सम्पदा संरक्षणका तीन आधार - Sajha Mobile
SAJHA MOBILE
सम्पदा संरक्षणका तीन आधार
Posts 1 · Viewed 5162 · Go to Last Post
huippa
· Snapshot 0
Like · Likedby · 0

२०७२ सालको भूकम्पले विशेषतः काठमाडांै उपत्यकाका तीन सहरका धेरै ऐतिहासिक मठमन्दिर र सम्पदा क्षेत्र भत्के । कतिपय सम्पदा जीर्ण अवस्थामा छन् । शासक दलबीचको खिचातानीका कारण भूकम्प पुनःनिर्माण प्राधिकरणले अपेक्षित गतिमा काम गर्न सकेको छैन । गुठी संस्थानले थालेको पुनःनिर्माणको काम पनि ठेक्कामा दिइँदा न त गुणस्तरीय निर्माण हुन सकेको छ न सम्पदाको मौलिक स्वरुपलाई निरन्तरता दिन सकिएको छ । यस्तो अवस्थाले एकातिर इतिहास बाङ्गिने खतरा रहन्छ भने अर्कोतिर नेपालको परिचय बनेका सम्पदा आफ्नो परिचय गुमाएका कुरुप भौतिक आकृतिमा परिणत हुन सक्दछन् । सत्तासीन दल र सरकारी अधिकारीहरू यो विषयमा गम्भीर देखिएका छैनन् । कति मन्त्री र प्रशासकलाई काठमाडांै उपत्यकाका सम्पदा क्षेत्रको मूल्यबोध पनि छैन । फलतः कुन सम्पदाको पुनःनिर्माण कसरी गर्ने भन्ने विषय उनीहरूको निम्ति धेरै चासो र चिन्ताको विषय बन्ने गरेको छैन । उनीहरू न आफू त्यसमा विज्ञ छन्, न त विज्ञका विचार सुन्न तयार छन् । फलतः सम्पदा पुनःनिर्माणमा धेरैथरी लापरबाही भइरहेको सर्वत्र महसुस गरिएको कुरा हो ।
प्रथमतः नेपालका मौलिक सम्पदाको संरक्षण कुनै विदेशी अनुदान वा सहयोगबाट गर्नु लज्जास्पद कुरा हो । हाम्रा पुर्खाले सयौं वर्षअघि बनाएका सम्पदा आज हाम्रो परिचय बनेका छन् र हाम्रो परिचय बनेका सम्पदा पुनःनिर्माणको निम्ति हामीले विदेशीसँग झोली फैलाउँदै हिँड्नु मानसिक दरिद्रताको अति हो । विदेशी प्रविधिका लागि हामीले विदेशी मित्रहरूसँग सहकार्य गर्नुलाई स्वाभाविक रुपमा लिन सकिएला । तर हाम्रै देशका पुख्र्यौली सम्पत्तिको जगेर्ना गर्न विदेशसामु हात फैलाउने र विदेशीले बनाइदिएका ऐतिहासिक धरोहरको उद्घाटन गर्न नेपालका मन्त्री जानु निर्लज्जताको उदाहरण हो ।
दोस्रो, सम्पदाको पुनःनिर्माण वा जीर्णोद्वारका लागि स्थानीय जनताको परिचालन र सहयोग लिन जरुरी छ । रानीपोखरी निर्माण सेनालाई जिम्मा लिने प्रस्ताव नआएका होइनन् । सेनालाई सडक बनाउन दिनु र रानीपोखरी बनाउन दिनु एउटै विषय होइन । सम्पदा क्षेत्रको पुनःनिर्माण स्थानीय जनताको सामथ्र्य र चासोको विषय हुने गर्दछ । त्यसकारण स्थानीय जनताले स्वामित्व ग्रहण गर्ने गरी सम्पदा क्षेत्रको पुनःनिर्माण गरिनुपर्दछ । स्थानीय तहका जनप्रतिनिधिले यसमा विशेष संवेदनशीलता प्रदर्शन गर्नुपर्दछ । स्थानीय जनताको सेवा गर्न चुनावमा जितेर गएका जनप्रतिनिधिहरूले स्थानीय जनताको भावनालाई पहिलो प्राथमिकतामा राखी सम्पदा संरक्षणमा ध्यान दिइन जरुरी छ ।
तेस्रो, सम्पदाको मौलिकता जोगाउनमा कुनै पनि प्रकारको सम्झौता गरिनुहुन्न । विशेषतः गुठी संस्थानले ठेक्कामार्फत पुनःनिर्माण गरिएका ऐतिहासिक धरोहरले आफ्नो मौलिक स्वरुप गुमाउने अवस्था प्रवल छ । सम्पदाको महत्व र इतिहासबारे जानकारी नै नभएका ठेकेदारलाई ठेक्का दिइएका र सम्पदा पुनःनिर्माणको संवेदनशीलता र दक्षता नभएका कालीगढबाट हुने सम्पदाको पुनःनिर्माण र जीर्णोद्धारले सम्पदालाई क्रमशः ओजबिहीन बनाउँदै लानेछ । ठेकेदारले आफ्नो नाफाको लागि कमसल निर्माण सामग्री र अदक्ष कालीगढको प्रयोगको परिणाम भनेको सम्पदा संरक्षणमा लापरबाही नै भइरहेको छ ।
सम्पदा संरक्षण कुनै निजी इच्छाको विषय बन्न सक्दैन । न त यो खेलाँचीको विषय बन्न सक्दछ । सम्पदा संरक्षण कोही एक जना प्रशासकको इच्छा वा दिमागको विषय कदापि बन्न सक्दैन । यसमा स्थानीय जनता आफै पनि सचेत र सजग भएर लाग्नुपर्ने अवस्था छ ।
काठमाडांैको रानीपोखरी कुनै शैलीमा बनाउन उपयुक्त हुन्छ भन्ने विषयमा अझ विज्ञहरूबीच गहकिलो विचारविमर्श आवश्यक छ । तर कुनै पनि शैली निर्माणमा सिमेन्ट र फलामे छडजस्ता हाम्रो मौलिकता नझल्किने प्रविधि प्रयोगमा ल्याउन सर्वथा गलत हो ।

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 65 · Viewed 11911 · Likes 12
· Posts 1 · Viewed 77
· Posts 1 · Viewed 74
· Posts 1 · Viewed 173
· Posts 1 · Viewed 175
· Posts 4 · Viewed 944
· Posts 1 · Viewed 256
· Posts 1 · Viewed 249
· Posts 1 · Viewed 384 · Likes 1
· Posts 1 · Viewed 302



Your Banner Here
Travel Partners
Travel House Nepal