Rahulvai, reality never looks like a perfect while conpiracy theorist want things to be perfect- Yuvraj Ghimire has a nice piece but certainly will do no good for the conspiracy theorists.
दरबार हत्याकाण्डलाई फर्केर हेर्दा
युवराज घिमिरे
दक्षिण कोरियाको बाह्य सहयोग संस्था कोइकाको निमन्त्रणामा सोलमा थिएँ म, उद्योग व्यवसायी विनोदबहादुर श्रेष्ठसँगै । २०५८ जेठ २० गते (जुन २) बिहानै उठेर इन्टरनेट हेर्दा दरबार हत्याकाण्डबारे थाहा भयो । विनोदजी र मेरो प्राथमिकता कसरी तुरुन्तै नेपाल फर्कने बन्न पुग्यो । शनिबार र आइतबार कार्यालयहरु नखुल्ने हुँदा कागजात मिलाउन नपाएपछि अन्ततः सोमबार हामी फर्क्यौ कार्यक्रम बीचैमा छाडेर । ब्यांककमा १२ घन्टाको ‘ट्रान्जिट’पछि ‘कर्फ्यु लागेको काठमाडौं आइपुग्यौं, जेठ २३ गते दिउँसो ।
सोलबाट मेरो त्यसबेलाको कार्यालय (कान्तिपुर दैनिक)मा सम्पर्क राख्ने सबै प्रयास असफल भएका थिए । हत्या आफैंमा जीवनलीला समाप्त पार्ने अस्वीकार्य अपराध हो । त्यसमा पनि मुलुकले माया गरेको र उदार व्यक्तित्वका रुपमा स्थापित राजा वीरेन्द्रको वंशनाश भएको थियो । अनि राजसंस्थाका उत्तराधिकारीका रुपमा तालिम हासिल गरिरहेका, यदाकदा सार्वजनिक जानकारीमा देखिने उद्दण्डता पनि मन पराइने युवराज दीपेन्द्रको नाम ‘हत्यारा’का रुपमा आउँदा ‘भीड’ले स्वीकार पनि नगरेको अवस्था थियो ।
कर्फ्युका कारण त्रिभुवन विमानस्थलबाट प्रहरीले नै ‘लिफ्ट’ दियो, तीनकुनेस्थित कान्तिपुर कार्यालयसम्म । त्यसै दिन बाबुराम भट्टराईले ‘नयाँ कोतपर्वलाई मान्यता दिनु हुँदैन’ भन्ने लेख पठाएका रहेछन्, कान्तिपुरमा प्रकाशनार्थ । नेपालको इतिहासमा यति ठूलो दुर्घटना अनि त्यसबारे एउटा सशक्त भूमिगत आन्दोलनका नेताको लेख कुनै पनि सम्पादकका लागि नछाप्ने निर्णय लिन कठीन थियो ।
भट्टराईले दरबार हत्याकाण्डको दोष योजनाकर्ताका रुपमा अमेरिका र भारतमाथि, अनि स्थानीय कार्यान्वयनकर्ताका रुपमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र राजा ज्ञानेन्द्रमाथि लगाएका थिए । राजा वीरेन्द्रलाई उनले ‘देशभक्त’का रुपमा प्रस्तुत गरेका थिए । अहिलेको परिस्थितिमा भट्टराई भारतको विरोधमा केही बोल्ने साहस राख्दैनन् । कोइराला उनका ‘हिरो’ बनेका छन् । अमेरिकाप्रति निरपेक्ष छन् । हिजो के बोले या गरे, जवाफदेहीतामा विश्वास गर्दैनन् भट्टराई ।
लेख छापियो । सम्पादकसहित प्रबन्ध निर्देशक र निर्देशक ‘राजद्रोह’को अभियोगमा जेल परे, यद्यपि दुई महिनापछि सरकारले त्यसलाई फिर्ता लियो ।
दरबार हत्याकाण्डपछि सानोदेखि सुनेको ‘गुरु’ गोरखनाथको भविष्यवाणी स्मरण हुन थाल्यो । पृथ्वीनारायण शाहपछिका १० औं पुस्ताबाट राजसंस्था (शाहवंश) समाप्त हुने सम्भावना बढ्न थाल्यो । त्योसँगै संकटको बेला मुलुकमा सरकार, दलहरु अनि सबै मिलेर संकट सम्बोधन गर्न तम्सिन्छन् कि भन्ने झिनो आशा पनि पलाएको थियो मनमा, सोलदेखि फर्कने क्रममा, अफिसमा, प्रहरी हिरासतमा र अनि रिहाइपछि पनि । यथार्थ त्यस्तो भएन ।
‘भीडको मनोविज्ञान’मा तर्क हुँदैन । वास्तविकताबाट निर्देशित हुनैपर्छ भन्ने पनि छैन । दीपेन्द्रलाई हत्यारा मान्न भीड तयार भएन । आफ्ना छविका कारण हत्याकाण्डका दिन थुप्रैलाई बचाउन ‘प्रेजेन्स अफ माइन्ड’ देखाएका पारस शंकाकै घेरामा रहिरहे । उता दरबारको संवाद सचिवालयले त्यो संकटमा विवरणसहित सूचना प्रवाह गर्नमा ढिलाइ र कन्जुस्याइँ दुबै गर्यो । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रकी पत्नी कोमल गोली लागी गम्भीर घाइते भएको समाचार त्यति आएन । षड्यन्त्र ‘थ्योरी’ लाई बल पु्र्यायो त्यसले ।
सरकार चुक्यो नराम्रोसँग । यत्रो घटना हुँदा पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद बोलाएनन् । जनतालाई न्यूनतम जानकारी दिएर छानबिन आयोगको गठन उसले गरेको भए राजदरबारले त्यसको विरोध गर्नसक्ने थिएन । सरकार चुक्यो । छानबिन आयोगको गठन जरुरी थियो । प्रधानमन्त्री कोइरालादेखि प्रतिपक्षका नेता माधवकुमार नेपालसम्म दरबारले नै छानबिन गरोस् भन्ने पक्षमा उभिए ।
अझ, ‘मैले देखेको दरबार’का लेखक विवेक शाहका अनुसार माधव नेपालले त राजासँग विशेष आग्रह नै गरे आयोग बन्दा आफूलाई नछुटाउन । किन पछि उनले अस्वीकार गरे ? अझै रहस्यपूर्ण छ यो । नेपालको दोधारे चरित्रको उदाहरण पनि बनेको छ ।
म पत्रकारितामा प्रवेश गर्नुअघि (१९७९ जुन २३) मा दिल्लीमा संजय गान्धीको निधन भएको थियो, उनले नै उडाएको जहाज दुर्घटनामा पर्दा । त्यहाँका प्रतिपक्षका केही महत्वपूर्ण नेताहरु ‘लुज टक’ मा त्यसको दोष संजयकी आमा इन्दिरा गान्धीलाई लगाउने गर्थे । मानवीय पीडा बोध गर्नु वर्तमान राजनीतिको धर्म बन्न सकेको छैन । त्यसको मानवीय अनुहार धमिलो बन्दै छ, बन्ने क्रमले निरन्तरता पाइरहेको छ ।
त्यसको १२ वर्ष पछि संजयका दाइ राजीव गान्धीको हत्यामा सोनिया गान्धीको नाम त्यसरी नै त्यही अमानवीयतासाथ केही राजनीतिक व्यक्ति र संगठनहरुले लिए । लेखे । यद्यपि आम जनताले त्यसलाई गम्भीरताका साथ लिएन । र, छानबिन आयोगले पनि त्यसलाई गम्भीरताका साथ लिएन । तर, सोनिया गान्धीको पीडा र उनले बुझ्ने गरी आएका त्यत्रा आलोचना उनले अत्यन्तै मर्यादित रुपमा झेलिन् । दुई छोराछोरीको सुरक्षा र सुनिश्चित जीवनका लागि मौनता अपनाइन् । आरोपलाई मौन मर्यादाले शिथिल बनाइन् उनले ।
शायद वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्रले सोनिया गान्धीजसरी नै परिस्थितिलाई झेले । दरबार हत्याकाण्डको करिब तीन महिनाजति पछि मैले पहिलोचोटि राजा ज्ञानेन्द्रलाई भेटेँ ।
यस्ता किसिमका हत्याहरुको दोष अक्सर ‘अप्राकृतिक’ रूपमा फाइदा पाउनेहरूमा जान्छ । वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्रलाई त्यस अर्थमा गद्दी लाभ भयो । अमेरिकामा राष्ट्रपति जोन एफ केनेडीको हत्यापछि स्वाभाविक रूपमा लिन्डन बी जोन्सन (उपराष्ट्रपति)लाई पद लाभ भयो । हत्याको छानबिनका लागि ‘अर्ल वारेन’ कमिसन बन्यो । तर, त्यसले ठोकुवासाथ कसैमाथि जिम्मेवारी सुनिश्चित गर्न सकेन । उता जनमानसमा लिन्डन बी जोन्सनमाथिको शंका रहि नै रह्यो ।
मैले यी विभिन्न वृत्तान्तहका साथ राजासँग कुरा राखेँ, भविष्यमा फिल्म निर्माता, पत्रकार र लेखकहरू सबैले यो घटनाबारे चासो राख्लान् । अनि उनीहरूले गर्ने शंका र प्रश्नलाई सम्बोधन गर्ने गरी लामो अवधिसहितको आयोग गठन गरेको भए शायद बेस हुने थियो कि ? तर, धेरै ढिलो भइसकेको थियो । प्रधान न्यायाधीशको नेतृत्वको छानबीन टोलीले प्रतिवेदन दिइसकेको थियो ।
राजाको पीडा बुझ्न कठिन थिएन । उनले कुनै रूपमा व्यक्त पनि गरे त्यसलाई । हाँसो र आँसु सेयर गर्ने सबै आफन्त गुमाएको र राजा भएर रुन पनि नमिल्ने तितो तथ्यको पीडा थियो उनलाई ।
राजसंस्थालाई समाप्त गर्ने संविधानसभाको निर्णयपछि दरबार छोड्ने बेला उनले चुनौती दिए सत्तालाई । दरबार हत्याकाण्डबारे कुनै पनि छानबिनका लागि आफू तयार भएको सन्देश दिए ज्ञानेन्द्रले । नयाँ आयोग गठन भएन । तर, प्रचण्डलगायतका नेताहरुले त्यो आरोप लगाई नै रहे ।
दरबार हत्याकाण्डलगत्तै सैनिक अस्पतालमा उपचारका लागि लगिएका राजपरिवारका सदस्य तथा नातेदारहरुलाई आफन्तहरु भेट्न गइ नै रहेका थिए । दीपेन्द्र अचेत अवस्थामा रहेकै बेला अस्पताल पुगेकी ‘मुमा बडामहारानी रत्न राज्यलक्ष्मी’ले सबैलाई भेटिन्, तर दीपेन्द्र राखेको बेडमा नपुगी फरक्क फर्किन् । ‘उनको अनुहारमा घृणा देख्न सकिन्थ्यो त्यसबेला पनि’ प्रत्यक्षदर्शीहरुका अनुसार ।
घटनास्थलमा उपस्थितहरुको भनाइ फरक छैन, छानबिन आयोगको निष्कर्षभन्दा । तर, छानबिनमा लगाएको छोटो अवधिले विश्वसनियतामा आँच पुर्याउनु अस्वभाविक थिएन ।
विवेक शाहकै किताबअनुसार ज्ञानेन्द्रले सबैको पोस्टमार्टम गर्नुपर्ने सुझाव राख्दा मुमा बडामहारानीले प्रश्न गरिन्, ‘महाराजधिराजको शरीर पनि चिर्ने ?’ कसैले त्यसको प्रतिवाद गर्ने हिम्मत गरेन ।
परम्परा अनुसार त्यो ठिक थियो । तर छानबिनका हिसाबले त्यो सायद सबभन्दा ठूलो गल्ती सावित भयो ।
भावी राजाका रुपमा तालिम पाइरहेका दीपेन्द्रका ‘नराम्रा’ गतिविधि सार्वजनिक नहुँदा र परिवारका ‘मूली’बाट नसिहत नपाउँदा उनको उद्दण्डता बाहिर आउन सकेन । त्यसले उनलाई शायद प्रोत्साहित गरिरह्यो त्यस्ता उद्दण्डताका लागि । उता पारसका सवै गतिविधि सञ्चारमा आउन थालेपछि त्यही अनुपातमा पारस बदनाम भइरहे ।
‘आफ्नो एकजना प्रेयसीलाई दीपेन्द्रले तर्साउन खाल्डोमा आधा पुरेका या उनलाई सोल्टी होटलबाट गाडीको डिक्कीमा हालेर सहर ल्याएका’ घटनाहरु निकट मित्रहरुको जानकारीमा नभएको हैन । ‘तर, त्यसलाई हामीले दरबारकाण्डसम्म जानसक्ने चरित्र निर्माण हुँदैछ भन्ने रुपमा लिएनौं,’ गफका क्रममा र नाम उल्लेख नगर्ने सर्तमा दीपेन्द्रका एकजना मित्रले भने ।
घटनाको १२ वर्ष बितेको छ । तथ्य र भावनाको द्वन्द्वमा निष्कर्षमाथि छलफल जारी छ । ज्ञानेन्द्रलाई खलनायकका रुपमा प्रस्तुत गर्ने सिलसिला केही माओवादीहरुमा जारी छ।
नेपाली राजनीति र प्रशासनमा अक्सर देखिने गम्भीरताको अभावबाहेक अरु हिसाबले यो घटनालाई शायद अब विश्लेषण गर्न सकिने छैन । सिर्जनशील फिल्म निर्माता या भावी इतिहासकर्मीहरुले यो घटनालाई कसरी ‘पुनर्निर्माण’ (रिकन्स्ट्रक्ट) गर्लान्, त्यो उनीहरुको मानवीय पक्ष तथा गम्भीरता (या तिनीहरुको अभाव) मा भर पर्ने छ ।
http://setopati.com/blog/1150/