गुनका नाममा नुन छर्कने मोदी नेपालका मित्र हुन् कि विधाता ?
-उमेश चौहान
भारतका वरिष्ठ पत्रकार शेखर गुप्ताले ट्विट गरे, ‘नेपाललाई सहयोग गरौँ, तर संवेदनशील भएर, उसलाई सम्मान गरेर । नेपाल गरिब होला, तर स्वाभिमानी छ र इतिहासदेखि नै सार्वभौम छ । नेपाल बिहारको विस्तारित भाग होइन ।’
शेखर गुप्ता गत जुनसम्म इन्डियन एक्सप्रेसका प्रधानसम्पादक थिए, रिटायर्ड हुनुअघिसम्म उनी भारतीय मिडियाको इतिहासमा सबैभन्दा धेरै अर्थात् वर्षको १० करोड भारु पारिश्रमिक लिएर काम गर्थे । उनै वरिष्ठ पत्रकारले आफ्नै अग्रज र अनुज पत्रकारहरूको प्रस्तुतिमा के खोट देखे जसले गर्दा उनी लेख्न बाध्य भए, ‘सहायताका नाममा सार्वभौमिकतालाई अपमान नगरौँ ।’
किनकि शेखर गुप्ताको ट्विटअगाडि भारतीय च्यानल जी न्युज भन्दै थियो, ‘नेपालका भूकम्प पर भारतका हमला ।’ नेपालमा भूकम्प आयो, जीवन तहसनहस पार्यो । यो विपत्मा हामीलाई भारतजस्ता असल छिमेकीको सद्भाव चाहिएको थियो, सहयोग चाहिएको थियो । सहयोग गर्ने भारतीय मन महान् हो, तर प्राकृतिक विपत्ति भूकम्पमाथि हमला गर्ने भारतीय दम्भ के हो ?
गुजरातमा आएको भूकम्पमाथि हमला गर्न नसक्ने, केदारनाथमा आएको पहिरोलाई पराजित गर्न नसक्ने र जम्मु–कस्मिरमा आएको बाढीलाई सामना गर्न नसक्ने भारतले नेपालको भूकम्पमाथि कसरी हमला गर्न सक्छ ? एउटा जी न्युज हावा होला, त्यति नै वेला भारतको नम्बर वान च्यानल आजतक भन्दै थियो, ‘नेपाल को अपने पैर पर खडा करके वापस होगा भारतीय फौज ।’
भूकम्प आयो, विपत्ति आयो, तर के नेपाल अहिले आफ्नो खुट्टामा उभिएको छैन ? के यसको ठेक्का भारतले लिएको छ ? ठेक्का भारत अथवा अरू कसैले लिएको छ भने के नेपाली स्वाभिमानलाई त्यो स्वीकार्य छ ? भारतीय पत्रकार शेखर गुप्तालाई दु:खी बनाउने यो संवेदनशील प्रश्नले नेपाली मनलाई कसरी खुसी पार्न सक्छ ?
भारतीय टेलिभिजन च्यानलको के कुरा गर्नु ? उनीहरू कहिले समाचार दिन्छन्, ‘पाण्डवहरूसँगै हिमालय गएको गाई जिउँदै भेटियो, गाईले १० लिटर दूध दिन्छ ।’ उनीहरू कहिले भन्छन्, ‘अन्तरिक्षबाट आएको एलिएनले मान्छे लगेर गयो, एक महिनापछि फर्किएको मान्छे रिक्साचालक बन्यो ।’
पाण्डवको पालाको गाईले हजार लिटर होइन १० लिटर दूध दिन्छ, एक महिना अन्तरिक्षमा प्रशिक्षण लिएर आएको मान्छे पाइलट होइन, रिक्साचालक बन्छ भनेर समाचार बेच्नेहरू हजारौँ मान्छे मारिएको, लाखौँ मान्छे घरबारविहीन भएको ठाउँमा आएपछि के सन्देश दिन्छन् ? स्वाभाविक रूपमा तिनीहरूले ब्रेकिङ न्युज दिए, ‘एक घन्टाके बाद काठमाडौंमे ११ रेक्टर स्केलका भूकम्प आनेका अनुमान ।’ सात दशमलब आठ रेक्टर स्केलको भूकम्पले नै सर्वस्व गुमाएका पीडितलाई यस्तो समाचारले राहत दियो कि आहत दियो ? तर, तिनले पीडितको संवेदनशीलता बुझेनन्, त्रसितलाई आतंकित बनाएर घरबाट सकडमा र सडकबाट खेतमा लखेटिरहे । मोदीलाई आफ्नो मिडियाको यस्तो स्वभाव अवश्य थाहा छ । तर, उनले त्यति ज्याद्रो मिडियालाई नेपाल पठाए जसले यहाँको घाउमा गुन लगाउने नाममा नुन छर्किएको छ ।
भारतीय मिडियाले अतिरञ्जित नगरेको भए भारतको वास्तविक सहयोग हाम्रो लागि अमूल्य छ । हामी साँच्चै विपत्तिमा छौं, हामीलाई सहयोग चाहिएको छ, तर भारतीय मिडियाले भनेजस्तै नेपाललाई आफ्नो खुट्टामा उभिन लायक बनाएर मात्र फर्कने कसम खाएको हो भने भारतीय टोली कत्रो छ ? दश हजारको, पाँच हजारको अथवा एक हजारको ? अनुमान अनेक लाग्न सक्छन्, तर वास्तविकता हो जम्मा एक सय ८० जनाको । अहिले नेपाली सेनाको ६५ हजार १६, नेपाल प्रहरीको ३७ हजार चार सय र सशस्त्र प्रहरीको १६ हजार पाँच सयको फौज उद्धारमा खटिएको छ ।
सवा लाखको नेपाली फौज ज्यानको बाजी लगाएर आफ्ना दाजुभाइ तथा दिदीबहिनीको उद्धारमा खटिएको छ, त्यो प्रयास पनि अपूरो छ भने एक सय ८० जनाले सिंगो नेपाललाई कसरी आफ्नो खुट्टामा उभिने बनाउने हुन्, यो काम कुन जुगमा सम्पन्न हुने हो ? अनि नेपाललाई आफ्नो खुट्टामा उभिने बनाउने कुन जुगको ऋण खाएका छन् मोदीले ? ऋण खाएका छैनन् भने मित्रको रूपमा व्यवहार गरेर सन्तोष किन लिन सक्दैनन् उनी ? उनी नेपालका मित्र हुन् कि विधाता ?
भूकम्प गएको ६ घन्टापछि नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सिंहदरबार काठमाडौंमा बस्यो, त्यसको तीन घन्टाअघि नै यही विषयमा भारत सरकार मन्त्रिपरिषद्को बैठक सेभेन रेसकोर्स रोड नयाँदिल्लीमा बसिसकेको थियो कमजोर नै सही, नेपाल सरकार एउटा सार्वभौम सरकार हो, उसले सहयोगको अनुरोध नगर्दै अर्को देशले सहायता घोषणा कसरी गर्न सक्छ ? प्रचारप्रसारसहित घोषणा नै गर्छ भने पनि जम्मा एक सय ८० जनाको टोली पठाएर आफ्नो वाचा कसरी पूरा गर्न सक्छ ?
एक सय ८० जनालाई उडाउन एउटा जहाज पर्याप्त छ भने थप २५ वटा जंगी जहाज कसरी उडाउन सक्छ ? बाँकी २५ वटा जहाजमा जम्मा १२ सय मात्र कम्बल पठाउन कसरी सक्छ ? १२ सय कम्बल बोकेर आएका हर्कुलस जहाजले तीन हजार भारतीय नागरिक बोकेर फर्किए, के तीन हजार भारतीय नागरिकलाई फर्काएर भारतले नेपालमाथि गुन लगाएको दाबी गर्न सक्छ ? नेपालको समस्या तीन हजार भारतीय नागरिकलाई कहाँ तह लगाउने भन्ने हो कि भूकम्पप्रभावित ८० लाख नेपालीलाई कसरी राहत दिने भन्ने ?
आफ्ना नागरिकलाई फिर्ता लग्न हरेक घन्टा जहाज पठाएर मोदीले नेपाली जनतालाई के गुन लगाए ? तैपनि बसपार्क र एयरपोर्टमा नेपाल सरकार मुर्दावाद, मोदी सरकार जिन्दावादको नारा लाग्यो । नेपाल सरकारप्रति जनताको असन्तुष्टि होला, तर मोदी सरकार जिन्दावाद भन्ने को थिए ? नेपालमा मोदीको जयकार भनेर भारतीय टेलिभिजनबाट किन प्रसारण भयो ? नेपाली जनताको उद्धारका नाममा ल्याइएका जहाजमा आएका भारतीय टेलिभिजन पत्रकारले पीडितको आवाज होइन, मोदीको जयकार प्रसारण गराउनुको उद्देश्य के थियो ?
यसको जवाफ मोदीले अहिले नदिए पनि होला, तर कुनै दिन अमेरिकाजस्ता देशले अपमान गर्दा मोदीका मनमा पनि यस्तै प्रश्न अवश्य उठ्नेछ । भारतलाई विगतमा यस्तो धेरै परेको छ, कामना गरौँ, भविष्यमा नपरोस्
मनपरी गर्ने भारतीय जताबाट आएका हुन्, उतै जान्छन् : पश्चिमाञ्चल क्षेत्रीय प्रशासक
भारतीय सुरक्षाकर्मीका कारण गोरखाको राहत वितरण प्रभावित
सन्देश श्रेष्ठ
२५ वैशाख, पोखरा । भूकम्प पीडितको उद्धारका लागि पोखरामा खटिएका भारतीय सेनाले मनपरि गर्ने हो भने जताबाट आएको हो उतै जान पश्चिमाञ्चल क्षेत्रीय प्रशासकले चुनौती दिएका छन् ।
फाइल तस्वीर
फाइल तस्वीर
भारतीय सुरक्षाकर्मीले नेपाली अधिकारीहरुको आग्रह अटेर गरी आफूखुसी उडान भरेपछि क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले उनीहरुलाई फर्काइने चेतावनी दिएका हुन् ।
गोरखाको पालुङटार केन्दि्रत गरेर विहीबारदेखि उद्धार शुरु गर्ने बताइए पनि भारतीयहरुले नेपाली सुरक्षाकर्मीसँग समन्वय नगरी आफूखुशी हेलिकोप्टर उडान शुरु गरेपछि विवाद भएको हो ।
पालुङटारलाई आधार बनाएर त्यहाँबाट स्थलमार्गबाट उद्धार र राहत वितरण गर्न बुधबार भारतीयलाई निर्देशन दिइएको थियो । तर, सो अनुसार विहीबार भारतीयहरुले उद्धार नगरेको नेपाली अधिकारीहरुको भनाइ छ ।
भारतीयहरु भने प्राविधिक समस्या देखाउँदै अन्तै उडान भरिरहेका थिए । भारतीय पक्षले शुक्रबार पनि आफूखुशी उडान भरिरहेको नेपाली अधिकारीहरुको आरोप छ ।
पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले भारतीयहरुले आफूखुशी उडान भरिरहेकाले सचेत गराइएको बताए । उनले विहीबारदेखि पालुङटार केन्द्रित गरेर उद्धार राहत वितरण गर्न निर्देशन दिइए पनि नटेरेको र आफूखुशी उडान गरिरहेको बताए ।
क्षेत्रीय प्रशासक थपलियाले भने, ‘हामीले उद्धार र राहतलाई पालुङटारमा केन्द्रित गर्न निर्देशन दिएका छौं, त्यो अनुसार काम भइरहेको छैन, हामीले दिएअनुसार काम गरेनन् भने जुन बाटो आएका हुन्, त्यतै जान्छन् ।’
गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिनाले भारतीयहरुले प्राविधिक समस्या देखाएर आफूखुशी उडान भरिरहेको बताए । उनले पनि आफूहरुले भनेअनुसार उद्धार तथा राहतमा नजुटे भारतीयहरुलाई विदाइ गरिने उल्लेख गरे ।
Last edited: 17-May-15 03:53 AM