मङ्गलबारबाट दसैंको लागि बसको टिकट बुकिङ सुरु भएको छ । अधिकांश नेपाली जनताले मान्ने दसैं मनाउन काठमाडौं उपत्यकाबाट मात्र बीसौं लाख मानिस देशका विभिन्न जिल्लामा जाने गर्दछन् । हजारौं हजार साना तथा ठूला यातायातका साधन उपत्यका बाहिर जाने गर्दछन् । तर उचित व्यवस्थापनको कमीले यसक्रममा धेरै यात्रुले अनावश्यक दुःखमात्र पाउने गर्दैनन्, बरु दुःखद् घटनासमेत घट्ने गरेका छन् । चाडपर्व मनाउन वर्षौं वर्षपछि घर जान लागेका यात्रु दुर्घटनामा पर्नुजतिको पीडादायी समाचार अरु के हुनसक्ला र ? छोराछोरी, श्रीमान्–श्रीमती, दाजुभाइ–दिदीबहिनी आउलान् र केही मीठो मसिनो खाउँला भनी कुरिबसेका परिवारजनलाई यस्तो दुर्घटनाका समाचार कति पीडादायी हुँदो हो क्ष चाड मनाउन घर जाने क्रममा बिग्रेका असुरक्षित सडक, कोचाकोच यात्रु, अत्यासलाग्दा जाम, असामाजिक यात्रु, अशिष्ट यातायात मजदुर आदि कारण लाखौं यात्रुले सास्ती भोग्ने गरेका छन् ।
नागरिकको दुःख सरकारको पनि दुःख हो । नागरिकको सुरक्षा र सुविधा नै राज्यको प्राथमिक दायित्व हो । त्यसकारण दसैं मनाउन देशका विभिन्न जिल्लामा जाने नागरिकलाई सुरक्षितरुपमा पु¥याउनु राज्यको दायित्व हो । त्यसको निम्ति राज्यले अहिलेबाटै पूर्वतयारी थाल्नुपर्दछ । खाँचो परेपछि मात्र थाल्ने कामले राम्रो परिणाम दिने गर्दैन । विगतका अनुभवको समीक्षा गर्दै कमी कमजोरीका प्वाल टाल्ने काम सरकारबाट हुन अपरिहार्य छ ।
सरकारले योबीच धेरै गाडीका चाप हुने राजमार्गको कम्तीमा मर्मतसम्भार गर्नुपर्दछ । काठमाडांै उपत्यकाबाट बाहिर जाने गाडीको चाप सर्वाधिक हुने कलड्ढी–नारायणगढ सडकलाई व्यवस्थित गर्न सरकारले ध्यान दिनुपर्दछ । साथै पूर्व–पश्चिम राजमार्गका कतिपय बिग्रेभत्केका सडकखण्ड मर्मत गरिनुपर्दछ । जोखिम भएका सडकमा गाडी चलाउन निषेध गरिनुपर्दछ वा रात्री सेवा बन्द गरिनुपर्दछ । दसैंमा धेरै यात्रुको चाप भएको भन्दै खतरनाक बाटोमा रात्री सेवा सञ्चालन बन्द गरिनुपर्दछ ।
पुराना थोत्रा गाडी गुडाउन सरकारले रोक लगाउनुपर्दछ । निकै पुराना गाडी अझ विकट बाटामा सञ्चालन गर्न दिंदा अझ धेरै दुर्घटनाको सम्भावना हुने गर्दछ । धेरै ट्रीप गर्ने नाममा चालक र सहचालकले आवश्यक आराम नै नगरी गाडी सञ्चालन गर्दा पनि यातायात दुर्घटना हुने गरेको छ । तसर्थ ट्राफिक प्रहरीले ठाउँ–ठाउँमा सञ्चालनमा ल्याएका रिफ्रेस सेन्टरलाई प्रभावकारी रुपमा सञ्चालन गरिनु जरुरी छ । क्षमताभन्दा बढी यात्रु कोच्ने गाडीलाई कडाइ गरिनुपर्दछ । तोकिएको भाडाभन्दा बढी असुली गर्ने यातायात मजदुरलाई कारबाही गरिनुपर्दछ । यात्रा गर्दा कसैलाई पनि मादकपदार्थ खान निषेध गरिनुपर्दछ ।
लामो दुरीको यात्राका लागि मोटरसाइकलको यात्रालाई दुरुत्साहित गरिनुपर्दछ । छतमा यात्रा गर्नेलाई कडा कारबाही गरिनुपर्दछ ।
राज्य नै नियमनकारी निकाय भएकोले यस्ता कुरामा राज्य नै बढी तदारुक बन्न जरुरी छ । राज्यलाई जिम्मेवारी बनाउन नागरिक स्वयं पनि जिम्मेवार बन्न जरुरी छ । नागरिक आफैं अशिष्ट र अनुशासनको वृत्तभन्दा बाहिर रहन्छ भने त्यसले राज्यलाई जिम्मेवार होइन, अझ अराजक बनाउने गर्दछ । नागरिक आफैंले सुरक्षित र व्यवस्थित यात्राका लागि जिम्मेवार र सभ्य रुपमा प्रस्तुत हुन जरुरी छ । नहुने कामलाई जबरजस्ती गर्दा पनि धेरैतिर दुर्घटना भएका समाचार आउने गर्दछन् । त्यसकारण नागरिक आफैं पनि विवेकशील बन्न जरुरी छ । लामो दुरीको यात्रामा कतिपय यात्रुले मादकपदार्थ सेवन गरेर गाडीभित्र उपद्रव गर्ने, महिला र गाडीका मजदुरमाथि दुव्र्यवहार गर्नाले पनि दुर्घटना हुने र यात्रा अप्रीतिकर हुने गरेको छ । यसबारे सबै पक्ष जिम्मेवार हुन जरुरी छ । शुभ यात्रा !!!!