी रहेको एक काँटी सलाई कोरेर उ टुकी बाल्छ र पुनर्जन्मको खुशीमा लामो सास लिन भनेर टाउको उठाउँछ।
तर पख्नुस्! खुशी नहुनुस्! रामकिस्नेले लामो सुस्केरा हाल्न पाउँदैन। टुकीको उज्यालोमा उ देख्छ उसको अगाडि एउटा गोमन फूलेर बसिरहेको छ, आक्रमणको पूरा तयारीमा!
बाघबाट जोगिएको रामकिस्ने साँपको गुँडमा पुगेको छ!
मैले भनिरहनु पर्छ र रामकिस्ने भनेको नेपाली जनता हो भनेर?!
तर यो कथा किन दोहोरिईरहेछ हरेक पुस्ता-दरपुस्तामा?
किन हाम्रो रात सकिएर दिन आउँदैन? किन हाम्रो रात अनन्त छ ?
देखिँदैछन, हाम्रा अनन्त रातका कहालीमय पर्खाइहरू,
भोगिँदैछन, अतित ,वर्तमान र भविष्य समेत बोकेका थर्काइहरु
हुनुपर्दैन, रात ढल्यो भनेर खुशी, बिहानीसंग बवण्डर उठेको छ
कल्पनै गर्न नसकिने दिनभित्रको कालरात्रीले झिसमिसे कुरेको छ ।
सटीक कथाको देउरालीमा, मेरो सहमतिको सानो पातले विश्रान्ति पाओस् ।
-एकलव्य
वाह! वाह!! एकलब्यजी!! क्या सटीक बयान गर्नुभयो यार!
वाह! वाह!!
सटीक कथाको देउरालीमा, मेरो सहमतिको सानो पातले विश्रान्ति पाओस् ।
ज्वाईँ सापलाई धन्यबाद भन्न बिर्सेको रहेछु:)
Please log in to reply to this post
You can also log in using your Facebook