नेपालमा बढ्दै गरेको यौन बिकृति - Sajha Mobile
SAJHA MOBILE
नेपालमा बढ्दै गरेको यौन बिकृति
Posts 5 · Viewed 37358 · Likes 1 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0
७ चैत, काठमाडौं । यूट्युवमा अश्लील अन्तरवार्ता दिएको आरोपमा प्रहरीले फुलचोकी मिडियाका सञ्चालक राजकुमार कुँवर र परी तामाङलाई पक्राउ गर्‍यो । युट्युवमार्फत अश्लीलता फैलाउनेमाथि सम्भवतः यो नेपाल प्रहरीको पहिलो एक्सन हो ।

फुलचोकी मिडिया प्राली नामक यूट्यूव च्यानलमाथि अलि अगाडि नै प्रतिवन्ध लाग्नुपथ्र्यो । यसले नयाँ–नयाँ युवतीहरुलाई ल्याउँदै अश्लील अन्तरवार्ता लिएर भिडियो बनाउने धन्दा गर्दै आएको थियो । ढिलै भए पनि प्रहरीले पहल गर्नु सकारात्मक छ । अब फुलचोकी जस्ता अन्य यूट्यूव च्यानलहरुको खोजी हुनुपर्छ जसले मनोरञ्जनका नाममा अश्लीलताको व्यापार गरिरहेका छन् र परी जस्ता धेरै युवतीहरुलाई समाजका अगाडि नांगो बनाइरहेका छन् ।

पहिले फुलचोकी मिडियाको कुरा गरौं ।

फुलचोकी मिडियाका नाममा सञ्चालित च्यानलको युट्युवमा उल्लेखित ‘डिस्क्रिप्सन’मा ‘फुलचोकी मिडिया प्रालि नेपालको कानूनअनुसार कम्पनी रजिस्टार कार्यालयमा दर्ता रहेको’ उल्लेख छ । यसमा भनिएको छ, ‘हामीसँग नेपाली म्युजिक कम्पनी र प्रोडक्सन हाउसहरु पार्टनरका रुपमा छन् । हामी धेरै नेपाली कलाकार र कम्पनीहरुलाई डिजिटल प्लेटफर्म उपलब्ध गराइरहेका छौं । हामी नेपालमा सर्वाधिक छिटो विस्तारित च्यानल हौं । लुकेका प्रतिभा र मनोरञ्जनका लागि हामीलाई सब्स्क्राइब गर्नुहोला ।’

सञ्चालक राजकुमार कुँवरले प्रहरीलाई पनि फुलचोकी मिडिया कम्पनी रजिष्टार कार्यालयमा दर्ता रहेको दावी गरेका छन् । तर उनले अहिलेसम्म त्यसको कुनै कागजात देखाउन नसकेको प्रहरीले स्रोतले बताएको छ ।

बाहिर जे भने पनि फुलचोकी मिडियाको मुख्य धन्दा भनेको अश्लील अन्तरवार्ता नै हो । सञ्चालक कुँवरले प्रहरीमा दिएको बयानअनुसार उनले युवतीहरुलाई केही पैसासमेत दिएर यस्तो अन्तरवार्ता लिने गर्छन् । एउटा अन्तरवार्ता गर्दा ८–१० हजार दिने गरेको उनले बताएका छन् ।

फुलचोकी मिडियाको अफिस जाउलाखेलमा छ, जहाँ आधा दर्जन कर्मचारी रहेको प्रहरीले पत्ता लगाएको छ । उनीहरुमध्ये अर्की प्रस्तोता लक्ष्मी मोक्तान पनि पक्राउ परेकी छन् । उनले बयानमा आफूलाई मासिक २० हजार तलबमा नियुक्त गरे पनि तलव नपाएको बताएकी छन् ।

सञ्चालक पक्राउ परे पनि यो च्यानलमा अपलोड भएका कैयन अश्लील अन्तरवार्ता अहिले पनि सुरक्षित छन् । धेरै अन्तरवार्ताका शीर्षक यहाँ दृष्टान्तको रुपमा समेत प्रस्तुत गर्न योग्य छैनन् । तुलनात्मकरुपमा ‘सफ्ट’ केही हेडलाइनहरु यस्ता छन् :

मलाई नेपाली स्टाइल नै मनपर्छ

आँखा मात्रै जुधाएर मस्ति हुँदैन, एकदम छाडा कुराकानी

पहिलोचोटि नगरकोटमा चिप्लाइयो

पहिलोचोटि टाउको एकदम दुख्यो र पोल्यो

सालीको सिल तोड्न खोज्दा बेहोस

तीन दिन थला परेँ

साथी र उसको पोइ रातभरि चल्छन्, म निथ्रुक्क हुन्छु

मलाई त इमोसन आयो कि मलेसिया जान्छु

यस्ता हेडलाइन र कन्टेन्टले प्रयोगकर्तालाई आकर्षित गर्ने नै भयो । भ्युज आउने नै भयो । यही भ्युजको बलमा फुलचोकी मिडियाको सब्स्क्राइबर्स पनि ३ लाख १८ हजार पुगेका छन् । तर, यस्ता अन्तरवार्ताले समाजलाई कता लगिरहेका छन् त ?

फुलचोकीले प्राय मोडलिङ क्षेत्रमा भर्खर प्रवेश गरेका वा प्रवेश गर्न लालायित युवतीहरुलाई आफ्नो ‘जाल’ मा पार्दै आएको छ । ती युवतीहरु पनि आफ्नो पब्लिसिटी हुने लोभले जस्तोसुकै प्रश्नको सामना गर्न तयार हुन्छन् ।

एउटा अन्तरवार्तामा रेखा राई नामकी युवतीले चाहिँ प्रश्नमा आपत्ति जनाएकी थिइन् । सेक्सको अनुभवबारे सोधिएको प्रश्नमा उनले प्रश्नकर्ता कुँवरलाई बेस्सरी झपारेकी थिइन् । त्यसपछि कुँवरले हात जोडेर माफी मागेका थिए । भ्युजको लोभले गर्दा कुँवरले आफूले गाली खाएको र माफी मागेको दृश्य पनि नकाटी भिडियो अपलोड गरेका छन् ।

प्रहरीसँगको वयानमा कुँवरले पहिले दोहोरी चलाउने गरेको, तर त्यसमा गतिलो कमाइ नभएपछि यता लागेको बताएका छन् ।

‘भ्युज बटुलेर पैसा कमाउनकै लागि यस्ता भिडियो बनाउने गरेको उनले बताएका छन्,’ प्रहरी स्रोतले भन्यो ।

कार्यक्रममा कुँवरले बडो भद्र शैलीमा प्रश्नोत्तर गर्छन्, मानौं कुनै गम्भीर विषयमा तार्किक बहस गरिरहेका छन् । हेर्दा पनि भद्र–भलाद्मी जस्तै देखिन्छन् । उमेरले अधवैंशे । तर, उनले पहिलो प्रश्नबाटै आफ्नो ‘औकात’ देखाउन थाल्छन् । उनका प्रश्नहरु सेक्सबाट सुरु भएर सेक्समै टुंगिन्छन् ।

सम्भवतः जहान परिवार पनि होलान् उनका । तर, उनले लिने गरेका अन्तरवार्ता उनकै परिवारले हेर्न सक्नेखालका हुँदैनन् । उनी अन्तरवार्ता लिँदा अतिथिसँगै टाँस्सिएर बस्ने गर्छन् ।

अब परीको कुरा गरौं

करिब एक वर्ष अगाडि परी तामाङसँग फुलचोकी मिडियाका सञ्चालक राजकुमार कुँवरले आफ्नो कार्यक्रममा छाडा संवाद गरेका थिए । त्यसबेला निकै सोझी देखिएकी परीले पहिलो अन्तरवार्ताका क्रममा पैसा लिएर सेक्स गर्ने गरेको आफैंले खुलासा गरिन् । परिवारको जिम्मेवारीका कारण आफूले यसरी देहव्यापार गर्नुपरेको उनको भनाइ थियो ।

यो अन्तरवार्ताले धुन्धान भ्युज बटुलेपछि अरु युट्युवरहरु पनि परीको पछि लाग्न थाले । उनी रातारात भाइरल बनिन् । यससँगै उनको रुप–रंग बदलियो । अन्तरवार्तामै उनी अर्धनग्न प्रस्तुत हुन थालिन् । आफूसँग सुत्न चाहनेहरुलाई आफ्नो रेट पनि बताइदिइन् ।

यहीबीचमा परीको एउटा सेक्स भिडियोसमेत बाहिर आयो, जुन उनी स्वयमले खिचेको बताएकी छन् । आफ्नो ब्वाइफ्रेन्डसँग संसर्ग गर्दा भिडियो खिचेको भिडियो सामाजिक सञ्जालमा आएपछि उनी प्रहरीमा उजुरी गर्न पुगेकी थिइन्, मेरो गोप्य भिडियो लिक भयो भन्दै । केही युट्युवरसँगको अन्तरवार्तामा रोनाधोना पनि गरिन् । उनको भनाइ पत्याउने हो भने मोबाइल बिग्रेर बनाउन पसलमा छोडेका बेला पसलका व्यक्तिले त्यो भिडियो लिक गरेका हुन् ।

परीले युट्युबबाट कसरी पैसा आउँदोरहेछ भन्ने पनि थाहा पाइन् । र, अहिले आफ्नै च्यानल बनाएर अश्लील भिडियोहरु अपलोड गर्न थालेकी थिइन् । छोटो समयमा उनको युट्यूव च्यानलका सब्स्क्राइबर्स १२ हजार पुगेका छन् ।

प्रहरीलाई दिएको बयानमा परीले अन्तरवार्तालाई आफ्नो वाक् स्वतन्त्रताको विषय भनेकी छन् । प्रहरी स्रोतका अनुसार उनले आफ्नो राजीखुशीले अन्तरवार्ता दिएको बताएकी छन् र आफू यौनधन्दामा रहेको स्वीकार गरेकी छन् । उनको घर हेटौंडा हो । उनले एसएलसीसम्म पढेको प्रहरीले जनाएको छ ।

प्रवृत्ति एक, पात्र अनेक

नेपालीहरुको इन्टरनेटको पहुँच बढेसँगै घर–घरमा लोकप्रिय बनिरहेको छ युट्युव । नेपालमा अहिले सर्वाधिक हेरिने साइट यही हो ।

हरेक व्यक्तिका हातमा मोबाइल छन् । अधिकांशले इन्टरनेट जोडेका छन् । यी मोबाइल बच्चाहरुले पनि चलाउँछन् । अभिभावकले पनि बच्चालाई मोबाइल दिँदा होस पुर्‍याउँदैनन् कि बच्चाहरु मोबाइलमार्फत बच्चाहरु कस्ता कन्टेन्टसम्म पुग्न सक्छन् ।

यूट्युव च्यानल बनाएर भिडियो अपलोड गर्न जोकसैले सक्छ । कतै दर्ता भइरहनुपर्दैन । एउटा इमेल एड्रेस भए पुग्छ । जोकसैले एउटा इमेल आइडीको भरमा युट्युव च्यानल खोलेर भिडियो पोष्ट गर्न सक्छ । र, त्यसले निश्चित शर्त पूरा गरेपछि ‘मोनिटाइज’ हुन सक्छ । मोनिटाइज हुनुको अर्थ हो, युट्युवले भ्युजका आधारमा च्यानललाई पैसा दिनु ।

डलरमा आउने यही पैसाको लोभले गर्दा युट्युवहरु अत्यधिक हेरिने पात्र र विषयको खोजिमा हुन्छन् । यही क्रममा उनीहरु यौनजन्य विषयको पछि लागेका हुन् ।

केही दृष्टान्त

केही दिनअघि साली नदीमा महिला दिदीबहिनीहरुले नुहाएको दृष्य खिचिएका भिडियो युट्युवमा छ्याप्छ्याप्ती भए । स्वस्थानी व्रत लिने महिलाहरुले साली नदीमा पेटिकोट लगाएर स्नान गरेको दृष्यलाई गोप्य ढंगले खिचर युट्युवमा अपलोड गरिएको हो । यस्ता दर्जनौं भिडियो लाखौंपटक हेरिएका छन् ।

एक हप्ता अगाडि मात्रै जेपी म्युजिक नेपाल नामक च्यानलबाट यस्तो भिडियो अपलोड भएको छ कि बिइङ नेप्लिज नामक युट्युव च्यानलले एक वर्ष अगाडि हालेको साली नदीमा महिलाहरु नुहाएको भिडियो ४५ लाख पटक हेरिएको छ ।

हाम्रा आमा दिदीबहिनीले धार्मिक मान्यताअनुसार गरेको पवित्र स्नानलाई व्यापारको विषय बनाउने युट्युवरको निन्दा मात्रै गरेर पुग्दैन कारवाही नै गर्नुपर्छ र यो गम्भीर अपराध हो भन्ने राय अधिकांश दर्शकहरुको छ ।

‘सो सरी नेपाली टीभी’ नामक च्यानलबाट एउटा भिडियो २४ मे २०१८ मा अपलोड भएको छ । यसमा युट्युवरले एउटी स्कुल गर्ललाई ललाई फकाई खुल्ला सडकमा मानिसहरुको आवतजावतबीच लामो चुम्बन गरेका छन् । ज्याकेटले टाउको ढाकेर चुम्बन गरेको दृश्य क्यामरामा कैद गरेर युट्युवमा ‘किसिङ प्राङ्क इन पब्लिक’ भन्दै हालिएको छ । यस्तैखालको प्राङ्क २०१५ मा प्राङ्स्टर रिभाइभल नामक च्यानलबाट अपलोड भएको थियो । यसलाई ११ लाख पटक हेरिएको छ ।

यसैगरी केही युट्युवरले सडकमा हिँड्ने युवतीहरुलाई ‘किस अर स्ल्याप’ (चुम्बन कि झापड) नामक खेल खेलाएर भिडियो पोष्ट गरेका छन् । यसमा युवतीहरुलाई प्रश्न सोधेर उत्तर मिलाएमा झापड हान्ने र नमिलाएमा किस गर्न दिनुपर्ने शर्त राखिन्छ ।

‘लाफ आउट लाउड’ नामक च्यानलमा एक चौध वर्षे किशोरलाई ‘किस एन्ड रन’ नाम गेम खेल्न लगाइएको छ । उनले युवतीहरुलाई कानमा एउटा कुरा गर्छु भन्छन् र गालामा चुम्बन गरेर हिँड्छन् । यसलाई भिडियोमा कैद गरेर प्राङ्क भन्दै युट्युवमा अपलोड गरिएको छ ।

युट्युवमा चलेको अर्को ट्रेन्ड हो ‘डर्टी माइन्ड टेस्ट’ भन्दै पब्लिकलाई यौनजन्य आशय दिने द्वीअर्थी प्रश्न सोध्ने । कलेज हिँडेका किशोरीहरुको समुहलाई रोकेर भ्युज नेपाल नामक युट्युव च्यानलका प्रस्तोताले सोध्छन्, ‘दिनमा भन्दा राति गर्न मज्जा आउँछ, त्यो के हो ?’

यस्तो द्वीअर्थी प्रश्नोत्तरमा कतिपय सेलिब्रिटी पनि प्रयोग भएका छन् । नयाँ–नयाँ न्युज नेपाल नामक युट्युव च्यानलका प्रस्तोताले नायिका आँचल शर्मालाई सोध्छन्, ‘सबै चिज गोरी भएको केटीको के कालो हुन्छ ?’ यस्तो प्रश्न सोध्दा उनी रिसाउँदिनन् । बरु खित्किन्छिन् ।

यस्ता कलाकारहरुले गर्दा पनि युट्युवरहरु थप प्रोत्साहित बनिरहेका छन् । सेक्ससम्वन्धी प्रश्न गरिँदा हाम्रा नायिका रमाई रमाई जवाफ दिन्छन् । केही शिष्ट र अनुशासित नायिकाहरुबाट समेत यसमा पर्याप्त सचेतता अपनाएको पाइँदैन । उनीहरु युट्युव च्यानललाई नै ठूला मिडिया ठान्न थालेका छन् । कतिपय नायिका त युट्युवरलाई आफ्नो बेडरुमदेखि शौचालयसम्मको दृश्य खिच्न अनुमति दिन्छन् ।

‘वाउ नेपाल’ को उछृंखलता

वाउ नेपाल नामक युट्युव च्यानलमा कार्यक्रम प्रस्तोताका रुपमा काम गर्थिन् सोनिका रोकाया । उक्त कार्यक्रममा उत्तेजक हाउभाउ, अश्लील र द्वीअर्थी संवाद तथा अंगप्रदर्शन गरेर उनी चाँडै चर्चामा आइन् । त्यसपछि त उनी अन्तरवार्ता लिनेबाट दिने हैसियतमा पुगेकी छन् ।

अन्तरवार्ताका क्रममा अतिथिलाई आफ्नो गोप्य अंग स्पर्श गर्न लगाउने, सडकमा भेटिने युवाहरुलाई आफ्नो नितम्बमा हिर्काउन लगाउने, यौनजन्य प्रश्नहरु सोध्ने सोनिकाको शैली हो । यद्यपि, उनीसँग बोल्ने कला भने राम्रै छ ।

सोनिकाले अहिले वाउ नेपालको जागिर छाडेर आफ्नै युट्युव च्यानलबाट भिडियोहरु पोष्ट गर्न थालेकी छन् । यसमा सामाजिक विषयहरुलाई पनि उनले उठाएकी छन् । उनी दरबारमार्गस्थित एक रेस्टुरेन्टकी मालिक पनि हुन् ।

फिल्मी टीभी नामक च्यानलबाट १२ अक्टोबर २०१८ मा एउटा भिडियो अपलोड भएको छ । यसको शीर्षक छ, ‘आयुष रिमालले इन्टरभ्यूमै सोनिकाको …. च्याप्पै समात्यो । हुन पनि अन्तरवार्ताको क्रममा नै पहिले आयुषको छातिमा सोनिकाले र त्यसपछि सोनिकाको छातीमा आयुषले आक्रमण गरेका छन् । यति मात्र होइन, अन्तरवार्तामा दुवैले लुगा फुकाल्ने प्रतिस्पर्धा पनि गरेका छन् ।

ढिलाइ भइसक्यो लगाम कस्न

अर्चना पनेरु नाम गरेकी किशोरी तीन वर्ष अगाडि एकाएक चर्चामा आइन् । उनले आफू भविष्यमा पोर्न स्टार बन्ने भन्दै अश्लिल तस्वीर र भिडियोहरु युट्युव र फेसबुकमा अपलोड गर्न थालिन्, जसमा उनकै आमाले साथ दिइन् । गाउँ समाजले यी आमाछोरीलाई लखेट्यो । तर, कानूनले केही गरेन । पक्राउ परे पनि उनीहरु सहजै छुटे । अर्चनाले अश्लील भिडियो र फोटोसेसनको सिलसिला जारी राखिन् । अहिले पनि उनका यस्ता भिडियो युट्युवमा भेटिन्छन् । उनलाई यसरी छोड्दा नेपालमा अश्लीलता रोक्ने कुनै कानुन नै नभएको जस्तो देखियो । अर्चना अहिले आफ्नो करिअर बनाउन भन्दै भारत पुगेकी छन् ।

अर्की छिन् तिर्सना बुढाथोकी । केही समयदेखि उनी अमेरिकामा छिन् । त्यहीँबाट उनले यौनजन्य संवाद र अंगप्रदर्शन गरेर लाइभ भिडियोहरु पोष्ट गर्ने गर्छिन् । नेपालबाटै अश्लीलताको व्यापार गरिरहेकाहरुलाई छुन नसकेको प्रहरीले उनलाई केही गर्न सक्ने कुरै भएन ।

इन्टरनेटमार्फत अश्लीलता फैलाउनेलाई नेपालमा छुट्टै कानून छैन । अहिले पक्राउ परेकी परी तामाङ र राजकुमारलाई साइबर क्राइम अन्तरगत मुद्दा दायर गरेर म्याद थप गरिएको छ । यदि दोषी ठहर भएमा उनीहरुलाई ५ वर्षसम्म कैद सजायँ र १ लाखसम्म जरिवाना हुन सक्छ ।

तर, त्योभन्दा ठूलो कुरा उनीहरुका पहिलेका भिडियोहरु तह लगाइनु आवश्यक छ । ती भिडियोहरु अहिले पनि छ्यास्छ्यास्ती सबैको पहूँचमा छन् । ती कन्टेन्टबाट खासगरी बच्चाहरुलाई पर राख्नु अभिभावकका लागि चुनौतिको विषय बनेको छ ।

यौनजन्य सामाग्रीहरु युवायुवतीले खोज्छन्, र निश्चित उमेर पुगेकाले हेर्न पाउनु पनि पर्छ । तर, तिनीहरुका लागि छुट्टै साइट हुन्छन् । युट्युबजस्तो बच्चादेखि बुढासम्मले हेर्ने ठाउँमा यस्ता सामग्री राख्न दिइनुहुँदैन । पोर्न साइटहरु बन्द गरेर युट्युबलाई नै सेमी पोर्न साइटका रुपमा हुर्किन दिनु ठीक होइन ।

साथै युट्युबमा अपलोड हुने कन्टेन्टलाई अनुमगन वा फिल्टर गर्ने नेपालमा कुनै निकाय छैन । त्यसैले बिकृति बढिरहेको छ । हो, धेरै युवाहरु युट्युबबाट स्वरोजगार पनि बनेका छन् । तर, सिर्जनशील खालका र स्वस्थ मनोरञ्जनात्मक भिडियो बनाएर पनि युट्युबबाट पैसा कमाउन सकिन्छ भन्ने उदाहरणको कमी छैन ।

कति युट्युब च्यानलले दुरदराजमा लुकेका प्रतिभाहरुलाई उजागर गरेर पनि राम्रो भ्युज बटुल्न सफल भएका छन् । केही च्यानलले स्वस्थ कमेडीहरु दिइरहेका छन्, जसले दर्शकलाई मनोरञ्जन दिइरहेको छ । त्यसैले सबैलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन । कतिपय युट्युब च्यानलहरुले सकारात्मक कामहरु पनि गरिरहेका छन् ।

https://www.onlinekhabar.com/2019/03/751634?fbclid=IwAR0ihZ_GS7_bjSG_dYsYXs4pQD4ER25NMqjx1qiBrBQOBZdjX11-9BPdvBA
AnandNepal
· Snapshot 899
Like · Liked by · 0
यो पनि ..

सोनिका रोकाया प्रहरीको खोजीमा

21/03/2019
काठमाडौं । यूटयुव च्यालन मार्फत अश्लील अन्तरवार्ता प्रशारण गरेको आरोपमा फुलचोकी मिडियाका सञ्चालन राजकुमार कुँवरलाई पक्राउ परेको प्रहरी अहिले अश्लील इन्टरभ्यु लिने र दिने पात्रको खोजीमा जुटेको छ ।

सञ्चालक कुँवर संगै परी तामाङ पनि पक्राउ परेकी छिन् । यूटयुवमा दिअर्थी लाग्ने अन्तरवार्ता लिने अर्कि महिला सोनिका रोकाया पनि अहिले प्रहरिको खोजी सूचीमा छिन् । वाहु नेपाल मार्फत विभिन्न महिला एवं पुरुषको अन्तरवार्ता प्रस्तुत गर्दै आएकी सोनिकाले दुइअर्थी लाग्ने अन्तरवार्ता लिने गरेकी छिन् । उनका कतिपय अन्तरवार्तामा अश्लीलल शब्दहरु प्रष्ट सुनिन्छ ।

- Rajdhani Daily

My video report:

https://www.youtube.com/watch?v=u29Ql77mpuE
GwachAquarian
· Snapshot 976
Like · Liked by · 1
Not exactly यौन बिकृति , but they are click baiters just like two of you.

Talking of youn bikriti, imagine how life must have been in the days when it was normal to have multiple wives. Digital camera and internet was not there in those days, but it does not mean "youn bikriti" was not there. 
Last edited: 22-Mar-19 05:25 PM
AnandNepal
· Snapshot 1106
Like · Liked by · 0
That's true @Gwach ji ..
As time passes, these things settle on their own.

It's not fun being a click baiter ... ;)
funtush
· Snapshot 1121
Like · Liked by · 0
We have click baiters and we have master baiters. Master baiting is more fun than click baiting.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 365
· Posts 20 · Viewed 1964 · Likes 1
· Posts 7 · Viewed 1055
· Posts 1 · Viewed 85
· Posts 1 · Viewed 78
· Posts 11 · Viewed 2171 · Likes 6
· Posts 1 · Viewed 131
· Posts 1 · Viewed 143
· Posts 1 · Viewed 203
· Posts 2 · Viewed 556



Your Banner Here
Travel Partners
Travel House Nepal