नेपालमा राम्री केटीको प्रयोग गरेर धनाढ्य पुरुष फसाउने प्रवृत्ति बढेको अवस्था - Sajha Mobile
SAJHA MOBILE
नेपालमा राम्री केटीको प्रयोग गरेर धनाढ्य पुरुष फसाउने प्रवृत्ति बढेको अवस्था
Posts 1 · Viewed 27972 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0

सुन्दरताको आडमा अपराध जगतमा नेपाली युवतीको डरलाग्दो प्रवेश !

जसरी कमिला वा झिंगाहरू मह(हनी) खान पाइने लोभले फस्छन्, त्यसरी नै अधिकांश पुरुष सुन्दर महिलातिर चुम्बकले तानेझैँ तानिन्छन् । महिलाले ‘ग्रिन सिग्नल’ मात्रै दिनुपर्छ, अघिपछि केही नहेरी उनीहरू हाम्फालिहाल्छन् । राम्री केटीले प्रेमजालमा पारेर वा यौनका लागि आमन्त्रण दिएर फसाउने अपराधलाई प्रहरीहरू ‘हनी ट्रयापिङ’ भन्छन् । ‘इजी मनी’का लागि अपराधको यो शैली काठमाडौं भित्रिएको छ,’ नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का निमित्त प्रमुख शेरबहादुर बस्नेत भन्छन्, राम्री केटीको प्रयोग गरेर धनाढ्य पुरुष फसाउने प्रवृत्ति बढेको छ ।’ यसमा  त्यस्ता पाँच युवतीको कथा खाजेको छ, जो विभिन्न समय यसखाले अपराधमा संलग्न रहेको भेटिएको छ ।

१ आशिकाको असली रूप

केन्द्रीय अनुसन्धान ब्युरोले २ असारमा दाङ, घोराहीकी १९ वर्षीया आशिका परियार र ३१ वर्षीय कोलबहादुर थापामगर (जो कुबिनका नामले समेत चिनिन्छन्) लाई पक्राउ गर्‍यो । ‘हनी ट्रयापिङ’मा पारेर एक जना व्यावसायीलाई अपहरण गरी फिरौती असुलेको अभियोगमा यी दुई पक्राउ परेका हुन् । थापा र परियार बत्तीसपुतलीमा एउटा घरमा डेरा गरी ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । यी दुई प्रहरीको फन्दामा परेपछि ‘हनी ट्रयापिङ’मा संलग्न एउटा गिरोहबारे खुलासा भएको छ ।

सुन्दर युवतीहरूलाई ढाल बनाएर धनाढ्यहरूको अपहरण गर्ने ‘गिरोह’का मुख्य योजनाकार हुन्, दाङ सैघा ६ का ३१ वर्षीय कोमानन्द खड्का । वास्तविक नाम कोमानन्द भए पनि अपराधको दुनियाँमा उनी ‘कम्रेड कुमार’ र ‘रोशन’का नामले चिनिन्छन् । परिचय लुकाएर अपराधकर्म दोहोर्‍याउन रुचाउने उनले आफ्नो नाम ‘मोडिफाई’ गरेर ‘कुमानन्द’ बनाए । यो गिरोहमा उनलाई साथ दिनेमा भोजपुरका ३१ वर्षीय नवीनकुमार राई र नाम नखुलेका अर्का एक जना छन् । २९ पुस ०७३ मा अपहरण तथा शरीर बन्धक अभियोगमा खड्का र राई पक्राउ परेका थिए जो हाल पुर्पक्षका लागि नक्खु कारागारमा छन् । यी दुईले कारागारबाटै योजना बनाएअनुसार, अपहरण तथा फिरौतीलाई अघि बढाएका थिए, कोलबहादुर थापा र आशिका परियारले ।

यसअघि खड्काले परियारलाई प्रयोग गरेर पाँच जना धनाढ्यको अपहरण गरी फिरौती असुलेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोकी एसपी मीरा चौधरीका अनुसार, उनले नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत कर्मचारी, सिन्धुलीका निर्माण व्यवसायी, काठमाडौं न्युरोडका व्यापारी र कन्टेनर व्यवसायीको अपहरणमा संलग्न भएको भेटिएको छ । उनी भन्छिन्, ‘यी सबैको अपहरणमा आशिकालाई हनी ट्रयापका रूपमा प्रयोग गरिएको पाइयो ।’पछिल्लो पटक यो गिरोहको चंगुलमा पर्ने एक व्यावसायीले ७ पुस ०७३ मा प्रहरीलाई दिएको उजुरीअनुसार, आशिकाले आफूलाई ‘सरु केसी’ भनेर फोन गरी भेट्न बोलाएपछि उनी गाडी लिएर बालाजु, माछापोखरी गए, जहाँ कुरेर बसेकी आशिका भेटिइन् ।

दुवैबीच कतै रेस्टुराँमा बसेर खाजा खाने सहमति भयो । आशिकाले चिनेकै रेस्टुराँ जान आग्रह गरेपछि व्यावसायीले सहमति जनाए र गाेंगबुकै एक होटलसहितको रेस्टुराँमा पुगे । यतिन्जेलसम्मको गफगाफमा आशिकाले भर्खरै चिनेका व्यावसायीलाई कोठामै बस्न राजी गराइसकेकी थिइन् । व्यवसायी युवतीसँग यौन सम्पर्कका लागि लालायित थिए । भर्खरै चिनजान भए पनि उनी त्यसका लागि मानसिक रूपमै तयार थिए । होटलको कोठामा गएपछि आशिका नुवाइधुवाइ गर्न भनेर बाथरुम छिरिन् । त्यहीबेला बाहिरबाट कसैले ढोका ढकढक्यायो । खोल्दा चार जनाको युवा समूह छिर्‍यो र आफूलाई सीआईबीको प्रहरी भन्दै व्यवसायीलाई नियन्त्रणमा लियो ।

अमेरिकी सरकारलाई टाउको दुखाए भएकी मेक्सिकोको चर्चित लेडी डन

अर्धनग्न अवस्थामा रहेकी आशिकासहित व्यवसायीलाई पक्रेर उक्त समूहले कुनै अज्ञात स्थलमा लग्यो, जसलाई सीआईबीको ‘सेफहाउस’ भनिएको थियो । त्यसपछि शुरु भयो, धम्काउने र फिरौती असुल्ने क्रम । प्रहरीले झैं बयान लिने, फोटो खिच्ने, जेलमै सडाइदिने भन्दै अन्त्यमा २० लाख दिए छोड्ने प्रस्ताव पनि राखे । साथमा भएको नगद र सुन हात पारिसकेको गिरोहले अर्को दिन १० लाख पाउने भएपछि छोड्ने भयो । ‘ घरमै पुगेर चेक र श्रीमतीको गहनासमेत लिन भ्याएछन्,’ एसपी चौधरी भन्छिन् ।

प्रहरीका अुनसार, गिरोहले यसअघि पनि अरू चार जनालाई उही शैलीमा अपहरण गरेर फिरौती बुझेका रहेछन् । आशिकाको सौन्दर्यलाई जाल बनाएर फाल्ने अनि पुरुषहरूलाई बेडरुमसम्म पुर्‍याउने, त्यसपछि सीआईबीको परिचय दिएर पक्राउ गर्ने । प्रहरीका अुनसार, उनीहरूले डीएसपी, इन्सपेक्टर र हवल्दार भन्दै हतकडी र पेस्तोल देखाएर फिरौती लिने गरेका थिए । बार्गेनिङ गर्दा कुरा नमिलेमा कालो चस्माको भित्र कालो टेप लगाई बाहिर नदेख्ने गरी लगाइदिने र अन्यत्र लैजाने गरेको पनि पीडितहरूले प्रहरीलाई बताएका छन् । ‘घडी, मोबाइल, औंठी, सिक्री, पैसाका साथै खाली चेकमा हस्ताक्षर गर्न लगाएर लुट्ने गरेको पाइयो,’ एसएसपी बस्नेत भन्छन, ‘उजुरी गर्दा आफ्नो वैवाहिक जीवनमा पनि दक्खल पुग्ने भएकोले पीडितहरू गुपचुप बस्ने गरेका रहेछन् । पछिल्लो पटक अपहरणमा पर्ने व्यवसायीले शंका लागेर उजुरी दिएपछि यो गिरोहको खुलासा भएको हो ।’खड्काको निर्देशनमा थापाले अपहरण र फिरौती उठाएको देखिएको छ भने दाङ नै घर भएकी आशिकालाई ‘हनी ट्रयाप’का रूपमा प्रयोग गरेको देखिन्छ ।

२ यसरी मारिइन् राधिका

आफ्नै प्रेमीले ‘हनी ट्रयाप’का रूपमा प्रयोग गरेका थिए, २५ वर्षीया राधिका श्रेष्ठलाई । श्रेष्ठ हिरोइन झैं देखिन्थिन् । जोकोही पनि उनको सौन्दर्यमा मोहित हुन्थे । त्यही ‘सुन्दरता’लाई प्रयोग गरेर कमाउने योजना बनाए, प्रेमी प्रकाश लामिछानेले । भक्तपुर, बागेश्वरी ४ का लामिछाने सुन्दरताको आवरणमा अपराध गर्ने अर्को कुख्यात गिरोहका नाइके थिए । उनको गिरोहमा आफ्नै प्रेमिका र छिमेकी किशोर गिरी, सरोज घोरासैनीलगायत संलग्न थिए । धादिङ, धार्के ४ की राधिका काठमाडौं मक्खनगल्लीस्थित न्यु डालिज साडी र साडी संसार नामक पसलमा काम गर्थिन् । एकैचोटि धेरै पैसा कमाउने लालचमा लामिछाने र श्रेष्ठले साडी पसलका मालिक श्यामसुन्दर अग्रवाललाई फसाउने योजना बनाए ।

५ फागुन ०७३ दिउँसो साढे एक बजे व्यवसायी श्यामसुन्दर अग्रवालको मोबाइलमा घण्टी बज्यो । मक्खनगल्लीस्थित न्यु डालिज साडी र साडी संसार नामक पसलका सञ्चालक अग्रवाल बिदा लिएर बसेकी कामदार राधिकाले अर्जेन्ट काम छ भन्दै बोलाएपछि दिउँसो सुन्धारास्थित सनराइज गेस्ट हाउस पुगेका थिए । ४०४ नम्बर कोठामा सँगै बसेर दुवै जनाले मदिरा पिए । पूर्वयोजनाअनुरूप सोही गेस्ट हाउसको ४०३ नम्बर कोठामा बसेका राधिकाका प्रेमी प्रकाशसहित किशोर र सरोज उक्त कोठामा छिरे । व्यवसायी श्यामसुन्दरलाई कुटपिट गरे ।

हातखुट्टा बाँधेर मुखमा कार्टुन टेप टाँसिदिए । १० लाख ७० हजार फिरौती रकम लिए । कोठामा बन्धक बनाई भागे । वसन्तपुर पुगेर फिरौती रकम बाँडफाँट गरे । जसमध्ये किशोर र सरोजले दुई/दुई लाख लिए भने बाँकी आठ लाख ७० हजारसहित ट्याक्सी लिएर प्रकाश/राधिकाको जोडी घर लाग्यो । तर, व्यवसायी अग्रवालले कामदार राधिकालाई चिनेकोले सोही माध्यम बनाएर पोल खुल्ने र प्रहरीले पक्राउ गर्ने भयले प्रकाशलाई पिरोल्यो । व्यवसायी अग्रवालकै शैली दोहोर्‍याउँदै घर पुगेकी प्रेमीकालाई उनले मुखमा टेप लगाई घाँटी थिचेर हत्या गरे । र, फरार भए, प्रकाश । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्य भन्छन्, ‘राधिकाको न्यून आर्थिक अवस्था र अज्ञानतालाई लामिछानेले दुरुपयोग गरेका कारण यो घटना भएको देखिन्छ ।’

३ डाक्टर भेसमा ठगी

गुल्मी हस्तीचौर ९ की भगवती केसी मोडलिङ गर्थिन् । २३ वर्षीय उनको सौन्दर्यले पनि जोकोही प्रभावित थिए । त्यसको उपयोग गर्दै उनले गरेका ठगीका शृंखला फिल्मी कथाझैं लाग्छन् । प्लस टुसम्मको अध्ययन गरेकी केसीले आफूलाई डा. सुहाना, अदिति र सृष्टि केसीको नाममा पुरुषहरूलाई फसाउने धन्दा पोखराबाट शुरु गरिन् । दुई वर्षअघि उनलाई पक्राउ गरेका एक प्रहरी अधिकृत भन्छन, ‘परिस्थिति र व्यक्ति हेरेर परिचय फेर्ने स्वभाव रहेछ । सुन्दरतालाई भजाउँदै अरूलाई ठग्दै आएकी थिइन् ।’ ग्ल्यामरको दुनियाँमा फेसन गर्न र रहरहरू पूरा गर्न उनले सुन्दरतालाई माध्यम बनाइन् । काठमाडौं पेप्सीकोला घर बताउँदै उनले आफूलाई खानदानी व्यक्तिका रूपमा ‘सो’ गर्थिन । त्यसका लागि उनीसँग ११ वटा सिमकार्ड थिए ।

२६ असोज ०७१ ‘डाक्टर हुँ’ भनी वैवाहिक सम्बन्ध राख्ने प्रयासमा झगडा हुँदा उनी प्रहरी प्रभाग सातदोबाटोमा एक रात थुनामा परेकी थिइन् । ठगी गर्नको लागि डाक्टर सुहाना केसी नामको नक्कली फेसबुक आइडी, भाइवर नम्बर प्रयोग गर्नुका साथै विभिन्न व्यक्तिहरूको कागजपत्र र फोटो राखी नमस्ते र ऐनसेलका सिमहरू प्रयोग गरेको महानगरी प्रहरी अपराध महाशाखाका एसपी प्रकाशजंग कार्की बताउँछन् । विभिन्न होटलमा गई आफू डीआईजी सनत केसीको छोरीको परिचय दिई बाहिरबाट अर्कै व्यक्तिलाई मेरो छोरीको रेखदेख गरी दिनु भनी फोन गर्न लगाउने गरेको प्रहरीको दाबी छ ।

०७० सालमा पोखराका विभिन्न अस्पतालहरूमा गई डाक्टरहरूलाई ठगी गर्दै आएको एसपी कार्की बताउँछन् । पोखराका स्थानीय पत्रिकाले ‘डाक्टर ठग्ने युवती’ भन्ने समाचार प्रकाशन भएपछि उनी १३ वैशाख ०७२ मा काठमाडौं आएकी थिइन । १९ पुस ०७२ उनलाई सिनामंगलबाट प्रहरीले पक्राउ गरेको थियो । ठगी मुद्दा चलाए पनि उनी जिल्ला अदालतबाट धरौटीमा छुटिन् । त्यसपछि निगरानी नगरेका कारण उनको पछिल्लो पेसाबारे कुनै जानकारी नभएको प्रहरी अधिकृत बताउँछन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख अमात्य भन्छन, ‘पुरुषहरूको कमजोरी पत्ता लगाई सुन्दरता एवं यौनको माध्यमद्वारा फसाउने कार्यमा पछिल्लो समय युवतीहरूले प्रयोग गर्न थालेको देखिन्छ ।’उनले प्रहरी इन्सपेक्टरलाई समेत ठगिन् । डेटिङका लागि पार्क वा रेस्टुराँ होइन कोटेश्वरस्थित प्रहरी प्रभागमा पुग्थिन । डेटिङ जान जिद्दी गर्थिन् । लक्का जवान, खाइलाग्दो शरीरका ती इन्सपेक्टरलाई उनले पछ्याइरहिन् ।

फोन गरी प्रहरी प्रभागमा जति पटक पुग्थिन, उतिपटक ‘गेटअप’ चेन्ज हुन्थ्यो, उनको । बिरामी जाँचेर हतार–हतार भेट्न आएको भन्दै झोलाको ‘स्टेथेस्कोप’ मिलाउँथिन् । इन्सपेक्टरलाई आश्वस्त पार्दै तीनकुनेस्थित रोयल बैंकेट, चाइनिज टफ रेस्टुराँ र दरबारमार्गतिर जान जिद्दी गर्थिन् । विगतका दिनहरू स्मरण गर्दै ती इन्सपेक्टर भन्छन, ‘उसले भर्खर फुर्सद पाएर कल गरेको भन्थी । तर, मैले कल गर्दाखेरि कहिले अप्रेसन थिएटरमा छु भन्थी, कहिले, बिरामीको चेकअप गरिराको छु भनेर स्विच अफ गरिहाल्थी ।’

४ सुरक्षाको ‘ब्वाइफ्रेन्ड’ चिन्ता

महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरीको चाङ छ । जसमध्ये धेरै उजुरी ललितपुर, पाटनकी २२ वर्षीया सुरक्षा बज्राचार्यविरुद्ध छ । उनीमाथि झण्डै २५ जना पीडितले उजुरी दर्ता गराएका छन् । उजुरीकर्ताहरू भन्छन, ‘निश्चल र निष्कपट अनुहारमा विश्वास गर्दा धोका पाइयो ।’ पाटनकी सुरक्षाको ठगीले उनका साथीहरू मात्र होइन, घरपरिवारका सदस्य पनि हैरान छन् । उनले धनाढ्य व्यक्ति नभई स्कुल र कलेजका सहपाठीहरूलाई ठगी गरेको पाइएको छ । आफैँ बेरोजगार बज्राचार्यले अरूलाई जागिर दिने प्रलोभन दिएर ठगी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउने तयारी गर्दैछ । ह्यान्डीक्राफ्ट एसोसिएसन अफ नेपालको नाममा आफैंले फर्म तयार पारी रोजगारी दिने निहुँमा उनले सहपाठीहरूलाई नै ठगेकी हुन् । प्रतिव्यक्ति तीनदेखि पन्ध्र हजारसम्म असुलेको पाइएको छ । अन्तर्वार्ता कहिले हुन्छ भनी सोध्दा उनले विभिन्न बहाना बनाई आलटाल गरेको पीडितहरूले बताएका छन् । ठगेको पाइएपछि पीडितहरूले ललितपुर प्रहरी परिसर जावलाखेलमा उजुरी दिएका छन् ।

डीएसपी ईश्वर कार्कीका अनुसार, उनले भारतमा अध्ययन गरिरहेका ब्वाइफ्रेन्डको लागि रकम जुटाउन उक्त कार्य गरेको खुलाएकी हुन् । यसअघि उनले सहकारीमा अभिभावकलाई नसोधी लालपुर्जा राखेर नौ लाख रकम निकालेकी थिइन् । साथीभाइलाई कन्भिन्स गर्न सजिलो हुने भएकोले उक्त काम गरेको उनले बताएकी छन् । स्नातक तह अध्ययन गर्दागर्दै पढाइलाई रोकेर ठगी धन्दालाई अघि बढाएकी हुन् । अन्य व्यक्तिबाट रकम लिने र खर्च गर्ने बानी परिसकेको प्रहरीको दाबी छ । डीएसपी कार्की भन्छन, ‘आमाबुवा र बहिनीले नैे कारवाही गर्न माग गरेका छन् ।’ छुटेपछि फेरि ठगी गर्ने हो कि भन्ने पिरलो अभिभावकमा भएको प्रहरीले बताए । यसअघि पनि प्रमाण नहुँदा प्रहरीले सार्वजनिक अपराधमा मुद्दा चलाउन खोजेको थियो । तर, भरपर्दो प्रमाण नहुँदा छोडेको प्रहरी स्रोत बताउँछ । रेस्टुराँ, क्लबहरूमा गएर खर्च गर्नमा उनको लत बसेको उनका साथीहरू बताउँछन् । जिल्ला अदालतले डेढ लाख धरौटी मागेपछि तिर्न नसक्दा असार पहिलो साता सुरक्षा कारागार पुगेकी छिन् ।

५ रमिताको ‘रमिता’

श्रीमान्लाई विदेश पठाउँदा ललितपुरकी रमिला तुलाधर डेरामा बस्थिन् । त्यही बेला जग्गाका कारोबारीसँग संगत बढाइन् । त्यसपछि महŒवाकांक्षा चुलिँदै गयो । विदेशबाट आएका श्रीमान्सँग डिभोर्स गरिन् र कपडाको रेडिमेड पसल खोलिन् । छोरीलाई बोर्डिङस्कुलमा राखेपछि उनको शान शौकत एकाएक फेरियो । पहिरन र बोलीचाली परिवर्तन भयो । त्यससँगै उनको सोच पनि बदलियो । लगामबिनाको घोडा झैं उनी ठगी धन्दामा दौडन थालिन् । उनको ठगीको शैली भने अन्य युवतीको भन्दा फरक छ । आँखामा गगल्स, दिनहुँ गेटअप चेन्ज । स्कुटर वा ट्याक्सीको यात्रा । कसैलाई बिजनेस पार्टनर बनाउने निहुँमा धोका दिइन्, कसैलाई अर्कैको जग्गाको देखाउँदै ठगिन् ।

डीएसपी कार्की भन्छन, ‘एक महिलालाई साथी बनाएर खातामा ६५ देखि ७० लाख नै लिएको देखिन्छ ।’ उनी आफूलाई जग्गा कारोवारी भनेर उनले चिनाउने गर्थिन् । डेढ/दुई करोड ठगी गरेको अभियोग छ । आफ्नो परिचय सार्वजनिक होला भन्ने भयले ठगिएका उच्चप्रतिष्ठित व्यक्तिले ले त उजुरीसमेत दिन चाहेका छैनन् । हाल उनी पुर्पक्षका लागि थुनामा रहेकी छन् । डीएसपी कार्की भन्छन, ‘उच्चस्टाटस भएको देखाउने, त्यहीँ अनुसारको गफ गर्ने र लवाइखवाइ पनि सोहीअनुरूप गराएर अरूलाई प्रभावित पार्ने र ठगी गर्ने गरेको पाइएको छ । कन्भिन्स गर्ने कला पनि उच्च देखिन्छ ।’

किन प्रयोग हुन्छन् महिला ?

भारतबाट नेपालमा अपहरणको धन्दा सञ्चालन गर्ने कुख्यात अपहरणकारी अमर टण्डनले पनि सुन्दरी महिलालाई माध्यमका रूपमा प्रयोग गरेका थिए । ६ जेठ ०६६ मा धापासीका डुन्डुप लामालाई अपहरण गर्न पनि महिलाको प्रयोग गरिएको प्रहरीको दाबी छ । लामाबाट ७० लाख फिरौती लिएर अपहरणमुक्त गरिएको थियो । अपराधमा संलग्न पुरुषहरूले युवतीहरूको ‘एक्सप्लोइट’ गरेको एसपी चौधरीको धारणा छ । भन्छिन, ‘इन्टेसनल्ली रूपमा सुन्दरताको दुरुपयोग भएको छ ।’ अपराधशास्त्री प्रा. रजितभक्त प्रधानाङ्गका अनुसार, मुख्य अभियुक्तलाई अपराध गर्न मद्दत वा अपराध गर्ने परिस्थिति सिर्जना गर्ने मतियारका रूपमा युवतीहरूलाई प्रयोग गर्ने प्रवृत्ति देखिन्छ । भन्छन, ‘अपराध गर्न सहयोग गर्ने, उक्साउने, परिस्थिति मिलाउने वा अन्य किसिमबाट सहयोग पुर्‍याउने कार्यलाई मतियारका रूपमा लिइन्छ ।

‘सुन्दरताको आवरणमा अपराध गर्न उक्साउने पुरुषहरूले युवतीहरूलाई अपराधिक कार्यको कुनै आभास दिँदैनन । न्यून शैक्षिक योग्यता भएका कारण हुन सक्ने कुराको जोखिम लेखाजोखासमेत गर्न सक्दैनन् । तिमीलाई केही हुँदैन भनी फकाउने र आर्थिक प्रलोभनसमेत दिने गरेका छन् । फोन गरेर बोलाएवापत १०/२० हजार आशिकाले पाउँथिन । बाँकी रकम योजनाकार कोमानन्दले साथीहरू भोजपुरका नवीनकुमार राईलगायतसँग बाँडफाँट गर्थे । एसएलसी दिएर राजधानी छिरेकी आशिका आफ्ना रहरहरू त्यही पैसाले पूरा गर्थिन् । मनपरेको फेसन पछ्याउँथिन् । मनोविद् करुणा कुँवर भन्छिन, ‘महिलालाई प्रयोग गर्न मायाको भाव देखाउँदै ‘इमोसनल्ली एट्याचमेन्ट’ गराउँछन् । त्यसपछि पैसाको प्रलोभन दिन्छन् । त्यतिले उद्देश्य पूरा नभए थ्रेट दिन्छन् र अपहरणमा संलग्न गराउँछन् ।’ प्रेममा फसाएर युवतीहरूलाई जे अह्रायो त्यही शिरोपर गर्ने खालको मानसिकतामा फसाउने गरेका छन् । एसपी चौधरी भन्छिन्, ‘फोन गरेकै भरमा १०/२० हजार पाइनुलाई युवतीहरूले ‘इजी मनी’का रूपमा लिए । अपराधमा फस्न पुगे ।’

अपहरणकारीले कमजोर आर्थिक पृष्ठभूमि र न्यून शैक्षिकस्तर भएका तर सुन्दर अनुहारका महिलालाई प्रयोग गर्छन् । छिटो काम हुने र सुन्दर रूपले प्लस प्वाइन्टको काम गर्ने हुँदा महिलाको उपयोगको क्रम बढेको छ । प्रलोभन र थ्रेट दिने गरेको मनोविद् करुणा कुँवर बताउँछिन् । मिहिनेत नगरिकनै पैसा कमाउन पाइने भएकोले युवतीहरू अपहरण तथा शरीर बन्धक बनाइ फिरौती असुल गर्ने व्यक्तिसँग सहयोगीको भूमिका खेल्ने गरेको पाइन्छ । अपराधशास्त्री रजितभक्त प्रधानङ्गका अनुसार, ०६२/०६३ सालको आन्दोलनपछि समाज आधुनिकतातर्फ उन्मुख भएसँगै संगठित अपराध बढेको छ ।

०४६ सालको परिवर्तनपूर्व प्रायः अपराधमा एक्लो व्यक्तिको सहभागिता हुने गथ्र्यो । यस्तै, ०४६ सालपछि अपराध समूहगत रूपमा वा धेरै व्यक्तिको सहभागितामा गर्ने प्रवृत्ति बढेको देखिन्छ । आर्थिक वर्ष ०७२/०७३ मा २० जना महिलामाथि प्रतिवादीका रूपमा अपहरण मुद्दा दायर भएको सरकारी वकिल कार्यालयले जनाएका छन् । कानुन मन्त्रालयले गरेको एक सर्वेक्षणमा आर्थिक अभावका कारण नै अपराध कर्मतिर लाग्ने गरेको पाइएको छ । प्रतिवेदनमा अपराध हुनुका प्रमुख तीन कारण गरिबी, कुसंगत र बेरोजगारी उल्लेख गरिएको छ । अपराधको नियन्त्रणमा दण्डात्मक विधि अवलम्बन गर्नेभन्दा अपराध हुन नदिने रोकथाममूलक विधि महत्वपूर्ण रहेको देखिन्छ ।

यसका लागि अपराधको प्रवृत्ति विश्लेषण गरी अपराध नियन्त्रणमा दण्डप्रधानभन्दा रोकथामप्रधान पद्धति अपेक्षाकृत रूपमा उपयुक्त हुने अपराधशास्त्रीहरू बताउँछन् । अभिभावकहरूले आफ्ना छोराछोरीको निगरानी नगर्दा कुसंगतमा फसेर अपराधमा लाग्ने एसएसपी बस्नेत बताउँछन् । भन्छन, ‘अभिभावकहरू आफ्ना सन्तानको निगरानी गर्ने र साथीझैं भइदिने हो भने कुसंगतमा लाग्न पाउँदैनन् । उनीहरूले अपराधको बाटो रोज्दैनन् ।’

अन्नपूर्णपोस्टबाट

http://www.panakhabar.com/2017/06/45268/

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 157
· Posts 1 · Viewed 88
· Posts 1 · Viewed 93
· Posts 5 · Viewed 1162
· Posts 1 · Viewed 88
· Posts 65 · Viewed 12314 · Likes 12
· Posts 1 · Viewed 167
· Posts 1 · Viewed 184
· Posts 1 · Viewed 243
· Posts 1 · Viewed 251



Your Banner Here
Travel Partners
Travel House Nepal