बहराइन चौतारी #कथा #खाडी #अमेरिका #नेपाल - Sajha Mobile
SAJHA MOBILE
बहराइन चौतारी #कथा #खाडी #अमेरिका #नेपाल
Posts 19 · Viewed 19021 · Likes 28 · Go to Last Post
Valley_
· Snapshot 0
Like · Likedby · 11
 
http://meralekhharurakathaharu.blogspot.com/

बहराइन चौतारी

धैर्यपूर्वक यो कथा पुरै पढ्ने साथीहरुले, आफ्ना सल्लाह सुझाबहरु पोस्ट गरिदिनु भएदेखि धेरै आभारी हुने थिएँ |
घटना तथा पात्रहरु कपोकल्पित हुन् ।


हिन्दीमा विमान उडानको उद्घोसण हुन्छ । एअर इंडियाको फ्लाइट तिरुवन्तनपुरम जानको लागि तयार छ भनेर। फ्र्यांकफर्टबाट आएको गल्फ एअरको विमानबाट म केहीबेर अघि बहराइनको अन्तराष्ट्रिय विमानस्थलमा ओर्लेको थिएँ । ४ घण्टाको ट्रान्जिट भएकोले म निस्फिक्री वरिपरिको रमिता हेर्छु। सेतो लिवाजमा सजेका अरबीहरु कालो बुर्खाले पुरै शरीर ढाकिएका आफ्ना श्रीमती र बच्चाहरुसँग ओहोरदोहोर गर्दैछन। हरेक फ्लाइटको काउन्टरमा थरि थरिका मान्छेहरु छन् । नेपाली, भारती, बंगलादेशी, मुलत: दक्षिण एशियालीहरु आ-आफ्नै हुल बाँधेर बसेका छन् । म्यानपावरको नाम लेखेको क्याप र टीसर्ट लाएका अन्दाजी २० देखि ३५ वर्षे जमातले कुनै मेलाजस्तो रौनक थपिदिएको छ त्यहाँको माहौलमा । भौतिक सुबिधा र आकारको आधारमा युरोप र अमेरिकाको कुनै विमानस्थलसँग तुलना गर्न सकिने यो विमानस्थलको चहलपहल भने नितान्त बेग्लै थियो। मध्य पूर्व र दक्षिण एशियाको खिचडीमय संगमजस्तो ।

मलाई शौचालय जाने र एक कप तातो कफी पिउने व्यग्रताले एकैपल्ट गाँज्छ। अमेरिकाभित्र एउटा फ्लाइट, त्यसपछि फ्र्यांकफर्टसम्मको लामो फ्लाइट, फ्र्यांकफर्टमा पट्यारलाग्दो ट्रान्जिट, अनि त्यहाँबाट बहराइनसम्मको फ्लाइटले म पुरै गलिसकेको छु। कफी पसल र शौचालयको खोजीमा म आफ्नो हाते झोला गुडाउँदै एउटा दिशामा अघि बढ्छु । वरिपरिका मान्छेहरुको रमिता हेर्दै आखाँ सेक्छु, अनि हरेक चेहराको रंग, वतन, हुलिया मनमनै गुन्छु ।

हिंड्दै गर्दा बायाँपट्टी एउटा कफी पसल र करिब ४०-५० फिटजति अगाडी शौचालयको चिन्ह एकैपटक देख्छु। एकैछिनको दोधारपश्चात शुरुमा कफी खाने निर्णय गर्छु। पसलेसँग अंग्रेजीमा कफी मांग्छु ।

"दाइ नेपाली हो? " पसले सवाल तेर्स्याउँछ।

"हो। भाइ पनि?" म प्रतिप्रश्न गर्छु।

"हो दाइ। अनि दाइ घर फर्कदै? कताबाट नि?" ऊ जिज्ञाशु हुन्छ।

"म अमेरिका बस्छु। यसो एक महिनाको छुट्टी निकालेर नेपाल जान लागेको।"

कफी तयार हुन्छ। म एक हातले कप समाउँदै अर्को हातले पाँच अमेरिकी डलरको नोट पसले भाइलाई थमाउँछु। मलाई फिर्ता दिन ऊ केहि बहराइनी सिक्काहरु केलाउँछ। म "भयो पर्दैन भाइ" भन्छु र पसलको ठीक अघि रहेको बेन्चका लहरहरुतर्फ लम्कन्छु। सँगैको बेन्चको एउटा मान्छे मतिर हेर्दै मुसुक्क हाँस्छ। म मुस्कान फर्काउँछु र बेन्चमा बसेर कफी पिउन थाल्छु।

"अनि सर अमेरिकामा के गर्नुहुन्छ नि?" ऊ हल्का तवरले प्रश्न गर्छ। मलाई भने त्यो प्रश्नले सानोतिनो सनक चद्छ। "कति चासो होला यो मान्छेलाई? अघि त्यो पसलेसँगको मेरो कुरा सुनेर बसेको रैछ।" मनमनै सोच्छु। फेरी मलाई उसले सर भनेर सम्बोधन गरेको नि खासै मनपर्दैन। तर अर्को मनले फेरी "यो मान्छेले त केहि नलुकाई खुलै रुपमा भन्यो, आफुले सुनेको कुरा। केहि नबोली चुपचाप पनि त बस्न सक्थ्यो। इमान्दार होला जस्तो छ।" भनी तर्क गर्छ। मैले शायद २ सेकेन्ड लाएँ होला यी सबै कुरा सोची भ्याउन। कति छिटो चल्ने हगि मान्छेको दिमाग?

"म कम्प्युटरसम्बन्धी काम गर्छु।" आइ टी कन्सलट्यान्सीको आफ्नो ट्वाके जागिरलाई उल्था गर्दै भन्छु।

"अनि सर एक्लै? जहान बच्चा?"

"मेरो बिहे भएको छैन। पढ्दा पढ्दै उमेर गएको पत्तै भएन।" म खिस्स हाँस्छु। "अनि मलाई यो सर सर नभन्नुस है। मेरो नाम रोशन।" म परिचय दिंदै ऊतर्फ हात बढाउँछु।"

"ल हेर! तपाईको र मेरो त नाम पनि एउटै रैछ। मेरो नाम रोशन ढुंगेल।"

"म चाहिं रोशन कार्की।"

"उसोभए तपाईलाई कार्कीजी भनेर बोलाउनु पर्यो। म काम गर्ने ठाउँ, उता कुवेतमा पनि एकजना कार्कीजी हुनुहुन्छ। तपाई हामीभन्दा अलिक पाको, तर मान्छे बडा मिजसिला।" ऊ निकै उत्साहित हुँदै सुनाउँछ।

नेपालीको जात न पर्यो, मेरो कफी सकुन्जेलसम्म हामीलाई एक-अर्काको तीनपुस्ते नालीबेली थाह हुन्छ। उसको घर भक्तपुरको कटुन्जेमा रैछ। घरमा आमा, बा, श्रीमती, छ वर्षे छोरा, अनि बाइस वर्षे भाइ -एउटी दिदी बिहे भएर गइसकेकी। ढुंगेलजी चाहिं कुवेतको एउटा मलमा सेक्युरिटी गार्डको काम गर्दा रैछन। ६-७ वर्ष भैसकेको रहेछ नेपाल छाडेको। एकपटक छोरो जन्मदाँ नेपाल गएका रैछन, अहिले भने सधैँका लागि फर्कन लागेका रे। ढुंगेलजीसँग मेरो नाम मात्र हैन उमेर पनि मिल्दो रैछ -दुवैजना तीस वर्ष, उनी बैशाखका, म मङ्सिरको।

म पनि आफ्नो बेलीविस्तार लाउँछु। उन्नाइस वर्षको हुदाँ पढ्न अमेरिका छिरेको, अन्डर ग्रयाजुएटदेखि मास्टर्ससम्मको पढाई, त्यसपछिको कन्सलट्यान्सीको कहीं नपुगिने तात्तो न छारो जागिर, सबै कुरा भन्छु। चाबेलको रैथाने म, घरको एक्लो छोरो, एउटी दिदी बिहे भैसकेकी -यहि नै भयो मेरो परिचय उनका अगाडि। ढुंगेलजी र म मिलेर कुवेतका उनका कार्की मित्र र मबीच हुनसक्ने नातागोता पत्ता लाउने भरमजदुर प्रयास गर्छौं तर सक्दैनौं।

"एकैछिन मेरो सामान हेरिदिनुस् है। म ट्वाइलेट गएर आउँछु।" उनले भनेपछि पो झल्याँस्स भयो, आफुलाई नि त्यतै धाउनुछ भनेर।

"हस्! बरु तपाई फर्किनुभएपछि मलाई पनि जानुछ एक पटक।"

घुम्दावर्दा कति मान्छेहरुसँग भेट हुन्छ, कुराकानी हुन्छ, तर नेपालीहरुसँग चाँही अचम्मैसँग छिटो 'कनेक्ट' भइने। भरिएको पिसाबथैलीबाट मन डुलाउन रित्तिएको कफी कप हेर्छु। साँच्चै कति गार्हो हुने हगि यो प्रतिक्षा भन्ने कुरो? हाइ स्कुल सकिनासाथ अमेरिका जाने साइत कहिले जुर्ने हो भनेर कुरियो, अमेरिका छिरेपछि अहोरात्र कलेजको ग्र्याजुएसन डे कुरियो, त्यसपछि ग्रयाड स्कुल कहिले सकेला भन्यो, अनि जागिर , ग्रीन कार्ड............. उफ! कुर्दा कुर्दै बित्छ कि क्या हो यो जिन्दगी? ढुंगेलजी आइपुग्छन्, त्यो पलको मेरो कुराइ टुंगिन्छ। फटाफट पाइला चाल्दै शौचालय जान्छु अनि शायद आधा जिन्दगी लगाएर आफुलाई हल्का पार्छु। सोच्छु पानी र नुनका ती कणहरु, कति अमेरिकामा बने होलान्, कति फ्र्यांकफर्टमा पिइएका होलन्, कति मजाले अब मिसिनेछन् मध्यपुर्वको त्यो विमानस्थलको ढल हुँदै खाडीको सागरमा। मेरो मुत्रदर्शन मुत्रको प्रवाहसँगै रोकिन्छ र म फर्किन्छु ढुंगेलजीसँग भलाकुसारी गर्न।

"यसो यताउति डुलौं न है। कति यैं बसिरनु?" ढुंगेलजी प्रस्ताव गर्छन्।

म हुन्छ भन्दै मुन्टो हल्लाउँदै सहमति दिन्छु। बाटोमा भेटिएको एउटा खाली ट्रलीमा दुवैको झोला राखेर हामी विमानस्थलका पसलहरु चहार्छौँ। एउटा पसलमा राखेको रेड लेबल व्हिस्कीमा ढुंगेलजीको आखाँ जान्छ।

"ओहो! यो एउटा चाहिं हाम्रा ससुरा बालाई लग्दिन पर्यो। खुब रहर गर्छन् बुढा! हा हा…!" ढुंगेलजी एउटा बोतल ट्रलीमा हाल्छन्।

"बाइ वान गेट हाल्फ़ अफ अदर रैछ नि त। डेढीको मोलमा दुइटा!" म सेल्फमा लेखेर राखिएको अफर देखाउँदै उनलाई सजग गराउँछु।

"के गर्नु कार्कीजी, उता नेपालको भन्साराँ किचकिच गर्छन् क्यारे एउटा भन्दा बढी लग्यो भने।"

"एउटा म लिईदिउँला नि त।"

"त्यसो भए त काइदा भैहाल्यो नि। एउटा ससुराबालाई दियो, अर्को बोतल साथीभाइलाई बोलाएर आफुले फोड्यो। हा हा हा…।" मीठो हाँसो छोड्दै ढुंगेलजी एउटा अर्को बोतल ट्रलीमा राख्छन्।

रक्सी किनिवरी हामी फेरी विमानस्थलको सेरोफेरोमा बरालिन्छौँ । मलाई अब वरिपरिको तामझामभन्दा ढुंगेलजीकै फरासिलो स्वभाव, उनको चटपटे कुरा, अनि उनको दिल खोलेर निस्कने हाँसो नै रमाइलो लाग्छ। जे भने जसो गरे पनि मान्छेलाई आखिर तृप्ति मिल्ने मान्छेबाटै ! नचिनेको मान्छेलाई नियालेर मजा लियो, चिनेकोसँग बातचितको आनन्द उठायो, कुराकानीसँगै नजिकियो -एक्लो मनलाई सँधै साथ चाहिने अर्को मनको। यो पलका लागि मेरो सबैभन्दा नजिकका साथी भए ढुंगेलजी।

"टाइम पनि हुन लाग्यो। अब गेटतिरै लाग्ने हो कि?" मैले आफ्नो आइफोनको स्क्रीन हेर्दै भने। यात्रा शुरु हुँदै बाटोमा पर्ने सबै ठाउँको टाइम सेट गरेर राखेको थिएँ मैले ।

"हो हो। हाम्रो फ्लाइट उही त होला नि। हेर्नुस त" भन्दै उनी आफ्नो बोर्डिंग पास मतिर तेर्स्याउँछन् ।

"हो एउटै हो।" म उनको बोर्डिंग पास हेर्दै भन्छु। फ्लाइट उही हुनेमा त मलाई शंका थिएन। म उनको बोर्डिंग पासमा अर्कै कुरो हेर्दै थिएँ -उनको सीट नम्बर। यसो साइत जुरेर सँगै सँगै पर्दिए हुन्थ्यो भनी चिताउँछु। तर सीट चाहिं मेरो प्लेनको टाउकोतिर, उनको चाहिं पुच्छरतिर भनेजस्तो रहेछ। लौ अब यति नै रैछ ढुंगेलजीसँगको साथ भन्ने सोच्छु।

दुवैजना फ्लाइट छुट्ने गेटतिर पुग्छौं। प्लेन उड्न एक घण्टा पनि बाँकी थिएन। वर्षौपछि परिवारसँग हुन गैरहेको भेटघाट सम्झेर रोमान्चित त हुन्छु, तर ढुंगेलजीको गफ अब कहिल्यै सुन्न पाइने छैन भनेर कता कता मन अलिकति खिस्रिक्क पनि हुन्छ। उनी बोल्दैछन्, हाँस्दैछन् । बेला बेलामा तिघ्रा पिट्दै दङ्ग पर्छन्। मलाई भने अचम्मको भावनाले गाँज्छ। म उनीसँग बोल्न डराउँछु, उनीसँगको सामीप्यतादेखि तर्सन्छु किनकि यो साथ, यो सामीप्यताको आयु अब फगत केहि मिनेट मात्र बाकीं छ।

"म कफी लिएर आउँछु।" उनको जवाफ आउनु अघि नै म नजिकको कफी पसलतर्फ लम्कन्छु। पसलमा एउटा अरबी केटो थियो। कफी माग्नु बाहेक अरु कुरो हुन्न त्योसँग। म दुई कप कफी बोकेर ढुंगेलजीतिर लम्कन्छु।

"अब त लाइन बस्न थाले। जाऔं लाइन बस्न।" म उनलाई एउटा कफीको कप थमाउँछु। दुवैजना कफीको चुस्की लिदैं लाइन बस्छौं।

प्लेन चढ्नुअघि हामी आ-आफ्नो झोला र एक-एकोटा रेड लेबलको बोतल लिन्छौं।

"अनि तपाईको फोन नम्बर?" उनले सोधेपछि पो मलाई हेक्का हुन्छ कि यत्रो बेर बात मारे पनि जाबो फोन नम्बरसमेत साटिएको रहेनछ।

"४४८९७५६" म कुनै रोबोटले झैं फटाफट घरको नम्बर भन्छु उनलाई।

"ला! फेरी कागज कलम केही रहेनछ मसँग। तपाईसँग छ कि?"

"मसँग पनि छैन। तपाईको भन्नुस् न, म आइफ़ोनमा सेभ गर्छु।"

"६६१५८३४, यो मेरो घरको।"

उनको नम्बर सेभ गरुन्जेल हामी प्लेनको ढोकामा पुग्छौं। विमान परिचारिकाले बोर्डिंग पास हेर्दै सीट देखाइदिन्छे, एउटा नक्कली मुस्कानका साथ, ढुंगेलजीको सरल हाँसोको ठ्याक्कै उल्टो।

"ल त कार्कीजी अब काठमाडौँको एअरपोर्टमा भेटौंला।" ढुंगेलजी मलाई मेरो सीटमा छोडेर पछाडी जान्छन्।

काठमाडौँ आइपुग्न एक घण्टा बाँकी रहँदा म शौचालय जान उठ्छु। ढुंगेलजी मस्त निदाइरहेका हुन्छन्। उठाउन मन लाग्दैन।

काठमाडौँमा ओर्लेपछि अध्यागमनको लाइन बस्दा ढुंगेलजीलाई देख्दिन। आउँदै होलान भन्ठान्छु। पासपोर्टमा छाप लाएपछि भुइँतलामा रहेको कन्भेयर बेल्टबाट आफ्नो सामान लिइवऱी उनलाई कुर्छु। आधा घण्टा जति कुर्दा पनि उनी नआएपछि म एअरपोर्ट बाहिर निस्कनछु। तल रिङ्गरोडको कोलाहल चिल्लो सडकको उकालो उक्लदैं एअरपोर्ट गेटसम्मै आएको भान हुन्छ। ट्याक्सीवालाहरु आगन्तुकहरुलाई अपहरण नै गर्छौं भने जसरी झम्टिन आउँछन्। दिदी भिनाजुलाई देखेपछि बल्ल राहतको शास आउँछ।

भिनाजुको कारमा सामान राखिवरी घरतिर लाग्छौं। सात वर्षपछि काठमाडौँलाई कारको शीसाबाट नियाल्छु। बिहानी दश बजेको भीडले काठमाडौँलाई ढपक्कै ढाकेको थियो। दिदी भिनाजुसँग कुराकानी गर्दा पनि मेरा आखाँहरु भने एकतमाशसँग बाहिरको सडक, दुई छेउका घरहरु, टहराहरु, मान्छेहरु, हिलो, धुलो, मन्दिर, फोनका टावरहरुलाई नियाल्छन्।

त्यो दिन घरपरिवारसँग रुमल्लिदैं बित्छ। भोलिपल्ट एकाबिहानै ढुंगेलजीको नम्बर डायल गर्छु।

"हेलो!" उताबाट एउटा बच्चाको आवाज आउँछ।

"हेलो! रोशन ढुंगेलजीलाई पाउँ न।"

"हेलो!" फुच्चे फेरी रट लाउँछ। ढुंगेलजीको छोरा होला भनेर सोच्छु।

"हेलो! बाबु बुवालाई फोन देउ त!"

"हेलो......"

मलाई हल्का झोक चल्छ। तर के गर्नु? अर्को साइडमा बच्चाले फोन उठायो भने यस्तै हुन्छ।

"खोई खोई दे त! हेलो! को बोल्नुभा होला?" ढुंगेलजीको आवाज सुनेपछि बल्ल मलाई सन्चो हुन्छ।

"हेलो म रोशन कार्की बोलेको। राम्ररी आइपुग्नुभो ढुंगेलजी?"

"राम्ररी नै भन्नुपर्यो। इमिग्रेसनमा अलि झमेला गर्दै थिए। यो पेपर छैन, त्यो छैन भन्दै थे, पछि बल्ल बल्ल छाडे।"

"त्यही त तपाइलाई कुरें कुरें, पछि मलाई पनि अबेर भो अनि हिडें। बरु तपाइको रेड लेबल दिनुपर्यो भनेर फोन गरेको।"

"ए! किन आत्तिनुपर्यो त? म लिन आइहाल्छु नि!"

"हैन, त्यो भक्तपुर जाने बाटो बढाकाछन् रे। आफुलाई नि यसो हेर्न मन लागेर। बरु कटुन्जे कसरी आइपुग्ने हो तपाईकाँ ?"

"लौ अब दु:ख नगर्नु भनेको! तपाइलाई सल्लाघारी जाने बाटो कटेपछि कटुन्जे जाने उकालो थाह छ दाइनेतिर?"

"था छ।"

"हो मेनरोडबाट त्यही उकालोनेर आइपुगेर मलाई कल गर्नुहोला। म भाइलाई लिन पठाउँछु।"

"हुन्छ ढुंगेलजी, अब तपाइलाई घरमै भेटौंला।"

"हस् कार्कीजी।"

म फोन राख्छु। भक्तपुरको छ लेनको बाटोमा दिदीको पुरानो स्कुटर कुदाउने अनि ढुंगेलजीसँग फेरी भेटघाट हुने कुरो सम्झेर म फुरुङ्ग हुन्छु।

दिदीको थन्किएर बसेको स्कुटर लिएर घरछेउ अस्लमको वर्कसपमा लान्छु। अस्लम मलाई देखेर दङ्ग पर्छ। उसको वर्कसप देख्दा सात वर्षमा राम्रै प्रगति गरेजस्तो लाग्छ। अस्लमले हल्का मर्मत गरिदिन्छ। पैसा लिन भने मान्दैन। स्कुटर लिएर म चाबेल चोक, गौशाला हुदैं तीनकुनेतिर हुँइकिन्छु। तीनकुनेपछिको बाटो मस्तले फराकिलो बनाका रैछन् । धेरैपछि काठमाडौँको सडकमा गाडी चलाउँदा अलि अलि डर लागेपनि मनमा उर्लिएको मीठो रोमान्चले सबै कुरा बिर्साइदिन्छ। डर र उल्लासबीचको पैठेजोरीमा स्कुटरको हरेक कान निमोठ्याईले उल्लासकै विजय गराँउछ।

कटुन्जेको उकालोमुनि पुगेर ढुंगेलजीलाई फोन गर्छु। भाग्यबश उनको छोराले उठाउँदैन। केहीबेरमै उनको भाइ रवि, रातो पल्सर बाइक लिएर आइपुग्छ।

"दाइ नमस्ते!" ऊ बाइक रोकेर शिष्टाचार व्यक्त गर्छ।

"नमस्ते भाइ! भाइको त गजबको बडेमानको बाइक रैछ। मेरो स्कुटरले पो यो उकालो तान्ला कि नतान्ला!"

"नताने मेरै बाइकमा जाऔंला नि।"

"ल ल भइहाल्छ।"

रविलाई पछ्याउँदै म ढुंगेलजीको घर पुग्छु। चिटिक्क परेको दुईतले घर, घर पछाडि करेसा बारी, छेवैमा गोठ, गोठमा खाइलाग्दो गाई र बाच्छो, आँगनमा मौसमी फूलहरु, भोगटे, हलुवावेद, नासपाती र आलुबखडाका बोटहरु। लटरम्म फलेका आलुबखडाहरुले एउटा छुट्टै तरङ्ग पैदा गरेको प्रतिभुति हुन्छ त्यो साउने बिहानीमा।

ढुंगेलजीलाई रेड लेबल थमाउँछु। उनी भात खाएर जान कर गर्छन्। म नकार्न सक्दिन। घरैमा बनेको, तीन गाउँ बास्ना चल्ने घिउले झानेर ढुंगेलजीकी श्रीमती खाना पस्किन्छिन्। त्यो खाँटी नेपाली भोजनको स्वादले मेरो मन र मस्तिस्कलाई अलौकिक सन्तुष्टी दिन्छ।

"अब के गर्ने विचार गर्नुभा'छ त ढुंगेलजी?" लोटाको पानीले चुठ्दै म प्रश्न गर्छु।

"त्यो पछाडिको बारीमा एउटा खोर बनाएर कुखुरापालन गर्छु, बाकीं र'को ठाउँमा मौसमी तरकारी लाउँछु। हेर्दै जाउँ अरु के के गरिन्छ? यतै बस्ने भएपछी यसो २-४ पैसा कमाउने मेसो गर्नुपर्यो नि! विदेशीको नोकरी कति गर्नु? ७ वर्ष भैसक्यो! आफ्नो लगानीको जोहो गरिहालियो। भाइलाई पनि पढाएँ। सबै परिवार यतै छौं। यहीं केहि गर्नुपर्छ।"

ढुंगेलजीले भाइलाई खुबै माया गर्दा रैछन जस्तो लाग्छ। उसको बाइक किन्ने पैसा पनि ढुंगेलजीले नै पठाएका रैछन। रविले मलाई उकालो चढ्दा भन्या थियो।

नढाँटी भन्नुपर्दा मैले सोचेको भन्दा निकै सम्पन्न पाउँछु म ढुंगेलजीको परिवार। नेपालीहरुले खाडीमा भोगेका कहालीलाग्दा कहानीहरु निकै सुनेको थिएँ। उनको कथा भने पृथक पाएकोमा खुशी लाग्छ।

"अब जाउँ क्यारे!" आँगनको मुढामा टुक्रुक्क बसेका ढुंगेलजीका बातिर म नमस्कार तेर्स्याउँदै भन्छु। त्यहाँ बात मारेर बसेको पनि २-३ घण्टा भैसकेछ।

"लौ बाबु, खुशी लाग्यो भेटेर। यसो मिले भने फेरी आउनु नि है।"

"हुन्छ बा! मिले भने आउँला।" म सदाशयता व्यक्त गर्छु।

म ढुंगेलजी र उनको परिवारसँग विदावारी हुन्छु। बाँसघारीको चिसो ताप्दै म ओरालो लाग्छु, तल मेनरोडतिर। मनमा अनेकन विचारहरु आउँछन्। मेरै उमेर, मेरै ठाउँका भइकन पनि ढुंगेलजीले के के गर्न भ्याइसके! ७ वर्ष अरबको मरभुमिको ताप सहँदै रेमिट्यान्स पठाए, देशको लागि आर्थिक शहिद भए। अहिले फर्केर फेरी देशको माटोमा पसिना चुहाउँछु भन्छन्। शायद अरु धेरै ढुंगेलजीहरुको पनि त्यस्तै विचार होला। क्वालालम्पुरको गर्मीमा सडकमा अलकत्ता बिछ्याउने ढुंगेलजी, दिल्लीको गल्लीमा सोडा बेच्ने ढुंगेलजी, दुबईमा सयौ तलाको बिल्डिंग चढेर शिसा चम्काउने ढुंगेलजी, अनि बहराइनको एअरपोर्टमा कफी बेच्ने ढुंगेलजी। ढुंगेलजीहरुको पसिनाले नै रक्तसंचार गरेर चलिरहेको छ अस्पतालको शैयामा उत्तानो परेर लडिरहेको नेपालको अर्थतन्त्र।


आफ्नो बारेमा सोच्छु। आफुले पनि त ठिकै गरिरैयाछ त। नेपालमा बसुन्जेल राम्रोसँग पढें, अघि बढ्दै गएँ। अमेरिकामा पनि आफ्नो ल्याकत अनुसार राम्रै गरिराछु। तैपनि किन यो 'गिल्ट' महशुस भैरा होला? शायद आफुलाई ढुंगेलजीसँग तुलना गर्दैछु म। उनले त्यत्रो गरिसके परिवारको लागि, देशको लागि। आफुले चाहिं सुको पठाउन सकेको छैन अहिलेसम्म। तर यो त सतही विश्लेषण भयो, म भित्री कारण खोतल्छु।

शायद सम्बन्धको इमान्दारीताले होला! मनभित्र चलिरहेको अदालतमा एउटा वकिलको राय आउँछ। ढुंगेलजीले कुवेतसँग इमान्दारीताको सम्बन्ध गाँसे। उनलाई शुरुमै थाह थियो, कुवेतले उनलाई केवल श्रम आपूर्तिको रुपमा भित्र्याएको थियो। उनलाई कुवेतले र कुवेतलाई उनले कहिल्यै आफ्नो बनाउने सोच राखेका थिएनन्। उनलाई राम्ररी थाह थियो उनी एकदिन नेपाल फर्कनुपर्छ भनेर। कुवेत सरकारलाई कुनै दबाव थिएन, उनको श्रीमती, छोराछोरीलाई भिसा दिन। यो सीधा लेनदेनको सम्बन्ध थियो। दुवै पक्षको 'एक्स्पेक्टेसन' राम्ररी बुझेका थिए एक-अर्काले। लुकाई छुपाई केहि सम्झौता भएको थिएन।

अमेरिका र मेरो सम्बन्ध झुठको जगमा अडेको छ। शुरुमा भिसा अप्लाइ गर्दैखेरि 'नन-इमिग्रेन्ट इन्टेन्ट' छ भनेर झुठो बोलें अमेरिकालाई। अमेरिकाले पनि आफ्नो स्वप्नजाल फ्याँकीरहेको थियो। उसलाई राम्ररी थाह छ, राम्रा माछाहरु अड्किनेछन्, नराम्रा चाहिं जालमा परे पनि पछि छटपटाउँनेछन्, आफैं पाखा लाग्नेछन् भनेर। अमेरिकाको ठुलो सागरमा तैरिन धेरै माछाहरु आफैं होम्मिन्छन् त्यो सपनाको जालोमा। कति तैरिन सक्छन्, कति सक्दैनन्। अमेरिका आफ्नो 'अमेरिकी स्वप्न'को व्यापार गर्छ तर पूर्ण रुपमा मौन रही। अमेरिकाको र मेरो सम्बन्ध खुला छैन, उदार छैन, कागजमा एउटा कुरामा सहि हुन्छ, भित्री स्वार्थ दुवैको आ-आफ्नै हुन्छ। यस्तो सम्बन्धमा गाँजीएको छ मेरो जिन्दगी, अनि कसरी ढुंगेलजी जसरी बाँचु? कसरी उनी जस्तै मन खोलेर हाँसु?

सडकको एउटा सानो खाल्डोमा स्कुटरको पांग्रा परेर हल्का झट्का लाग्छ। मेरो विचार प्रवाहमा एकै छिनको ब्रेक लाग्छ। मन-अदालतको अर्को वकिल कुर्लिन्छ, "अमेरिका छोड्दिनु पर्यो। नेपाल फर्किने! नभए मुम्बई, हंगकंग, सिंगापुरतिर कतै काम खोजौंला। घर, बा, आमा पनि नजिकै हुन्छन् -एकै फ्लाइट पारी। चाइना र इंडियाले यत्रो आर्थिक विकास गदैछन्। यसो घरकै नजिक इलम बेच्न कसो नसकिएला?" तर अहिले बल्ल बल्ल अमेरिकामा 'सेटल' हुन लागेको बेला मन-अदालतले यो वकिलको पक्षमा फैसला दिन हिचकिचाउँछ।

मेरो पिंढीको प्रतिनिधित्व गर्ने धेरै थरिमध्ये दुई थरि हौँ, ढुंगेलजी र म। अर्काथरी पनि छन्- फुलटाइम राजनैतिक दलका कार्यकर्ताहरु। ढुंगेलजीहरुको पसिनामा यस्तहरुले रजाईं गर्छन्, अनि मजस्ताहरु चाहिं त्यसको विरोधमा बेलाबेलामा आफ्ना फेसबुक र ट्वीटरका स्टाटसहरु अपडेट गर्छौं। यसो देशको 'केयर' गरेजस्तो त गर्नुपर्यो नि!

बाटो मेनरोडसँग मिसिने चोक आइपुग्छ। म स्कुटर एकछिन रोक्छु। अरनिको राजमार्गको त्यो खण्डमा दायाँ मोडेर गइरहे चाइना पुगिन्छ, म बायाँ मोड्छु, काठमाडौँतिर।

एक महिनाको मेरो काठमाडौँ बसाई यसो उसो गर्दै बित्छ। ढुंगेलजीसँग फेरी भेट हुँदैन, फोन पनि हुँदैन। एकपटक एउटा साथीको बाइक पछाडी बसेर नगरकोट जाँदाखेरि ढुंगेलजीलाई सम्झेको थिएँ -कटुन्जेको उकालो देखेर। त्यो सम्झना भेटघाटमा बदलिन सक्थ्यो होला तर तेतिखेर मेरो सेलफोन डेड थियो।

अफिसको कफी रुम, अफिसको साथी रेड्डी एउटा तेलुगु धुन गुनगुनाउँदै भित्र छिर्छ। हिजोआज मेरो सबैभन्दा धेरै समय सँगै बित्ने साथी बनेको छ रेड्डी। म भन्दा ५ वर्ष कान्छो यो हैदरावादी केटो निकै तेज छ कम्प्युटर प्रोग्रामिङ्गमा। मलाई अफिसको समस्याहरुमा सघाइरहेको हुन्छ बेला बेलामा।

"ड्युड! हाउ वाज योर ट्रीप टु नेपाल?" ऊ आफ्नो कडा साउथ इन्डियन एकसेन्टमा मलाई सोध्छ।

"असम म्यान! ह्याड अ लट ऑभ फन।" म उत्तर दिएर कफी हातमा लिई आफ्नो क्युबिकलतिर जान्छु, जहाँ मेरो ब्राउजर स्क्रीनमा हफ़िङ्टन पोस्ट र सेतोपाटीका दुई लेखहरु मेरो प्रतिक्षामा हुन्छन्।
Rahuldai
· Snapshot 51
Like · Liked by · 1
 वाह !! धेरै दिन पछि सलल बग्ने, सरस भाषाले सजिएको भावपूर्ण कथा पढियो . अझ पढ्ने उत्कण्ठा जाग्यो . 
ne0
· Snapshot 111
Like · Liked by · 1
Loved the captivating flow and content. It's very easy to empathize with the story in many levels.
ThahaChaena
· Snapshot 330
Like · Liked by · 1
 भ्याली जी , 

सारै राम्रो अनि सरल भाषाको तानमा बुनिएको मिठो संस्मरणात्मक कथा जहाँ आजको नेपालीहरुको ब्यथाको बुट्टा भरिएको रहेछ , अनि अम्रिका/अस्त्रेलिआ या युरोपमा रहेका म जस्ताहरुको दोधारे सोंचको पनि कटिंग गरेर तेही बुट्टालाइ अझै उत्कृष्ट बनाइएको रैछ . 
 
सारै मन खायो . मेरो सोंच नि तपाईंको जस्तै जस्तै छ  र पढ्न अझै मज्जा किन लाग्यो भने म पनि चाबहिल कै रैथाने . ओहो ! भन्दै पढें . 
 
अरु नि पढ्न पाम .
 
- थाहा छैन 
crazy_love
· Snapshot 409
Like · Liked by · 1

धन्यबाद भ्याली ज्यु,

स्वादिलो कथा पढ्न दिनु भएकोमा!

मलाइ नि नेपाल गएर ओर्ग्यानिक तरकारी खेती गरुकि भन्ने लाग्छ, तर छिमेकीले गाइ पठाइदिन्छु भनेर तर्साउछ। कुरा त्यस्तै हो, अब अर्को पनि कथा लेख्नु होला भन्ने आशामा।

CharlieSheen
· Snapshot 469
Like · Liked by · 1

कथा उत्कृस्ट छ पासा 
 
nakkali keti
· Snapshot 530
Like · Liked by · 1
Beautiful! फेरी घर फर्किन मन लाग्यो।

ThahaChaena
· Snapshot 531
Like · Liked by · 0
 नक्कली अनि क्रेजी , खै हजुरका कथा कैले पढ्न पाउने हो .... लेखम न 
Valley_
· Snapshot 644
Like · Liked by · 0
 कथा मन पराएर अपभोट र लाइक गरिदिनुहुने सबैलाई आभार व्यक्त गर्न चाहन्छु | अनि कमेन्ट गरेर अझै लेख्न प्रोत्साहन दिनु हुने rahulvai, ne0, thahachaena, crazy_love, charliesheen, अनि nakkali keti लाई मुरी मुरी धन्यबाद! 
@thahachaena: मुख्य पात्र र लेखकबीच मिल्ने धेरै कुराहरुमध्ये चाबहिलको रैथानेपन पनि एक हो | एकै गाउँ-ठाउँको साथीलाई साझामा भेट्न पाउँदा मलाई पनि धेरै खुसि लाग्यो |
@crazy_love: "मलाइ नि नेपाल गएर ओर्ग्यानिक तरकारी खेती गरुकि भन्ने लाग्छ, तर छिमेकीले गाइ पठाइदिन्छु भनेर तर्साउछ।"       तपाइको यो उपमा पढेर त नतमस्तक भएँ |
behoove_me
· Snapshot 658
Like · Liked by · 1
भ्याली,

देवनागरी मा लेख्न कति गाह्रो हुन्छ भन्ने कुरा थाहा पाउँदा पनि र लेख्दा लेख्दै अल्छि लाग्छ भन्ने थाहा पाउँदा पनि यो लेख को सराहना गर्ने जमर्को गर्दैछु. साझा मा यहाँ को पहिलो प्रयाश हो कि होइन मलाई थाहा छैन तर यस्तो कथा दिग्गजहरु मात्र लेख्न सक्छन र म जस्ता नौसिखिया हरु सक्दैनन्  भन्ने कुरा म किटान गर्न सक्छु. कथा का केहि वाक्य ले म अवाक भएको छु,  यति गहन सोचाई साधारण मानिसको हुन सक्दैनन्. आशा छ अरु पनि पढ्न पाउ.
am_i_bovvered
· Snapshot 735
Like · Liked by · 1
Without a doubt, the best story i ever read in Sajha.
ujl
· Snapshot 840
Like · Liked by · 2
भ्याली जी, कथा निकै राम्रो लाग्यो. एक हिसाबले भन्नु पर्दा मेरो मनोरथ पनि यो कथा संगसंगै बग्यो. कथा पढेर सकिंदा म एकछिन रोकिए अनि मेरो मनोरथ फेरी नेपाल पुग्यो. भविस्यमा अरू लेखहरू पनि आओश, येही मेरो कामना छ.
Valley_
· Snapshot 987
Like · Liked by · 0
 @behoove_me: अंग्रेजीमा यस अघि दुइ कथाहरु पस्केको थिएँ | नेपालीमा चाहिं यो पहिलो प्रयाश हो | मन पराइदिनु भएकोमा धेरै खुशी लाग्यो | बिशेषत: तपाई साझामा मलाई सबैभन्दा मनपर्ने लेखक -तपाईको यस्तो प्रतिक्रिया पढ्न पाउँदा त प्रिन्ट गरीवरी, फ्रेम हालेर भित्तामा सजाउँ जस्तो लाग्यो |
 
@am_i_bovvered: यो कमेन्ट हजम गर्न त हजमोला खाएर पनि नसकिएला :), जे होस्, मन पराइदिनु भएकोमा धेरै धेरै धन्यबाद!
 
@ujl: आफुले लेखेका शब्दहरुले कसैको मनमा केहि भाव पैदा गरेछ भन्ने थाह पाउँदा सार्है रमाइलो लाग्दो रैछ | यहि रमाइलोको लागि मात्र भएपनि भविष्यमा फेरी लेख्नेछु | प्रतिक्रियाको लागि धेरै धेरै धन्यबाद! 
sherlock
· Snapshot 1087
Like · Liked by · 1
कटुन्जे, तिनकुने, सल्लाघारी, भक्तपुर.....मेरो आफ्नै जीवन को भुत तथा बर्तमान संग धेरै मिल्ने! सारै मिठो कथा! अरु पनि पढ्न पाउँ छिट्टै! 
Valley_
· Snapshot 2699
Like · Liked by · 1

बहराइन चौतारी: भाग २

घटना तथा पात्रहरु कपोकल्पित हुन् । 
पहिलो भागको लागि लिंक: बहराइन चौतारी: भाग १ 


रेड्डी र म हाइ फाइभ गर्छौं । प्रोजेक्टको फाइनल रिलिज कुनै मेजर बगविना सकेको थियो ।

"दिस इज फ्रिकिङ्ग असम ड्युड । वी क्यान नाउ टेक भ्याकेसन फर क्रिसमस ।" रेड्डी मक्ख पर्दै भन्छ ।

"या राइट!" म उसको होमा हो मिलाउँछु । रिलिजमा अलिक गडबडी भएको भए अर्को एक महिनाजस्तो तेही मिलाउँदैमा जान्थ्यो ।

पछिल्लो पटक तपाईहरुलाई रेड्डीको बारेमा सुनाउँदा हामी दुवैलाई हामी काम गर्ने कन्सल्ट्यान्सीले ह्युस्टन खटाएको थियो । अहिलेचाहिं हामी शिकागोमा छौं, बेग्लै कन्सल्ट्यान्सीको मार्फत । पुरानोमा पैसा पनि कम, कामको पेलान पनि बढी । फेरी ४-५ महिनामा ठाउँ सरीरहनु पर्ने । झोकै झोकमा रेड्डी र म दुवैले अर्को ठाउँमा अपलाई गर्यौं, दुवैले पायौं । अहिलेको जागिर पनि खासै खतरा त होइन, उही पहिलेको भन्दा कम नराम्रो भनौं न ।

"सो व्हाट इज योर प्लान?" रेड्डी सोध्छ ।

"नट स्योर, मेबी गो होम?" रेड्डीको स्वीकृति लिने स्वरमा भन्छु ।

"व्हाई डन्ट यु वेट टिल द ग्रीन कार्ड ड्युड ? आइ एम गोइङ्ग टु क्रुज टु बाहामास विथ सम फ्रेन्ड्स । यु मे जोइन अस् ।"

"सरी ड्युड, आइ विल पास अन दयाट्, फोक्स ब्याक होम आर काइन्डा लोन्ली ।"

अढाई वर्ष भयो नेपाल नगएको । फेरी दिदी भिनाजु पनि सपरिवार क्यानाडा बसाई सरे, सार्है न्यास्रो मानिरहेका थिए बा आमा । मन मनै जंग चल्यो, "केहि नभनी सरप्राइज भिजिट गर्छु ।"

भोलिपल्ट एक राउण्ड ट्राभल एजेन्टहरुलाई फोन लगाएँ । सबैभन्दा सस्तो टिकट बुक गरें । संजोग भन्ने कि के, रुट पनि यूरोपदेखि पछिल्लो पालिकै पर्यो - फ्र्यांकफर्ट, बहराइन हुँदै काठमाडौँ ।

रेड्डीबाहेक कसैलाई पनि भनिन नेपाल जाँदैछु भनेर । ठुलै सरप्राइजको तारतम्य बुनेर लागें नेपालतिर । बहराइन आइपुग्छु, अढाई वर्षअघिको सम्झना मानसपटलमा ताजा भएर आउँछ । व्यग्रताको बाँध फुट्लाजस्तो हुन्छ - कसलाई सुनाउ, कसलाई सुनाउ हुन्छ आफनो सरप्राइज प्लान ।

पछिल्लो पटकको कफी पसल देख्छु, झल्याँस्स ढुंगेलजीको झल्को आउँछ । यसो कटुन्जेतिर पनि जानु पर्ला भनि सोच्दै कफी पसलतिर लम्कन्छु ।

"दाइ नेपाली हो?" कफी पसले अर्कै थियो तर प्रश्न पुरानै ।

"हो भाइ । थाह छ, अढाई वर्षअघि म नेपाल फर्कंदा यही पसलमा बस्ने अर्को भाइले मलाई यसरी नै सोध्याथे ।"

"हो र ? होला ! हामीलाई नेपाली ग्राहक आए भने रमाइलो लाग्छ । तेसैले नेपालीजस्तो लाग्योकी सोधिहाल्छौं ।"

"तेइत आफनो देशको मान्छे भन्या आफनै देशको मान्छे हो नि !" आइडीयोलजिकल्लि भन्नुपर्दा, यो उमेर र सोचसम्म आइपुग्दा मलाई राष्ट्र भनेको केवल मानवनिर्मित अवधारणा मात्र हो भन्ने लाग्छ । तर दर्शनले मात्रै त जिन्दगी कहाँ चल्छ र ? सोच जे जस्तो छ, व्यवहारमा तेस्तै उतार्न सके त महामानव भइहालिन्थ्यो नि ।

अलिकति भलाकुसारी सकिन्छ अनि म कफी लिएर तेही सँगैको बेन्चमा बस्न जान्छु । छेवैमा एउटा नेपालीजस्तो देखिने मान्छे थियो, वास्तवमा म जानी जानी नै सँगै बस्न गएको थिएँ । सरप्राइज भिजिटको यत्रो पुरुषार्थ जो सुनाउनु थियो दुनियाँलाई ।

"भाइ नेपाली हो?"

"हो ।"

"ए अनि कताबाट फर्कदै त?

"अमेरिकाबाट दाइ ।"

"ए म पनि, भाइ कता नि अमेरिकामा बस्ने?"

"बस्ने त म सियाटलमा हो, तर अब नेपाल फर्किन लागेको । फर गुड । तपाई नि?"

"म शिकागोमा काम गर्छु, आइ टि मा ।"

"ए  ए !"

"मैले चाहिं ओरेगन स्टेटबाट इकन मेजर लिएर कलेज सक्काएँ अनि शुरुमा इन्टर्न गरेको इन्सुरेन्स कम्पनीकै लागि काम गरें सियाटलमा ।"

"तेइत भाइ हेर्दा कलिलै देखिन्छौ, किन फर्किन लागेको त नेपाल ?"

"टु मच करपोरेट बुलशिट दाइ । इन्सुरेन्स कम्पनी, बैंकहरुले मान्छेलाई चुसेको देख्दा दिक्क लाग्यो । आइ स सम अभ द अग्लियस्ट फेसेस अभ अमेरिकन क्यापिटलिज्म दाइ । फेरी म खासै इन्डिभिजुअलिस्टिक मान्छे पनि होइन । आइ डिसाइडेड दयाट सोसाइटी इज नट फर मी ।"

"ठिकै हो नि । आफुलाई जे मन लाग्छ तेही गर्ने त हो जिन्दगीमा ।"

"एक्ज्याक्टली! तेसैले आफ्नो स्किल आफ्नै देशमा लगाउँछु भन्ने सोचेको छु ।"

"ल हेर भाइले यै उमेरमा डिसाइड गरिसकेछौ लाइफको बारेमा । म चाहिं ३० कटिसकें, अझै ढुलमुल ढुलमुल छु । साच्चिं मेरो नाम रोशन, रोशन कार्की..।" म परिचय दिदैं हात बढाउँछु ।

"म अनुपम बास्तोला ।" हात मिलाउँदै ऊ भन्छ ।

"उमेरले के फरक पार्छ र दाइ! दे से एज इज जस्ट अ नम्बर, होइन र ?" हात मिलाइसकेपछी ऊ भन्छ ।

"तेसो त एज, स्यालरी सबै नम्बर नै हुन् । मजस्ता धेरैलाई यही नम्बरहरुले कैद गरेर राख्दा रैछन् ।"

"वी आर हयुमन नि ! वी क्यान ब्रेक दयाट चेन इफ वी ग्यादर इनफ करेज ।"

"यु आर राइट बट अनलाइक यु आइ थिङ्क आइ चेरिश माइ इन्डीभिजुयालिटी, टु द पोइन्ट दयाट आइ कन्सिडर माइसेल्फ यान एगजिसटेन्सिअलिस्ट ।"

"ओह नो, नट दयाट एगजिसटेन्सिअलिज्म क्र्याप । कलेजमा हुँदा सधैँ डिबेट पर्थ्यो यहि कुरामा ।"

"क्र्याप चाहिं नभनिहाल न भाइ ।" अलि गम्भीर हुदैं म भन्छु ।

"तपाइलाई अफेन्ड गर्न खोजेको होइन दाइ । आइ जस्ट डन्ट बाइ इन्टु दयाट आइडीयोलीजी । तेति हो ।"

"ठिकै हो, आ-आफनो विचार । तर मेरो विचारमा एगजिसटेन्सिअलिज्म एउटा भ्युपोइन्ट हो न कि आइडीयोलीजी ।"

"दाइको कुरा मैले बुझें तर यो भ्युपोइन्टले सार्है एक्लो बनाउँदैन त मान्छेलाई?"

"संसारै तेस्तै छ त!"

"तर दाइले नै यो त केवल एउटा बुझाई हो भन्नुभो, जस्ट अ भ्युपोइन्ट, अनि बुझाई त आफनो खुशीको लागि जसरी एडजस्ट गरे नि भो नि !"

"तर सत्य त एक हुन्छ नि । तेस्लाई एडजस्ट गर्ने भन्ने त कुरै भएन ।"

"सत्य पनि रिलेटिभ हुन्छ, हैन र? सँधैका लागि, सबैका लागि सत्य शास्वत हुँदैन ।"

"त्यो तिम्रो भ्युपोइन्ट भयो ।"

" हा हा, लेट्स अग्री टु डिसअग्री भन्ने बेला आयो जस्तो छ ।"

"तेही हगि ? कुरो र कुलो जहाँ लगे पनि हुन्छ भन्छन् ।" म सौहाद्र मुस्कानका साथ भन्छु ।

"हा हा हा, तर विचार गर्नुस् है, हाम्रा उखान टुक्कामा पनि खोट छन् । कुरो र कुलोमा कुलोलाई डाँडामास्तिर कसरी लाने ?

"हा हा हा, सार्है तर्कालु मान्छे रैछौ भाइ त! बट दयाट्स अ कम्प्लिमेन्ट है !"

"मजा आउँछ नि दाइ तर्क वितर्क गर्न ।"

"ल ल तर्क र दर्शन धेरै भयो । यसो डुलौं यो एरपोर्ट ।"

"हुन्छ दाइ !"

पहिले ढुंगेलजीले रेड लेवल किनेको पसल देखेर ढुंगेलजीलाई एक बोतल किनिदिन मन लाग्यो । कटुन्जे गइयो भने रित्तै हात त के जानु?

"म एउटा रेड लेवल किन्छु है ! भाइ पनि किन्छौ कि ?"

अनुपम रक्सी छाडेको एक वर्ष भाको, अनि कुन सोचले उर्जा दिएर तेसो गरेको भन्दै लामो दर्शन छाँट्न थाल्छ । म झर्को लागेर सुने नसुने झैं गरी रक्सी किन्छु ।

वरिपरि अर्को एकाध घण्टा डुलियो । हरेक टपिकमा आफनो विद्वता प्रदर्शन गर्न खोज्थ्यो अनुपम । म चाहीं उसले थाह नपाउने गरी (अथवा थाह पायो कि, के थाह? ) इगनोर गर्दै थिएँ । सोचें, " कति मान्छेहरु बुद्धिमान हुन्छन् तर उनीहरुलाई टोलरेट गर्न अलिक गार्हो हुन्छ । यो अनुपम तेसैको अनुपम नमुना रहेछ ।"

"फ्लाइटको बेला भो, जाउँ गेटतिर ।" ऊ भन्छ ।

"जाउँ जाउँ !" मनमनै रमाइलो लाग्छ ।

"अनि दाइको घर काठमाडौँमै हो?"

"हो, चाबेलमा !"

"मेरो सानेपा, भेट गर्नुपर्छ उता ।"

"स्योर स्योर !" मनमा अर्कै कुरा भए पनि सदासयता देखाउँछु म ।

नम्बर साटौं भनेर उसले भनेपछि मलाई मनमा खै के भो भो । सबैकुरा पहिलेजस्तै दोहोरिएको देखेर किन हो किन हल्का घबराहट महशुस गर्छु । मलाई खासै फेरी भेट्ने मन हुन्न त्यो ठिटोसँग । फेरी यो मनै चिसो पार्ने गरी उर्ली आएको 'देजाभु'को शृंखला पनि तोड्नुछ जस्तो लाग्छ । उसको नम्बर लिन्छु अनि आफनो घरको नम्बर भन्दै जे पाए तेइ एउटा नम्बर दिन्छु । बेकारणको आफनो त्रास देखेर आफैंलाई उदेक लाग्छ ।

करिव चार घण्टाको उडानपछि गल्फ एरको विमान काठमाडौँ आइपुग्छ । झ्यालबाट बाहिर हेर्छु, पुष महिनाको छोटो दिनलाई विदा गर्ने तरखरमा हुन्छ नेपाल खाल्डो । एरपोर्टमा हामीभन्दा अलि पहिले आइपुगेको कतार एरवेजको विमान ढ्यास्स परेर हामीतिर हेरे जस्तो लाग्छ - दौडमा पहिलो हुनेले अरु प्रतिस्पर्धीलाई हेर्ने नजरले ।

विमानबाट ओर्लेर इमिग्रेसनतिर लाग्दा अनुपमसँग फेरी भेट हुन्छ ।

"भनेपछि दाइ अमेरिकामै बस्ने? चटक्कै माया मार्ने यो देशलाई ?"

लामो फ्लाइटपछिको ठाडो सवालले मलाई झनक्क रिस उठ्छ । आफुलाई संयमित बनाउँदै भन्छु, " हेर भाइ, राष्ट्र, समाज वा विश्वले व्यक्तिमाथि केहि लाद्न मिल्दैन । म स्वतन्त्र प्राणी हुँ । मेरो आदर्शमा मान्छेको कुनै जात, नश्ल, राष्ट्र हुँदैन । हरेक व्यक्तिको अस्तित्व नै सबैभन्दा ठुलो हो, प्रेम; चाहे त्यो राष्ट्रको होस् वा अरु कुनै व्यक्तिको, वा अरु कुनै भावना नै किन नहोस्, सबै अस्तित्वसँग गाँसिन खोज्ने धागाहरु मात्र हुन् । यी धागाहरु जोडिन्छन्, फेरी टुट्छन् ।शास्वत भनेको अस्तित्व मात्र हो ।"

"अलि साँघुरो सोच भएन र त्यो ?"

"अहँ, मलाई तेस्तो लाग्दैन । यो त झन् फराकिलो सोच हो, उन्मुक्तितिरको सोच हो । तिमी बरु त्यो चन्द्र र सुर्य झण्डाको फेदीमा बसेर आफुलाई खुम्च्याउँदैछौ । संसार र श्रिस्टिको चिन्तन कसरी साँघुरो कुरा भयो ? आइ एम सरी बट आइ डोन्ट ह्याभ अ नेसेसिटी फर अ बिलोंग्इंग् लाइक यु राइट नाउ । तिम्रो त्यो माइक्रो लेन्डिंगको मोडल नेपालमा राम्रो चलोस् । धेरैभन्दा धेरै निम्न वर्गीयहरुको आर्थिक अवस्था उकास्न तिमीलाई सफलता मिलोस् ! मेरो शुभकामना !" बहराइन एरपोर्टमा भएको हाम्रो कुराकानी अनुसार बंगलादेशको मोहम्मद युनुसको ग्रामिण बैंकिंग मोडल इमप्लिमेंट गर्न खोज्दै थियो नेपालमा अनुपम ।

एकैछिनको मौनतापछि म हात बढाउँदै भन्छु, "ल भाइ, भेटेर धेरै खुशी लाग्यो, अहिलेलाई विदा हौँ ।"

"हस दाइ, सेम हिएर !"

म अनुपम उभिन आटेको लाइनभन्दा केहि परको लाइनमा गएर उभिन्छु ।

इमिग्रेसन क्लियर गरेर तल झर्छु, ब्यागेज क्लेमतिर । कन्भेयर बेल्ट वरपर मान्छेहरुको भिडमभीड, कतार एरवेजको प्लेन पनि संगसगै आएकोले होला यति भीड भएको । निकै बेरपछि आफना दुइ लगेज हात पर्छन्, तिनलाई ट्रलीमा राखेर बाहिर लाग्छु । बाहिर साँझ सकेर रात पर्न लागेको अवस्था, अराइभल गेट नजिकै एक हुल मान्छेहरुको हल्लाले ध्यान आकर्षित गर्छ । एउटा बुढो मान्छे डाँको छाडेर रुँदैछ, रुँदारुँदै मुर्छित जस्तो हुन्छ, वरपरका मान्छेहरुले सम्हाल्छन् । अचानक ढुंगेलजीको भाइ रविलाई देखे जस्तो लाग्छ । यति पछि देखेको, फेरी उज्यालो पनि थिएन खासै । ठ्याक्कै ठम्याउन नसकेर आँखा मिच्दै नजिक जान्छु । नभन्दै रवि नै रैछ ।

"मलाई चिन्यौ रवि? म रोशन, रोशन कार्की, २-३ वर्ष अघि तिम्रो घर आएको थिएँ ।"

मेरो कुराले उसको रोदनमा एकैछिनको बिश्राम लाग्छ । मलाई चिनेर हो वा नाचिनिकन, एक्कासी मलाई अंगालो हालेर रुँदै भन्छ, "दाइ बित्नु भो!"

म भावशुन्य हुन्छु । यत्रोपछि देशमा खुट्टा राख्नासाथ यो के देख्नु सुन्नु परेको ? ती बुढा मान्छे ढुंगेलजीका बा रैछन् । म उनको नजिक जाने साहस जुटाउन सक्दिन । म रविको ढाड धपधपाउँदै उसलाई अरुहरुतिर सुम्पिन्छु । कटुन्जेबाट  आएका अरुसँग कुरा बुझ्छु । ढुंगेलजीको कुखुरापालन फापेनछ, रोग लागेर पहिलो लटकै जम्मै कुखुरा मरेछन् । श्रीमतीलाई मृगौलाको रोग लागेछ । आर्थिक अवस्था नाजुक बन्दै जान थाले पछि फेरी एकपल्ट ऋणपन गरी खाडीतिर हानिएछन् उनी । कतारमा विश्वकप हुने भएर बढी आम्दानी छ भनेर कतार लागेछन् । २०२२को विश्वकपको लागि बनिरहेको एउटा स्टेडियममा मजदुरी गर्दा रहेछन् । एक हफ्ता अघि काम गर्दै गर्दा माथि उचाईबाट तल भुइँमा खसेछन्, प्राण पखेरु खुत्रुक्कै ।

मलाई भाउन्न भएर आउँछ । दिमागमा कोलाहाल मच्चिन्छ । ढुंगेलजी, अनुपम, रवि, बा, आमा, दिदी, भिनाजु, रेड्डी सबै हातेमालो गर्दै गोल गोल घुम्छन् । "अस्तित्व, अस्तित्व, रोशनेको अस्तित्व, " भन्दै नर्सरीका बच्चाहरु झैँ भट्याउन थाल्छन् ।

अराइभल गेटबाट कफिन बाकस लिएर केहि मान्छे निस्कनछन् । ढुंगेलजीको लाश हुनपर्छ त्यसभित्र । रवि अनि अरुहरु त्यतैतिर लम्कन्छन् ।

म एकसुरमा ट्रली गुडाउँदै अर्कोतिर लाग्छु । "ढुंगेलजीको अस्तित्व समाप्त भैसक्यो, अब त्यो निर्जीव कायालाई  हेरेर के गर्नु ?" एक मनले भन्छ । शायद मेरो स्वार्थले आदर्शको हतियार बनाएर आफनो बचाव गर्दैछ । "तेस्तो मितेरी गाँसेको मान्छेलाई अन्तिम एक नजर हेर्न पनि नखोज्ने, कति निकृष्ट व्यक्ति म !" अर्को मनले भन्छ । शायद आदर्श आफैं तुँवालो बनेर मेरो स्वार्थलाई ढाक्न खोज्दैछ । खोइ के हो के हो, केहि खुट्याउनै सक्दिन । यहि अकर्मण्यताको फाइदा उठाउँदै एउटा ट्याक्सी ड्राइभर म र मेरो सामानको सजिलै अपहरण गर्छ अनि राख्छ आफ्नो ट्याक्सीभित्र । पुषको त्यो झमक्क परिसकेको रातमा एउटा थोत्रो ट्याक्सीमा अनायसै कैद हुन पुग्छ कठै मेरो अस्तित्व !   
magorkhe1
· Snapshot 2766
Like · Liked by · 1
दोश्रो भागले मन चसक्क बनायो : 
I was thinking it will end as part one ,  you will have good time and enjoy the hospitality and the scotch you have brought. Shocked with unexpected ending. 

Last edited: 05-Jan-15 01:19 PM
Valley_
· Snapshot 2927
Like · Liked by · 0
मैले तेस्लाई कम्प्लिमेन्टको रुपमा लिए है magorkhe1 जी :-)
Thanks and Happy New Year!
yacc
· Snapshot 2940
Like · Liked by · 0
Thanks for writing Valley. Hope this is fiction, and there is no real Roshan Dhungel that you encountered.

Sadly, there are many Roshan Dhungels who come back in coffins. There was a story that broke my heart, about how people were talking on how much money they could make selling the coffin, not caring much about the dead inside the coffin. (http://setopati.com/blog/21914/)

I have encountered many Nepalese in transit, who in a very brief visit tell everything about their lives - family, how much they make, how much they save, how many roommates they have, and everything else.

These are the people on whose back the economy of Nepal is riding, and it is just criminal how everyone (agents, govt. officials, immigration) are trying to live off them and stiff them every opportunity they get. You must have noticed how they are viewed and treated like cattle at TIA by their agents, police, and officials.
Valley_
· Snapshot 3079
Like · Liked by · 0
@yacc: Thanks for reading. This is mostly fiction with only a few subtle events drawn from my own life experiences.
Read that article, Gosh I don't have words for that. It is high time for all who can think to speak out against this modern day slavery.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12545 · Likes 1
· Posts 7 · Viewed 3938 · Likes 1
· Posts 1 · Viewed 1087
· Posts 1 · Viewed 1062
· Posts 1 · Viewed 971
· Posts 1 · Viewed 1065
· Posts 1 · Viewed 1037
· Posts 21 · Viewed 9933 · Likes 1
· Posts 3 · Viewed 2556
· Posts 5 · Viewed 7759 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal