चकचके बाँदरको चाकमा डाम - Sajha Mobile
SAJHA MOBILE
चकचके बाँदरको चाकमा डाम
Posts 37 · Viewed 61082 · Likes 36 · Go to Last Post
Fuel Tank
· Snapshot 0
Like · Likedby · 7
सन्दर्भ : फ्ल्याश ब्याक फ्राईडे
*********************************
चकचक गर्नुको कुनै सिमा नै थिएन | जे नगर है भन्यो मलाई त्यहि गर्नु पर्थ्यो | नखा भनेको कुरा खान पर्नी, नजा भनेको ठाउँ मा जान पर्नी अनि जब आमाले परालमा नखेल भन्नुहुन्थ्यो त्यो त मलाई नगरी हुन्थेन| बोरु बेलुका घर आएपछि पिटाई खान पनि तयार तर सरोजको घरमा जब दाईं लागाउनुहुन्थ्यो जाबो गोरुले के पराल मडार्थ्यो होला र ? गोरु भन्दा धेरै मैले पराल मडारीदिन्थें | सबै भन्दा मज्जा त तब आउंथ्यो जब सरोज, प्रवेश, अरुण र मैले भएर परालको ठुलो चांग लगाउँथेम अनि सरोजको घरको दोस्रो तल्ला बाट जानेको जति सबै "जम्प" हान्थेम| उल्टी जम्प , सुल्टी जम्प, दुई पटक घुम्नी जम्प सप्पै|
"ओई तँलाई आमाले आज क्या पिट्नी रे , बोलार ल्या भनेर मलाई पठाउनाको", पालै पालो एउटा खुट्टाले टेक्दै उफ्रिंदै, अनि दुई हात हावामा हल्लाउँदै र नाच्दै दाई मलाई बोलाउन आईपुग्नुभयो |
खै किन हो, मैले पिटाई खाँदा दाईलाई खुप मज्जा आउंथ्यो अनि दाईले पिटाई खाँदा मलाई पनि सार्है सन्तोष लाग्थ्यो | तर दाईले धेरै पिटाई खानुहुन्थेन, नगर भनेको कुरा गर्नुहुन्थेन, त्यै भएर होला | खुशी कै कुरा गर्ने हो भने म भन्दा दाई धेरै नै खुशी हुन पाउनुहुन्थ्यो | दाईले महिनामा एक चोटी जस्तो पिटाई खानुहुन्थ्यो, मैले दिन दिनै | त्यो दिन बिहान बाले नारायणघाटबाट एक सिसि हर्लिक्स किनेर ल्याउनुभाथ्यो | मैले दिउसो सम्म सबै हर्लिक्स सक्दिभ्याथें अनि था पाउनुहुन्छ भनेर मकैको पिठोले भरेर जस्ताको तस्तै , जुन ठाउँको त्यै ठाउँमा अलक्क राखेर परालमा खेल्न आको थिएँ | अब मलाई डर लाग्यो, पक्कै थाहा पाउनुभयो होला भनेर |
म अझै पनि "र" लाई "ल" भन्थें, तोते बोल्थें | अनि साधु पल्टेर के के नै चोखो बन्न खोजें, "किन पिट्नी ले नि अल्कालाई तेसै ?"
"तैंले अस्ति पिच्केरी बनाको आमाले थापाउनुभयो" , त्यति भनेर दाई खुशी हुँदै पालै पालो एउटा खुट्टाले उफ्रिंदै घर फर्कनुभयो |
आमाले सिलाई-कटाईको तालिम लिंदै हुनुहुन्थ्यो, घरमा एउटा लुगा सिलाउने मिसिन थियो | अनि त्यो मिसिनमा तेल हाल्ने सानो बट्टा थियो | अस्ति होलीको दिनमा त्यो बट्टाको तेल जम्मै बारीमा फालेर, पिचकारी बनाएको थिएँ |
"ओइ सलोज, फेली भोली खेलाम्ला है ", मैले जति चकचक गरेपनि मसंगै मेरो बिराममा हातेमालो गर्ने साथी थियो सरोज, उससंग बिदा मागेर पिटाई खान घर तिर लागें |
बाटोमा सोच्दै थिएँ, "यसै पिटाई खानि , उसै पिटाई खानि, बोलु त्यो हल्लिक्सको ठाममा मकैको पिठो लाख्देको पनि अहिल्यै थाहा पाईदे हुन्थ्यो नि "
***************************************************
फ्ल्याश ब्याक फ्राईडे भनेर प्रत्येक शुक्रबारमैले सानोमा गरेका चकचकका सम्झनाहरु सानो कथा बनाएर राख्ने सोच बनाएको छु | बाँकी अर्को शुक्रबार |
Load Previous
aalukojhol
· Snapshot 2235
Like · Liked by · 1
Tanke bro le bihana bihanai malai pani ruwaunubhayo bhanya, kasto ramro lekhnubhayeko ta, sajha chhirna alchhi laagne bhako thiyo aaba yo chakchake badar le k garchha bhanne lagchha , keep it coming and happy birthday to you
KaliKoPoi
· Snapshot 2311
Like · Liked by · 1
वाह रौसी ट्यांकी
अरु पनि पोख्दै जाम | झल्ली हुने हामि छदैछम नि
Fuel Tank
· Snapshot 2455
Like · Liked by · 0
गोर्खे ब्रो, अलि ठुलो भएपछी हामी चै डांग्रे र ठेउवाको बच्चा छोप्न जान्थेम | ब्रो को गाउँघर तिर ठेउवा पाईन्थ्यो कि पईन्थेन कुन्नि ? डाँफे जस्तै राम्रो हुन्थ्यो तर तेती धेरै रंग हरु चै हुन्थेन | मयुरको जस्तो टल्किनि हरियो पखेटा हुन्थ्यो | अनि गुदेलीले अरुको घरको परेवा नि मारियो |

आलुकोझोल ब्रो , सार्है ठुलो कम्प्लिमेन्ट दिनुभयो |मेरा कथाहरु तपाईको साझा छिर्ने बहाना भए म त धेरै नै फुर्किएको छु | हृदयदेखि नै आभार |

कालीकोपोई ब्रो को मलाई मख्ख पार्ने शब्दहरुका लागी धेरै धेरै धन्यबाद |
Last edited: 19-Feb-15 10:45 AM
ThahaChaena
· Snapshot 2531
Like · Liked by · 1
गर्नु गर्‍यो नारन तिम्रो कथाले.... टंकेब्रो तिम्रो कथाले ......सारै मुटु रसाउने कथा आमाको ममताको अनि हाँसो नि लाग्याथ्यो अलिअलि बालापनको लहड्पन र निस्छल सिधा सोंचाई देखेर .... म पनि तिम्रो कथा कहिले आउँछ भनेर कुरिरहन्छु... बिहिबार आउन सारै लामो कुराइ रहन्छ मेरो ....

जनमदिनको शुभकामना मित्र

KaliKoPoi
· Snapshot 2681
Like · Liked by · 0
खै त आजको भाग ?
magorkhe1
· Snapshot 2720
Like · Liked by · 0
३-४ बर्सको थिए होला घरमा रातो कुकुर थियो महिना २ महिनामा सिङ्गै कुखुरा टिपेर ल्याउथ्यो( सायद उसलाई मासु खान मन लागेको बेला मा होला ) पछि चितुवाले लग्यो |
बाह्र खरी को सुरुवात थियो : बुबाको मावली भाइ एस एल सी दिएर बसेको बेला हाम्रो मा बस्नु भएको बेला पढाउँनु हुन्थो | म चाहि जति खेर पनि टाउको कन्याई बस्थे अनि काकाले टाउको कन्याई दिने गर्नु हुन्थ्यो | 
द्रिर्घसंका गर्न घर देखि मुन्तिर अर्को गह्रोमा जानु पर्थ्यो ,तेसैको पल्लो पट्टि अम्बक ( अम्बा ) बोट थियो  अनि पाकेर पहेलै भएका थिए | बिहान को खाना खाएको १५-२० मिनेट मात्रै भएको थियो होला , म चै लागे अम्बाको बोट तिर , काका दिर्घसंका गर्न आएका रहेछ " ए कान्छा कता हिडेको " सोधनी भयो , मेरो सोझो जबाफ थियो अम्बा खान | भात को सिता सोज्झिंन पाएको छैन अम्बा खान हिडेको , दिउसो खालास बन्ने सुने पछि खुरुक्क फर्किएको थिए भने मन मनै किन यी टाढाका काकालाई हामिकाहा बस्नु परेको, तेही दिन गइदिए हुन्थ्यो लागेको थियो | 

फुपुकी छोरी सानै देखि मामा घर बासिन : गत बर्ष नेपाल गएको बेला ४/५ घण्टा भोगटे खादै गर्दा उनि संग भएको कुराकानी को एक पाटो यो पनि थियो | हामीले आमा भनि लाडिलो हुन् पाएनौ , अहिले छोरा छोरीहरु जति लाडीलो हुन्छन,  आफुले भन्न नपाएको आमाको सट्टा भर्ना भए जस्तो लागि स्वर्गीय अनुभूति हुन्छ ! 
Last edited: 20-Feb-15 11:56 AM
nepalilaure
· Snapshot 2740
Like · Liked by · 0
अनि गोर्खे मित्र ,
त्यो राते ले येसो एउटा दुइटा कुखुराको टुक्रा पनि भेताउथ्यो कि ? ;) जोक गरेको है \

टंकी ब्रो ,

कस्तो सनोबेलाको सबै याद गरेको , हुनत तपाइको सानो बेला अस्ति भर्खर होला \ आफ्नो त विस्मृतिमा जाने बेला भैसक्यो \

जेहोस प्रस्तुति एकदम राम्रो छ \
Fuel Tank
· Snapshot 2989
Like · Liked by · 0
गोर्खेको कथा कति मिठो | सम्झना हरु जति बाँड्यो उति मिठा हुन्छन | आफ्नो कथा यहाँ बाँडेर यो धागोलाई गुण पो लगायो त हो गोर्खे ले | हाम्रो घरमा पनि एउटा रातो (फिका रातो) रंगको कुकुर थियो, अनि त्यसको नाम चै भक्कु थियो | भक्कुको कथा पनि लेख्ने छु कुनै दिन |
" हामीले आमा भनि लाडिलो हुन् पाएनौ", च्वास्स घोंच्यो | आमा जहाँ हुनु भए पनि राम्रै ठाउँमा हुनुहुन्छ |अरु साथीहरुको पनि कथा भए निस्फिक्री बाँडु है |
थाने दाईलाई मिठो टिप्पणीको लागी धन्यबाद |
लाउरेमित्र, म त्यस्तो भर्खरको पनि छैन | मेरो उमेरको लगभग आईडीया दिन्छु है त | म १७ -१८ बर्षको हुँदा पहिलो चोटी मोबाईल फोन देखेको | त्यो बेलामा ठुल्ठुला साहुहरुको पोस्ट पेड हुन्थ्यो, प्रिपेड त थाह पनि थिएन | अब आफ्नो अनुभब संग दाँजेर हेर्नु, मेरो उमेरको लगभग पत्तो हुनेछ | अनि यी सम्झनाहरु धमिलिंदै गएका छन , यिनलाई ताजै राख्न यी कथाहरु लेखेको छु | बिर्सेका कुराहरु बा र आमाले सम्झाईदिनुहुन्छ | अनि फेसबुकमा पुराना साथीहरु संग कुरा गर्दा उनीहरुले पनि सम्झाईदिन्छन | जस्तै अहिले गोर्खेको कथा पढेपछी मैले भक्कुको हँसाउने कुरो सम्जें  , एउटा अंक त्यहि हुनेछ :) 
कालीकोपोई,  यो हप्तालाई जन्म दिन बिशेषले नै भाग पुर्याउने छ भनेको थिएँ |  गोर्खे ब्रोको रातेको कथा पनि सुनियो | आज आईतबार, अलिकति फुर्सद पनि छ | सानो कथा लेखेर राखेको छु है |




Last edited: 22-Feb-15 03:15 PM
Fuel Tank
· Snapshot 3014
Like · Liked by · 4
चकचक र उपध्रो शृंखला - अंक पाँच
*******************************

हाम्रो स्कुलमा कहिले काहीं जादु देखाउने मान्छे आउँथ्यो | एक कक्षाका सबै भन्दा अगाडी, अनि त्यसपछी २ कक्षाका, अनि तिन .... | म दोस्रो लाईनको बिचमा भुईंमा पलेटी कसेर जादु हेर्न बसें | उसले जादुहरु देखाउँथ्यो अनि रंगी चंगी कागजहरु काटेर अनेक अनेक चिजहरु पनि बनाउँथ्यो | गुलाबको फुल, चरा, बत्ती छोप्ने रंगिन कागज, के के हो के के | अनि त्यस्तै १०-१२ वोटा कुराहरु देखाएपछी भन्थ्यो “यो किताबमा मैले देखाएको सबै जादुहरु कसरी गर्ने भनेर लेखेको छ | यसमा ५० वटा भन्दा धेरै कागजका चिजहरु कसरी बनाउने पनि सिकाएको छ | मात्र १० रुपैया |”

मामा चाउचाउलाई ५ रुप्याँ पर्थ्यो | वाई वाई चाउ-चाउ लाई ९ रूप्याँ पर्थ्यो, त्यो भन्दा पनि १ रुप्याँ धेरै मा त्यो किताब किन्ने रे | त्यो धेरै भएको एक रुप्याँले त २ वटा म्याङ्गो टार्ट चकलेट आउंथ्यो | म संग १० रुप्याँ भएको भए बरु २० वटा म्याङ्गो टार्ट चकलेट किन्थें होला तेस्तो जाबो किताब कल्ले किन्ने?

बेलुका घरमा त्यही किताब देखें | दाईले किनेर ल्याउनुभएको रहेछ | त्यहाँ किताब त्यसै थियो, दाई हुनुहुन्थेन | गएर किताब हातमा लिएँ | यसो पल्टाएर हेरें | ५-७ वोटा गुडियाहरुले हात समाएको कस्तो राम्रो बुट्टा | कनि–कनि पढ्न थालें |

१.        एउटा कागज लिने .

२.        कागजलाई बीचबाट यसरी पट्ट्याउने  ( संगै चित्र)

३.        अनि दुईटा टुप्पा समातेर यसरी पट्ट्याउने (संगै चित्र).......

मलाई राम्रो लाग्यो | मैले आँटे म पनि त्यस्तै बनाउँछु | त्यो राम्रो बुट्टा बनाउन कागज पनि त राम्रै चाहियो | मलाई थाह थियो राम्रो कागज कहाँ हुन्थ्यो भनेर, दाईको झोलामा | दाईले मयुर कापीमा नोट लेख्नुहुन्थ्यो | अनि त्यो कापीको कागज पनि सार्है चिल्लो हुन्थ्यो | दाईको झोला खोलेँ, मयुर कापी निकालें | सेतो चिल्लो पाना देखेर मेरो मन त्यसै फुरुङ्ग भयो | अनि फेरी दाईको कापीको माया लाग्यो | चिल्लो नयाँ पाना च्यात्न मन लागेन अनि लेखेको लेखेको पाना च्यातें | चर्रर... | अनि कागजलाई बीचबाट पट्ट्याएँ | त्यो मैले गर्न सक्ने कुरा थिएन | बिग्रियो | फेरी अर्को पाना पनि च्यातेँ | त्यो पनि बिग्रियो | मेरो सक्दो प्रयास चल्दै थियो, दाईले मलाई रंगे हात समात्नुभयो |

“आमा, एल्ले मेरो सोसल स्टडिको नोट नै च्यात्दियो |” दाईले आमालाई कुरा लगाउनुभयो |

मलाई आमासंग भन्दा धेरै आमाको सिम्किनासंग डर लाग्थ्यो | हातमा एकचोटी मात्रै हाने पनि चिरिरिरी गर्दै त्यसको असर ढाडसम्म पुग्थ्यो |

“तिखे, यता आईज |” मलाई कान्छी भन्नुभएको मन पर्थ्यो, कान्छी भन्दा मैले कहिल्यै पिटाई खाँदैनथें | त्यसपछी कान्छे भन्नुभएको मन पर्थ्यो | कहिले पिटाई खान्थे, कहिले खाँदैनथें | तर तिखे भनेपछी पिटाई नखाएको एउटा बेला थिएन |  आमाको अगाडी गएँ |
“तैंले दाईको कापी च्यातेको हो ?”

पिटाई खाने पक्का थियो, अब कसरी हुन्छ थोरै पिटाई खाने मात्र मेरो लक्ष्य थियो | “झन् मलाई दाईको कापीको कस्तो माया ला’ल नयाँ पाना च्यातेकै छैन, लेखेको पुलानो पुलानो पाना मात्लै छानेल च्यातेको हो |”

जे हुनु थियो भयो, आमाको दुई सिम्किना भेटें अपुंगे हातमा | त्यो सिम्किना खाएको मैले कापी च्यातेर हैन, दाईले कुरा लगाएर हो, त्यै भएर दोष जति सबै दाईकै थियो | तर दाईसंग बदला लिन म सक्दैनथें | दाई म भन्दा धेरै बलियो हुनुहुन्थ्यो, अनि अल्को (अग्लो) पनि |

*******************************

स्कुलको लुगा लगाएर खाना खाँदा कपडा भरी जाउलो पोखेर सबै पहेंलो बनाउँथें | त्यसैले संधै खाना खाएपछी बल्ल आमाले कपडा लगाईदिनुहुन्थ्यो अनि दाईले चै आफैँ लगाउनुहुन्थ्यो | त्यो दिन छिटो छिटो गरेर खाना खाएँ अनि आमाले कपडा लगाईदिनुभयो, दाईले खाना खाँदै हुनुहुन्थ्यो | म दाईलाई नकुरी स्कुलको बस रोक्ने ठाउँमा बस कुर्न गएँ | एकैछिन पछी बस आयो तर दाई अझै आउनुभएको थिएन |

बसको खलासी मेघराज दाई हुनुहुन्थ्यो | मलाई एक्लै देखेर सोध्नुभयो, “दाई खै त ?”

“दाईलाई जोलो आछ | दाई त आज आउनुन्न ले” |

म बसमा चढें अनि बसले दाईलाई छोडेर गयो |

*******************************

दोस्रो घन्टीमा मलाई अफिसमा बोलाउनुभयो | अफिस भित्र हेडसर, बा र दाई हुनुहुन्थ्यो | दाईले स्कुलको लुगा हैन बाहिरी लुगा लगाउनुभएको थियो |

“तैले दाईको लुगा आज नि लुकाईस?” | अघिल्लो चोटी दाईले पिट्दा दाईको स्कुलको ड्रेस स्टिलको दराज मुनि लुकाईदिएको थिएँ | केहि बेर ढिलो त भएको थियो तर दाईले फेला पर्नुभयो अनि दाईको बस पनि छुटेन त्यो दिन |

बाले फेरी सोध्नुभयो , “दाईको लुगा कहाँ लुकाईस?”

मैले किन लुकाउँथें र फेरी त्यहि दराज मुनि? डरले बिस्तारै भने , “मेलो झोलामा हालेल ल्याछु” !

Last edited: 22-Feb-15 03:25 PM
magorkhe1
· Snapshot 3191
Like · Liked by · 0
लामो समय सम्म संयुक्त परिवारमा बसियो | दुइ दाइ हरु मधेस छिर्नु अघि माथि डाडाको भाषा स्कूल जान्थ्यौ | हाम्रो घर माथि हजुरबाका २ ओटा घर बीच एउटा ठुलो आघन थियो : तेही बिचो बीच हिडेर जान्थ्यौ भने २-३ ओटा ढिस्काना उक्लेर जानु पर्थ्यो ( आधा कप चिया यिनै हजुरबाको कथा हो : आधा मात्र लेखेको छु ) यो अलिक छोटो पर्थ्यो |
दाइहरु घरबाट निस्कदा त हैन तर स्कूल बाट घर फर्कदा कहिलेकाही बोस्ता बोकाउदथे | तीनजनाको पाटि बोक्दा भारिनै हुन्थ्यो : एकदिन त्यो ढिस्कनो बाट ओर्लदै थिए , बोस्ताले मलाइ तान्यो , म चाहि दुवै दाइ हरुको बोस्ता माथि बझारिना पुगे दुवै पाटि झर्याम झुरुम भए | आफ्नो पाटि भने सहिसलामत थियो | दाइहरुलाई भने लडेर फुट्यो भने तर फुटेको टुक्रा भने यस्तरी लुकाए कि उनीहरुले जति खोजे पनि भेट्टाउँन सकेनन | दाइ हरु भने मैले बोक्नु परेको हुनाले लुकायो भन्नेमा परे , फुटेको कुरामा बिस्वास गरेनन , गरुन कसरि उनीहरुको मात्रै फुटेको छ ! पोल लगाए पनि उल्टै गालि खाए दाइ हरुले || पछि काकाले टिनको पाटि किनिदिनु भयो|
Fuel Tank
· Snapshot 3327
Like · Liked by · 0
हाहाहा, गोर्खे पनि कान्छो हो घरको ?
भन्छन नि , राजाको घरमा जेठो भएर जन्मिनु रे, प्रजाको घरमा कान्छो भएर जन्मिनु रे | बा-आमाको माया आफ्नो ठाउँमा छ तर दाईहरुले पनि लास्ट पेल्ने हो कान्छा हरुलाई :)
magorkhe1
· Snapshot 3366
Like · Liked by · 0
तेती बेलाको स्लेट बोक्ने फुच्चे मात्रै हो |
Fuel Tank
· Snapshot 3660
Like · Liked by · 2
पढिदिने, मनपराईदिने र टिप्पणी गर्ने सबैजनालाई धेरै धेरै धन्यबाद |
**************************
सन्दर्भ : फ्ल्याश ब्याक फ्राईडे (चकचक र उपध्रो शृंखला अंक ६ )
[ यो घटनाको एकदम धमिलो चित्र आउँछ सम्झनामा अनि बा-आमालाई र स्कुलमा पढाउने मिसको व्याख्यामा आधारीत भएर लेखेको कथा, आशा छ पहिले जस्तै यसमा पनि माया पाउने छु ]
***************************
नर्सरीमा पढ्थें | p र  q  ले संधै झुक्क्याउँथ्यो | b र d पनि उस्तै लाग्थ्यो | भन्न चै फेरी खरर भन्न सक्थें,  A देखि Z सम्म, १ देखि १० सम्म , क देखि ज्ञ सम्म, सबै फरर | 
नारायणघाट बीचैमा एउटा चश्मा पसलको अगाडी ठूलो  साईन बोर्ड थियो, लेखेको थियो  “कावा चश्मा पसल” | मलाई क पछि ख आउँछ भन्ने थाहा थियो | चश्मा पसलको मालिक जस्तो  मान्छेलाई पनि क-ख नआउने, क पछि किन ब लेख्या होला? अनि बालाई सोध्थें | 
“बा, त्यो मान्छेले किन क पछी ख नलेखेको ?” 
बा हाँसेर भन्नुहुन्थ्यो “त्यो मान्छेले पढेकै छैन होला, त्यै भएर | मेरो कान्छो बरु नर्सरीमा पढ्छ | ”
बाले मेरो कपाल मुसार्दै त्यसो भन्दा म आफुलाई संसारकै बुद्धिमान झैँ लाग्थ्यो, अनि घिरौँला झैँ नाक पार्दै थप साईनबोर्डमा आँखा डुलाउँथे | देखे जती साईनबोर्ड सबै त्यस्तै थियो, नपढेको मान्छेले लेखे जस्तो | सगुन रे, भेटघाट रे., कोडाक रे ......| त्यसपछि म मिठो कल्पना गर्थें | म धेरै पढेर साईनबोर्ड लेख्ने मान्छे बनेको | अनि म नारायणघाट भरीको सबै बिग्रेको बोर्डहरु सच्च्याईदिन्थेँ | सच्याई सकेपछी बोर्डको तल अरुले जस्तै आफ्नो पेन्ट्स लेख्थें | नाम के हुन्थ्यो होला ? मलाई “कान्छी” भनेको मन पर्थ्यो , मेरो पेन्ट्सको नाम “कान्छी पेन्ट्स” हुन्थ्यो होला | मलाई स्कुलमा क ख सिकाउनी हेडमिस कति खुशी हुनुहुन्थ्यो होला, आफ्नो बिद्यार्थी धेरै पढेर साईनबोर्ड लेख्ने मान्छे बन्यो भनेर | म झन् झन् गहिरो कल्पनामा मिठोसंग हराउँथें | अनि बा पर पुगेर बोलाउनुहुन्थ्यो, “कति ढिलो हिंडेको?” | म दुगुर्दै गएर बाको औंला समात्थेँ |
नारायणघाटकै अर्को एउटा घरमा ठूलो-ठूलो अक्षरले लेखेको कुरा कहिल्यै पढ्न सकिन |
“बा त्यो घल्मा के लेखेको ?”
“गणेश चलचित्र मन्दिर” बाले भन्नुभयो | त्यो सुन्दै खेरी भयानक थियो | त्यो पढ्न सक्ने हुन मलाई नर्सरी सम्मको पढाईले पुग्दैनथ्यो र के.जी.मा जान पर्थ्यो | मैले क देखि ज्ञ सम्म दुवै पढ्न र लेख्न सक्ने भएँ| ए देखि जेड सम्म, एक देखि सय सम्म, वान देखि हन्ड्रेड सम्म | सबै | त्यसपछी म नर्सरी बाट केजीमा गएँ | 
नर्सरी भन्दा केजी धेरै गाह्रो थियो | नर्सरीमा “ए फर याप्पल” भनेर “ए” मात्रै लेख्न पर्थ्यो तर केजीमा त्यो “याप्पल” लेख्न जान्नुपर्थ्यो | क देखि ज्ञ सम्म मात्र लेखे हुन्थ्यो पहिले तर अब केजीमा क का कि की.. देखि ज्ञ ज्ञा ज्ञि ज्ञी सम्म लेख्न जान्नु पर्थ्यो | अनि 1,2,3,4 .. को साटो अब O-n-e वान, T-w-o टु, T-h-r-e-e थ्री...... लेख्नु पर्थ्यो | मलाई त्यति धेरै लेख्न अल्छि लाग्थ्यो | मिसले होमोक नदिए पनि हुने जस्तो लाग्थ्यो तर त्यस्तो हुँदैनथ्यो र संधै होमोक गर्नुपर्थ्यो | 
बेलुका घरमा आमाले मलाई होमोक गराउनुहुन्थ्यो | मेरो बक्सा बक्सा परेको कापीमा १,२,३,४ ..१०० सम्म लेख्थें, चार धर्के कापीमा “याप्पल, बल, क्याट” लेख्थें, अनि दुई धर्के कापीमा “क का कि की..” |
आमा मेरो स्कुल नगए पनि आमालाई संधै थाह हुन्थ्यो मेरो होमोक के हो भनेर | म सार्है अचम्म मान्थें र सोध्थें “आमा, हजुल्लाई कसली था भयो मेलो होमोक के हो भनेल ?” आमाले कापीको माथि मिसले लेख्नुभएको देखाउनुहुन्थ्यो | “Write from Apple to Zebra”, “क देखि ज्ञ सम्म लेख”, “क का कि की देखि ज्ञं ज्ञः सम्म लेख”, “१ देखि १०० सम्म लेख” आदि आदि | मिसले एक लाईन लेखेर हुने, मैले चै पाना भरी लेख्न पर्नी रे | मलाई त्यो सबैभन्दा ठूलो अन्याय जस्तो लाग्न थाल्यो | मैले बिरोध गर्थें तर आमाले “लेख कान्छी” भनेर फ़काउनुहुन्थ्यो, अनि मैले लेख्थें | कहिले बिस्कुट दिएर फकाउनुहुन्थ्यो त कहिले सिम्किना लिएर तर्साउनुहुन्थ्यो | 

एकदिन आमा भान्साको काम मै व्यस्त हुनुभयो अनि मलाई होमोक गराउन भ्याउनुभएन | मलाई आफै होमोक गर है भन्नुभयो | मैले हस भनेँ | लेख्न त कत्ति पनि मन थिएन तर कापी निकालेर लेखें | भोलीपल्ट स्कुल जानु अघि आमाले सोध्नुभयो, “होमोक लेख्यौ कान्छी ?” 
टाउको हल्लाउँदै मैले उत्तर दिएँ “हजुल, लेखें”| 
स्कुल पुगेपछि मिसले होमोक चेक गर्नुभयो | कापीको माथि मिसले लेख्नुभएको थियो “Write from Apple to Zebra” त्यसको तल मैले पनि लेखेको थिएँ “write from apple to zebra” | अर्को कापीको माथी थियो “१ देखि १०० सम्म लेख” | त्यसको तल मैले पनि लेखेको थिएँ “१ देखि १०० सम्म लेख” | जस्ताको तस्तै र बराबर | त्यो दिन म खुशी थिएँ, हामी दुबैले बराबर लेखेका थियौं | 
तर आमाको सिम्किना भन्दा धेरै मोटो थियो सानु मिसको लट्ठी | किन पिट्नु भएको पनि थाहा भएन मलाई, मैले त होमोक गरेकै थिएँ | मिसको पिटाई खाई सकेपछी मैले १ देखि १०० सम्मै लेख्न पर्यो | त्यो कस्तो अन्याय, कसैले एक लाईन लेखेर हुनी, कसैले पुरै पाना भरी लेख्न पर्नी |
के. जी. को पनि अन्तिम परिक्षा आयो | मलाई क देखि ज्ञ सम्म, क का देखि ज्ञं ज्ञः सम्म, ए फर याप्प्ल देखि जेड फर जेब्रा सम्म , वान देखि हन्ड्रेड सम्म, १ देखि १०० सम्म सबै आउंथ्यो | जाँचको अघिल्लो दिन बिदा थियो | दाईलाई र मलाई जाँचको बेला पढाउन भनेर आमाले आफ्नो स्कुलबाट छुट्टी लिनुभएको थियो | आमाले मलाई लेख्न लगाउनुभयो | मैले हस भनेर लेख्न थालें | 
दाई मेरो पछाडी कुम भन्दा माथीबाट मैले लेखेको हेरेर बस्नुभयो अनि मलाई सोध्नुभयो | “ल भन् त, टु प्लस टु कति हो ?” मलाई वान, टु, थ्री फोर मात्रै आउथ्यो | दाईको उत्तर दिन सक्दैनथिएँ | दाईले बडो धाक लगाएर सुनाउनुभयो “टु प्लस टु भनेको फोर” | अनि फेरी सोध्नुभयो, “ल भन् त डग वाईल्ड यानिमल हो कि डोमेस्टिक यानिमल” | मलाई त “डी फर डग” मात्र आउंथ्यो | दाई संग किन हार्ने ? मैले त्यै भन्दिएं “डी फर डग”| दाईले आँफुलाई के के नै जान्ने छु झैँ गरेर फुर्ति लगाउनुभयो, “डग इज अ डोमेस्टिक यानिमल”| दाईको धाक सुन्दै लेख्दै गर्दा आमाले लेख भन्नुभएको लेखेर भ्याएँ | दिउँसो खाजा खाए पछि आमाले फेरी लेख भन्नुभयो, मैले लेखें | सुत्नु अघि आमाले सोध्नुभयो, मैले फरर भनें “ककाकिकीकुकूकेकै..........ज्ञंज्ञः, १२३४....१०० ”
भोली बिहान जाँचको दिन, स्कुल जानुअघि पढेको कुरा ताजा बनाउन आमाले फेरी लेख्न भन्नुभयो | मैले लेखें | अनि आमाले भन्नुभयो, “आज लेख भनेको कुरा लेख है, बिगार्न हुन्न|”  म छक्क परें, आमाले कहिल्यै त्यसो भन्नु हुन्थेन| सोधें, “आज के हो ल आमा?” आमाले मलाई बुझाउनुभयो “यो बर्ष भरी पढेको कुरा कतिको जानेको छ भनेर जांच लिन्छन्, सबै मिलाउन पर्छ” | मैले फेरी टाउको हल्लाएर हस भनें | 
जाँचको कापीको माथि मिसले लेख्नु भएको थियो “१ देखि १०० सम्म लेख” | आज सानुमिसले “सानुमिसको लट्ठी” नलिई आउनुभएको थियो | हाम्रो कक्षामा गजेन्द्र भन्ने थियो | त्यसलाई केहि पनि आउंदैनथ्यो अनि उसले नलेखी बसेथ्यो | अचम्मको कुरो, उसले मिसको पिटाई पनि खाएको थिएन | मैले पनि नलेखी बसें | त्यो दिन मिसले लेख् कि लेख् भनेर कसैलाई पिट्नुभएन | एकैछिन पछी गजेन्द्रले कापी बुझायो अनि बाहिर गयो | मलाई पनि बाहिर जान मन लागेर आयो अनि त्यसै गरेँ | बाहिर निस्केपछी खेल्ने कोहि साथी थिएनन् | गजेन्द्रले नङ् नकाटी आउँथ्यो र एकदिन मलाई कोपार्यो | त्यसपछी मैले गजेन्द्रलाई कट्टी लाईदेको थिएँ | उ संग गएर खेल्ने कुरो पनि भएन | खेल्ने साथीहरु नभएपछी बाटो काटेर बाको अफिस गएँ | बा आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो | बाको टेबल म भन्दा अग्लो थियो | 
“बा” , बाको टेबलको पछाडी आँफु पुरै छोप्पिएर बोलाएँ |
“जाँचमा के के लेखिस् छोरो” बाले सोध्नुभयो | 
“केइ नि लेखीन मैले त” 
“किन नलेखेको त ?” बा अलि कड्किनुभयो |
“दिन दिनै होमोकमा नि त्यै लेख ले | संधै कछामा नि त्यै लेख ले | हिजो आमाले नि त्यै लेख ले, खाजा खाए पछि पनि त्यै लेख ले, आज बिहान पनि त्यै लेख ले, कति लेख्नी हो त्यै मत्लै | अझै भएन भनेल आज जाँचमा नि त्यै लेख ले | किन लेख्नी नि ? मलाई लेख्न आउँछ भनेल संधै त्यै लेखेल देखाको हैन ? मैले त लेखीन |” 
बाले मलाई जुरुक्कै बोकेर एकै छिनमा स्कुल पुर्याउनुभयो | मिसहरुको अगाडी बाले मलाई पिट्नु भएन अनि बा अगाडी हुनुभएर मिसले पनि पिट्नुभएन | त्यो मैले बुझेको थिईन | मात्र पिटाई खान नपरेको देखेर म दंग थिएँ र जाँच दिनै मानिन | त्यो जाँच अन्याय पूर्ण थियो | कसैले एक लाईन लेख्ने रे, कसैले पाना भरी लेख्ने रे | त्यो जाँच अर्थहिन थियो, बर्ष भरी त्यै लेखेर देखाए पछि फेरी आउँछ कि आउंदैन भनेर किन जाँच लिनु पर्ने? जाँच दिनै मानिन |
बाले मलाई फकाउनुभयो | मिसले भनेको कुरा मैले खुरु खुरु लेखें भने बाले मलाई पिलपिल बल्नि जुत्ता किनीदिने रे | बल्ने जुत्ता भनेको सुन्ने बित्तिकै मेरो मन त्यसै खुशी भयो, आँखाहरु बल्ने जुत्ता जस्तै चम्किला भए | म जाँच दिन बसें |
जुत्ता किनिदिन बाले मलाई नारायणघाट लिएर जानुभयो | यसो टाउको घुमाएर बजार भरी हेरें | अक्षर नमिलेका साईनबोर्डहरु जता ततै थिए, जस्ताको तस्तै थिए  | 

magorkhe1
· Snapshot 3751
Like · Liked by · 0
फुट्या ब्रोको कथा पढे पछि मलाइ पनि केहि थप्न मन लाग्छ |

आफ्नो पालामा पट्यास र स्लेटमा लेखेर भाषा स्कूल को पहिलो बर्स बिताइयो अनि क का कि , जोडेको अक्षर चिन्ने भए पछि महेन्द्र माला किताल दिईयो | तेश्रो कक्षा नपुगी abcd पढाईदैन थियो || दिले भात चापाएर खान्छ , निफनेको चामलमा धुलो हुँदैन जस्ता कुरा पढिएको सम्झना छ |
मुख्य किताब ठुलो बर्णमालानै थियो | क ख देखि राशिफल हेर्ने चु चे चो ला भरिणी अनि तेस्को रासी के हुन्छ र अन्तिम तिर abcd थिए , ka क kha ख अनि क का का कि की कि हुँदै दैनिक बोल चालमा प्रयोग हुने शब्द हरु cow काउ गाइ , Dove डोभ ढुक्कुर आदि थिए | सायद ५ बर्सको थिए होला काका काकी , म र अरु साना हरु मधेस गएनौ | मलाइ के ल्याई दिउ भन्दा एबिसिडि को किताब ल्याई दिनु भनेको थिए बजैलाई |अनि बजैले चै एबि टीसी भनेको सुने पछि सबै हासेका थिए रे ?
कुनै बेला जन्त गैइएको बेला यहि ठुलोबर्णमालाको एबिसिड़ीमा भएका गाइ हाती ढुक्कुर का स्पेलिंग प्रतियोगिता भएको थियो | बेहुला र बेहुली पक्षिम दुवै आफ्नो टिमले जितोस भनि आफ्नो पक्षलाई उत्साई रहेका थिए |पहिले त जितिराखेका थियौ , एउटाले जा खेमेलाई उठाएर लिएर आइज भन्यो : खेमे आए पछि हार्मो के लाग्थ्यो |

बिहान उठदा टोपिनै छैन , मोरा हरुले जिते पनि अनि टोपी पनि लुकाइदिए अब घरमा के भन्ने भन्ने परेको थियो | मताने काकाले किन अनुहार मलिनो छ नि , हिजो हारे भनेर हो ? भनि सोध्नु भयो | मैले पनि त्यो खेमे हाम्रो उमेरको हैन , २ बर्सै जेठो हो तेसैले जित्न सकेका हुन भन्दै मोरा हरुले राति आएर टोपी उडाइ दिएछन्र अब कसरि खालि टाउको घर जानु |
राति तेरो टाउको बाट खसेको देखेर मैले राखिदिएको थिए भन्दै इस्ट कोटको भित्रि गोजी बाट निकालेर दिए पछि हिजोको प्रतियोगिताको हराई भन्दा टोपी सुरक्षित हुनु मेरो लागि यो नै ठुलो जित भएको थियो |
Fuel Tank
· Snapshot 3867
Like · Liked by · 0
गाउँ मै जन्मिए पनि बा-आमाको शहरको जागिर भएको हुनाले हुर्किन चै शहरमा हुर्किईयो | त्यै भएर होला गोर्खे ब्रो र म फरक परिबेशमा हुर्किएका रैछौ | दाईलाई र मलाई अंग्रेजी स्कुलमा भर्ना गरिदिनुभएको थियो, अनि ककाकिकी नाचिन्दै ABCD चिनिसकेको थिएँ | हामी गाउँको घर भन्दा (८-१० किमी ) १ घण्टा जस्तो टाढा मात्र बस्थ्यौं, त्यै भएर लगभग हप्तै पिच्छे जस्तो पनि गाउँ गैरहेका हुन्थ्यौं त्यसैले हामी दाजुभाई गाउँले जीवनमा पनि मस्त भिजेका थियौं | रोपाईं गर्दा आमाले बियाडमा बिउको मुठो बनाउनुहुन्थ्यो | बा बाउसे लाउनुहुन्थ्यो, खेतालाहरु धान रोप्थे, काकाले दांदे लगाउनुहुन्थ्यो | हामी केटाकेटीहरु हिलोमा खेल्थ्यौं | यो कुरामा सार्है गर्व लाग्छ अनि भाग्यमानी सम्झन्छु | शहरी जीवन र गाउँले जीवन दुवै एकैसाथ भोगेर हुर्किन पाएकोमा |

ढाकाको टोपी कि केटाकेटीहरुले लाउने चुचे टोपी लुकईदेका ? अनि ब्रो रातीको बिहे कि दिउसो को ? केटाकेटी हुँदा २ दिन हिडेर गएको रातीको एउटा बिहेको सम्झना आयो | तनहुँ जिल्लाको रिसिंग भन्ने ठाउँ हो | अहिले त धेरै माथी सम्म गाडी चल्छ होला, एक दिन मै पुगिन्छ होला | रातीको बिहे भएर जन्तीहरु सुत्नलाई टौवाबाट पराल ल्याएर पराल माथि सुतेका | अनि दुल्हाका बा काका (ठुला बडाहरु ) लाई चै गुन्द्री | त्यो ठाउँमा जन्ती भतेर पकाएर मज्जाले गुन्द्रीमा राखेका अनि हात ले घ्वाप घ्वाप झिकेर दिने | पहाडको कुना-काप्चाहरुमा पुगेर नेपाली चलन -संस्कृतिहरु हेर्यौं भने नेपाल साँची कै सुन्दर छ |
Fuel Tank
· Snapshot 4321
Like · Liked by · 3
सन्दर्भ फ्ल्याश ब्याक फ्राईडे(चकचक र उपध्रो शृंखलाको अंक ७ )
**********************************
“बा, भाईको नाम उखु लाखम् है |”

दाईको नाम उत्तम, मेरो नाम [Disallowed String for - Name not public.]  | त्यसपछी हाम्रो परीवारको नयाँ पुस्ताको सबै नामहरु “उ” बाट नै राख्ने भन्नुभयो बाले | ठुलोबा ठुलीआमाबाट भएका भाई बहिनीको नाम उदय र उषा राख्नुभयो | हाम्रो कान्छो काका-काकीबाट पनि भाई भयो | बेलुका खाना खाने बेला उसको नाम के राख्ने भनेर छलफल हुन्थ्यो | बा आमा, काका काकी, हजुरआमाहरुले ठुला ठुला शब्दहरु भन्नुहुन्थ्यो | म तिनीहरुको अर्थ बुझ्दैन थिएँ, ति त मैले सुनेका शब्दहरु पनि हुँदैनथे | मेरो शब्द भण्डारमा उ बाट आउने शब्द उखु मात्र थियो | अनि बालाई पिरोल्थेँ “बा, भाईको नाम उखु लाखम् है |”

मामाघरमा ठुलो फलफूलको बंगैचा थियो | आँप, रुखकटहर, भुईंकटहर, लिच्ची, अम्बा देखि लिएर चितवनको गर्मीमा समेत सुन्तालाहरु फल्थे त्यो बंगैचामा | बंगैचाको पछाडी एउटा ठुलो उखुबारी थियो | जाडो महिनामा घाम लागेको बेला आँगनमा गुन्द्री ओछ्याएर बस्थ्यौं हामी अनि हजुरबाले उखुको आँख्ला काटेर दिनुहुन्थ्यो | मैले जिब्रो पासीन्जेल खान्थें | सार्है मन पर्थ्यो उखु | हुन त मलाई आँप पनि सार्है मनपर्थ्यो तर भाईको नाम “आँ” बाट राख्ने हैन | त्यसैले छलफलमा मैले पनि भाग लिन्थें अनि भन्थें, “बा, भाईको नाम उखु लाखम् है” | 

“ल ल उखु नै राखम्ला, पहिले भात खा” बाको बचन पाएपछि म ढुक्क भएँ |
****************************
एकदिन खेलेर घर फर्किंदा बा आफ्नो टेबलमा कागजपत्र मिलाउंदै हुनुहुन्थ्यो | बिहान बिहान त्यो टेबलमा चिया राखेर बाले गोर्खापत्र पढ्नुहुन्थ्यो | म चै बाको छेउमा बसेर बाले पढ़िसक्नु भएको पाना पढ्थेँ | बाले गोरखापत्रको मसिनो मसिनो अक्षर पनि पढ्नुहुन्थ्यो अनि धेरै बेर लगाउनुहुन्थ्यो | बढेमानको अक्षरले माथीपट्टी लेखेको एक लाईन पढेर चित्र हेरेपछी अर्को पाना कुरेर बस्थें | बाले मैले जस्तो छिटो पढ्न सक्नु हुन्थेन |
बाको टेबलमा भएको कागजहरु मलाई पनि पढ्न मन लाग्यो | बा कोठाबाट बाहिर निस्किनुभएको बेलामा फुत्त भित्र छिरें | कागजै कागजको मोटो थाक् थियो | माथीको पाना निकालें | पातलो छुँदै च्यातेला जस्तो पानामा के के लेखेको थियो | मलाई मसिनो अक्षर पढ्न मन लागेन | माथी पट्टी चारपाटे बक्सामा मान्छेको फोटो टाँसेको थियो | मलाई फोटो हेर्न मन पर्थ्यो त्यसैले त्यो खातबाट पालैपालो पानाहरु निकाल्दै फोटो हेर्दै गएँ | एउटा कागजमा टाँसेको फोटो उप्किएको रैछ, त्यो मसिनो अक्षरमा आखाँ परिहाल्यो | “दुवै कान देखिने पासपोर्ट साईजको फोटो टाँस्नुहोला” | म छक्क परें, के भनेको हो त्यो ? बालाई सोध्न मन लाग्यो तर बालाई सोधुँ भने कसरी थाह पाईस भन्नुहुन्छ त्यसैले त्यो सोध्ने सोच पनि गयो | मैले बाको कागजपत्र लथालिंग बनाईसकेको थिएँ | अनि त्यसै छोडेर दाईको पछाडी किताब समातेर पढ्न बसें |
********************************
आज स्कुलजाने बेलामा आमाले मलाई राम्रो लुगा लगाईदिनुभयो | अनि दाईलाई पनि राम्रो लुगा लगाउन दिनुभयो |
“आउट ड्लेसमा स्कुल गयो भने त पिट्नुहुन्छ सल्ले |” मैले डराई डराई भनें |
“आज स्कुल जाने हैन, आज गुन्जानगरको घर जाने, उखुको भात खुवाई हो |” सबैजनाले भाईको बारे कुरा गर्दा उखु नै भनेर कुरा गर्नुहुन्थ्यो | म पनि खुशी हुन्थें, भाईको नाम उखु राख्नुभयो भनेर |

हाम्रो गुन्जानगरको घरमा एउटा कुकुर थियो, फिक्का रातो रंगको | त्यसको रौँ नुहाएर सुकिसके पछी फुरुरु उँडेको भुवा जस्तो थियो अनि कुकुर भुक्क परेको मोटो देखिन्थ्यो | हामीले भक्कु भनेर बोलाउँथ्यौं | दाई जन्मनु भएको ३-४ दिन पछी जन्मेको हो रे भक्कु त्यै भएर ऊ म भन्दा दुई बर्ष जेठो थियो | म जन्मिँदा त भक्कु ठुलै भैसकेको थियो होला म सम्झिन्न तर मैले जुन बेला सम्झिन सक्छु, भक्कु र म उभिँदा बराबर थियौं |
मलाई दाई भन्दा धेरै भक्कु मनपर्थ्यो | भक्कुले मलाई दाईले जस्तो लात्ताले हान्दैनथ्यो | भक्कु मलाई देख्ने बित्तिकै कस्तो खुशी भएर पुच्छार हल्लाउँथ्यो | तर स्कुलबाट घर आउँदा दाईले भक्कुले जस्तो खुशी भएर कहिल्यै पुच्छार हल्लाउनु भएन |
हामी सबै घर पुग्यौं | मलाई आँगनमा देख्ने बित्तिकै भक्कु पुच्छार हल्लाउँदै दौडीँदै आयो अनि मेरो अगाडी उभिएर मेरो गाला चाट्न थाल्यो | मलाई काउकुती लागेर हाँस्न थालेँ | भक्कु झन् बेस्सरी पुच्छार हल्लाउन थाल्यो | अनि उफ्रिएर अगाडीको दुईटा खुट्टाले मेरो छातीमा टेक्यो र अझै मेरो अनुहार चाटिरह्यो | मैले भक्कुलाई धान्न सकिन अनि म पुल्टुंङ्ग पछाडी पल्टिएँ | भक्कुले मलाई खुट्टाले च्याप्यो र टाउको दलेर खेल्यो | हामी दुवै जना खुशी हुँदै भुईंमा लडीबुडी गर्दै थियौं |

“कपडा जती सबै फोहोर पार्यो, उठेर यता आईज” बाले भित्रबाट गाली गर्नुभयो | हत्तपत्त उठेर बालाई हेरें | दराज माथी कालो के हो कुन्नी राख्दै हुनुहुन्थ्यो | अनि भक्कुलाई त्यहीं आँगनमा छोडेर भित्र गएँ | भक्कु पुच्छार हल्लाउंदै ढोकामा उभियो, कहिल्यै पनि घर भित्र छिर्दैनथ्यो भक्कु | घरभरी मान्छेहरु थिए | मैले धेरैलाई चिन्दैनथें तर उनीहरुले चै मलाई चिने झैँ गरेर कुरा गर्थे, “कति ठुलो भैसकेछ”, “बाबु कतीमा पढ्छौ?” , “ABCD आउँछ ?”.....मलाई उनीहरुको उत्तर दिनुभन्दा धेरै बाले दराजमाथी राख्नुभएको कालो चिज के हो जान्ने इच्छा थियो |

उल्टे हिंड्दै कुर्सी तानेर दराजको नजिकै पुर्याएँ | अनि कुर्सीमा चढेर त्यो चिज हेरें | कालो छालाको खोल भित्र थियो | बेस्कन बल लगाएर कालो खोल खोलें, मैले चिनेको समान थियो, क्यामरा | काकाहरुले एउटा आँखा चिम्म गरेर अर्को आँखाले सानो दुलोबाट हेर्नुहुन्थ्यो र चोरी उम्लाले कालो टाँक जस्तो कुरा थिच्नुहुन्थ्यो | मैले झल्याँस्स सम्झिएँ, “दुवै कान देखिने पासपोर्ट साईजको फोटो” | मलाई पासपोर्ट साईज भनेको पो थाह थिएन तर दुवै कान देखिने भनेको सम्म बुझ्न सक्थें | मलाई पनि दुवै कान देखिने फोटो खिच्न मन लाग्यो | अब कसको फोटो खिच्ने? जसको फोटो खिच्यो उसैले गएर बालाई कुरा लगाईदेला भन्ने डर | बोल्न नसक्ने, रुन मात्र सक्ने मेरै प्यारो उखु थियो, उसले बालाई कुरा लगाईदेला भन्ने डर थिएन | उखुको फोटो खिच्न काकीको कोठामा गएँ | उखुले ढाकाको भोटो र न्यानो टोपी लगाएर सुतेको थियो | उसको दुवै कान छोपिएको थियो | 
“उखुलाई हेर्न आको हो छोरो?” काकीले सोध्नुभयो |
“हैन”, डर लाग्यो अनि हैन भनेर फर्किएँ | कसको फोटो खिच्ने भनेर म ब्याकुल भैसकेको थिएँ |
घरको पछाडी गएँ | क्यामरा अझै मेरो हातैमा थियो | भक्कुले म बाहिर आएको थाह पाईसकेछ अनि आयो मेरै नजिक | मैले पनि काकाले जस्तै आँखा झिम्क्याएर त्यो दुलोबाट भक्कुलाई हेरें, अनि त्यो कालो टाँक थिचें | किलिक्क | भक्कू सुँ-सुँ गरेर सुँघ्दै आफ्नो नाक क्यामरामा जोड्न आईपुग्यो | मैले भक्कुलाई पछाडी धकेलेर फेरी थिचें | किलिक्क | भक्कु आफ्नो नाक मात्र देखाउँथ्यो, कान देखाउँदैनथ्यो | मैले भक्कुलाई मिलाएर राखेर दुई पाईला पछाडी हट्थेँ, अनि दुलोबाट हेरेर फेरी किलिक्क थिच्थेँ | भक्कु मैले भनेको मान्दैनथ्यो | अनि फेरी सुँ-सुँ गर्दै मेरै नजिक आईपुग्थ्यो |

मैले किलिक्क थिच्ने ठाउँको नजिकै नम्बर लेखेको थियो | प्रत्येक चोटी मैले किलिक्क गर्दा त्यो नम्बर घट्थ्यो | सुरुमा ३६ लेखेको थियो, बिस्तारै घट्दै घट्दै ३० मा पुगीसकेको थियो | तर मलाई अझै भक्कुको दुवै कान देखिने फोटो खिचेर पुगेको थिएन | घटेर २० पुगेपछी मलाई अब भक्कुको फोटो खिचेर पुग्यो तर त्यो जिरोमा पुगेपछी के हुन्छ होला भन्ने कौतुहलता बढ्न लाग्यो | अनि मैले भुई, आफ्नै खुट्टा, भक्कुको खुट्टा, पुच्छार, बारीको मकै, फर्सी, त्यो सानो दुलोबाट जे जे देख्थेँ सबैको फोटो खिच्न थालेँ | केहि बेर पछी त्यो घटेर जिरो भयो | के के न होला भन्ने सोचेको थिएँ, केहि भएन | म खिस्रिक्क परें | क्यामराको खोल लगाईदिएँ अनि दराजको माथी लगेर राखीदिएँ |

काकीले उखुलाई राम्रो लुगा लगाएर बाहिर जगीयामा ल्याउनुभयो | आमा र हजुरआमाले थुप्रै दुना, टपरी र थालीहरु ल्याउनुभयो | कुनैमा टिका र फूलहरु थिए, कुनैमा फलफुलहरु थिए, रोटी, नैबेध्य के के हुन् के के | एउटा ठुलो थालीमा खिर थियो अनि खिरमा काकीको औंठी पनि थियो | सबै पाहुनाहरुले भिड बनाएर उखुलाई हेर्दै हुनुहुन्थ्यो | अनि बा घाँटीमा क्यामरा झुन्ड्याउँदै बाहिर निस्किनुभयो | 

पुजा गर्ने पुजारी बा खै के को हतारमा हुनुहुन्थ्यो “ल साईतको समय पनि भयो, छिटो छिटो पुजा शुरु गरौँ अब |” म जगीयाको पारी बसेर बालाई हेरिराखेको थिएँ | बाले घाँटीमा झुण्डिएको क्यामरा हातमा लिनुभयो | मलाई बिस्तारै डर लाग्दै आयो | बाले क्यामराको खोल खोल्नुभयो | अब त मेरो सातोपुत्लो उँड्यो | बाले बिस्तारै क्यामरा माथी उठाएर आँखामा जोड्नुभयो अनि अर्को आँखा झिम्क्याउनुभयो | मैले बिस्तारै पछाडी पाईला चालें, फनक्क घुमें अनि दौडीदै कुखुराको खोरमा लुक्न गएँ | म दौडिएको देखेर मेरो अपराधको सहयात्री भक्कु पनि मेरो पछी पछी दुगुर्दै कुखुराको खोरमा लुक्न आयो | लुकेर बालाई हेरें | बाले कसैलाई खोज्दै हुनुहुन्थ्यो | “हे पल्मेस्सोली, बाले दाईलाई खोज्नुभको होस्” खोर भित्र लुकेर भगवानलाई सम्झिएँ |
magorkhe1
· Snapshot 4341
Like · Liked by · 0
घरमा तलमाथि केहि भै हाले सबै भन्दा अगाडी तन्किब्रो लाइ सोधे पुग्ने रहेछ ? हैन त ? 

“हे पल्मेस्सोली, बाले दाईलाई खोज्नुभको होस्” Is this the worst act so far? 
Last edited: 18-Mar-15 10:27 AM
ThahaChaena
· Snapshot 4543
Like · Liked by · 0
टंके मित्र / भाइ ,
सकुशलै छौ र सन्चै छौ भन्ने आशा गर्छु .

सानो छँदा त खुंखार चकचके रहेछौ गाँठे तिमि त टैत , नसकिने बा सोंच्न नि नसकिने तिम्रो कार्नामाहरु ... म त हुर्के को तेही खाल्डोमा खासै कार्नामा गरिन यार .... तर सिरहा तिर जाडो छल्न जाँदा चाहिं खुब बदमासी गरिन्थ्यो तर अलि अलि झल्को मात्र आउँछ . नर्सरीको कुरो सम्म नि याद रहेछ यार तिम्लाई त, माने तिम्रो स्मरण शक्ति लाइ . अहिले नि तीक्ष्ण छौ भन्ने पक्का छ . सरल शब्दमा सरस संस्मरण कोर्यौ सारै मिठो मानि पढें अनि अलि अलि आफ्नो बालावास्थाको नि झल्कोको रसास्वादन गरें .

- थाने
Bhaktey
· Snapshot 4648
Like · Liked by · 0
ट्यांकी ब्रोले प्रतेक बिहिबार पस्किने कथालाइ बिर्सेछ भनेर हेर्न जाँगर नगरेको त आइसकेछन् ३ भाग !!
त्यही त थाने ब्रो ,स्मरण शक्ति पनि कस्तो हो ? आफु त हिजोको कुरा याद हुन्न ...लेख्न पनि जान्या हो ट्यांकीले

भाइको न्वारण गरेर घच्चीको नाम राख्या हो "उखु" हा हा
Fuel Tank
· Snapshot 4706
Like · Liked by · 0
गोर्खे मित्र, थानेदाई, भक्तेकाजी लगाएत कथा पढ़ीदिनुहुने सबैलाई धन्यबाद | ब्रोहरुको उपस्थितिले म धन्य भएँ | गोर्खे ब्रो, त्यो भन्दा नि ठुलो ठुलो चकचक गरेको छु |
भाईको नाम उमेश भनेर त धेरै पछी था'पाको | तर नाम था भयो भन्दैमा उमेश त कसले भन्थ्यो र ? त्यो पनि भाईलाई | धेरै पछी सम्म नै उखु भनियो | 
भक्तेकाजी, बिहिबार को साटो सनिबार / आईतबार बिदाको दिन लेखेर पोस्ट गर्ने गरेको थिएँ | लेख्न त लेखीरहने छु, यसो फुर्सद मिलाएर आएर पढ्नु नि | अर्को भाग भोली वा पर्सी मा :) 
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 5 · Viewed 998 · Likes 3
· Posts 1 · Viewed 173
· Posts 1 · Viewed 215
· Posts 1 · Viewed 205
· Posts 7 · Viewed 588
· Posts 1 · Viewed 216
· Posts 1 · Viewed 231
· Posts 1 · Viewed 246
· Posts 1 · Viewed 240
· Posts 1 · Viewed 272



Travel Partners
Travel House Nepal