ग्रिनकार्डको नियमहरु बदलेको सुचना - सबैले बुझ्नु पर्ने कुरा - Sajha Mobile
SAJHA MOBILE
ग्रिनकार्डको नियमहरु बदलेको सुचना - सबैले बुझ्नु पर्ने कुरा
Posts 1 · Viewed 7199 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0

ग्रिनकार्डमा पब्लिक चार्जको नियम भोलिदेखि, जान्नैपर्ने केही कुरा (भिडियो सहित)


अमेरिकी सरकारले सोमबारदेखि गास, बास र स्वास्थ्यका लागि सरकारी सुविधा लिने वा लिने सम्भावना हुनेहरुलाई ग्रिनकार्डमा कडाई गर्ने पब्लिक चार्जको नियम लागु गर्दैछ । यो नियम अन्तरगत सरकारी सुविधा लिएका वा लिने सम्भावना हुनेहरुको ग्रिनकार्ड वा भिसा अस्वीकृत समेत हुनसक्छ ।

खासगरी फरबरी २४, २०२० भन्दा अगाडि नै सरकारी सुविधा लिएकाहरुको हकमा भने यो नियम लागु नहुने युएससीआईएसले जनाएको छ । तर त्यसपछि सरकारी सुविधा लिनेहरुको सन्दर्भमा यो नियम लागु हुनेछ ।

आम्दानी कायम गर्नका लागि सरकारबाट लिएको नगद सुविधा पब्लिक चार्जको नियमभित्र पर्नेछ । यर्थात यस्तो सुविधा लिएको खण्डमा उक्त व्यक्ति नयाँ नियमबाट प्रभावित हुनेछ । यो सुविधामा अतिरिक्त सुरक्षा आम्दानी एएसएसआई, टेम्पोरेरी एसिस्टेन्स फर निडी पिपुल टीएएनएफ, संघीय, राज्य तथा स्थानीय सहायता कार्यक्रमहरु यसभित्र पर्छन् ।

त्यस्तै यदि व्यक्ति २१ बर्षभन्दा कम उमेरको वा गर्भवती छैन भने र संघीय रुपमा फण्डेड मेडिकेड सुविधा लिएको छ भने यो पनि पब्लिक चार्ज अन्तरगत पर्नेछ । आवासीय सुविधा, भाडाका लागि सुविधा, सार्वजनिक आवास सुविधा जस्ता सुविधाहरु लिएको खण्डमा पनि पब्लिक चार्ज अन्तरगत पर्नेछ । त्यस्तै फुड स्ट्याम्प वा स्न्याप सुविधा पनि पब्लिक चार्ज अन्तरगत नै पर्नेछ ।

जमानत रकम राखेर ग्रिनकार्ड आवेदन स्वीकृत हुनेहरुको सन्दर्भमा ३६ महिनाको अवधिमा १२ महिनाभन्दा बढी लगातार यस्तो सुविधा लिएको खण्डमा उसको जमानत जफत हुनेछ । यदि कुनै व्यक्तिले ३ महिनासम्म लगातार फुड स्ट्याम्प र मेडिकेड लिएमा त्यसको गणना ६ महिना हुनेछ ।

फरबरी २४ भन्दा अगाडि नै ग्रिनकार्ड प्राप्त गरेर आप्रवासीको परिवारका रुपमा सरकारी सुविधा लिनेहरुलाई यो नियमले असर गर्नेछैन । त्यस्तै अमेरिकी सेनाका परिवारहरुलाई पनि यो सुविधा लिदैमा पब्लिक चार्जको नियमले प्रभाव पार्नेछैन । आपतकालिन स्वास्थ्य सहयोग लिनेहरुलाई पनि असर पर्नेछैन ।

२१ बर्ष मुनीकाहरु, गर्भवती भएको बेलामा सुविधा लिनेहरु, अपांगता भएकाहरुलाई पनि मेडिकेड लिंदा कुनै असर पर्नेछैन । अफोर्डेवल केयर एक्ट अन्तरगत स्वास्थ्य विमा, सोसल सेक्युरिटी सुविधा र मेडिकेयर, वीक, चीप, इनर्जी सहायता, विद्यार्थी लोन, कामदार क्षतिपूर्ति, वेरोजगार सुविधा, ट्याक्स रिफण्ड, ट्याक्स सम्बन्धि अन्य नगद सुविधाहरु पब्लिक चार्ज अन्तरगत पर्दैनन् ।

यदि तपाईले विगतमा कुनै पनि प्रकारको सरकारी सुविधा लिनुभएको थियो र लिने योजनामा हुनुहुन्छ भने लाइसेन्सप्राप्त कानुन व्यवसायीसँग सम्पर्क गरेर सल्लाह गर्न सक्नुहुनेछ ।

एसाइलम गरेकाहरु, शरणार्थीहरु, यु र टी भिसाका आवेदकहरु, टीपीएस आवेदकहरुलाई पब्लिक चार्जको नयाँ नियम लागु हुनेछैन । तर यदि तपाई रोजगारमा आधारित कुनै पनि प्रकारको आप्रवासी वा गैरआप्रवासी भिसाका लागि आवेदन दिदै हुनुहुन्छ भने तपाई सबैभन्दा धेरै यो नियमबाट प्रभावित हुनुहुनेछ ।

तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ ? तपाईले पब्लिक चार्जबारे जान्नुपर्ने ५ कुरा

पब्लिक चार्जको नयाँ नियम अनुशार अमेरिकी सरकारले ग्रिनकार्ड जारी गर्नु अगाडि सरकारी सुविधा खाने सम्भावना भए नभएकोबारे निर्धारण गर्ने भएको छ । आवेदकको उमेर, स्वास्थ्य, आम्दानी, शिक्षा, दक्षता लगायतका विभिन्न अवस्थाको आधारमा सरकारी सुविधा लिने सम्भावना भए नभएको निर्धारण गरिने अमेरिकी सरकारले जनाएको छ ।

यदि तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ भने पब्लिक चार्जको नियमबारे जान्नुपर्ने ५ कुराहरु यसप्रकार छन् : 

१, यदि तपाईसँग पहिले नै ग्रिनकार्ड छ भने यो नियमबाट तपाईलाई खास असर पर्नेछैन । तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ भने सरकारी सुविधा लिन सक्नुहुन्छ ।

२, यदि तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ र सरकारी सुविधा लिनुभएको छ भने तपाईलाई ग्रिनकार्ड नविकरण गर्दा कुनै समस्या पर्नेछैन ।

३, ग्रिनकार्डबाहकलाई सरकारी सुविधा लिएकै आधारमा देशनिकाला गर्न सकिदैन । सरकारका लागि सरकारी सुविधा लिएकै आधारमा ग्रिनकार्डबाहकलाई देशनिकाला गर्न लगभग असम्भव छ ।

४, यदि तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ र तपाईले १८० दिनभन्दा बढी समय अमेरिका बाहिर बस्नुभएको छ भने तपाईका लागि पब्लिक चार्जको नियम लागुहुनसक्छ । ग्रिनकार्डवाहक एकपटकको यात्रामा १८० दिनभन्दा लामो समय अमेरिकाबाहिर बसेको खण्डमा अमेरिका फर्कदा पोर्ट अफ इन्ट्रीमा तपाईलाई पब्लिक चार्ज हुने नहुने अर्थात् सरकारी सुविधा लिने नलिने सम्बन्धमा सोधपुछ गरिन सक्छ । यदि तपाई १८० दिन भन्दा लामोसमयका लागि अमेरिकाबाहिर जाँदै हुनुहुन्छ भने लाइसेन्सप्राप्त कानुन व्यवसायीसँग सल्लाह गर्नुहोला ।

५, यदि तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ भने नागरिकता आवेदनका लागि पब्लिक चार्जको नियमले कुनै असर गर्नेछैन । यद्यपी तपाईलाई अध्यागमन अधिकारीहरुले योग्य नभएको बखत सरकारी सुविधा लिए नलिएकोबारे प्रश्न सोध्न सक्छन् । तपाईले अमेरिकी नागरिकताका लागि आवेदन दिनु अगाडि लाइसेन्स प्राप्त र विश्वासिलो कानुन व्यवसायीसँग तपाईले विगतमा लिएको सरकारी सुविधाको इतिहासबारे पुनरावलोकन गर्नुहोला ।

आवेदन पेन्डिङ छँदै इलिनोय बसाई सर्नेलाई पब्लिक चार्जको नयाँ नियम लागु नहुने

यदि तपाई अमेरिकाको इलिनोय राज्यमा बस्नुहुन्छ भने अमेरिकी सरकारले फरबरी २४ पछि लागु गर्न लागेको पब्लिक चार्जको नियम तपाईको सन्दर्भमा लागु हुनेछैन । किनभने नर्दन डिस्ट्रिक्ट अफ इलिनोयको अदालतले सरकारलाई इलिनोय राज्यमा पब्लिक चार्जको नियम कार्यान्वयनमा रोक लगाएको छ ।

इलिनोयका बासिन्दाको सन्दर्भमा युएससीआईएसले आवेदनहरु सन् १९९९ को नियमकै आधारमा निर्णय गर्नेछ । फर्म आई ४८५ को भाग तीनमा उल्लेख भएको ठेगानाका आधारमा आवेदक इलिनोयमा बसेको वा नबसेको कुराको निर्धारण युएससीआईएसले गर्नेछ ।

इलिनोयमा बस्ने आवेदकहरुले जुलाई १५, २०१९ वा डिसेम्बर १३, २०१७ को मिति भएका पुराना आई ४८५ आवेदन पठाउनुपर्नेछ । त्यस्तै इलिनोयमा बस्नेहरुले ग्रिनकार्ड आवेदन आई ४८५ का साथमा आफू आत्मनिर्भर भएको पुष्टी गर्ने फर्म आई ९४४ पेश गर्नुपर्नेछैन ।

फर्म आई १३० वा आई १४० वा आई ३६०सँगै एकसाथ आई ४८५ फाइल गर्नेहरुले सिंगै प्याकेज एटेन्सन इलिनोय टिम लेखेर नेब्रास्का सर्भिस सेन्टरको ठेगानामा पठाउनुपर्नेछ ।

त्यस्तै इलिनोयमा बस्नेहरुका सन्दर्भमा भिसा थप्दा वा स्टाटस परिवर्तन गर्दा पब्लिक चार्जको नयाँ नियम लागु हुनेछैन । भिसा थप्दा वा स्टाटस परिवर्तन गर्दा प्रयोग हुने फर्म आई ५३९ मा रहेको भौतिक ठेगानाको आधारमा युएससीआईएसले आवेदक इलिनोयमा बस्ने नबस्ने कुराको निर्धारण गर्नेछ ।

त्यस्तै कामदार भिसाका लागि आई १२९ फर्म भर्दा पनि रोजगार दाता र कामदारको भौतिक ठेगाना इलिनोयमा छ भने नयाँ नियम लागु हुनेछैन । इलिनोयमा बस्नेहरुले फर्म आई १२९ का पुराना भर्सनहरु अर्थात् जनवरी ८, २०२० वा जनवरी ३१, २०१९ का मितिका फर्महरु प्रयोग गर्नुपर्नेछ ।

फर्मको नयाँ भर्सन प्रयोग गरेमा वा तोकिएको भन्दा अरु भर्सन प्रयोग गरेमा आवेदन सिधै अस्वीकृत हुने युएससीआईएसले जनाएको छ । भिसा थप्दा वा स्टाटस परिवर्तन गर्दा फर्म भरेर नेब्रास्का सर्भिस सेन्टरमा एटेन्सन आई ५३९ टिम लेखेर पठाउनुपर्नेछ ।

फरबरी २४ पछि इलिनोय निवासीले भिसा थप्दा वा स्टाटस परिवर्तन गर्दा अनलाइनमार्फत फर्म पठाउन पाउनेछैनन् । हुलाकमार्फत नै पठाउनुपर्नेछ ।

यदि आवेदकले इलिनोयको ठेगानाबाट आवेदन दिएको छ र आवेदनउपर फैसला नहुँदै इलिनोयबाहिर गएर त्यहाँको ठेगाना युएससीआइएसमा अपडेट गरेको छ भने उसलाई पब्लिक चार्जको नयाँ नियम लागु हुनेछैन । त्यस्तै इलिनोय बाहिरको ठेगानामा रहेको आवेदकले आवेदन दिएपछि आवेदनउपर फैसला नहुँदै इलिनोयमा बसाई सराई गरेर ठेगाना परिवर्तन गरेको छ भने पनि उसलाई पब्लिक चार्जको नयाँ नियम लागु नहुने युएससीआईएसले जनाएको छ ।

तर बसाई सराई गरेको वास्तविक हुनुपर्छ । युससीआईएसलाई झुक्याउन भने पाइनेछैन ।

याद गर्नुहोस्, पब्लिक चार्जको नियम फरबरी २४, २०२० पछिमात्र लागु हुनेछ । त्योभन्दा अगाडि सरकारी सुविधा लिनेहरुको हकमा यो नियम लागु हुनेछैन ।

दूताबासबाट आप्रवासी भिसालिनेलाई थप ४ पेजको फर्म, कतिपय गैरआप्रवासी भिसालाई समेत

अमेरिका आएर सरकारी सुविधा लिने सम्भावना भए नभएको जाँच्न आगामी फरबरी २४ पछि अमेरिकी दूतावासमा भिसा आवेदनका साथमा नयाँ फर्म भरेर बुझाउनुपर्ने भएको छ । त्यसका लागि अमेरिकी सरकारको विदेश मन्त्रालयले फबरी २४ अगाडि नै उक्त फर्म स्वीकृतिका लागि अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटलाई अनुरोध गरिसकेको छ ।

डीएस ५५४० नामको उक्त फर्मको आपतकालिन स्वीकृतिका लागि विदेश मन्त्रालयले  फेडरल रजिस्टरमा सुचना समेत प्रकाशित गरेको छ । सरकारी सुविधा खाने सम्भावना हुनेहरुलाई भिसाका लागि अयोग्य सावित गर्ने नियम फरबरी २४ पछि नै लागु गर्ने उद्देश्यले नयाँ फर्मका लागि स्वीकृति खोजिएको हो ।

फर्म डीएस ५५४० को ड्राफ्ट

यो फर्म लागु गर्ने योजनाका साथ गत अक्टोबर २४ मा फेडलर रजिस्टरमा सुचना प्रकाशित गरेर कमेन्ट मागिएकोमा डिसेम्बर २३ सम्ममा ९२ वटा कमेन्टहरु प्राप्त भएका थिए । अहिले अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटी पब्लिक चार्जसम्बन्धि नियम आगामी फरबरी २४ देखि इलिनोयबाहेकका ४९ राज्यमा लागु गर्ने योजना बनाएपछि त्यही मितिबाट विदेशमन्त्रालयले यो नियम लागु गर्न खोजेको हो ।

अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटले अहिलेकै प्रकृयाबाट उक्त मितिभित्र फर्म स्वीकृत गर्न प्रयाप्त समय नहुने भएकाले फर्म स्वीकृतिका लागि आपतकालिन अनुरोध गरिएको हो । अमेरिकी भिसा प्राप्त व्यक्तिलाई अमेरिका प्रवेश गर्ने क्रममा पोर्ट अफ इन्ट्रीमा बाधा उत्पन्न नहोस् भन्ने उद्देश्यले विदेश मन्त्रालयले एकैपटक यो नियम कार्यान्वयनमा ल्याउन खोजेको हो । अन्यथा अमेरिकी भिसा प्राप्त गरेर पोर्ट अफ इन्ट्रीमा आइसकेको व्यक्तिलाई सरकारी सुविधा लिने सम्भावना भएको आधारमा फर्काउन सकिने खतरा रहनेछ ।

यो फर्म डीएस ५५४० अनलाइनमा उपलब्ध हुनेछ भने अमेरिकामा आउनका लागि आप्रवासी भिसा आवेदन दिने व्यक्तिले डाउनलोड गरेर फर्म भर्नुपर्नेछ । फर्म भरिसकेपछि अरु कागजातका साथमा सिस्टममा अपलोड गर्नुपर्नेछ । गैरआप्रवासी भिसा आवेदकहरुलाई जसलाई यो फर्म भर्न आवश्यक छ, उसले इमेलमार्फत वा हार्डकपी दूतावासमा पठाउनुपर्नेछ ।

ग्रिनकार्ड आवेदनसँगै आत्मनिर्भरता फर्म : क्रेडिट स्कोरदेखि शैक्षिक योग्यतासम्म

सोमबारदेखि अमेरिकामा ग्रिनकार्ड आवेदन दिंदा आत्मनिर्भरता पुष्टी गर्ने फर्मपनि भर्नुपर्ने भएको छ । अमेरिकामा ४९ राज्यमा लागु हुन लागेको सरकारी सुविधा लिने र लिने सम्भावना हुनेलाई ग्रिनकार्ड अस्वीकृत गर्न सक्ने पब्लिक चार्ज नियम अन्तरगत नयाँ फर्म जारी गरिएको हो ।

आई ९४४ नामको उक्त फर्म ग्रिनकार्ड आवेदन आई ४८५ का साथमा अनिवार्य भरेर बुझाउनुपर्ने युएससीआईएसले जनाएको छ । यो फर्म सबै आवेदकहरुले बुझाउनुपर्नेछ । तर इलिनोय निवासी आवेदकले भने अहिलेका लागि यो फर्म बुझाउनुपर्नेछैन ।

फर्म आई ९४४ यहाँ उपलब्ध छ ।

१८ पृष्ठ लामो यो फर्ममा सम्पत्ति विवरण, श्रोत र आर्थिक अवस्थाबारे विभिन्न प्रश्नहरुको जवाफ दिनुपर्नेछ । यो फर्ममा आफ्नोमात्र नभएर परिवारका सदस्यहरुको आम्दानीको विवरण समेत बुझाउनुपर्नेछ । साथै मोर्गेजदेखि क्रेडिट कार्डको तिर्न बाँकी रकमको विवरणसमेत खुलाउनुपर्नेछ ।

क्रेडिट कार्डको रिपोर्टदेखि क्रेडिट स्कोरसम्म बुझाउनुपर्नेछ । यदि क्रेडिट स्कोर कम छ भने कम हुनुको कारणसमेत पेश गर्नुपर्नेछ । त्यस्तै स्वास्थ्यविमाबारेको विस्तृत विवरणसमेत उक्त फर्ममा भर्नुपर्नेछ ।

सरकारी सुविधा लिएको नलिएकोदेखि, शैक्षिक योग्यताको विवरणसम्म भर्नुपर्नेछ । साथै पेशागत दक्षता भए नभएकोबारे सबै विवरण उक्त फर्ममा भर्नुपर्नेभएकोछ । उक्त फर्ममा अँग्रेजी भाषा र अन्य भाषामा दक्षता भए नभएकोबारे पनि विवरण खुलाउनुपर्नेछ ।

ग्रिनकार्ड आवेदनका साथमा उक्त फर्म बुझाइसकेपछि युएससीआईएसले आवेदकले सरकारी सुविधा लिएको लिनसक्ने सम्भावना देखेको खण्डमा धरौटी माग गर्नसक्नेछ । यदि धरौटीमागेको खण्डमा फर्म ९४५ पब्लिक चार्ज बण्ड फर्म पनि भरेर बुझाउनुपर्नेछ । यो फर्म भने युएससीआईसले मागेको व्यक्तिलेमात्र भर्नुपर्छ, सबैले पर्दैन ।

यदि ग्रिनकार्ड लिने व्यक्तिले आगामी ३६ महिनाको अवधिमा १२ महिनाभन्दा लामो समय सरकारी सुविधा लिएको खण्डमा उक्त धरौटी रकम सरकारले नै लिनेछ । यदि कुनै दुईप्रकारका सरकारी सुविधा ६ ६ महिना लिएको खण्डमा त्यो पनि एकबर्ष गणना गरिन्छ ।

तर सरकारी सुविधा नलिएको खण्डमा भने उक्त धरौटी रकम फिर्ता लिन सकिनेछ । त्यसका लागि धरौटी राखेको व्यक्तिले आई ३५६ नामको फर्म भर्नुपर्नेछ । युएससीआईएसले ग्रिनकार्ड लिएको व्यक्तिले अमेरिकी नागरिकता लिएपछि वा अमेरिकाबाट स्थायी रुपमा फर्केपछि वा मृत्यु भएमा पब्लिक चार्ज बण्ड रद्द गर्नेछ ।

त्यस्तै आवेदकले ग्रिनकार्ड प्राप्त गरेको पाँचौं बार्षिकीमा पनि युएससीआईएसले पब्लिक चार्ज बण्ड खारेज गर्नेछ । त्यस्तै आवेदकले पब्लिक चार्जको नियम नलाग्ने अर्को अध्यागमन स्टाटसमा गएमा पनि युएससीआईएसले पब्लिक चार्जको बण्ड खारेज गर्नेछ । त्यसपछि उक्त बण्ड रकम फिर्ता पाइनेछ ।

१२ प्रकारका फर्म अपडेट

ब्लिक चार्ज नियम कार्यान्वयनका लागि युएससीआईएसले ६ श्रेणीका १२ वटा फर्महरु अपडेट गरेको छ । यी फर्महरु यही फरबरी २४ पछि लागु हुने युएससीआईएसले जनाएको छ ।

फरबरी २४ सम्म फर्मका पुरानै संस्करणहरु प्रयोग गर्न सकिने भएतापनि त्यसपछि भने फर्मका नयाँ संस्करण प्रयोग गर्नुपर्नेछ । अन्यथा आवेदन स्वत अस्वीकृत हुने युएससीआईएसले जनाएको छ ।

गैरआप्रवासीका कामदारका लागि भरिने फर्म आई १२९ र आई १२९ सीडब्लु फर्म अपडेट गरिएको छ । त्यस्तै ग्रिनकार्डको फर्म आई ४८५आई ४८५ पुरक ए र आई ४८५ जे फर्म पनि अपडेट गरिएको छ ।

त्यस्तै गैर आप्रवासी भिसा थप्ने फर्म आई ५३९ र आई ५३९ ए पनि अपडेट गरिएको छ । वेभर फर्म आई ६०१स्पोन्सर फर्म आई ८६४ , आई ८६४ ए र आई ८६४ ईजी पनि अपडेट गरिएको छ । त्यस्तै शुल्क मिनाहाका लागि भरिने फर्म आई ९१२ पनि अपडेट गरिएको छ ।

त्यस्तै पब्लिक चार्जको सम्भावना हुने भएकाहरुले ग्रिनकार्ड आवेदन दिंदा फर्म आई ९४४ भरेर आत्मनिर्भरताको घोषणा गर्नुपर्नेछ । यदि युएससीआईएसले पब्लिक चार्जको सम्भावना भएकालाई धरौटी राख्न भनेको खण्डमा भने धरौटी फर्म आई ९४५ पनि भर्नुपर्नेछ । पब्लिक चार्ज धरौटी रद्द गराउनका लागि भने फर्म आई ३५६ फर्म भर्नुपर्नेछ ।

शरणार्थीहरु, एसाइलम गरेकाहरु, हिंशाको शिकार भएकाहरुलाई भने पब्लिक चार्जको नियम लागु नहुने जनाइएको छ । अहिलेका लागि इलिनोयबाहेकका सबै ४९ राज्यमा नयाँ नियम लागु भएको छ । इलिनोयमा भने संघीय अदालतले पब्लिक चार्जको नियम कार्यान्वयनमा रोक लगाएको छ । उक्त रोक हटाइएको खण्डमा भने त्यसबारे युएससीआईएसले छुट्टै सुचना जारी गर्नेछ ।

युएससीआईएसले पब्लिक चार्जको नियम कार्यान्वयनका लागि छुट्टै निर्देशिका पनि जारी गरेको छ ।

https://www.khasokhas.com/107721


Video: https://www.facebook.com/khasokhas/videos/2823081667784031/

Last edited: 24-Feb-20 09:50 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 19 · Viewed 1740 · Likes 1
· Posts 1 · Viewed 60
· Posts 1 · Viewed 57
· Posts 11 · Viewed 2123 · Likes 6
· Posts 1 · Viewed 126
· Posts 1 · Viewed 136
· Posts 1 · Viewed 233
· Posts 1 · Viewed 194
· Posts 2 · Viewed 529
· Posts 6 · Viewed 930



Your Banner Here
Travel Partners
Travel House Nepal